योगको मूल पनि सांख्य, फल पनि सांख्य

योगको मूल पनि सांख्य, फल पनि सांख्य

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  जेठ ११, २०७६

अवाच्य वादांश्च बहून् वदिष्यन्ति तवाहिताः ।
निन्दन्त स्तव सामथ्र्यं ततो दुःखतरं नु किम् ।। ३६  

 

भावार्थ – तिम्रा शत्रुहरू तिम्रो सामथ्र्यको निन्दा गर्दै अनेक प्रकारका दुर्वाच्य वचनहरूको पनि प्रयोग गर्ने छन्, तिम्रो लागि यसभन्दा दुःखको कुरा अरू के हुन सक्छ ?

विशिष्टार्थ – शत्रुगण (दुर्योधनादि तथा इन्द्रियहरू) तिम्रो सामथ्र्यको निन्दा गर्ने छन्, अनेक प्रकारका अनिष्ट कुराहरू पनि गर्नेछन् अर्थात् तिमी आफैनै मन मनै आफै‌लाई अनेक प्रकारका निन्दा ग्लानि गर्नेछौ । यो भन्दा अधिक दुःखदायी तिम्रो लागि अरू के हुन सक्छ ?

 हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्षसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।। ३७ ।।


भावार्थ – हे कौन्तेय ! यदि युद्धमा मर्‍यौ भने  स्वर्ग प्राप्त गर्नेछौ, यदि जित्यौ भने पृथ्वीको राज्य भोग गर्ने छौ । त्यसकारण युद्धका लागि कृत निश्चय भएर उठ ।

विशिष्टार्थ – यो साधनरूपी युद्ध गर्दा गर्दै मर्‍यौ भने पनि तिमीलाई स्वर्ग (आत्मगति) लाभ हुनेछ, किन कि सत् कर्म गर्दा गर्दै शरीरको त्याग हुँदा मृत्यु सन्धिमा अभ्यासको बलले मनमा सत् वस्तुको उदय हुनेछ, जसमा सद्गतिको प्राप्ति अवश्यंभावी छ । यदि जय लाभ गर्न सक्यो भने ”महीं भोक्ष्यसे” अर्थात् असपत्नत्रृmद्ध राज्य भोग गर्ने छौ अर्थात् जीवनमुक्त हुने छौ । अतएव युद्धका लागि कृतनिश्चय भएर ऊध्र्वमा स्थित होऊ (उत्तिष्ठ) ।

कर्मको पनि एक सीमा हुन्छ । जस्तो – कठोर शारीरिक परिश्रम गरिसकेपछि जीउ थाकेर हल न चल हुन्छ र उसबाट अरू केही काम हुन सक्दैन, त्यस्तै आन्तरिक कर्म चरम अवस्थामा पुगेपछि स्थिरभाव आउंछ, त्यही स्थिरभावको नाम नै समाधि हो ।

 सुख दुःखे समे कृत्वा लाभालाभौ जयाजयौ ।
 ततो युद्धाय युज्यस्य नैवं पाप मवाप्स्यसि ।। ३८ ।।

भावार्थ – सुख दुःख, लाभ हानि, तथा जय पराजयमा  समान ज्ञान राखेर युद्धमा प्रस्तुत होऊ । यसरी युद्ध गर्दा तिमी पापको भागी हुने छैनौ ।

विशिष्टार्थ – विषय शून्य शान्तिमय अवस्था सुख हो भने दुःख–दुः = कलुषित, ख = आकाश, वासना रहनाले नै अन्तराकाश आवरण शक्तिले ढाकिन्छ अनि अभावपूर्ण शून्यमय अन्धकारले ढाकिएको त्यो अवस्था दुःख हो । दुःखमा सुन्दर आत्मज्योतिको रेखा मात्रको पनि दर्शन हुँदैन, प्राण घिटी घिटी हुन्छ, मन व्याकुल हुन्छ । सुख दुःख, लाभ अलाभ, जय पराजयमा समभाव राखेर अर्थात् दुःख आइपर्दा र सुख प्राप्त हुँदा त्यसबाट कत्ति पनि विचलित नभैकन युद्धका लागि  ”म युद्ध गर्छु” यस्तो उद्धोष गर्दै फलाकांक्षालाई त्यागेर कर्तव्यज्ञानका साथ युद्ध अर्थात् प्रवृत्ति निग्रह गर्न प्रयत्न गर । यसो गर्दा तिमीलाई पाप अर्थात् चंचलता जसले तिमी जस्ता लक्ष्य साधनामा लीन व्यक्तिलाई विवश गरेर स्थान तथा लक्ष्यबाट भ्रष्ट गर्दछ त्यसले स्पर्श गर्न सकदैन अर्थात् कर्म–अकर्म–विकर्म जसमा रहन्छौ निरन्तर ब्राम्ही स्थिति पाउने छौ ।

एषा तेऽभिहता सांख्ये बुद्धियोगे त्विमां शृणु ।
बुद्ध्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि ।। ३९ ।।

भावार्थ – हे पार्थ ! मैले सांख्यमत सिद्ध यो ज्ञान तिमीलाई बताएँ, अव निष्काम कर्म (योग मत) गरेर योग यस ज्ञानको विषयमा बताउँछु, सुन, जुन ज्ञानले युक्त भएपछि तिमीले कर्म बन्धनलाई परित्याग गर्नेछौ ।

विशिष्टार्थ – हे पार्थ ! यो जुन निश्चय गर्ने बुद्धि मैले तिमीलाई बताएँ त्यही नै सांख्यको मत हो । किन्तु योगमतामा त्यो बुद्धि कुन प्रकारको हुन्छ सुन, जुन बुद्धिले युक्त भएपछि तिमीले सम्पूर्ण कर्म बन्धनलाई त्याग गर्न समर्थ बन्ने छौ ।

सांख्य भनेको संख्याद्वारा वस्तु तत्वको निरूपण गर्नु हो । यसमा प्राकृतिक २४ तत्व र पुरुष एक गरी २५ पदार्थको गणना गरेर विश्वकोषको सत्वा निरूपण हुन्छ । यो विश्वसत्वाको अनुमान र अनुभव सिद्ध (अनु सूक्ष्म, भव = हुनु, सिद्ध = ज्ञातव्यका साथ तदाकारत्व प्राप्ति) समष्टि ज्ञान हो । अतः सांख्य शव्दले ज्ञान भनेर बुझिन्छ । योग–एकलाई अर्कोसंग मिलाएर तदाकार गर्नु योग हो । यो योग सम्पूर्ण अनुष्ठान सिद्ध छ । जस्तो–पृथ्वी तत्वलाई रस तत्वमा मिलाएर एक गर्नु योग हो । त्यस्तै रसलाई तेजसंग मिलाउनु, तेजलाई वायुमा मिलाउनु, वायुलाई आकाशमा, आकाशलाई तन्मात्रामा, तन्मात्रालाई मनमा, मनलाई बुद्धिमा, बुद्धिलाई अहंकारमा, अहंकारलाई महतत्व या चित्तमा, चित्तलाई अव्यक्त अर्थात् मूल प्रकृतिमा र अन्त्यमा मूल प्रकृत्तिलाई पुरुषमा मिलाउनुको नाम योग हो । पहिले पहिलेका योगलाई पछि पछिका योगमा मिलाउँदै जानु क्रम हो, यस क्रमको नाम योगमार्ग हो र क्रमको समाप्तिको नाम योग हो । जसलाई यस्तो योग प्राप्त हुन्छ त्यो योगी हो र तल्लो स्तरमा रहंदा ऊ योगाभ्यासी हुन्छ । योगीले योगावस्था छोडेर तल्लो स्तरमा उत्रदा जुन जुन ज्ञान हुन्छ त्यो पनि सांख्य हो । अतःएव योगको प्रथम पनि सांख्य, शेष पनि सांख्य, योगको मूल पनि सांख्य, फल पनि सांख्य हो । जुन मूल हो त्यो सम्पूर्ण अनुमानिक वा उपदेश प्राप्त ज्ञान सांख्य योग हो । जुन फल हो त्यो योगको अनुष्ठानिक ज्ञान–मोक्षयोग हो । यी दुईमा यतिमात्र पृथकता छ, नत्र भने एउटै हो ।

२४ र २५ श्लोकहरूमा जे कुरा भनिएको छ, त्यही सांख्यमतको बुद्धि या ज्ञान हो, यसमा पृथ्वीदेखि आत्मासम्म समुदायको  सत्ता प्रत्यक्ष भइरहन्छ । किन्तु योगमा जुन ज्ञान हुन्छ त्यसमा तल्लो स्तर समूहको लय हुँदै जान्छ, जसले गर्दा तल्लो स्तरको ज्ञान मेटिदै क्रमअनुसार माथि उठेर एउटैमा परिणत हुन्छ ।

यो जुन विषयबाट हट्दै जानु हो त्यो आत्ममुखी बुद्धि हो । यस्तो बुद्धिले युक्त भएपछि नै प्रारब्ध, जुन संचित कर्म बन्धन हो यी सबैबाट पूर्णरूपले मुक्ति मिल्दछ ।

प्रवृत्ति मार्गमा रहने मनुष्यको लक्ष्य विषय हुन्छ, किन्तु विषयको अनित्यताको कारण कुनै एक विषयको भोग शेष गरेर विषयान्तरमा जान त्यसको त्याग अनिवार्य हुन्छ, त्यसकारण मृत्यु निश्चय छ । मृत्यु भएर नै पुनर्जन्म हुन्छ । यो जन्म मृत्यु निरन्तर क्रिया हो, शेष हुँदैन ।

नेहाभिक्रम नाशोऽस्ति प्रत्यवायो न विद्यते ।
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।। ४० ।।

भावार्थ – यस कर्मयोगमा प्रारम्भको निष्फलता हुँदैन, त्यसबाट उल्टो फल पनि हुँदैन, यस धर्म (कर्मयोग) को अलिकति मात्र पनि अनुष्ठान हुँदा यसले जन्म मृत्युरूप महान् डरबाट रक्षा गर्दछ ।

विशिष्टार्थ – यस कर्मयोग (मोक्षमार्ग) मा अभिक्रम (अग्रगनम) अर्थात् आत्माभिमुख गतिको नाश हुंदैन, किन कि मोक्ष प्राप्तिको लक्ष्य लिएर गरिएको कर्म  हुनाले त्यसको  अभाव हुन सक्दैन । त्यस्तै प्रत्यवाय (प्रतिगमन) पनि हुन सक्दैन किन कि आप्mनो लक्ष्यमा पुग्न नसकेका योगीहरू परजन्ममा आफनो सिद्धि लाभको लागि पूर्वजन्मको भन्दा पनि अधिक प्रयत्न गर्दछन् । यस प्रकारको योगालम्बनको थोरै मात्राले पनि महान् भयबाट रक्षा गर्दछ । यस संसारमा जन्म मृत्यु नै सबैभन्दा ठूलो डर हो । प्रवृत्ति मार्गमा रहने मनुष्यको लक्ष्य विषय हुन्छ, किन्तु विषयको अनित्यताको कारण कुनै एक विषयको भोग शेष गरेर विषयान्तरमा जान त्यसको त्याग अनिवार्य हुन्छ, त्यसकारण मृत्यु निश्चय छ । मृत्यु भएर नै पुनर्जन्म हुन्छ । यो जन्म मृत्यु निरन्तर क्रिया हो, शेष हुँदैन । किन्तु निवृत्ति मार्ग तिर अलिकति पनि अग्रसर हुँदा अधिक्रम नाश र प्रत्यवाय रहदैन, यसबाट लक्ष्य नित्य आकृष्ट हुन्छ, त्यसकारण श्वासगत या शरीरगत जुनसुकै प्रकारको मृत्यु किन नहोस् दुई चार जन्मपछि  नै मृत्युको प्रवाहबाट पार पाइन्छ । बहूनां जन्मनामन्ते ज्ञानबान् मां प्रपद्यते–धेरै जन्मपछि ज्ञानवान्ले मलाई नै पाउंछ ।

व्यवसायिात्मिका बुद्धि रेकेह कुरनन्दन् ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।। ४१ ।।

भावार्थ – हे कुरुनन्दन ! यस मोक्ष मार्ग कर्मयोगमा बुद्धि निश्चयात्मिका हुन्छ (कुनै विषयमा दृढ निश्चय गरेर रहेको) एउटै हुन्छ, किन्तु अव्यवसायीहरूका बुद्धिहरू बहुशाखायुक्त तथा अनन्त हुन्छन् ।

विशिष्टार्थ – यस कर्मयोगद्वारा नै बुद्धि व्यवसायात्मिका अर्थात् आकाशमय चक्षुमा विस्तृत भएर  स्थिर रहनाले स्थिरतामयी वा निश्चयात्मिका हुन्छ एवं  ”एका” अर्थात् कूटस्थ मध्यस्थ कोटि सूर्य जस्तो चम्किलो र कोटि चन्द्र जस्तो सुशीतल तारक नक्षत्र भित्र प्रविष्ट भएपछि त्यो ब्रम्हानन्दमय हुन्छ । किन्तु अव्यसायीहरू अर्थात् विशेष  निश्चयका  साथ जसले उद्योग (प्राणायामादि रूप अनुष्ठानिक क्रिया) गर्दैनन् ती सबैको बुद्धि एकत्वलाई छाडेर नानात्वमा लाग्नाले बहुशाखायुक्त अर्थात् भिन्न भिन्न विषयहरूको संसर्गमा आएर भिन्न भिन्न प्रकारको हुन्छ अनि अनन्त अर्थात् विषय भोगमा आबद्ध रहेर त्यसले विषयलाई छोडेर ब्रम्हमा आएर चिर विश्राम ”निर्वणं परमां शान्तिं” पाउँदैन ।

जस्तो–पृथ्वी तत्वलाई रस तत्वमा मिलाएर एक गर्नु योग हो । त्यस्तै रसलाई तेजसंग मिलाउनु, तेजलाई वायुमा मिलाउनु, वायुलाई आकाशमा, आकाशलाई तन्मात्रामा, तन्मात्रालाई मनमा, मनलाई बुद्धिमा, बुद्धिलाई अहंकारमा, अहंकारलाई महतत्व या चित्तमा, चित्तलाई अव्यक्त अर्थात् मूल प्रकृतिमा र अन्त्यमा मूल प्रकृत्तिलाई पुरुषमा मिलाउनुको नाम योग हो ।

यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चितः ।
वेदवादरताः पार्थ नान्य दस्तीति वादिनः ।। ४२ ।।

कामात्मानः स्वर्गपराः जन्मकर्मफलप्रदाम् ।
 क्रियाविशिेषबहुलां भोगैश्वर्यगतिं प्रति ।। ४३ ।।

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धि समाधौ न विधीयते ।। ४४ ।

भावार्थ – हे पार्थ ! जुन अविवेकी, कामात्मा, स्वर्गपरायण मानिसहरू वेदवादरत छन्, तिनीहरू भोग ऐश्वर्य बाहेक अरू केही छैन भन्दछन् । त्यस्ता व्यक्तिहरू जन्मकर्मको फल दिने भोग ऐश्वर्य प्राप्तिको उपाय स्वरूप क्रिया विशेष बहुल देख्दा सुन्दा अत्यन्त राम्रो लाग्ने वचन बोल्दछन् । त्यही वचनले मन लोभिएका तथा भोग ऐश्वर्यमा आसक्त भएका हुनाले नै त्यस्ता सबैको बुद्धि समाधिमा दृढ निश्चय युक्त हुँदैन ।

विशिष्टार्थ – विपश्चित् (विप्र = विप्रकृष्ट+चित् = संग्रह गर्ने) दूरवतीको संग्रह गर्ने । दूर तीन प्रकारको हुन्छ देशगत, कालगत् र पात्रगत । देशगत दूरवर्तीलाई शारीरिक क्रियाद्वारा संग्रह (सम्यक् प्रकारले ग्रहण) गरिन्छ, कालगत दूरवर्तीलाई भूत भविष्यत्को अनुमानद्वारा अर्थात् अन्तःकरणको क्रियाद्वारा ग्रहण गरिन्छ भने पात्रगत दूरवर्तीको संग्रह अनुभवद्वारा अर्थात् लययोगद्वारा अन्तःकरण वृत्तिलाई लय गर्दै गर्दै सबै मायिक कुरा मेटिएर आत्मामा मिलेपछि हुन्छ । जसले शरीर, मन तथा आत्मा यी तीनैलाई एक गरेर दूरवर्ती षट्चक्र भन्दा पर रहेको नाद विन्दुलाई राम्ररी ग्रहण गर्न सक्दछ अर्थात् त्यसमा मिल्न सक्दछ वा मिल्ने चेष्टा गर्दछ त्यसलाई विपश्चित् भन्दछन् किन्तु जुन मनुष्य क्रियायोगद्वारा त्यस दूरवर्तीलाई संग्रह गर्दैन या संग्रह गर्ने चेष्टा गर्दैैन निकटवर्ती अर्थात् पञ्चचक्रभित्र दृश्यमान विषयलाई ग्रहण गर्दछ त्यसलाई अविपश्चित् भन्दछन् । निष्काम कर्म अनुष्ठानद्वारा नै दूरवर्तीको ग्रहण हुन्छ, सकाम कर्मद्वारा निकटवर्तीको हुन्छ । दूरवर्तीको ग्रहण हुन सक्दैन । अतः सकाम पुरुष नै अविश्चित् अर्थात् अविवेकी हो । अविवेकीले कामना परवश भएर विषयसुखभोगको सर्वोत्कृष्ट स्थान स्वर्गलाई लक्ष्य गर्दछ ।

स्वर्गलाभ नै काम्यकर्मको सर्वोत्कृष्ट फल हो । वेदका कर्मकाण्डहरूमा यस्तै प्रकारको विधान छ । ती मानिसहरू वेदका तिनै तिनै वचनहरूलाई लिएर स्वर्गलाभ नै श्रेष्ठतम फल हो, त्यो भन्दा अरू दोस्रो केही छैन भन्दै यस्ता अनेक प्रकारका मनमोहक मीठा मीठा कुराहरू गर्दछन् । यसो गर्दा ती व्यक्तिहरूले आफै‌लाई विर्सेर नित्यानित्य विचार विहीन भएर भोग र ऐश्वर्यमा डुवेर मदमस्त, बन्छन् समाधिमा व्यवसायात्मिकका बुद्धि मुक्त हुन सक्दैनन् । किन हुन सक्दैनन् भने विषयलाई स्पष्ट रूपमा बताइन्छ कर्म दुई प्रकारका हुन्छन् – सकाम र निष्काम । बहिर्मुखीकर्म स्थूल शरीरद्वारा र अन्तर्मुखीकर्म सूक्ष्म शरीरद्वारा गरिन्छ । कर्मको पनि एक सीमा हुन्छ । जस्तो – कठोर शारीरिक परिश्रम गरिसकेपछि जीउ थाकेर हल न चल हुन्छ र उसबाट अरू केही काम हुन सक्दैन, त्यस्तै आन्तरिक कर्म चरम अवस्थामा पुगेपछि स्थिरभाव आउंछ, त्यही स्थिरभावको  नाम नै समाधि हो । यो समाधि क्रियाको अवश्यंभावी फल हो, किन्तु सकाम र निष्काम कर्मले गर्दा समाधि पनि दुई प्रकारको हुन्छ  सकाम कर्ममा लय हुँदा कामना विषयको स्मृति संस्कारलाई लिएर  विश्राम लिनु पर्छ ।  समाधि भङ्ग हुनासाथ जागिन्छ र स्मृति पनि जाग्छ । यसैको नाम जड समाधि हो ।  यसमा विभूति लाभ हुन्छ तर मुक्ति हुँदैन । निष्काम कर्म गरेर समाधि लिंदा कामना रहदैन, केवल चैतन्यमा नै लक्ष्य रहन्छ र त्यसै चैतन्यमा लीन हुन जान्छ । यो अवस्था भङ्ग हुँदा मनमा वृत्तिमात्रको उदय हुन्छ, यदि वृत्ति पनि रहेन भने एक प्रकारको आनन्द रसको नशाले अन्तःकरण मदहोस् हुन्छ । यसैको नाम चैतन्य सामधि या ब्राम्ही स्थिति हो । यो चैतन्य समाधि लिनु भन्दा पहिले नै बुद्धि व्यावसायात्मिका हुन्छ । त्यसैले भनिन्छ – आसक्तियुक्त पुरुषहरूको समाधि भएर पनि बुद्धि व्यावसायात्मिका हुँदैन । 

 त्रैगुण्यविषया वेदाः निस्त्रैगुण्यो भवार्जुन ।
 निद्र्वन्द्वो नित्यसत्वस्थो निर्योगक्षेम आत्मवान् ।। ४५ 

क्रमशः

 

याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता अनुसार साधना कालका तीन अवस्था

युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ

साधना पनि मृत्यु नै हो

शरीर तथा समस्त इन्द्रिय नै स्त्री हुन्

कारण नै बीज हो

आत्मा अविनाशी हो

संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल