साधना पनि मृत्यु नै हो

साधना पनि मृत्यु नै हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र २३, २०७५

नच शक्नोम्यवस्थातुं भ्रमतीव च मे मनः ।
निमित्तानि च पश्यामि विपरीतानि केशव ।। ३० ।।

भावार्थ – म स्थिर भएर रहन सक्दिन, मेरो मन चक्र झैं फनफनी घुमिरहेको छ, मैले अनिष्ट सूचक विपरीत लक्षणहरू पनि देख्दैछु ।

विशिष्टार्थ – मानसिक चंचलता अधिक भयो भने साधक अत्यन्त व्याकुल हुन्छ, ऊ साधनामा एक पाइलो पनि अगाडि बढ्न सक्दैन, मन अत्यन्त चंचल भएर भ्रमणशील अवस्थामा पुग्दछ र सबै विपरीत लक्षणहरू पनि देखा पर्न थाल्दछन् । अतः साधक (अर्जुन) भन्न बाध्य हुन्छ, कैवल्य स्थिति लाभ गरेर शान्ति पाउने उद्देश्यले योग मार्ग लिन । परन्तु हे केशव ! सबै लक्षणहरू त्यस मार्गका विपरीत, प्राणलाई संशयमा पार्ने यन्त्रणामय नरक भोगका निमित्त देखा परिरहेका छन् । अतः म अब अरू स्थिर भएर रहन सक्दिन् ।

न च श्रेयोऽनुपश्यामि हत्वा स्वजनमाहवे ।
न कांक्षे विजयं कृष्ण न च राज्यं सुखानि च ।। ३१ ।।

भावार्थ – हे कृष्ण ! युद्ध गरेर आफ्ना बन्धु बान्धवहरूलाई मार्नुमा म कुनै कल्याण देख्दिन् । म विजय चाहान्न्, राज्य चाहान्न, सुख पनि चाहान्न् ।

विशिष्टार्थ – यी सबै श्लोकहरूमा कृष्ण शव्दको प्रयोगले समयोचित यथार्थ भाव प्रकट भएको छ । कृष्ण कूटस्थ चैतन्य हुनुहुन्छ । जस्तो कि भनिएको छ – 

कृषि र्भुर्वाचकःशव्दो णश्च निर्वृत्तिवाचकः ।
तयोरैक्यं परंब्रम्ह कृष्ण भिधीयते ।।

कृषि – कर्षणे, भूःवाचकशव्द, ण = निवृत्ति वाचकशव्द । मुक्तिको इच्छा नहुँदा नहुँदै पनि जसले तानेर निर्वाण अर्थात् मुक्ति गराइदिनु हुन्छ उहाँ नै कृष्ण हो । साधकको मनमा विषय वासना प्रबल हुनाले मन चंचल भएर तलतिर ओर्लन चाहान्छ, शरीर पनि शिथिल भइरहन्छ, किन्तु कुटस्थको मन्त्र मुग्ध पार्ने मोहिनी रूपले मनलाई तानिराख्छ, वासनामय संसारतिर जाने इच्छा हुँदा हुँदै पनि मनलाई ओर्लन दिंदैन । साधकको यो अवस्था सर्पको मुखमा रहेको छुचुन्द्रो जस्तै छ । यदि छोडिदिने हो भने सर्प अन्धो हुन्छ  अर्थात् मन मुग्ध पार्ने मोहिनी रूपलाई मनले देख्न पाउंदैन, यदि निल्ने हो अर्थात् त्यस ज्योतिलाई अन्तःकरणमा राख्ने हो भने मृत्यु हुन्छ अर्थात् उसका सबै वासनाहरू नष्ट हुन्छन् । अब उसलाई क्रियाद्वारा यो वृत्तिसमूहलाई नष्ट गर्दा कुनै कल्याण होला जस्तो लाग्दैन, किन कि शान्तिको बदला केवल अशान्ति मात्र प्राप्त हुन्छ । विजय म चाहान्न, राज्य सुख पनि चाहान्न । यहाँ विजय भन्नु संयम र राज्य सुख भन्नु योग सिद्धि हो ।

साधकको मनमा विषय वासना प्रबल हुनाले मन चंचल भएर तलतिर ओर्लन चाहान्छ, शरीर पनि शिथिल भइरहन्छ, किन्तु कुटस्थको मन्त्र मुग्ध पार्ने मोहिनी रूपले मनलाई तानिराख्छ, वासनामय संसारतिर जाने इच्छा हुँदा हुँदै पनि मनलाई ओर्लन दिंदैन । साधकको यो अवस्था सर्पको मुखमा रहेको छुचुन्द्रो जस्तै छ । यदि छोडिदिने हो भने सर्प अन्धो हुन्छ अर्थात् मन मुग्ध पार्ने मोहिनी रूपलाई मनले देख्न पाउंदैन, यदि निल्ने हो अर्थात् त्यस ज्योतिलाई अन्तःकरणमा राख्ने हो भने मृत्यु हुन्छ अर्थात् उसका सबै वासनाहरू नष्ट हुन्छन् ।

किं नो राज्येन गोविन्द किं भोर्गे र्विजितेन वा । 
येषामर्थे कांक्षितं नो राज्यं भोगाः सुखनि च ।। ३२ ।।

तं इमे ऽवस्थिता युद्धे प्राणांस्त्यकत्वा धनानि च ।
आचार्याः पितरः पुत्रा स्तथैव च पितामहाः ।। ३३ ।। 

मातुलनः श्वशुराः प‌‍ौत्रा श्यालाः सम्बधिन स्तथा ।
एतान् न हन्तुमिच्छामि ध्नतो ऽपि मधुसूदन ।। ३४।। 

भावार्थ  — हे गोविन्द ! मेरा लागि राज्यको कुनै प्रयोजन छैन, सुख भोग ऐश्वर्यको पनि कुनै प्रयोजन छैन, बाँच्नुको पनि कुनै अर्थ छैन । जसको लागि हामीहरूले राज्य भोग तथा सुखको आकांक्षा गरेका थियौं ती सबेै आचार्यगण, पितृगण, पुत्रहरू, त्यस्तेै पितामहहरू, ससुराहरू, नातिहरू, साला जेठानहरू एवं आफ्ना बन्घु बान्धव इष्टमित्रहरू धन र प्राणको आशालाई त्यागेर मर्न र मार्नका लागि यस युद्धभूमिमा उपस्थित भएका छन् । हे मधुसूदन ! बरू यिनीहरूले मलाई मारून् म यिनीहरूको विनाश गर्न चाहन्न । 

विशिष्टार्थ – गोविन्द–गां = पृथ्वीं बिन्दति पालयति इति गोविन्द, जसले यस पृथ्वीको रक्षा गर्दछ उही गोविन्द हो । साधकले अब देख्दछन् – यस शरीररूप क्षेत्रमा साधकको जे जस्तो अन्तःकारण वृत्ति छ त्यसले कूटस्थ चैतन्यद्वारा प्रकाश पाइरहेको छ । साधकलाई अब राम्ररी थाहा हुन्छ – कसै माथि उसको कर्तृत्व छैन, जे भइरहेको छ त्यो सबै चेतनाशक्तिद्वारा नै भएको छ, तथापि मायाको जालमा परेर आफ्नो र पराइएको भ्रम भेटिएको छैन । अतः साधक अर्जुन ज्ञानको प्रकाशको समयमा कूटस्थ चैतन्यलाई गोविन्द भनेर पनि जान्दछन्, फेरि मातृभाव (अहंममत्व ज्ञान आदि विषयासक्ति) लिएर भन्दछन् –राज्य लिएर हामीलाई के हुन्छ ? सुख ऐश्वर्य भोगले के हुन्छ ? बांचेर पो के हुन्छ ? जुन आफ्ना भाइबन्धु, इष्टमित्र, गुरु, मान्यजनहरूलाई साथ लिएर राज्य तथा सुख वैभवभोग गर्ने इच्छा थियो तिनीहरू सबै यस युद्धमा धन प्राण समेत त्याग्न तैयार भएर होमिन आएका देखिन्छन् । त्यसैले अर्जुन भन्दछन्– हे मधुसूदन ! म आफै मरूँ, त्यो वरू वेश हो, यी सबैलाई नष्ट (त्याग) गर्नमा म राजी छैन ।

अब हेरौं – राज्य, भोग, सुख यी सबै कुन चीज हुन् ? साधनाको उद्देश्य हो – जन्म मरण  रूपी संसार बन्धनबाट मुक्ति अर्थात् मरत्वलाई त्यागेर अमरत्व प्राप्त गर्नु । यो शरीर षट्विकार सम्पन्न छ । ‘अस्ति, जायते, वद्र्धते, विपरिणमते, अपक्षीयते, विनश्यति इति षट् विकाराः’ अज्ञानताका कारण साधना गरेर नै शरीरका यी विकारहरू नष्ट हुन्छन् भन्ने धारणा साधकको हुन्छ, अनि शरीररूप राज्य आप्mनो हुनेछ, जति दिनसम्म इच्छा हुन्छ त्यति दिनसम्म यो राज्य भोग्न पाउने छु, सुखी हुनेछु, जल, स्थल, अन्तरिक्षमा रहेर विषयसंगका साथ ब्रम्हानन्द सुख भोग गर्दै रहनेछु भन्ने ठान्दछ । किन्तु हात हतियार साधनामा प्रवृत्त हुंदा सबै विपरीत देख्दछन् । सबै भन्दा पहिले अति प्रिय भोग वासनालाई त्याग गर्नु पर्ने, अनि अहंकारलाई सदाको लागि विदा गर्नु पर्ने र विषय वुद्धिलाई एकदम जलाञ्जलि दिनु पर्ने । उनले अरू पनि देख्दछन् चक्षु, कर्ण, नासिकादि इन्द्रियहरूलाई संयत गरेर सर्वद्वार निरूद्ध गर्नु पर्ने, यस्तै मनलाई पनि हृदयमा रोकेर प्राणलाई मस्तकमा स्थापित गर्नु पर्ने । यस्ता यी सबै कर्महरू गर्न जब उनी तयार हुन्छन् त देख्छन् – त्यहाँ त प्राणान्त गर्ने शारीरिक यातना रहेछ । अनि उनको मनमा भाव उत्पन्न हुन्छ – जीवन मुक्तिको लागि सुख भोगको कुनै आवश्यकता छैन, म जस्तो छु त्यही नै राम्रो । मरूँ त्यो पनि राम्रो हो, तथापि भोग वासना नष्ट गर्नु  राम्रो हैन,  संसारमा वासना पूरा हुंदैन, केवल अभाव भोग गर्नु पर्दछ । त्यो पनि राम्रो हो तर यस प्रकारको कष्ट सहन सकिदैन । चक्षु कर्णादि संयत गर्नाले अन्धो, बहिरो हुनु पर्दछ, यस्तो भएपछि यो शरीररूप मांस पिण्ड वहन गरेर व्यर्थमा जीवन मुक्तको नाम लिएर घुम्नुको कुनै अर्थ छैन । फेरि यस्तो अवस्थामा भोग वासना त्याग गरेर जीवित रहँदा कुन प्रयोजन सिद्ध होला ? त्यो भन्दा त  मर्नु नै राम्रो । (अज्ञानताका कारण शुरू शुरूमा साधना कष्टबाट अधीर भएर साधकको मनमा यस प्रकारका विचारका तरंगहरू उठ्छन् । साधना मार्गमा अलिकति पनि चेष्टा गर्नाले नै यो सबै अनुभव प्रत्यक्ष हुन्छ ।) 

मधुसूदन– शरीरको मनको यन्त्रणा (अधिव्याधि) ले अधीर भएर आपूmलाई नितान्त विपद्ग्रस्त संझेर साधक ”विपत्तौ मधुसूदनः” यस वचनलाई संझेर कुटस्थमा लक्ष्य गरेर मधुसूदन उच्चारण गर्दछन् किन कि अशुभ नष्ट गर्ने भएकोले विष्णु भगवान्को नाम मधुसूदन रहेको छ ।

‘आचार्याः पितरः पुत्राः’ इत्यादि – नाडी चक्रभित्र स्थिर वायुको क्रियाद्वारा साधकमा जुन जुन प्रकारको शक्ति लाभ हुन्छ अनि तत् शक्तिबाट जुन जुन प्रकारका वृत्तिहरू उत्पन्न हुन्छन् ती सबैलाई इत्यादिका आकार जान्नु पर्दछ । जो महाभागहरू क्रिया गरेर क्रियामा प्रतिष्ठा लाभ गर्दछन् तिनै महापुरूषहरू यी सबै आफै बुझ्छन् । यसरी निज बोधरूप ज्ञानलाई भाषामा व्यक्त गर्ने चेष्टा गर्नु विडम्बना बाहेक अरू केही हुने छैन ।

अपि त्रैलोक्यराज्यस्य हेतोः किन्तु महीकृते ।
निहत्य धार्तराष्ट्रान् नः का प्रीति स्याज्जनार्दन ।। ३५ ।।

भावार्थ – पृथ्वीको के कुरा, तीनै भुवनको राज्य प्राप्त भए पनि म यी दुर्योधनादिहरूलाई मार्न चाहान्न । हे जनार्दन ! यिनीहरूलाई मारेर हामीहरूलाई के प्रसन्नता होला ? 

विशिष्टार्थ – जनार्दन = पुरुषार्थ लाभका लागि जनहरूबाट जो याचित हुन्छन् । जनार्दन शव्द प्रयोगबाट साधकको यो मनोभाव प्रकट हुन्छ कि– हे गुरो ! दया गर्नुहोस् यस प्रकारको कठोरता स्वीकार मबाट हुन सक्दैन । मबाट जे हुन सक्छ जसमा मेरो भोग पनि रहोस् र योग पनि होस, यस्तो कुनै उपाय बताउनुहोस् । (अब साधक अर्जुन सांसारिक वुद्धिद्वारा परिचालित भएर अनि धर्मभाव अबलम्बन गर्दै आप्mनै जिद्दी प्रस्तुत गर्ने चेष्टा गर्दछन् ।)

 पापमेवाश्रयेदस्मान् हत्वैतानाततायिनः ।
 तस्मान्नार्हा वयं हन्तुं धार्तराष्ट्रान् सबान्धवान् ।
स्वजनं हि कथं हत्वा सुखिनः स्याम माधव ।। ३६ ।।

भावार्थ – यिनीहरू आततायी भए तापनि यिनीहरूलाई मार्दा हामीहरूलाई अवश्य पाप लाग्ने छ । बन्धु बान्धवले सहित दुर्योधनादिहरूलाई मार्न हामीलाई उचित लाग्दैन । हे माधव ! आफ्नै बन्धु बान्धवहरूको विनाश गरेर हामी कसरी सुखी हौंला ? 

विशिष्टार्थ – माधव–मा = लक्ष्मी, धव = पति । साधकको मनमा यो भाव उत्पन्न हुन्छ – जो त्रिलोकका नियन्ता हुन् उनै माधव लक्ष्मीपति हुन्, अनि उनै महापुरूष योगाचार्य पनि हुन्, उनमा भोग योग दुवै विद्यमान छन्, अतः उनैको शरणमा  पर्नु कल्याणकारी हुनेछ । साधक यी सबै सोच्छ । यी सबै वृत्तिहरू मेरा अन्तःकारणमा छन् । यिनी वृत्तिहरूका कारण मैले साधना मार्गमा  अवश्य बाधा पनि पाउनेछु, परन्तु यी सबैलाई नष्ट गर्ने हो भने हामीमा धर्म कहाँ रहन्छ ? हाम्रो शरीररूपी संसार इन्द्रियहरूको सहायता विना एक छिन पनि चल्न सक्दैन । इन्द्रियहरूको कामकाज बन्द गर्नु नै यदि योग हो भने पाप अरू के लाई भन्ने ? इन्द्रियहरूको कामकाज बन्द भएपछि शरीरमा व्याधि (आत्मपीडन) उपस्थित अवश्य हुन्छ; त्यो कदापि धर्म हुन सक्दैन । स्वजन वध गरेको पाप लाग्छ नै, सुख के मिल्छ ? अतएव हे गुरो ! यी सबैको रक्षा गरेर पनि  यदि योगको उपाय छ भने त्यो मलाई वताउनुहोस्, नत्र भने यी सबै पाप कर्ममा मेरो प्रवृत्ति हुँदैन ।

याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता अनुसार साधना कालका तीन अवस्था

युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ