गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र २, २०७५

     पाञ्चजन्यं हृषीकेशो देवदत्तं धनञ्जयः ।
    पौण्डं« दध्मौ महाशंखं भीमकर्मा वृकोदरः ।। १५ 
    अनन्तविजयं राजा कुन्तीपुत्रो युधिष्ठिरः ।
    नकुलः सहदेवश्च सुघोषमणिपुष्पकौ ।। १६ 
    काश्यश्च परमेष्वासः शिखण्डीच महारथः ।
   धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित ।। १७ 
    द्रुपदो द्रौपदेयाश्च सर्वशः पृथिवीपते ।
  सौभद्रश्च महाबाहु शङ्खान्दध्मुः पृथक् पृथक् ।। १८ 

भावार्थ – श्रीकृष्णले पाञ्चजन्य शङ्ख, अर्जुनले देवदत्त, भीमसेनले पौण्ड्र, युधिष्ठिरले अनन्त विजय, नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामक शङ्खहरू बजाए ।

हे महाराज ! धनुर्धारी काशिराज, महारथी शिखण्डी तथा धृष्टद्युम्न, राजा विराट्, अजेय सात्यकि, द्रौपदीका छोरा तथा महाबाहु अभिमन्यु यी सबैले आफ्ना आफ्ना शङ्ख बजाए ।

विशिष्टार्थ – हृषीकेशः = हृषीक+ईश, जो इन्द्रियहरूका नियन्ता हुनुहुन्छ । जसको तेजले इन्द्रियहरूले आफ्ना आफ्ना कार्यहरू गर्दछन्, उहाँ नै हृषीकेश (श्रीकृष्ण) कूटस्थ चैतन्य हो ।

उहाँको स्थान आज्ञाचक्र हो । 

मूलाधारादि पाँच चक्रहरूबाट उठेको पाँच स्वर एक साथ मिलेर आज्ञा चक्रको भित्रबाट निस्केको झैं अनुभव हुन्छ, त्यसैले श्रीकृष्णको शङ्खलाई पाञ्चजन्य भनिन्छ । धनञ्जयः – धन विभूति (जन्म, मृत्यु, सुख, दुःख, क्षुधा, तृष्णा), जय–जित्ने, अर्थात् विभूति विजयी नै धनञ्जय पद वाच्य हो । तेजद्वारा नै क्रियाशक्तिको विकास हुन्छ, वायु पनि तेजद्वारा नै चलिरहन्छ, अतएव जे जति शक्तिको प्रकाश हो त्यो तेजद्वारा नै हुन्छ, अतः तेजतत्वको नाम धनञ्जय हो । यसको स्थान मणिपुर चक्र हो । यहाँ यी वैस्वानर नामले जीवको जीवनी शक्ति (अन्न पचन रस रूप अमृत) प्रदान गर्दछन् । यी वैस्वानर देव नै सबै देवताका मुख स्वरूप हुन्, अतः साधनाक्रममा त्यस मणिपुर चक्रबाट जुन वीणा शव्दवत् शव्द उत्पन्न हुन्छ त्यसैको नाम देवदत्त शङ्ख ध्वनि हो, अनुभवात्मिका वा सानन्द संप्रज्ञात समाधि अवस्था हो । 

वृकोदर– वृक–अग्नि, उदर = पेट, पेटमा वृक नामको  अग्नि रहेकोले भीमको नाम वृकोदर हो अर्थात वायु तत्व । अग्नि वायुवाट उत्पन्न भएर फेरि वायुमा नै लय हुन्छ, अतः भनिन्छ, वायु भित्र अग्नि छ । यही कारणले वायु तत्वलाई वृकोदर भनिन्छ । वायुको स्थान हृदयस्थ अनाहत चक्र हो । साधनाक्रममा यहाँबाट ठूलो घण्टको ध्वनि जस्तै एक ध्वनी उत्पन्न हुन्छ, त्यसैको नाम पौण्ड्रशङ्खध्वनि, अहंकारवृत्ति वा सस्मिता सम्प्रज्ञात समाधि अवस्था हो । 

आज्ञाचक्रदेखि माथि दशाङ्गुल स्थानमा ५१ वटा छिद्रले युक्त अति कोमल एक टुक्रा अस्थि हुन्छ, त्यसलाई महाशङ्ख भन्दछन् । त्यसको ठीक बीचको छिद्रलाई सुमेरू भन्दछन् । शरीरको सबै भाग आहत हुन्छ, केवल दशाङ्गुल परिमित स्थान मात्र अनाहत छ । साधनाक्रममा वायु जव त्यो सुमेरुलाई भेदन गरेर सहस्त्रारमा पुग्छ अनि दीर्घ घण्टा निनादवत् अकम्पन महाशङ्खध्वनि सुनिन्छ, त्यही भीमको शङ्खध्वनि हो ।

महाशङ्ख– आज्ञाचक्रदेखि माथि दशाङ्गुल स्थानमा ५१ वटा छिद्रले युक्त अति कोमल एक टुक्रा अस्थि हुन्छ, त्यसलाई महाशङ्ख भन्दछन् । त्यसको ठीक बीचको छिद्रलाई सुमेरू भन्दछन् । शरीरको सबै भाग आहत हुन्छ, केवल दशाङ्गुल परिमित स्थान मात्र अनाहत छ । साधनाक्रममा वायु जव त्यो सुमेरुलाई भेदन गरेर सहस्त्रारमा पुग्छ अनि दीर्घ घण्टा निनादवत् अकम्पन महाशङ्खध्वनि सुनिन्छ, त्यही भीमको शङ्खध्वनि हो ।

युधिष्ठिर– (युद्ध गरेर जसलाई कसैले हराउन सक्दैन) – आकाश तत्व । आकाश सदैव स्थिर रहन्छ । यसमा पृथ्वी, अप, तेज, वायुको प्रवल ताडनाले पनि कुनै चंचलता आउँदैन, अतः आकाश तत्वको नाम युधिष्ठिर हो । यसको स्थान विशुद्ध चक्र हो । साधनाक्रममा यस चक्रबाट मेघ गर्जे जस्तो ध्वनि उत्पन्न हुन्छ, यसैलाई अनन्त विजय शङ्खध्वनि भनिन्छ, किन कि यस ध्वनिलाई कसैले अतिक्रमण गर्न सक्दैन् । यस ध्वनिमा मन लीन गर्नाले सर्ववृत्तिशून्य ‘असं–प्रज्ञात समाधि अवस्था’ प्राप्त हुन्छ ।

नकुल– रसतत्व, जति प्रकारका रस छन्, भोग गरेर ती रसलाई कसैले शेष गर्न सक्दैन् अर्थात भोगले रसको सीमा पाउन सकिदैन्, यसैले रस तत्वको नाम नकुल हो । यसको स्थान लिङ्ग मूलस्थ स्वाधिष्ठान चक्र हो । साधनाक्रममा यहाँबाट, वेणु ध्वनी जस्तो ध्वनी उत्पन्न हुन्छ , यसको नाम सुघोष शङ्खध्वनि हो । यो निश्चयात्मिका वृत्ति वा सविचार संप्रज्ञात समाधि अवस्था हो ।

सहदेव– पृथ्वी तत्व । पृथ्वीसंग जीवको खेल अर्थात् पञ्चमहाभूत अन्तर्गत शव्द, स्पर्श, रूप, रस, गन्ध यी पाँच गुणयुक्त पार्थिवाणुका साथ नै जीवको घनिष्ठ सम्बन्ध  हुन्छ, अतः पृथ्वी तत्वको नाम सहदेव हो । यस घनिष्ठताका कारण नै स्थूल शरीराभिमान प्रबल हुन्छ । मूलाधारचक्र यस पृथ्वीतत्वको स्थान हो । साधनाक्रममा यहाँबाट मत्तभृंग–शव्दवत् ध्वनी उत्पन्न हुन्छ, यही मणिपुष्पक शङ्ख ध्वनि हो । यो संशयावृत्ति वा सवितर्क संप्रज्ञात समाधि अवस्था हो ।

कूटस्थ लक्ष्य लिएर नै क्रिया गर्ने उपदेश छ गीताको । आज्ञाचक्रमा अकम्पन स्थिति प्राप्त गर्नाले नै ज्ञान विज्ञानविद् भइन्छ, किन कि यहाँ अति सूक्ष्माकारले पञ्चतत्व नै वर्तमान रहेको हुन्छ, अतः मूलाधारादि पञ्चचक्रलाई जान्ने विषय समूह यहीं नै अवगत हुन्छ, अनि तत्वातीत निरञ्जन पुरुष पनि त्यहीं विद्यमान हुनुहुन्छ । यसद्वारा उहाँको संस्पर्शका लागि प्रज्ञानम् ब्रम्ह, तत्वमसि, अहं ब्रम्हास्मि इत्यादि महावाक्य समूहको अर्थ प्रत्यक्ष गरेपनि ब्राम्ही स्थिति लाभ गरेर ‘सर्वं खलु इदं ब्रम्ह’ ज्ञानमा जीवन्मुक्त भएर विचरण गरिन्छ ।

क्रियाकालमा क्रिया गर्दा गर्दा कुटस्थमा मन स्थिर भएपछि एक वायु तलदेखि ऊध्र्वदिशामा सरासर तीव्र वेगले उठिरहन्छ र त्यसैका साथै एक ध्वनीको पनि उत्थान हुन्छ, त्यसै ध्वनीलाई ‘नाद’ भनिन्छ । किन्तु कुटस्थमा लक्ष्यराखेर मन स्थिर भएको बेला त्यस वायुको धक्का (शव्दध्वनि) पहिले आज्ञाचक्रमा नै अनुभव हुन्छ । त्यो नादलाई एकाग्र चित्त गरेर सुन्दा भिन्न— भिन्न— विभिन्न प्रकारका स्वरहरू मिलेर एक स्वतन्त्र छुट्टै ध्वनि बजेको जस्तो अनुभव हुन्छ । त्यही ध्वनि हृषीकेशको पाञ्चजन्य शङ्खध्वनि हो । अनि मानस क्रियाद्वारा त्यस ध्वनि भित्र प्रवेश गर्ने चेष्टा गर्नु पर्दछ । चेष्टा मात्रले नै त्यस वायुको शक्ति संचारका कारणस्वरूप मणिपुरस्थ तेज–तत्वको आविर्भाव हुन्छ, त्यस ध्वनिको ठीक बीचमा एक तेजोमय ज्योति प्रकट हुन्छ, (ध्वनेरन्तगर्तं ज्योतिः), अब त्यो ध्वनि परिवर्तन भएर भंmकारका साथ वीणाको जस्तो ध्वनि गरेर बज्न थाल्दछ । त्यो ध्वनिनै अर्जुनको   ‘देवदत्त’  शङ्खनाद हो । त्यस वीणा ध्वनिमा मनलाई प्रवेश गराउँदै जाँदा त्यस उध्र्वगामी वायुको धक्कामा वायुतत्वको प्रकाश प्रत्यक्ष हुन्छ  साथै शव्द पनि बदलिएर दीर्घ घण्टानिनादवत् ध्वनि सुनिन्छ । यही शव्द भीमको पौड्रक नामक महाशङ्ख ध्वनि हो । 

यस शव्दभित्र मनलाई प्रवेश गराउँदा तीव्र वैद्युतिक शक्ति उत्पन्न भएर मनलाई विशुद्धमा उठाएर आकाशव्यापी बनाउँछ । बाहिर पनि शरीरमा रोमाञ्च उत्पन्न हुन्छ र मेघ गर्जन जस्तो      शव्दध्वनि सुनिन्छ । त्यही शव्द युधिष्ठिरको अनन्त विजय शङ्खध्वनि हो । विशुद्ध कमलमा पुगेर त्यस वायुको वेग एकदम निस्तेज हुन्छ । पञ्चभौतिकको अबलम्बन नपाउनाले त्यो अरू माथि जान सक्दैन, अनि बिस्तारै बिस्तारै तलतिर बढ्दै जान्छ । निम्न गति हुनाले नै कुनै प्रकारको अवरोध नपाइकन त्यो स्वाधिष्ठानमा पुग्छ र सुमधुर बेणुको जस्तो शव्द उत्पन्न हुन्छ, त्यही शव्द नकुलको सुघोष शङ्खध्वनि हो । त्यस बेला एक प्रकारको अपार आनन्द रसको प्रभावले मन प्रफुल्लित हुन्छ, किन्तु त्यस वायुको वेग तलतिर क्रमानुसार वढ्दै बढ्दै जाँदा स्वाधिष्ठानलाई स्पर्श गरेर नै मूलाधारमा आइपुग्छ । क्रम अनुसार जब वायुको वेग जसै स्थिर हुन्छ त्यस बेला मत्त भृङ्गको शव्द जस्तै ध्वनी उत्पन्न हुन्छ, त्यसैको नाम सहदेवको मणिपुष्पक शङ्खध्वनि हो । यस ध्वनिमा साधकको मन अत्यन्त प्रफुल्लित हुन्छ । जस्तो प्रफुल्लता त्यस्तै चंचलताको प्रकाश । त्यस चंचलताको आश्रय लिएर मन बाहिर आइपुग्छ । यसबेला साधकलाई निमेष मात्रका लागि ‘पृथक पृथक’  धेरै शव्दहरू एक एक गरेर सुनिन्छन्, किन्तु मनको चंचलताका कारण ती सबै शव्दहरू क्षण स्थायी र अपरिस्फुट हुनाले साधकको धारणामा राम्ररी आउन सक्दैनन् ।

साधनाको क्रियाकालमा प्रवृत्ति र निवृत्तिको ताडनमा अभिभुत भएर कुटस्थतिर लक्ष्य गर्न वाध्य भएपछि साधकले क्रमशः अनेक प्रकारका रंगीविरंगी रूपहरू देख्छ र अनेक प्रकारका झीना मोटा स्वरहरू सुन्छ । यही कुरा यी सबै श्लोकहरूमा बताइएको छ ।

स घोषो धार्तराष्ट्राणां हृदयानि व्यदारयन् ।

क्रमशः

 

याे पनि

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ