'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो

'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  श्रावण १८, २०७६

मयि सर्वाणि कर्माणि सन्यस्याध्यात्मचेतसा ।

निराशीर्निममो भूत्वा युध्यस्व विगतज्वरः ।। ३०

भावार्थ – सम्पूर्ण कर्महरू ममा अर्पण गरेर, आत्मामा मन दिएर, आशा ममता शून्य भएर, शोक सन्ताप त्यागेर युद्धरूप कर्म गर ।

विशिष्टार्थ – जब चित्तले एक मात्र आत्मा बाहेक अरू कसैको चिन्तन गरेन भने त्यो अध्यात्मचित्त हुन्छ । मनै मनमा आयत स्वर (आयत– १,२,३,४,५ सम्म गन्नमा जति समय लाग्छ एक अकम्पन आत्ममन्त्र त्यति समय लिएर उच्चारण गर्दा आयत स्वरमा हुन्छ ।- मा आत्ममन्त्र हंसः वा सोऽहं उच्चारण  गर्नु तथा कानलाई त्यही मनमनै उच्चरित शब्दमा एकाग्र गरेर अर्पण गर्नु  आत्मचिन्ता  गर्नु हुन्छ । यसो गर्दा कुनै विषयले मनमा स्थान पाँउदैन ।

साधन समर क्षेत्रमा ममताद्वारा वशीभूत विषादग्रस्त शिष्य अर्जुनलाई आत्म स्वरूप, साख्ययोग, वेद, ज्ञान तथा ब्राम्हीस्थिति – यी सबैलाई एक एक गरेर संझाएर कर्म गर्नुको प्रयोजन देखाएर सोही कर्म गर्ने उपायहरूलाई शिष्यको मनमा बद्धमूल गरिदिन यो एक श्लोकमा सम्बद्ध गरिएको छ । ती उपाय समूहहरू हुन्ः–

(१)  'मयि सर्वाणित कर्माणि सन्यस्य” कर्म ”म” मा नै अर्पण गर्नु पर्छ ।' हे नाथ ! म यो क्रियामा प्रवृत्त भएको छु, परन्तु प्राण चालन र मन्त्र उच्चारण कसरी गर्नु पर्छ, यसको रहस्य केही बुझ्दिन, जान्दिन पनि, हे प्रभु ! दया गरेर जे गर्नु पर्ने हो त्यो मबाट गराउनुहोस्” । यसरी नै मनको अभिमान त्याग गरेर, मनमा कर्तृत्व नलिएर प्राणको स्वाभाविक, गतिको आश्रय गरेर, गुरुको उपदेशलाई जसरी संझेका छौ त्यसै अनुसार सुषुम्ना मार्गमा प्राण न्यास गर्नु पर्छ । यसो गरेपछि मात्र 'ममा कर्मसन्यास' हुन्छ ।

(२)  'निराशी' साधारणतः मनुष्य दिनको थकाई मेट्नका लागि जस्तै सबै चिन्ता छोडेर रातमा निद्राका लागि तयार हुन्छ – मनमा सचेष्ट चिन्ता केही रहदैन, राख्दा पनि राख्दैन, क्रियाको पूर्वमा ठीक त्यसै प्रकार मनलाई विषय चिन्ताबाट रहित बनाएर क्रियामा प्रवृत्त हुनाले नै ”निराशी” भइन्छ ।

सत्व, रज, तम यी तीन गुणहरुको साम्यावस्थाको नाम प्रकृति हो । यो साम्यावस्था भंग हुँदा प्रकृति 'परा' तथा 'अपरा' यी दुई अंशमा विभक्त भएर क्रियाशील हुन्छ ।

(३)    'निर्मम – 'मेरो' भन्नु केही छैन, 'म'  नै 'म' यस प्रकाको दृढ धारणाले निर्ममत्व आउँछ ।

(४)    ' विगतज्वर'  – क्रियाकालमा 'अरू अब म गर्न सक्दिन केही वेर आराम गर्छु, यो काम अहिले अलिकति मात्र गर्छु,अरू पछि गरुँला' यस प्रकारको अलसता जुन अवस्था हो त्यसैलाई 'विगतज्वर' भन्दछन् ।

(५)    'अध्यात्मचेता' – मनलाई कूटस्थमा बद्ध गरेर तत्पदको भावना र अर्थका साथ आत्ममन्त्रको उच्चारण गर्नाले नै 'अध्यात्मचेता'  भइन्छ ।

    

  त्यसरी अवस्थापन्न भएर अर्थात् ती सबै अस्त्रहरूले सज्जित भएर साधक समरमा    युद्ध गर्नु पर्छ (प्रवृत्त हुनु पर्दछ) ।

    

  ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः ।

  श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः ।। ३१

भावार्थ – जुन मानिसहरू श्रद्धायुक्त तथा दोष दृष्टिले रहित भएर मेरो यस मतको अनुसरण गर्दछन्, तिनीहरू पनि सम्पूर्ण कर्म बन्धनबाट मुक्त हुन्छन् ।

विशिष्टार्थ – गुरु, वेद, वेदान्त वाक्यमा विश्वास तथा बाधाशून्य भएर त्यसको अनुष्ठानमा रत रहनुको नाम श्रद्धा हो भने परगुणमा दोष नदेख्नुको नाम असूया–विहीनता हो । जुन मानिसहरूले गुरूपदिष्ट क्रियामा कुनै प्रकारको दोष देख्दैनन् अर्थात् गुरुवाक्यमा अटल विश्वास लिएर क्रियामा प्रवृत्त हुन्छन् र प्रतिदिन यथा नियम क्रम अनुसार क्रिया गर्दछन्, अरू कुनै कार्यलाई लक्षित गरेर वा आलस्य गरेर कुनै पनि दिन क्रिया समयमा यताउति गर्दैनन् अथवा विरत हुँदैनन्, ती सबै साधकले कर्मद्वारा कर्मबन्धनबाट मुक्ति पाउँछन्,अरूले पाउँदैनन् ।

       ये त्वेतदभ्यसूयन्तो नानुतिष्ठन्ति मे मतम् ।

       सर्वज्ञानविमूढांस्तान् विद्धि नष्टानचेतसः ।। ३२

भावार्थ – किन्तु जुन मनुष्यहरू दोष दृष्टिले युक्त भएर मेरो यो मतको अनुष्ठान गर्दैनन् ती सबैलाई विवेकशून्य, सर्वज्ञानविमूढ तथा नष्ट (विनाश प्राप्त) भनेर जान ।

विशिष्टार्थ –जुन मनुष्यहरू पूर्व श्लोकको मत अनुसार श्रद्धावान् असूयाविहीन तथा नित्य क्रियाशील छैनन् अर्थात् यथानियमले प्रतिदिन क्रिया गर्दैनन्, अरुका गुणमा दोष देख्दछन् आप्mनो प्रशंसा आपैm गर्दछन्, गुरूपदेशको अनुष्ठानमा उत्साह लिंदैनन्, ती सबै अचेतसः –विवेकशून्य हुन् । त्यस्ता मूढ व्यक्तिले तत्व समूहको ज्ञान लाभ गर्न सक्दैनन् । अतएव मुक्ति त परै रहोस् तिनीहरू सर्वज्ञान विमूढ अर्थात् शब्द, स्पर्श, रूप, रस, गन्ध यी सबै विषयको ज्ञानमा पनि विमूढ (आत्मज्ञान रहित विषयासक्त) भएर नष्ट हुन्छन्, अर्थात् संसारावर्तमा परेर अचेतन जस्तै घुमिरहन्छन्, यो कुरा जान । त्यसकारण तिमी अति सावधानीका साथ तथा प्रयत्नका साथ आत्मक्रियामा रत होऊ ।

आत्ममन्त्र हंसः वा सोऽहं उच्चारण गर्नु तथा कानलाई त्यही मनमनै उच्चरित शब्दमा एकाग्र गरेर अर्पण गर्नु आत्मचिन्ता गर्नु हुन्छ । यसो गर्दा कुनै विषयले मनमा स्थान पाँउदैन ।

        सदृशं चेष्टते स्वस्याः प्रकृते ज्ञानवानपि ।

       प्रकृतिं यान्ति भूतानि निग्रहः किं करिष्यति ।। ३३

भावार्थ – ज्ञानी पुरुषहरूले पनि आप्mनो प्रकृति अनुरूप चेष्टा गर्दछन् । सम्पूर्ण प्राणीहरू प्रकृतिमा अर्थात् स्वभाव अनुरूपको काम गर्दछन्, निग्रहले गर्छ के ?

विशिष्टार्थ – सत्व, रज, तम यी तीन गुणहरुको साम्यावस्थाको नाम प्रकृति हो । यो साम्यावस्था भंग हुँदा प्रकृति ”परा” तथा ”अपरा” यी दुई अंशमा विभक्त भएर क्रियाशील हुन्छ । अपरा – पृथ्वी, अप, अनल, वायु, आकाश, मन,बुद्धि र अहंकार गरी आठ प्रकारको छ भने ”परा” जीवभूता प्राणरूपाजगद्धात्री हो । यसलाई अक्षय पुरुष भनेर पनि कतै कतै  सम्बोधन गरिन्छ । यी सबै नै यन्त्र स्वरूप, चैतन्य सहयोगद्वारा नै क्रियायुक्त हुन्छन् । यी सबैमा प्राप्त भएर नै  ”ममैवांश” जीव बन्छन् ।

यो जीव जब परिपूर्ण हुनका लागि ब्रती हुन्छ, तव उसले ज्ञानवान् संज्ञा लिएर आप्mनो प्रकृति अनुसार नै चेष्टा गर्दछ अर्थात् क्रियाशील प्रकृतिले जीवलाई आप्mनो अधीनमा राख्नका लागि सतत जुन प्रकारको चेष्टा गर्दछ, ज्ञानवान्ले पनि प्रकृतिलाई वशमा लिन ठीक त्यस्तै प्रकारको चेष्टा गर्दछन्, अर्थात् ”यतो यतो निश्चरति मन श्चंचलमस्थिरम् । ततस्ततो नियम्यैतत् आत्मन्येन वशं नयेत् ।।” यस नियम अनुसार आत्मक्रियामा रत रहन्छन् । त्यस्तो चेष्टा गर्नाले सम्पूर्ण प्राणीजगत् प्रकृतिमा जान्छ अर्थात् इन्द्रिय सकल साम्यावस्थामा प्राप्त हुन्छन् । यो स्वतः हुन्छ, निग्रह गर्नु पर्दैन र फेरि निग्रह गर्नाले पनि हुँदैन । जीव परमशिवमा अड्किइरहनाले चेतना पनि त्यसै स्थानमा समेटिन्छ शरीरमा रहदैन । यसरी इन्द्रिय सकल निष्क्रिय हुन्छन् ।

इन्द्रियस्येन्द्रियस्यार्थे रागद्वेषौ व्यवस्थितौ ।

तयो र्न वशमागच्छेत् तौ हस्य परिपन्थिनौ ।। ३४

भावार्थ – शब्दस्पर्शादि विषयमा प्रत्येक इन्द्रियको राग तथा द्वेष लुकेको हुन्छ, मनुष्य ती दुवैको वशमा पर्नु हुँदैन, किन कि राग द्वेष मुमुक्षुका लागि प्रतिरोधक अर्थात् विध्न स्वरूप हुन् ।

विशिष्टार्थ – प्रत्येक इन्द्रियका प्रत्येक विषयमा अनुकूलता र प्रतिकूलताको मान्यताले राग तथा द्वेष हुन्छ । शुरू शुरूमा प्रति दिनको क्रियामा समान सुविधा हुँदैन । कुनै कुनै दिन त श्रवण, मनन, कीर्तन,दर्शन आदि हुँदै हुँदैनन् । कुनै दिन एक भयो अर्को दिन भएन । यसरी हुँदा राग द्वेषले प्रकाश पाउँछन् अर्थात् क्रिया राम्ररी हुँदा क्रिया प्रति अनुराग, नहुँदा क्रियाप्रति द्वेष हुन्छ, किन्तु त्यसरी राग द्वेषको वशमा पर्दा प्रकृति वशमा पर्दैन, यस्तो नभएपछि मुक्ति पनि हुँदैन । त्यो सुविधा तथा असुविधामा अनुरक्त तथा विरक्त नभएर कर्तव्य पालन गर्नाले जुन आत्मप्रीति हुन्छ त्यसैलाई मात्र लिएर श्री गुरुदेव प्रति निर्भर रहँदा कहिल्यै पनि प्राकृतिक चंचलता तथा वात पित्त आदिको प्रकोपबाट कुनै विध्न बाधा हुँदैन ।

       श्रेयान् स्वधर्मो विगुणः परधर्मात् स्वनुष्ठितात् ।

       स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः ।। ३५

भावार्थ – सुअनुष्ठित परधर्म भन्दा विगुण स्वधर्म श्रेयस्कर छ । स्वधर्ममा निधन श्रेय छ, परधर्मलाई भयावह जान ।

विशिष्टार्थ – शरीरमा 'म' वाचक पदार्थ जो हो त्यो नै 'स्व' र  'मेरो' वाचक जो हो त्यो 'पर' हो । 'म' भन्नाले आत्मा भन्ने बुझिन्छ, त्यसकारण आत्मा 'स्व' र 'मेरो' भन्दा त्रिगुणमय चौवीस तत्व बुझिन्छ, त्यसकारण त्यो सबै नै  'पर' हो । आत्मा कस्तो छ ?  'आत्मा शुद्धः स्वयं ज्योति रविकारी निराकृतिः' सच्चिदानन्दस्वरूपः छ । तीनै कालमा जुन समान रहन्छ, त्यही नै 'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो । चौवीस तत्व कस्ता छन् ? 'असन्मयः, तामसः नित्यं विकारवान्' अर्थात् असत्य, परिणामी, अज्ञानतामय र सतत विकारशील छन् । जो जस्तो छ,  त्यसैको त्यो अवस्था नै उसको धर्म हो । अतएव स्वधर्म भन्नाले बुझिन्छ – नित्य स्थायी ज्ञानमय सुखावस्था र परधर्म भननाले बुझिन्छ परिवर्तनशील अज्ञान अवस्था'।

तीन गुणको साम्यावस्थामा निष्क्रियताका लागि आत्मधर्म विगुण (वि=विगत, गुण) हुन्छ र तीन गुणको विषमतामा सर्व कर्म सम्पन्न भइरहनाले परधर्म सुअनुष्ठित हुन्छ । साम्य नै संसार मोचन हो, वैषम्य नै संसार बन्धन हो, त्यस कारण  विगुण स्वधर्म सुअनुष्ठिन पर धर्म भन्दा श्रेय छ । (निरन्तर निस्त्रैगुण्य अवस्थामा रहन सकिन्न, अतएव निस्त्रैगुण्य अवस्थामा रहनाका लागि साधना अभ्यासको कष्ट सहन गर्नु पनि राम्रै हो, तथापि प्राकृतिक धर्म प्रवाहमा शरीरलाई हेलेर अज्ञानतालाई  सुख मान्दै मुर्दा जस्तो वग्दै जानु राम्रो हैन) । शरीर धारण गरिसकेपछि शरीरको त्याग अर्थात् मृत्यु अनिवार्य छ । यो मरण आत्मधर्ममा रहेर हुँदा सच्चिदानन्द अवस्थाको प्राप्ति हुन्छ, त्यसकारण यो श्रेयः हो र पर धर्ममा रहेर मृत्यु भयो भने त्यो लक्ष्य भ्रष्ट भएर संसारको अज्ञान अन्धकारमा जन्म मृत्युको भुमरीमा  परेर घुमिरहनु पर्छ, त्यसैले यसलाई भयावह भनेर जान ।

याे पनि

इन्द्रियद्वारा  ग्रहण  विषयको नाम नै ‘आहार’ हो

भोगको नाम काम हो र आकांक्षा पनि काम हो

प्राणायाम नै यज्ञ हो

आत्माराम हुनु नै परमपुरुषार्थ हो

आत्मामा मन रहनु जागरण हो