भोगको नाम काम हो र आकांक्षा पनि काम हो

भोगको नाम काम हो र आकांक्षा पनि काम हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार ७, २०७६

 प्रसादे सर्वदुःखानां हानि रस्योपजायते ।

प्रशन्नचेतसो ह्याशु बुद्धिः पर्यवतिष्ठते ।। ६५

भावार्थ – प्रसाद प्राप्त भएपछि सम्पूर्ण दुःखको नाश हुन्छ, प्रसन्नचित्त पुरुषको बुद्धि शीघ्र नै स्थिर हुन्छ ।

विशिष्टार्थ – पृथ्वी, जल, तेज, वायु, आकाश यी पाँचको नाम सर्व हो । यो सर्व कश्मल    (मैलो) रुप घरको अन्तराकाशलाई ढाकेर रहन्छ, त्यसैको नाम दुःख हो । प्रसाद लाभ भएपछि अर्थात् ज्योतिर्मय रूपको विकास भएपछि त्यसको प्रभावले सम्पूर्ण अन्धकार मेटिन्छ, कुनै प्रकारको कश्मल (मैलो) को चिन्ह पनि रहदैन । त्यसकारण चित्त प्रसन्न हुन्छ, अर्थात् निर्मल भएपछि चंचलता विहीन भएर स्थिर हुन्छ । चित्त स्थिर हुनाले नै बोध शक्ति छिटै नै अवलम्बन विहीन भएर परमात्मामा स्थिर हुन्छ । यसैलाई तुरीय अवस्था वा निर्वाण स्थिति भन्दछन् ।     

     (चलच्चित्ते वसेच्छक्तिः स्थिर चित्ते वसेच्छिवः) ।

       नास्ति बुद्धि रयुक्तस्य नचायुक्तस्य भावना ।

       न चाभावयतः शान्ति रशान्तस्य कुतः सुखम् ।। ६६

भावार्थ – अयुक्तको बुद्धि पनि हुँदैन भावना पनि हुँदैन । भावना विहीनलाई शान्ति पनि हुँदैन, अशान्तलाई सुख कसरी हुन्छ ?

जुन पुरुष सबै प्रकारका भोगका विषयहरूलाई परित्याग गरेर निस्पृह अर्थात् आकांक्षा रहित हुन्छ, ”सर्वं ब्रम्हमयं” जानेर ममता विहीन हुन्छ र अन्तमा सोऽहं ज्ञानले युक्त भएर ममत्वलाई नाश गरेर अहङ्कार विहीन भएर विचरण गर्दछ त्यसैलाई नित्यानन्द शान्ति लाभ  हुन्छ । यो अवस्था नै कर्मफलको चरम फल सिद्धावस्था हो ।

विशिष्टार्थ – शम, दम, तितिक्षा, उपरति, श्रद्धा, समाधानादि साधन चतुष्टय सम्पन्न पुरुष युक्त हो, जो अयुक्त अर्थात् साधनचतुष्टय सम्पन्न छैन त्यस्ताको बुद्धि व्यावसायात्मिका हुँदैन, त्यसकारण त्यस्ताको बुद्धिलाई योग मार्गको बुद्धि भनिन्न र त्यस्ताको भावना पनि हुँदैन अर्थात् आत्मज्ञानमा लक्ष्य नै हुँदैन, किन कि उसको चित्त विषय रागमा रञ्जित भएकोले उसले दैवज्योतिको विम्ब धारण गर्न सक्दैन । भावना विहीनको शान्ति अर्थात् चित्तको स्थिरता हुँदैन, किन कि मन सर्वदा विषयमा तल्लीन रहनाले विश्रामको मौका नै पाउँदैन । यसरी अशान्तलाई सुख हुँदैन अर्थात् अन्तराकाश विषय–मेघद्वारा ढाकिएको हुनाले ज्योतिर्मण्डलको विकास हुनै सक्दैन ।

       इन्द्रियायाां हि चरतां यन्मनोऽनुविधीयते ।

       तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।। ६७

विशिष्टार्थ – जब साधक कार्यक्षेत्रमा ओर्लेर कार्य गर्न शुरू गर्दछ तब शब्द स्पर्शादि इन्द्रियहरूका अगाडि आप्mना आप्mना विषयहरू आउँछन् । ती मध्ये जुन इन्द्रियको आफ्नो विषयमा राग हुन्छ त्यस इन्द्रियले मनलाई आफ्नो अनुगामी बनाउँदछ । जब मनमा विषयको महत्वले स्थान लिन्छ तब साधकमा कर्तव्यपरायणता नरहेर भोग बुद्धि पैदा हुन्छ अनि उसको आत्माभिमुखी बुद्धि नष्ट हुन्छ ।

       तस्ममाद्यस्य महाबाहो निगृहीतानि सर्वशः ।

       इन्द्रिययाणीन्द्रिर्थेभ्य स्तस्य प्रज्ञा प्रतिष्ठिता ।। ६८

भावार्थ — हे महाबाहु अर्जुन ! त्यसकारण भनिएको छ – जसका इन्द्रियहरू विषण्ण्टँरूद्वारा सर्वतोभावमा निगृहीत भएका छन् उसुको प्रज्ञा प्रतिष्ठित (स्थिर) हुन्छ ।

विशिष्टार्थ – त्यसकारण शव्द स्पर्शादि विषयहरूबाट सम्पूर्ण इन्द्रियहरूलाई निःशेषरूपले ग्रहण गरेर संयमी हुनु पर्दछ । संयमी अर्थात् युक्त नभइकन कुनै पनि साधना हुँदैन ।

       या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।

       यस्यां जाग्रति भूतानि सा निशा प्रश्यतो मुनेः ।। ६९

भावार्थ – सम्पूर्ण प्राणीहरूका लागि जुन राशी हो, संयमी त्यसैमा जागा रहन्छन्, जसमा सम्पूर्ण प्राणीहरू जाग्दछन् त्यो द्रष्टा मुनिका लागि रात्री हो ।

विशिष्टार्थ – मन जब आत्मामा रहन्छ, सम्पूर्ण इन्द्रियहरूका लागि त्यो निशा हो, त्यस बेला ती सबै इन्द्रियहरू निश्चेष्ट र अभिभूत अवस्थामा रहन्छन् । मन जब विषयमा रहन्छ तब सम्पूर्ण इन्द्रियहरू जागरित र सचेष्ट रहन्छन् । मन आत्मामा रहनु भनेको संयम (धारणा – ध्यान – समाधिको एकत्र समावेश) हो; आत्मनिष्ट साधक नै संयमी हो । सकल इन्द्रियहरू भूत हुन्, यी सम्पूर्ण भूतहरूको जब निशा हुन्छ तब संयमी सजग रहन्छ अर्थात् उसको आत्मामा अवस्थिति भएका कारण ऊ त्यसबेला स्थूल–सूक्ष्म–कारणात्मक विश्व–संसारको द्रष्टा वा साक्षी स्वरूप र उसको मन तब आत्मामा सम्यक लीन रहन्छ, त्यसकारण ऊ मुनि (मुनिः सलीनममानसः) हो । भून सकल जब जाग्रत रहन्छ, द्रष्टा मुनिका लागि त्यो निशा हुन्छ, किन कि त्यस बेला मन विषयनिष्ठ हुन्छ, आत्मक्षेत्र विषयवरणद्वारा आवृत हुन्छ, आत्मज्योति नरहे पछि आत्ममुखी ढृक्शक्तिको बाटो बन्द हुन्छ, मन पनि विषय संस्त्रवमा आउनाले त्यस क्षणका लागि आतमक्रियामा निश्चेष्ट रहन्छ ।

 आपूर्यमाणमचलप्रतिष्ठं,

  समुद्रमापः प्रविशन्त यद्वत् ।

  तद्वत् कामा यं प्रविशन्ति सर्वे,

  स शान्तिमाप्नोति न कामकामी ।। ७० ।।

भावार्थ — जसरी खोला नदी नालाहरूको पानी सदा परिपूर्ण, कहिल्यै घटबढ नहुने समुद्रमा गएर मिल्दछ त्यसरी नै सम्पूर्ण कामनाहरू कुनै विकार उत्पन्न नगरिकन जसमा प्रवेश गर्दछन् त्यसले त्यो शान्ति पाउँदछ जुन कामकामी अर्थात् भोगको कामना राख्नेले पाउँदैन ।

विशिष्टार्थ – समुद्र सदैव नदी प्रभृतिका पानीले परिपूरणशील छ, किन्तु समुद्रका अवयवमा कुनै प्रकारको घटीबढी नरहनाले उसको प्रतिष्ठा अचल छ । त्यस्तै नै शाम्भवनीद्वारा जसले मनलाई विन्दुसागरमा डुवाएर अनन्त उदारताको लाभ गरेको छ त्यस्ता व्यक्तिमा कामनाहरू विलीन भएर जान्छन्, त्यस्ता व्यक्तिबाट कुनै प्रकारको कामना उठे पनि विषयाभिमुखी बन्दैन, अतः यस प्रकारका पुरुष (साधक)ले शान्ति पाउँछ । परन्तु जुन कामकामी अर्थात् जुन मनुष्य मनलाई अनन्तमा पुर्‍याउन असमर्थ भएर विषयलाई शान्तिले आलय मनमा संझी प्राकृतिक आकाक्षामा रहन्छ त्यस्ताले शान्ति पाउन सक्दैन ।

       विहाय कामान् यः सर्वान् पुमांश्चरति निस्पृहः ।

       निर्ममो निरहंकार: स शान्तिमधि गच्छति ।। ७१ ।।

भावार्थ – जुन पुरुष सम्पूर्ण कामनाहरूलाई त्याग गरेर, निस्पृह, निर्मम तथा निरहंकार भएर विचिरण गर्दछ, त्यसैले शान्ति पाउँछ ।

विशिष्टार्थ – भोगको विषयको नाम काम हो, आकांक्षा पनि काम हो । मनुष्यमात्रका अगाडि अनेकौं भोगका विषयहरू विद्यमान छन् । जुन साधक साधनामा केही अगाडि पुगेको छ उसलाई ती सबै भोगका विषय (विभूति) हरूको प्राप्ति हुन्छ, ती सबै विषय भोगमा मन दिनाले अर्थात् ”कामकामी” बन्नाले बन्धनमा पर्नुपर्छ, उन्नति हुन सक्दैन । जुन पुरुष सबै प्रकारका भोगका विषयहरूलाई परित्याग गरेर निस्पृह अर्थात् आकांक्षा रहित हुन्छ, ”सर्वं ब्रम्हमयं” जानेर ममता विहीन हुन्छ र अन्तमा सोऽहं ज्ञानले युक्त भएर ममत्वलाई नाश गरेर अहङ्कार विहीन भएर विचरण गर्दछ त्यसैलाई नित्यानन्द शान्ति लाभ  हुन्छ । यो अवस्था नै कर्मफलको चरम फल सिद्धावस्था हो ।

       एषा ब्राम्हीस्थितिः पार्थ नैनां प्राप्य विमुह्यति ।

       स्थित्वास्यामन्तकाले ऽपि ब्रम्हानिर्वाणमृच्छति ।। ७२

हे पार्थ ! यो नै ब्राम्हीस्थिति हो,  यस स्थितिमा पुगेपछि मोहित हुनु पर्दैत, यसमा रहेर पनि अन्तकालमा ब्रम्हनिर्वाण प्राप्त हुन्छ ।

विशिष्टार्थ – पूर्वोक्त श्लोक अनुसारको अवस्थामा पुगेर विचरण गर्नाले जुन अवस्थामा हुन्छ त्यही ब्रम्हज्ञानको अवस्था–ब्राम्हीस्थिति हो । यस ब्राम्हीस्थितिमा सबै कुरा ब्रम्हमय हुनाले बाह्य इन्द्रियहरूद्वारा कार्य सम्पन्न भएर पनि भेदज्ञानको अभावले भित्र बाहिर एक हुन्छ, मोहित हुनु पर्दैन अतः यस अवस्थामा विषय भित्र रहेर पनि शरीर त्याग हुने बेलामा ”यत्र यत्र मनो याति तत्रैव ब्रम्ह लक्ष्यते” अर्थात सबै नै ब्रम्हमय लय हुनाले अपुनरावृत्ति गति रूप ब्रम्हनिर्वाण प्राप्ति हुन्छ ।। ७२

इति श्रीमद्भगवत् गीतासूपनिषत्सु ब्रम्हविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन सम्वादे ज्ञान वित्रिानयोगो नाम द्वितीयोऽध्यायः ।

क्रमशः

याे पनि

आत्मा अविनाशी हो

संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल

योगको मूल पनि सांख्य, फल पनि सांख्य

जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो

इन्द्रियद्वारा  ग्रहण  विषयको नाम नै ‘आहार’ हो