गीता अनुसार साधना कालका तीन अवस्था

गीता अनुसार साधना कालका तीन अवस्था

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र ९, २०७५

    स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयन् ।
    नभश्च पृथिवींचैव तुमुलो व्यनुनादयन् ।। १९ 

भावार्थ – पाण्डवसेनाको त्यो शङ्खध्वनिले आकाश र पृथ्वीलाई गुञ्जायमान गर्दै दुर्योधनादि कौरव सेनाको हृदयलाई विदीर्ण गर्‍र्यो‍ ।

विशिष्टार्थ – ती स्वर समूहहरू जब सुनिन्छन् साधकको अन्तःकरण अवश भएर त्यतैतिर आकृष्ट हुन्छ । पृथ्वी (मूलाधार) देखि आकाश (विशुद्ध) सम्म सम्पूर्ण स्थान नादले परिपूर्ण हुन्छ । परन्तु त्यसबेला उसको मनमा वासनावृत्ति प्रबल भइदिनाले असल खराब संझन नसकी ती सबै शव्दहरूलाई उपद्रवजनक ठानेर साधक ती सबैलाई परित्याग गर्ने चेष्टा गर्दछ, परन्तु गर्न सक्दैन् । हृदयमा एक प्रकारको  व्याकुलता बढेर आउँछ । साधनाक्रममा सर्वप्रथम नाद उठ्न प्रारम्भ भएदेखि नै यस्तो अवस्था हुन्छ । यो सबै आफैंले अनुभव गर्ने कुरा हो, अरूलाई संझाउन भने सकिन्न् । उद्वेगका बेला मनमा एक खराब भाव उठ्नासाथ स्वभावतः असल भावको पनि उदय हुन्छ, यो नितान्त सत्य हो । अतः साधकको मनमा यसरी धृतराष्ट्र भावको उदय भएपछि श्लोक २० मा लेखिएको  पाण्डव  भावको पनि उदय हुन्छ । किन्तु वासना प्रबल भैदिंदा ज्ञानका कुरा पनि अज्ञानले पूर्ण हुन्छन् । २१ श्लोकमा भनिएको अर्जुनको कथन पनि त्यस्तै प्रकारको हो ।

 अथ व्यस्थितान् द्दष्टवा धार्तराष्ट्रान् कपिध्वजः ।
   प्रवृत्ते शस्त्रसम्पाते धनुरुद्यम्य पाण्डव । २० 

  भावार्थ – हे महाराज ! त्यसपछि अर्जुनले हतियारहरू हातमा लिएर चलाउन ठीक परेको अवस्थामा व्यवस्थित रूपले अगाडि खडा भएका दुर्योधनादिलाई देखेर आफ्नो गाण्डीव धनु उठाउँदै भगवान् श्रीकृष्णलाई यो वचन भने ।

विशिष्टार्थ – कपिध्वजः, क्रियाकालमा जिब्रोलाई पल्टाएर नासारन्ध्र भन्दा माथि श्लेष्माको स्थानलाई अतिक्रमण गरेर अलिकति वायाँतिर हल्लाएर राख्नुलाई साधकको कपिध्वज अवस्था भनिन्छ । धनुरुद्यम– मेरुदण्डको नाम धनु हो । ‘सम कायशिरोग्रीव’ हुँदाखेरि मेरूदण्ड धनुषाकारमा पछाडि पट्टि झुक्छ । छातीलाई तन्काएर मस्तकलाई सीधा उठाएर चिवुकलाई कण्ठकूपतिर संयत गर्नाले नै मेरूदण्डले त्यस प्रकारको आकार लिन्छ । अतः त्यसरी बस्नुको नाम ‘धनुरुद्यमन’ हो । यस अवस्थामा प्रकृत्तिको दलले छिद्र पाउनासाथ विषयतिर दर्गुछ र निवृत्तिको दल पनि साधकलाई आत्मामा मिलाउनका लागि आत्ममुख तिर लैजान प्रारम्भ गर्दछ । यसरी समस्त वृत्तिहरू आफ्ना आफ्ना कामहरू सबैभन्दा पहिले गर्नका लागि स्थिर र प्रस्तुत भएर रहन्छन् । यस्तो अवस्थालाई नै प्रवृत्ते शस्त्रसंपाते भनेर व्यक्त गरिएको छ ।

हे अच्युत ! दुबै सेनाको बीचमा लगेर मेरो रथ खडा गर्नुहोस्, म युद्धको इच्छा गरेर खडा भएका यिनीहरूलाई हेर्नसकौं । यस युद्धरूपी उद्योगमा मैले को कोसंग युद्ध गर्नुपर्ने हो । यस युद्धमा दुष्टबुद्धि भएको दुर्योधनको हितको कामना गरेर अरू जो जो यहाँ आएका छन् ती सबै युद्धकांक्षीहरूलाई पनि हेर्न सकौं ।

यसै अवस्थामा हृषीकेशको अविर्भाव हुन्छ, अर्थात् इन्द्रिय समुदायवृत्ति आफ्ना आफ्ना कार्यमा उन्मुख रहनाले ती सबै माथि आधिपत्य गर्ने शक्ति साधकमा आउँछ । त्यही संयम शक्तिको नाम हृषीकेश हो ।

 अर्जुन उवाच – 
    हृषीकेशं तदा वाक्यमिदमाह महीपते ।                  

    सेनयोरुभयोर्मध्ये रथं स्थापय मेऽच्युत ।। २१
    यावदेतान्निरीक्षेऽहं योद्धुकामानवस्थितान् ।
    कैर्मया सह योद्धव्यमस्मिन् रणसमुद्यमे ।। २२ ।।
    योत्स्यमानानवेक्षेऽहं य एतेऽत्र समागताः ।
    धार्तराष्ट्रस्य दुर्बुद्धेर्युद्धे प्रियचिकीर्षवः ।। २३ ।।

भावार्थ – अर्जुनले भने, हे अच्युत ! दुबै सेनाको बीचमा लगेर मेरो रथ खडा गर्नुहोस्, म युद्धको इच्छा गरेर खडा भएका यिनीहरूलाई हेर्नसकौं । यस युद्धरूपी उद्योगमा मैले को कोसंग युद्ध गर्नुपर्ने हो । यस युद्धमा दुष्टबुद्धि भएको दुर्योधनको हितको कामना गरेर अरू जो जो यहाँ आएका छन् ती सबै युद्धकांक्षीहरूलाई पनि हेर्न सकौं ।

विशिष्टार्थ – अर्जुन उवाच– यहींबाट श्रीकृष्णार्जुन सम्वाद शुरू हुन्छ । अर्जुन – जो पाशमुक्त छैन, अर्थात् साधकको संसार आवद्ध जीवावस्थाको नाम अर्जुन हो । यहाँ साधकलाई नै अर्जुन भनिएको छ । साधकले साधनाको जीवनमा भिन्न भिन्न अवस्थाहरूको भोग गर्दै जानुपर्छ, ती एक एक अवस्थामा उसका एक एक नाम पनि रहन्छन् । योगशास्त्रको सारभूत यस गीतालाई सम्झन बुझ्न साधारणतः साधकका तीन अवस्थाको उल्लेख गर्न सकिन्छ । प्रथम अवस्था – दीक्षा संस्कारबाट द्विजत्व लिएर क्रिया शुरू गरी मृणालतन्तु सद्दश अति सूक्ष्म सुषुम्नापथको प्रवेशद्वारसम्म पुग्नु हो । यो अवस्था अत्यन्त चंचलतामय हुन्छ । यो नै साधकको बाल्यअवस्था हो । यस अवस्थामा केवल गुरुकृपाद्वारा कूटस्थ ज्योति तिर आकृष्ट भएर क्रिया गर्दा गर्दा साधकको हृदयमा बल संचय भैरहन्छ । यही अवस्था महाभारतमा पाण्डवहरूको वानप्रस्थ अवस्थामा वर्णित गरिएको छ ।

द्वितीय अवस्था – क्रियाद्वारा मनको प्रबल चंचलतालाई नष्ट गरेर बाह्य ज्ञानलाई क्षीण गर्दै सुषुम्नाको त्यस सूक्ष्माति सूक्ष्मतम छिद्रपथमा मनलाई प्रवेश गराउनु नै साधकको द्वितीय अवस्था हो । त्यस समयमा शरीरको जुन जुन अवस्था हुन्छ, मनमा जुन जुन भावहरू उठ्छन् तथा जुन जुन देख्नमा र सुन्नमा आउंछन् ती समस्त श्रीकृष्णार्जुन सम्वाद भनेर गीताको नामले वर्णन गरिएको छ । यस अवस्थामा साधकलाई केवल अर्जुन नामद्वारा अभिहित गरियो; किन कि वासना क्षय नहुनाले कर्म बन्धन रहेर पनि रज, सत्वगुण मिलेर क्रियाशील हुनाले उसबाट सर्वदा निर्मल कर्म नै सम्पादन भइरहन्छ । महाभारतमा पनि लेखिएको छ ।  सदैव निर्मल कर्म गरेको हुनाले नै तृतीय पाण्डवको नाम अर्जुन भएको थियो । यो अवस्थामा प्राप्त (धर्म क्षेत्र कुरूक्षेत्रमा आएको) साधकलाई केवल अर्जुन नामले निर्देश गरेर पनि गीतामा अनेकौं स्थानमा उनलाई पार्थ, धनञ्जय, पाण्डव, कौन्तेय, सव्यसाची आदि नामहरूद्वारा सम्बोधन गरिएको छ । किन कि धर्मक्षेत्र कुरूक्षेत्रमा उपस्थित हुँदा पनि उनका मनमा प्रथमतः माया ममतादिरूप दुर्बलताको प्रकाश अनि बीच बीचमा विराग भाव पनि प्रकाशित भयो । उनको त्यस बेलाको मनको अवस्थाहरूलाई प्रकाश गरिदिनका लागि नै भिन्न भिन्न नामले उनलाई सम्बोधन गरिएको छ । अरू पनि – साधक यस अवस्थामा आइपुग्दा चालक स्वरूप कूटस्थ चैतन्य श्रीकृष्ण सारथी हुनुहुन्छ, त्यस अवस्थामा साधकका मनमा जान्नका लागि जुन जुन इच्छाहरू हुन्छन् कूटस्थ चैतन्यको तेजोमय ज्योतिद्वारा तिनीहरूको उत्तर स्वरूप उनका मनमा स्वतः त्यसको मीमांसा प्रकाशित हुन्छ  अनि अनेक प्रकारका आकाशसंभवा (अशरीरी) वाणी पनि सुनिइरहन्छन् । यी सबै दर्शन, श्रवण गरेर साधक (अर्जुन) अवाक भएर स्तम्भित हुन्छ । 

तेस्रो अवस्था – द्वितीयावस्थामा क्रिया गर्दै गर्दै  सुषुम्नाभित्र व्रम्हनाडीद्वारा ऊध्र्वगमन हुँदा जव भीष्मरूप अविद्यायुक्त  अहंत्व (देहात्मामिमान) निष्क्रिय हुन्छ, तब साधक एक प्रकारको समाधिमा पुग्दछ । समाधिको भोगकालमा उसको साधनाको चेष्टा स्थिर भएपछि विकर्मरूप सञ्चित कर्मराशिले फल दिनका लागि उसलाई बारम्वार तान्दै अज्ञातभावमा तल ओरालेर एकदम बाहिरका विषयमा लगाइदिन्छ । अनि त उसलाई मनोकर्मशील हुनु पर्दछ । त्यस समयमा चैतन्यज्योतिको प्रकाश नरहनाले स्मृतिशक्तिको सहायताले अन्धाले झै‌ क्रिया गरेर साधनलव्ध अनुभव आत्मिकी  दिव्यशक्तिले  आमूल आफ्नो साधन प्रकरण देख्नु पर्दछ । यस्तो अवस्थामा रहने साधकलाई गीतामा धृतराष्ट्र भनिएको छ ।

महाभारतमा धृतराष्ट्र अर्जुनका जेष्ठ पिता हुन् । अतएव एउटै साधकलाई कहिले अर्जुन त कहिले धृतराष्ट्र भन्नु विसंगत देखिन्छ । किन्तु मनमा यस कुरालाई ध्यान दिनु पर्छ कि गीता योगशास्त्र हो । चौवीस तत्वका जुन तत्वमा जब चेतनाशक्ति खेलिरहन्छ त्यस समयमा त्यही तत्व चेतनायुक्त भएर आफ्नो काम गरिरहन्छ । जे जस्तो काम काज छ त्यो एउटै शरीरमा वृत्तिभेद गरेर भिन्न भिन्न भावमा भइरहन्छ । त्यसैले यहाँ पिता–पुत्र, आत्मीय स्वजनादि कुनै सम्बन्ध नै छैन । रूपकको वर्णन गर्नाले तिनै सबै सम्बन्धहरूलाई लिएर पारस्परिक नाता जोड्नु पर्छ । योगशास्त्र भन्दा इतिहासमा यही पृथकता छ ।

द्रष्टव्यः (१) गीतालाई संझन बुझ्न तीन अवस्थाहरूलाई अवश्य जान्नु पर्दछ । यी तीन अवस्था बाहेक साधकका अरू पनि अवस्था छन् । उसको अन्तिम अवस्था भनेको महाप्रस्थान काल हो । यसको उपाय आठौं अध्यायमा वर्णन गरिएको छ ।

(२) द्वितीय अवस्था श्रीकृष्णार्जुन सम्वाद हो । अतः गीतामा अर्जुन र भगवान्को उक्ति समस्तलाई यो अवस्था लक्ष्य गरेर संझनु पर्छ । अनि तृतीय अवस्था भनेको धृतराष्ट्र संजय सम्वाद हो । अतः सञ्जयको उक्ति समूहलाई साधकको तृतीय अवस्थालाई लक्ष्य गरेर संझनु पर्दछ । 

अब २१,२२ र २३ श्लोकहरूको गूढ अर्थ यस प्रकार रहेको छ –

साधकले सुषुम्नाको प्रवेशद्वारको ठीक भित्र पुगेर देख्छ – कूटस्थको स्निग्ध तेजको ज्योति ‘अच्युत’ अर्थात् स्थिर, धीर तथा आकर्षण शक्तिले युक्त छ । त्यसमा साधकको द्दक्शक्ति सम्पूर्णरूपले आकृष्ट भएपछि फेरि अर्कोतिर लाग्दैन, स्थिर भइरहन्छ, यही अच्युत अवस्था हो । साधकको दृष्टि यसरी स्थिर हुँदा पनि विषय वासनाको क्षय नहुनाले ऊ चंचलता ग्रस्त पनि हुन्छ, किन्तु गुरुपदेश अनुसार प्रवृत्ति–निवृत्ति या आकर्षण विकर्षण शक्ति – दुबैको मध्य स्थानमा  (सेनयो रुभयोर्मध्ये) रहने चेष्टा पनि बलवती हुन्छ । (यही भाव २१ औं श्लोकमा व्यक्त भएको छ ) । यसबेला साधकको मनमा विचार उत्पन्न हुन्छ – एक पटक हेरिहालूँ । कुन कुन वृत्तिहरू अव परस्पर प्रतिद्वन्दी भाव लिएर विद्यमान छन् अर्थात् मसित युद्ध गर्न आउनेहरू को को रहेछन्, मैले को को संग युद्ध गर्नु पर्ने हो (२२ औं श्लोक) वा विषय वासना वृत्तिहरूलाई बलवान् राख्न कुन कुन वृत्तिहरू मनमा उदय भएका छन् (२३ औं श्लोक) ।

क्रमशः

 याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो