आत्मा अविनाशी हो

आत्मा अविनाशी हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  बैशाख २८, २०७६

    अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् ।
    विनाशमव्यस्यास्य न कश्चित् कर्तुमर्हति ।। १७ ।।

भावार्थ– जुन जीवात्मा सारा जगत्मा व्याप्त छ त्यसलाई तिमी अविनाशीरूप जान । यस अव्यय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन ।

विशिष्टार्थ– जस्तो माटोले बनेको एक घडाका अणु परमाणु माटो बाहेक अरू केही हैनन्, घडा फुटेपछि माटो मात्र बांकी रहन्छ, आत्मा र यो विश्व पनि त्यस्तै हो । यो विश्व आत्ममय छ । देखिने यस सम्पूर्ण जगतमा त्यो अपरोक्षतत्व व्याप्त भएर रहेको छ । जस्तो पानीको वास्तविक रूप तरल हो तर त्यसलाई ठोस तथा वाष्पमा पनि परिणत गर्न सकिन्छ । केवल अवस्था परिवर्तनले नाम फरक भएको हो । त्यस्तै जीव, माया, ब्रम्ह एउटै परमात्माको अवस्था हो नाम मात्र फरक हो । त्यसकारण कुनै स्थानबाट आत्मालाई हटाएर आत्माशून्य गराउन सकिंदैन, आत्मा सदैव परिपूर्ण छ, ऊ अव्यय छ,अतएव यस्तो अक्षयलाई कुनै पनि रीतिले क्षय गर्न सकिदैन । परन्तु शरीर नाशवान् छ, यसको नाश हुनबाट कसैले रोकेर रोक्न सक्दैन । 

यो आत्मा कहिल्यै जन्मदैन, मर्दैन पनि, अर्थात् उत्पन्न भएर फेरि उत्पन्न पनि हुँदैन । यो अज, नित्य, शाश्वत् तथा पुरानो हो, शरीर विनाश हुँदा यसको विनाश हुँदैन ।

 अन्तवन्त इमे देशा नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽप्रमेयस्य तस्मात् युध्यस्व भारत ।। १८ ।।

भावार्थ – अविनाशी,  अप्रमेय,  नित्य  आत्माका यी  समस्त  भौतिक  शरीरहरू  अनित्य (विनाशशील) कहिन्छन्, त्यसकारण हे भारत ! तिमी युद्ध गर ।

विशिष्टार्थ – पहिलेका दुई श्लोकहरूमा वृहत् ब्रम्हाण्डको कुरा गरेर अब यहां शरीर तथा शरीरी क्षुद्र ब्रम्हाण्डको बारेमा भनिन्छ । यी दुई ब्रम्हाण्डका सम्बन्धमा भन्नु पर्दा–जस्तो जल राशिमा वायुको संयोगले अनन्त तरंगहरू, फिंज फोका बुँद बुँदहरू –जुन त्यसै जलका स्थूल आकारका अतिरिक्त अरू केही हैनन् । वायु शान्त भएपछि त्यसै जल राशिमा नै विलीन हुन्छन् । जलको जलीय अंश जलमा र वायुको अंश वायुमा मिल्दछ, आँखाले देखेका ती उत्ताल तरंगहरू, बुँद बुँदहरू रहँदैनन्, विषमता–शून्य बरावर समान रहन्छ। ठीक त्यस्तै यस ब्रम्हाण्डमा चैतन्य  संयोगबाट  प्रत्येक  शरीर उत्पन्न एवं पश्चात् (चैतन्य वियोग भएर) विनिष्ट हुन्छ । शरीरी अर्थात्् चैतन्य अनन्त एवं उपमा रहित छ भने यो शरीर मायाको विकार हुनाले परिवर्तनशील (अन्तवन्त) तथा अनित्य छ । यही सिद्धान्तको कुरा ”उक्ता” हो । अतएव भवगान् श्रीकृष्णले अर्जुनलाई यस अनित्य शरीर प्रति ममता परायण नबनेर युद्ध गर अर्थात्् लययोगमा प्रवृत्त होऊ भन्नु भएको छ ।

   य एनं वेत्ति हन्तारं यश्चैनं मन्यते हतम् ।
    उभौ तौ न विजानीतौ नायं हन्ति न हन्यते ।। १९ ।।

भावार्थ – जसले यस जीवात्मालाई मार्ने (कर्ता) ठान्दछ तथा अर्काले यसलाई मारिने (कर्म) ठान्दछ, ती दुबैलाई प्रकृत तत्व थाहा छैन, किन कि यस आत्माले कसैलाई पनि मार्दैन र आफु पनि कसैद्वारा मारिन्न ।

विशिष्टार्थ – अर्जुन ! तिमी माथि उठेर हेर, आत्मा पूर्ण एवं एक छ, आत्मा नै जगत् हो । दुई नहुनाले ऊ हन्ता (कर्ता) तथा हत (कर्म)  केही पनि हुन सक्दैन । (यहाँ युद्ध प्रसंगले गर्दा मार्ने मर्ने कुरा उठेको हो, वास्तवमा ऊ क्रिया रहित छ । शरीरसंग उसको सम्बन्ध छुट्यो भने ऊ क्रियाको कर्ता कर्म केही पनि हुँदैन) ।

नजायते म्रियते वा कदाचित्
नायं भूत्वा भविता वा न भूयः ।

 अजो नित्यः शाश्वतोऽयं पुराणो 
    न हन्यते हन्यमाने शरीरे ।। २० ।।

भावार्थ – यो आत्मा कहिल्यै जन्मदैन, मर्दैन पनि, अर्थात्् उत्पन्न भएर फेरि उत्पन्न पनि हुँदैन । यो अज, नित्य, शाश्वत् तथा पुरानो हो, शरीर विनाश हुँदा यसको विनाश हुँदैन ।

विशिष्टार्थ – अज = यो कहिल्यै जन्मदैन, नित्य = जो सर्वकालमा विद्यमान छ, शाश्वत= अविनश्वर छ, पुराण= सृष्टिभन्दा पहिले र संहार पछि पनि विद्यमान रहन्छ । आत्मा यस्तो रूप, स्वभाव सम्पन्न भएको हुनाले त्यो शरीर नष्ट हुँदा पनि नष्ट हुँदैन । शरीरको नाम कोष हो । कोष पाँच प्रकारका छन् –  अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय । पहिलो अन्नमय–स्थूल शरीर हो, प्राणमय, मनोमय र विज्ञानमय – सूक्ष्म शरीर हो र आन्दमय– कारण शरीर हो । स्थूल शरीर नष्ट भएपछि त्यो लययोगद्वारा सूक्ष्मत्व लिएर सूक्ष्म शरीरको रूपमा परिणत हुन्छ र अन्तमा सर्वलय भएपछि सत् सत्वमा मिल्दछ । जस्तो जलको विम्व जलमा उदय भएर उसै जलमा नै मिल्दछ ।

    वेदाविनाशिनं नित्यं य एनभजमव्ययम् ।
    कथं स पुरूषः पार्थ कं घातयति हन्ति कम् ।। २१ ।।

भावार्थ – हे पार्थ ! जसले आत्मा अजन्मा, निर्विकार नित्य, अविनाशी छ भन्ने कुरा जान्दछ त्यस्ता व्यक्तिले  कसरी अरूद्वारा त्यसको हत्या गराउला तथा आपैmले पनि कसरी हत्या गर्ला ?

विशिष्टार्थ – जुन विवेक शक्ति युक्त पुरुषले क्रिया विशेषको अनुष्ठान गरेर आत्मालाई अविनाशी, नित्य, अज एवं अव्यय (क्षयशून्य) जान्दछन् (प्रत्यक्ष अनुभव गर्दछन्), त्यस्ता पुरुषहरू अर्थात्् ”अव्यक्तात् परः”, जो परागति हो त्यसैमा नै प्राप्त हुन्छन् । त्यहां सबै एक भएको हुनाले कसैको हातले कसैको वध गराउने वा वध गर्ने युक्ति देखिदैन, किन कि गर्ने गराउने वाला कुनै रहदैन ।

    वासांसि जीर्णानि यथा विहाय
    नवानि गृव्हाति नरोपराणि ।
    तथा शरीराणि विहाय जीर्णा
    न्यन्यानि संयाति नवानि देही ।। २२ ।।

भावार्थ – जसरी मानिसले पुराना लुगालाई त्यागेर अरू नयाँ लुगाहरू ग्रहण गर्दछ त्यसरी नै देही (आत्मा) ले पनि जीर्ण शरीरलाई परित्याग गरेर दोस्रो नवीन शरीरलाई ग्रहण गर्दछ ।

विशिष्टार्थ – यस भौतिक संसारमा जन्म तथा मृत्यु बारम्बार भइरहने क्रिया हुन् । यो केवल पुराना लुगालाई त्यागेर नयाँ लुगा लगाए जस्तो आवरण परिवर्तन मात्र हो । देहीले पहिलेको देहलाई छोडेर अर्को नवीन देहलाई ग्रहण गर्दछ । पहिलेको शरीर छोडेर जानु मर्नु हो र नयाँ शरीर धारण गर्नु जन्मनु हो । जबसम्म आत्माको प्रकृतिका साथ सम्बन्ध रहन्छ तबसम्म यो प्रक्रिया चलिरहन्छ । वास्तवमा पुराना लुगा छोडाएर नयाँ लुगा लगाउँदा पनि मानिस उही नै हुन्छ, त्यस्तै पहिलेको शरीरलाई छोडेर  नयाँ शरीरमा प्रवेश गर्दा पनि देही (आत्मा) निर्लिप्त नै रहन्छ ।

यहाँ प्रश्न उठ्छ– जो सर्वगत छ, सर्वव्याप्त छ ऊ आउने जाने कसरी गर्छ ? आउनु जानु वास्तवमा शरीरको धर्म हो परन्तु शरीरसंग उसको तादात्म्य सम्बन्ध रहेको हुनाले उसलाई  आउने जाने मानिएको मात्र हो तर देहीको आउने जाने क्रिया हुँदैन ।

अथवा– संसारमा जुन जन्म मरण देख्नमा आउंछ त्यो केवल पुराना लुगा छोडाएर अरू नयाँ लुगा लगाउनु जस्तै आवरण परिवर्तन मात्र हो । पुरानो निष्क्रिय देहलाई छोडेर जीवले अर्को एक नवीन सक्रिय देहलाई ग्रहण गर्दछ । पहिलेको देहलाई छोड्नु मर्नु हो र नवीन देह ग्रहण गर्नु जन्मनु हो । जबसम्म आत्माको प्रकृतिका साथ सम्बन्ध रहन्छ यो प्रक्रिया चलिनै रहन्छ ।

  नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः ।
    न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।। २३ ।।

 अच्छेद्योऽय मदाह्योेऽय म क्लेद्योऽशोष्य एव च ।
    नित्यः सर्वगतः स्थाणु रचलोऽयं सनातनः ।। २४ ।।

भावार्थ – यस आत्मालाई हतियारहरूले काट्न सक्दैनन्, आगोले डढाउन सक्दैन, पानीले भिजाउन सक्दैन, वायुले सुकाउन सक्दैन । त्यसै हुनाले यो अच्छेद्य, अदाह्य, अक्लेद्य तथा अशोष्य छ । आत्मा नित्य, सर्वव्यापी, अटल, अचल एवं अनादि छ ।

विशिष्टार्थ – मायिक विकारद्वारा उत्पन्न भएको भूतसमूहले निर्विकार माथि कुनै प्रकारको शक्तिको प्रयोग गर्न सक्दैन । अस्त्र, शस्त्र, अग्नि, जल, वायु यी समस्त प्रकृति, प्रकृति विकृति र विकार हुन् । अतः आत्मालाई अस्त्रशस्त्रले काट्नु, आगोले जलाउनु, पानीले भिजाउनु, वायुले शोषण गर्नु जस्ता क्रियाहरू हुन सक्दैनन्, त्यसकारण यो आत्मा अच्छेद्य, अदाह्य, अक्लेद्य तथा अशोष्य छ । आत्मा नित्य सर्वव्यापी ठूटो वृक्ष जस्तै अटल, अचल एवं अनादि छ ।

संसारमा जुन जन्म मरण देख्नमा आउंछ त्यो केवल पुराना लुगा छोडाएर अरू नयाँ लुगा लगाउनु जस्तै आवरण परिवर्तन मात्र हो । पुरानो निष्क्रिय देहलाई छोडेर जीवले अर्को एक नवीन सक्रिय देहलाई ग्रहण गर्दछ । पहिलेको देहलाई छोड्नु मर्नु हो र नवीन देह ग्रहण गर्नु जन्मनु हो । जबसम्म आत्माको प्रकृतिका साथ सम्बन्ध रहन्छ यो प्रक्रिया चलिनै रहन्छ ।

अथवा – मायिक विकारद्वारा उत्पन्न भूत समूहले निर्विकार माथि कुनै प्रकारको शक्तिको प्रयोग गर्न सक्दैन अर्थात्् क्रिया (विकृति) गर्ने शक्ति पृथ्वी, जल, तेज, वायु यी चारमा मात्र छ । यी चारवटैको कारण भूत आकाश हो, आकाशको कारण भूत महतत्व र महतत्वको कारण भून प्रकृति हो । यी चारैवटै तत्वहरू आफ्नो कारण भूत आकाशमा कुनै प्रकारको विकृति पैदा गर्न सक्दैनन् भने प्रकृति देखि सर्वथा अतीत निर्विकार माथि उनीहरूको शक्ति प्रयोग असंभव छ । त्यसकारण आत्मालाई अस्त्रशस्त्रले काट्ने, अग्निले डढाउने, पानीले भिजाउने, वायुले शोषण गर्ने जस्ता क्रियाहरू हुन सक्दैनन् । अर्थात् यसमा कुनै क्रियाको प्रवेश हुन सक्दैन, त्यसैले यो आत्मा अच्छेद्य, अदाह्य, अक्लेद्य, तथा अशोष्य छ, आत्मा नित्य, सर्वव्यापी, स्थिर, अचल एवं अनादि छ ।

    अव्यक्तोऽय मचिन्त्योऽयमविकार्यो ऽयमुच्यते ।
    तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।। २५ ।

भावार्थ– यस आत्मालाई अव्यक्त, अचिन्त्य अविकार्य भनिन्छ । त्यसकारण यसको स्वरूपलाई जानेर निश्चय नै तिमीले शोक गर्नु उचित छैन ।

विशिष्टार्थ – यस भन्दा पहिलेका श्लोकहरूमा पृथ्वी, अप, तेज, वायु यी चार महाभूनहरूले आत्मामा कुनै प्रकारको विकृति पैदा गर्न सक्दैनन् भनिएको छ र यस श्लोकमा अव्यक्त भनेर आकाशले पनि छुन सक्दैन भनिएको छ । यो अव्यक्त अर्थात् अतिसूक्ष्म भएको कारण, शव्दद्वारा अप्रकाश्य छ, अर्थात् स्थूल सृष्टि रहित छ । अन्तःकरणले यसलाई धारण गर्न सक्दैन त्यसैले ”अचिन्त्य” अर्थात् यो चिन्तनको पनि विषय हैन । यो ”अविकार्य” अर्थात् मायातीत छ, किन कि विकार मायामा नै हुन्छ आत्मामा हुँदैन त्यसैले यो कारण सृष्टिबाट पनि रहित छ । यी अवस्था समूहलाई तिमीले अनुष्ठानिक अनुभवद्वारा अर्थात् कूटस्थ भन्दा माथि उठेर निज बोधद्वारा जानेर वाणीमा प्रकाश गरेका छौ (उच्यते) । अतएव आत्मालाई यसरी जान्दा जान्दै पनि यसका वारेमा शोक गर्नु तिम्रो लागि उपयुक्त छैन ।

    अथचैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।
    तथापि त्वं महाबाहो नैनं शोचितु मर्हसि ।। २६ ।।

    जातस्य हि ध्रुवो मृत्यु ध्र्रुव जन्म मृतस्य च ।
    तस्मादपरिा¥र्येऽर्थे न त्वं शोचितु मर्हसि ।। २७ ।।

भावार्थ– किन्तु यदि तिमी आत्माले सधै जन्म लिन्छ सधैं मर्छ भन्ने सोच्दछौ भने हे महावाहो ? तिमीले शोक गर्नु पर्ने कुनै कारण छैन किन कि जसले जन्म लिन्छ त्यसको मृत्यु अवश्य हुन्छ र मरेपछि पनि फेरि जन्म लिनु पर्छ । अतएव यो अपरिहार्य विषयका वारेमा शोक गर्नु तिम्रो लागि उचित छैन ।

विशिष्टार्थ – आप्mनो साधन लव्ध निजबोधरूप ज्ञानलाई छोडेर यदि तिमी सांसारिक नियमलाई लिन्छौ भने पनि शोक गर्नु उचित छैन, किन कि जन्मे पछि मर्नु पर्ने र मरेपछि जन्मनु पर्ने यो एउटा निर्विवाद सत्य हो । जन्मनु भनेको चैतन्यको नामरूप आवरण ग्रहण गर्नु र मर्नु भनेको अर्को आवरण ग्रहण गर्न शेष निश्वास त्याग गर्नु हो । आवरण भनेको शरीर हो । शरीर तीन प्रकारका हुन्छन् – स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर । पञ्चीकृत पञ्च महाभूत निर्मित षट्विकार सम्पन्न जुन भोगायतन हो त्यही स्थूल शरीर हो, अर्थात् अस्थि मांसादि गठित शरीर हो । सूग्म शरीर अपञ्चीकृत पञ्च महाभूत निर्मित भोग साधन एवं सप्तदशकला (पञ्च ज्ञानेयन्द्रिय, पञ्च कर्मेन्द्रिय, पञ्च प्राण, मन र बुद्धि) युक्त हुन्छ । निद्रित अवस्थामा स्वप्नयोगमा जुन शरीरमा क्रिया हुन्छ, त्यसैको नाम सूक्ष्म शरीर हो । कारण शरीर यी दुवै शरीरको  अविद्यारूप कारण मात्र वा वीज हो । मृत्यु हुनु भन्दा ठीक पहिले जीव वाह्यज्ञान शून्य भएर सूक्ष्म शरीरमा रहन्छ, अनि उसका सबै कृतकर्महरू उसका अगाडि उपस्थित भएर फल दिनका लागि प्रस्तुत हुन्छन् । साधनसिद्धयोगीका सत्कर्महरूले चिज्ज्योति विकास गरेर सूर्य किरणले कुज्झटिका (कुहिरो) हटाए झैं सम्पूर्ण आवरण नष्ट गरिदिनाले योगीलाई मुक्तिपदको प्राप्ति हुन्छ अर्थात् उसको स्थूल शरीरको त्यागका साथसाथै तीन शरीरको पनि त्याग हुन्छ, फेरि शरीर धारण गर्नु पर्दैन । किन्तु जुन व्यक्ति कर्मबन्धनबाट मुक्त छैन त्यस्तो व्यक्तिले चिज्ज्योतिको दर्शन नपाएर स्थूल शरीर धारण गर्नु पर्दछ । तब स्वप्नावस्थामा समुदय इन्द्रियवृत्ति र संस्कारका साथ संसार भ्रमण गरे जस्तै आकाशस्थ निरालम्ब वायुभूत भएर सूक्ष्मशरीरद्वारा समुदय इन्द्रियवृत्ति तथा संस्कारका साथ विचरण गरिरहन्छ । यही नै मृत्यु पछिको अवस्था हो ।

किन्तु – जस्तै–बीउले मलजलको सहायताले स्वसमयमा वृक्षको रूप लिन्छ त्यस्तै सूक्ष्म र कारण शरीररूप क्षेत्रस्थ चैतन्यले यथासमयमा स्वसंस्कारको वशीभूत भएर अर्थात् जुन भावको स्मरण गर्दै मृत्यु भएको थियो त्यही भाव अनुसार स्थूल शरीर धारण गर्दछ । यसैको नाम जन्म हो । अतएव जबसम्म कर्मक्षय गरेर आवरण हट्दैन तबसम्म त्यसरी नै शरीर ग्रहण र शरीर त्याग अर्थात् जन्म र मरण भइरहन्छ । यी जन्म मरण दुई प्रकारका हुन्छन् – श्वासगत र शरीरगत । श्वास ग्रहण गरेर जीवरक्षाको भोग पश्चात् त्यसलाई त्याग्नु पर्छ । श्वासको यो ग्रहण र त्याग श्वासगत जन्म र मरण हो । जबसम्म जीवन छ यो श्वासगत जन्म मृत्युको प्रवाह चलिरहन्छ । ठीक त्यसरी नै जीवत्व जति दिन छ शरीरगत जन्म मृत्युको प्रवाह पनि त्यति दिन नै चलिरहन्छ । जीवले एउटा देह धारण गरेर भोग शेषमा उसलाई त्यागेर संचित कर्म राशि भोग गर्नका लागि फेरि अर्को नवीन देह धारण गर्दछ । जस्तो–जीवन धारण गरेपछि जीवनको शेष नहुँदासम्म श्वास ग्रहण र श्वास त्याग गर्नु नै पर्छ त्यस्तै नै सञ्चित कर्मराशि क्षय भएर जीवको शेष नहुँदासम्म शरीर ग्रहण गर्ने र त्याग गर्ने क्रम चलिरहन्छ । यो अनिवार्य हो, अतएव अपरिहार्य विषयमा शोक गर्नु तिम्रो लागि उचित छैन ।

    अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
    अव्यक्त निधनान्येव तत्र का परिवेदना ।। २८ ।।

क्रमशः

याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता अनुसार साधना कालका तीन अवस्था

युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ

साधना पनि मृत्यु नै हो

शरीर तथा समस्त इन्द्रिय नै स्त्री हुन्

कारण नै बीज हो