गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  फाल्गुन २४, २०७५

तस्य सञ्जनयन् हर्षं कुरुवृद्धः पितामहः ।
सिंहनादं विनद्योच्चैः शङ्खं दध्मौ प्रतापवान् ।। १२ ।।

भावार्थ – दुर्योधनको हर्ष र उत्साहलाई बढाउन कुरुवंशका वयोवृद्ध प्रभावशाली भीष्मपितामहले सिंह गर्जे जस्तै गर्जना गरी उच्च स्वरमा शंख बजाए ।

विशिष्टार्थ – दुर्योधन आचार्य द्रोणको मनमा ‘पाण्डवहरु प्रति रोष उद्दीपन गर्न’ चाहन्थे । त्यसैले उनले द्रोणसँग तपाईका शिष्य पाण्डवहरू तपाईसंग नै युद्ध गर्न आइरहेका छन् भन्ने कुरा गरे । तर दुर्योधनले आपूmलाई गुरु स्वीकार नगरेर आफू माथि प्रभुता देखाउन खोज्यो भन्ने भान द्रोणलाई पर्‍यो र उनले त्यसको कुनै उत्तर दिएनन् । भीष्मले द्रोणको त्यो उपेक्षालाई बुझे अनि दुर्योधन हतोत्साही नहोस् भन्ने उद्देश्यले उसलाई उत्तेजित गर्न उच्च स्वरमा सिंहनाद गर्दै शंख ध्वनि गरे ।

सिंहनाद, शंख साधनाको पहिलो अवस्थामा जब क्रिया विशेषद्वारा वायुको निरोध गरिन्छ तब अभ्यासको अल्पताका कारण वासनाको वशमा परेर वायुलाई ताडना गरेर साधक अवरूद्ध वायुलाई त्याग्न वाध्य हुन्छ, अनि त्यस रुद्ध वायुको यातनाले छिटो छिटो निष्कृति पाउनका लागि त्यसरी वेगले दीर्घ निश्वास छोड्छ र भित्र त्यो सिंहनाद जस्तो सुनिन्छ साथै एक अर्को ध्वनिको उत्थान हुन्छ । त्यसको स्वर मोटो र गम्भीर हुन्छ । त्यही भीष्मको शंख ध्वनि हो । 

निश्वासलाई वेगले छोड्दा शरीर थाकेको अनुभव हुन्छ र त्यसको शव्द सुन्नमा मधुर हुने हुँदा एक प्रकारको आनन्द पनि हुन्छ । त्यसबाट वासना वृत्ति प्रस्फुटित हुन्छ, किन कि बाहिरको विषय भोगका लागि सुयोग प्राप्त भएको हुन्छ । यसैलाई नै दुर्योधन हर्ष भनिन्छ । 

त्यस श्रुति मधुर शव्दलाई सुन्दै जाँदा त्यो वायुको ताडनले शीघ्र नै मिश्रित एक अस्पष्ट शव्दमा परिणत हुन्छ, त्यसकारण त्यो तुमुल बन्न पुग्छ ।

भीष्मलाई कुरुवृद्ध पितामह भन्नुको कारण योगशास्त्रको अर्थका साथै कुरूवंशको वंश सूची दिइएको छः


                                
(१)    शान्तनु = निर्विकार ब्रम्हचैतन्य
(२)    गंगा = चैतन्य प्रकृति
(३)    भीष्म = आभास चैतन्य, गंगाका आठ पुत्र अष्टवसु मध्ये आठौं पुत्रको नाम प्रभास = अस्मिता वा भीष्म
(४)    सत्यवती = जड प्रकृति, 
(५)    वेदव्यास = भेदज्ञान (पराशर ऋृषिका शुक्रजात पुत्र)
(६)    चित्राङ्गद = ऐश महतत्व 
(७)    विचित्र वीर्य = ऐश, अहङ्कार ।
(८)   अम्बिका = संशयवृत्ति
(९)    अम्बालिका = निश्चयवृत्ति    
(१०)   धृतराष्ट्र = मन (अन्ध)
(११)    पाण्डु = निर्मल बुद्धि
(१२)    गान्धारी = प्रवृत्तिशक्ति
(१३)     वैश्या = प्रवृत्ति आसक्ति (ग्रहण, त्याग)
(१४)   कुन्ती = निवृत्ति आसक्ति    
(१५)  माद्री = निवृत्ति आसक्ति    
(१६)    दुर्योधन = काम क्रोधादि
(१७)     युयुत्सु = युद्धेच्छा
(१८)    युधिष्ठिर = आकाश तत्व    
(१९)   भीम = मरुत्तत्व (शव्द, स्पर्श गुण)        
(२०)   अर्जुन = तेजस्तत्व (शव्द, स्पर्श, रूप गुण)
(२१)    नकुल = रस तत्व (शव्द स्पर्श, रूप, रस गुण)
(२२)    सहदेव = पृथ्वी तत्व  (शव्द, स्पर्श, रूप, रस, गन्ध गुण)
(२३)   द्रौपदी  = कुल कुण्डलिनी
(२४)   सुभद्रा  = अतिशय मंगल शक्ति
(२५)   अभिमन्यु = संयम अर्थात््, धारणा, ध्यान, समाधि एकत्र समावेश ।

ततः शङ्खाश्च भेर्यश्च पाणवानकगोमुखाः ।

सहसैवाभ्यहन्यन्त स शव्दस्तुमलोऽ भवत् ।। १३ ।।

भावार्थ – त्यसपछि शङ्ख र नगडा तथा मृदङ्ग, नर्सिंघा आदि बाजाहरू एकाएक एकैसाथ बजाइए । तिनीहरूको ध्वनी अत्यन्त भयङ्कर थियो ।

विशिष्टार्थ – साधक यस अवस्थामा आइपुग्दा उसका शरीरका नाडी समूहको छिद्र पथमा वायु प्रवेश गरेका कारण नाना प्रकारका शव्दहरू उत्पन्न हुन्छन् । तुरी, भेरी, दमाहा, ढोल, बंशी आदि  एकसाथ बज्नाले जुन तुमुल ध्वनी सुनिन्छ यो ध्वनी पनि त्यस्तै प्रकारको हो । 

यो टाढाको हाट बजारबाट उत्पन्न शव्द सुन्दा जस्तो सुनिन्छ त्यस्तै हुन्छ ।

    ततः श्वेतै र्हयैर्युक्ते महति स्यन्दने स्थितौ ।
    माधवः पाण्डवस्चैव दिव्यौ शङ्खौ प्रदध्मतुः ।। १४ ।।

भावार्थ – त्यसपछि सेता घोडाले युक्त महान् उत्तम रथमा बस्नु भएका श्रीकृष्ण र अर्जुनले
पनि दिव्य शङ्खहरू बजाए ।

विशिष्टार्थ –वासनावृत्ति (प्रवृत्ति) द्वारा साधक तल तिर ओर्लँदा पनि आत्ममुखी वृत्ति (निवृत्ति) मनमा उदय भएर फेरि उसलाई माथि तिर  नै तान्दछ अर्थात्् साधक जब बहिर्मुखीवृत्तिलाई समेटेर हृदयमा प्रवेश गर्दछ तब प्रायः माथिल्लो कुनै एक स्थानमा अड्किन्छ, त्यही स्थान महती स्यन्दन वा उत्कृष्ट रथ हो । 

त्यहां साधकलाई एक शुभ्र्रज्योति देखा पर्दछ, त्यही श्वेत अश्व हो र त्यो ज्योति चार टुक्रा भएर दाया वायां तल, माथि विद्युत् वेग जस्तै देखिएर हराउँछ । सोही ज्योति पछि हृदयमा अखण्डमण्डलाकार घोर कृष्ण वर्ण पदमा देखा पर्दछ । सोही  ‘माधव’ (मा = लक्ष्मी), सत्वगुणा महाशक्ति (प्रकाश) + धव = पति (कृष्ण)  अर्थात् महत् प्रकाश जसको काखमा बसेर प्रकाशित हुनुहुन्छ, उहाँ नै माधव हो । 

अन्तमा साधकलाई यस कृष्ण वर्ण मण्डलका भित्र एक अत्यन्त उज्ज्वल गाढा कृष्ण वर्ण विन्दु देखा पर्दछ त्यही विन्दु पाण्डव (अर्जुन) हो । यसरी हेर्दा हेर्दा मन जब निस्पन्द हुन्छ तब एक आकाश व्यापी शव्दको उत्थान हुन्छ । त्यो शव्द कस्तो र त्यसको उत्पत्ति स्थान पनि कस्तो छ भन्ने कुरा यसपछिका श्लोकहरूमा बताइएको छ ।

 पाञ्चजन्यं ह्षीकेशो देवदत्तं धनञ्जयः ।
  पौण्डं« दध्मौ महाशंखं भीमकर्मा वृकोदरः ।। १५ 

क्रमशः
    

याे पनि

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो