नेपाली कम्युनिस्ट आन्दोलनः आदर्शमा ‘गद्दारी', व्यवहारमा विचलन

पुँजीवादी कम्युनिस्टको गीता–7

नेपाली कम्युनिस्ट आन्दोलनः आदर्शमा ‘गद्दारी', व्यवहारमा विचलन

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  श्रावण २९, २०७६

सात दशक लामो इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलन यसबीचमा पटक पटक विचलित बन्दै आएको छ । विचलन आफैँमा नकारात्मक शब्द हो, यद्यपि, सबै विचलनहरू नकारात्मक पनि हुँदैनन् । तर, आन्दोलनको उद्देश्य सापेक्ष हेर्दा भने विचलन नकारात्मक नै हुन्छ । आमनजरले हेर्दा भने कतिपय विचलनहरू राष्ट्र, समाज र नागरिकका लागि 'परिणामत' निम्ति हितकर भएका उदाहरणहरु पाइन्छ ।  

नेपाली कम्युनिस्ट आन्दोलनमा समय समयमा आएको विचलनले यसै कुरालाई पुष्टि गरेको देखिन्छ । जहानियाँ राणाशासनको विरोधमा संगठित नेपाल कम्युनिस्ट पार्टी निर्दलीय पञ्चायती व्यवस्थाको सुरुवातसँगै विचलनको बिजारोपन भएको पाइन्छ । तर त्यसबेलाको विचलन सैद्धान्तिक वा वैचारिक नभएर व्यक्तिगत स्वार्थ र अहंले घर  गरेको देखिन्छ । पुष्पलाल, तुल्सीलालहरू अनि केशरजङहरू विपरीत दिशातिर फर्किनुको कारण व्यक्तिहित र अहं नै प्रमुख रहेको तथ्यहरूले देखाउँछ । किनभने त्यो समय अर्थात् विक्रमको २०२० को दशक नेपाली राजनीति १०४ वर्षे जहानियाँ राणाशासनबाट मुक्त भई खुला परिवेशमा प्रवेश गरेको एक दशक मात्र पूरा भएको समय थियो भने त्यहीबीचमा अर्को राजनीतिक भुमरी थपिएको थियो, पञ्चायतका नाममा । अनि तत्कालीन दुई तिहाईको कांग्रेस सरकार राजा महेन्द्रले अपदस्त गरेर शासन सत्ता पञ्चायतका नाममा आफूमा केन्द्रित गरेका समय थियो त्यो । त्यही प्रतिकूल राजनीतिक अवस्थामा पार्टीहरूमाथि बन्देज लगाइएको थियो, महत्त्वपूर्ण नेतालाई धरपकड गरिएको थियो भने कतिपय निर्वासनमा जान बाध्य बनाइएको थियो ।

यस्तो प्रतिकूल राजनीतिक परिवेशमा आफूलाई ‘एडजस्ट’ गर्न सिपालु रायमाझी प्रवृत्तिहरू दरबार छिर्न उद्यत रहे । त्यसो त तत्कालीन कांग्रेसका पनि केही यस्ता प्रवृत्तिहरूले राजा महेन्द्रको जयजयकार गरेर पाउमा पैसा राख्न पुगे । 

झापा आन्दोलनको जगमा हालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीहरूले भने राजनीतिक भविष्य सुनिश्चित गर्न सफल भए । उसो त झापा आन्दोलनका खास पात्रहरू भने कहिल्यै अवसरबाट वञ्चित नै रहे । टाठाबाठाहरूले उक्त आन्दोलनलाई मोहरा बनाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गरेर राज्य र पार्टीबाट लाभ लिइसके, लिइरहे र लिइरहेकै छन् ।

यो नेपाली कम्युनिस्ट आन्दोलनमा विचलनको प्रस्ट उदाहरण थियो । ‘रायमाझी प्रवृत्ति’ नेपाली कम्युनिस्ट आन्दोलनको उदाहरण नै बन्यो, हालसम्म पनि बनिरहेको छ । पछि २०५९ मा राजा ज्ञानेन्द्रले शासनसत्ता आफूमा केन्द्रित गर्ने महत्त्वाकांक्षा बढाएसँगै निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम बनाएर हटाएपछि प्रधानमन्त्रीको विज्ञापन खोलेका समयमा तत्कालीन एमाले नेता माधवकुमार नेपालसमेत ‘सरकारका जुनाफ’मा दाम चढाउन गएका थिए । तर परिस्थितिले उनलाई रायमाझी बन्नबाट भने जोगाइदियो । त्यो पनि विचलनकै अर्को शृंखला थियो । विक्रमको तीसको दशक पनि नेपाली कम्युनिस्ट आन्दोलनमा विचलन, विग्रह र विवादको दशक नै रह्यो । नेतृत्वभित्रको अहं र अवसर वा स्वार्थका कारण नेपाल कम्युनिस्ट पार्टी अनेक धार र टुक्रामा विभक्त हुनथाल्यो । अनेक नामका कम्युनिस्ट पार्टीको जन्म भयो यसबीचमा । मोहनविक्रम सिंहहरूका आफ्नै तथाकथित मान्यता रहे भने नारायणमान बिजुक्छेहरूका आफ्नै आदर्श र बाटा । मनमोहनहरू आफ्नै मार्गमा, सीपी, मदन, तुल्सीलालहरूका आफ्नै मार्ग । आखिर नेपाली कम्युनिस्ट आन्दोलनले एउटै मार्ग र धार समात्न सकेन तीसको दशकपछि । यसको परिणाम  नै थियो नेपाली कम्युनिस्ट आन्दोलन विचलन शृंखला । 

त्यसो त बीसको दशकको अन्त्य, तीसको दशकको सुरुवाततिर नै झापा आन्दोलनका क्रमतिरै तत्कालीन कम्युनिस्ट पार्टीभित्र सशस्त्र क्रान्तिकारी र शान्तिकामी आन्दोलनकारी दुई धार जन्मिइसकेका थिए । यो पनि कम्युनिस्टका नजरबाट हेर्दा विचलनकै एउटा रूप थियो । यहीबीचमा भएको झापा आन्दोलनको ऐतिहासिक ‘जस’ र ‘दोष’ दुवै नेपाली कम्युनिस्ट पार्टी (विगतको नेकपा माले, पछि एमाले)ले लिनुपरिरहेको छ । तथापि, उक्त आन्दोलनबाट अन्य कुनै महत्त्वपूर्ण उपलब्धि भने हासिल हुनसकेको देखिँदैन, राजनीतिक–सामाजिक रूपमा ।

तर, त्यही झापा आन्दोलनको जगमा हालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीहरूले भने राजनीतिक भविष्य सुनिश्चित गर्न सफल भए । उसो त झापा आन्दोलनका खास पात्रहरू भने कहिल्यै अवसरबाट वञ्चित नै रहे । टाठाबाठाहरूले उक्त आन्दोलनलाई मोहरा बनाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित गरेर राज्य र पार्टीबाट लाभ लिइसके, लिइरहे र लिइरहेकै छन् ।

कुरो विचलनकै । राजनीतिक विचलन दुई किसिमले हुनेरहेछ, एक वैचारिक, सैद्धान्तिक हिसाबले र अर्को अवसर वा स्वार्थका कारण । हामीकहाँ वा नेपालमा जति पनि विचलन देखिँदै आएको छ राजनीतिमा, त्यो वैचारिक वा सैद्धान्तिक नभएर अवसर वा स्वार्थका कारण आएको विचलन देखिन्छ ।

तत्कालीन माक्र्सवादी लेनिनवादी र माक्र्सवादी पार्टीहरूकै सैद्धान्तिक मार्ग कम्युनिस्ट आदर्श र दर्शनले भनेजस्तै नै थियो । अर्थात् आवश्यक परे सशस्त्र क्रान्तिका मार्गबाट भए पनि नौलो जनवाद वा जनताको जनवादतर्फ बढ्ने र अन्ततः साम्यवादमा पुग्ने । २०२८ सालपछि तत्कालीन कम्युनिस्ट पार्टीहरूले सशस्त्र बाटो त समाएनन् तर खास कम्युनिस्ट आदर्श र दर्शन अनि मान्यताबाट विचलित पनि भएनन्, सैद्धान्तिक वैचारिक रूपमा । तर जब ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भई बहुदलीय प्रजातन्त्र स्थापना भयो, नेपाली कम्युनिस्ट आन्दोलनले पनि फरक बाटो र दिशा समात्न थाल्यो ।

यसपछि नेपाली कम्युनिस्ट आन्दोलन विस्तारै सैद्धान्तिक र व्यावहारिक दुवै हिसाबले पुँजीवादको बाटोमा अग्रसर बन्यो । त्यसबेलाका महत्त्वपूर्ण दुई कम्युनिस्ट पार्टी माले र माक्र्सवादीको विलय (एकता?) सँगै बनेको नेकपा एमालेले आफ्नो पाँचौँ महाधिवेशनमा आएर जनताको जनवाद वा नौलो जनवादबाट ‘जनताको बहुदलीय जनवाद’मा ‘अवतरण’ गरेपछि भने नेपाली कम्युनिस्ट आन्दोलनमा प्रस्ट विचलन देखिएको हो । पछि २०५२ सालपछि सशस्त्र जनयुद्धका नाममा सुरु भएको हिंसात्मक विद्रोह ‘कम्युनिस्ट’आदर्शको स्थापना र संवर्दानार्थ भएको भनियो । आमूल परिवर्तनका नारा दिएर गाउँगाउँ, बस्तीबस्तीमा विद्रोहको आगो सल्काइयो । अर्बौंको सम्पत्ति स्वाहा पारियो भने हजारौँ निर्दोष र निहत्था जीवनसमेत समाप्त पारियो ।

अन्ततः २०६२ सालपछि उक्त आमूल परिवर्तनकारी शक्ति पनि रूपान्तरण (विचलित?) भयो र शान्तिपूर्ण राजनीतिमा, त्यो पनि जे (पुँजीवादी संसदीय व्यवस्था) मान्दिनँ भनेर सशस्त्र विद्रोहमा होमिएको थियो, त्यही बाटोमा अवतरित भयो ।

यी यस्ता विचलनहरूको शृंखला नै चल्यो नेपाली कम्युनिस्ट आन्दोलनमा । सरसर्ती हेर्दा नेपाली कम्युनिस्ट आन्दोलनमा विचलनलाई यस्तो देखिन्छ ।

सात दशकअघि वि। सं। २००६ वैशाख २० गते पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवीदुवारा कम्युनिस्ट पार्टीको स्थापना भयो ।

स्थापनाको ४ वर्षपछि भएको अधिवेशनबाट मनमोहन अधिकारी महासचिव निर्वाचित हुनु भएको थियो ।  केशरजङ रायमाझी र मनमोहनहरूबीचमा मतभेद सुरु भयो । रायमाझी दरबारसँग मिलेर जाने पक्षमा लाग्नुभयो । विस्तारै उहाँ ‘दरबारका कम्युनिस्ट’मा रूपान्तरित हुनुभयो ।

२०२०को दशकको सुरुवातमै कम्युनिस्ट पार्टी निकै संकटमा परेको थियो । आन्तरिक मतभेद र किचलोका कारण तनावमा त थियो नै, त्यही बेला राजा महेन्द्रको कूटिल जालमा फसेका रायमाझीहरूका कारण संगठन विस्तार गर्न र जोगाउनसमेत मुस्किल परेको थियो । त्यहीबेला एकातिर पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो अर्कोतिर केशरजङको समूह अलग भयो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन त गराउँनुभयो तर २०२५ सालमै विभाजित बन्न पुग्यो । पार्टीका प्रभावशाली नेताहरू तुल्सीलाल अमात्य र पुष्पलाल पनि यहीबेला अलग अलग पार्टीको नेतृत्व गर्न पुग्नुभयो ।

झापा आन्दोलनसँगै २०२८ सालमा नेपाली कम्युनिस्ट आन्दोलनका अरू दुईवटा लाइन देखापरे, झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस। तर पुष्पलालको पार्टी यी दुवै समूहमा सहभागी भएको थिएन । 

कम्युनिस्ट फुट र विचलनको शृंखला यतिमा टुंगिँदैन । बीचमा निर्मल लामा, नारायणकाजी, चित्रबहादुर केसीहरूका आआफ्नै समूह बने । मोहनविक्रमलाई यौन दुराचारको आरोप लागेसँगै मोहन वैद्य किरणहरू अगाडि आए । पछि प्रचण्डहरूको सक्रियता बढ्दै गयो । 

अन्ततः २०४६ को जनआन्दोलनका क्रममा नेकपा (मशाल), नेकपा (मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा (चौम) आदि मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए । तर यी सबै समूह एक भने भएननु ।

मोहनविक्रम र निर्मल लामा तथा अन्यबीच एकता भयो तर एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर फेरि मतभेद सुरु भयो । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोख्रेलहरु मिलेर छुट्टै नेकपा (एकताकेन्द्र) गठन गर्नुभयो ।

यसै क्रममा प्रचण्ड नेतृत्वको एकता केन्द्रले नाम फेरेर नेकपा माओवादी राखिये  र १० वर्ष सशस्त्र जनयुद्ध  समेत सञ्चालन गर्‍यो ।

२०६२–२०६३ को दोस्रो जनआन्दोलनको सफलतासँगै शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको माओवादी २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा ठूलो दलका रूपमा उदायो । यहीबेला नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्र माओवादीमा मिल्यो। मोहन वैद्य  र नेत्रविक्रम चन्द विप्लवले माओवादीबाट फुटेर अलगअलग पार्टी खोले। सशस्त्र जनयुद्धका एक खम्बा डा. बाबुराम भट्टराईले कम्युनिस्ट आन्दोलन नै त्यागेर नयाँ शक्ति पार्टी हुँदै समाजवादी पार्टीमा पुग्नु भएको  छ ।

यी माथिका सबै सन्दर्भ केलाउनु वा उठाउनुको आसय यति हो कि ‘विचलन’सधैँ नकारात्मक मात्र हुँदैन । नेपाली कम्युनिस्ट आन्दोलनमा भएका उल्लेखित सबै विचलन कम्युनिस्ट आन्दोलनका निम्ति सही होइनन्, कम्युनिस्ट आदर्शका निम्ति सही थिएनन्, ‘कम्युनिज्म’वा साम्यवादको सपनाका निम्ति ती विचलन ‘गद्दारी’ थिए तर समग्र मुलुक र जनताका लागि नि ?

हो, कम्युनिस्ट आन्दोलनका ती विचलन बहुलबादमा आस्था  राख्नेहरुको लागि सही थिए । ती विचलन तत्कालीन नेपाली कम्युनिस्टहरूमा नआइदिएको भए वा उनीहरू विचलित नभइदिएका भए आज नेपाल देशको अस्तित्व कहाँ पुग्थ्यो होला रु अझै कति नेपाली जनताले अनाहकमा ज्यान गुमाउनुपर्ने थियो होला  ? कति शक्तिकेन्द्र र स्वार्थ समूहको क्रीडास्थल बन्थ्यो होला हाम्रो देश ?
 

किन ?

यदि २०२८ सालको झापा विद्रोह यदि सशस्त्र क्रान्तिकै रूपमा बढिरहेको भए के हुने थियो ? कति जनधनको क्षति हुने थियो होला ? अनुमान लगाउन मात्र सकिन्छ । त्यो सशस्त्र क्रान्तिको धङधङीबाट त्यसबेलाका कम्युनिस्ट मुक्त हुनै पथ्र्यो । विचलित हुनै पथ्र्यो । 

पछि २०५२ सालबाट सुरु भएको ‘आमूल परिवर्तनकारी’ सशस्त्र जनयुद्धले १० वर्षमा निम्त्याएको हिंसा, आतंक र त्रास अनि विनास र ध्वंसलाई आज फर्किएर हेरौँ त, बीचमा माओवादी विचलित नभइदिएको भए आजसम्म हाम्रो देशको हालत के हुन्थ्यो ? कुन अवस्थामा हुन्थ्यौँ होला हामी ? हाम्रो सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक र मानसिक अवस्था कहाँ पुग्ने थियो होला ?

धन्य हो विचलन !

याे पनि

पुँजीवादी कम्युनिस्टको गीता २: ‘बहुदलीय भनेपछि पनि कम्युनिस्ट बाँकी रहन्छ ?’

मणि हराएको सर्पः  शब्द  'जार्गन'मा सीमित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

अनुयायीहरूबाटै ‘कम्युनिस्ट’ र ‘जनताको बहुदलीय जनवाद’को खिल्ली

जनताको बहुदलीय जनवादकाे उपहास: ‘काउण्टर मिडिया’

भ्रममा नेकपाः ‘साम्यवाद’लाई बिदाइ, असम्भव जनताको जनवाद !