सन्दर्भ तीज : सांस्कृतिक जडताबाट बाहिर कहिले निस्कन सक्छन् महिला ?

सन्दर्भ तीज : सांस्कृतिक जडताबाट बाहिर कहिले निस्कन सक्छन् महिला ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ ११, २०७६

हाम्रो देश सांस्कृतिक हिसाबले विविधतामय छ र यो नै हामी नेपाली हुनुको एउटा परिचय पनि हो । संस्कृतिले सम्पन्न देशमा मात्र जनता खुसी हुनसक्छन् । नेपालीहरू खुसी छन् त केवल सांस्कृति सम्पन्नताले हो, आर्थिक रूपले त हामी कति सम्पन्न छौँ भन्ने कुरा जगजाहेरै छ । संस्कृति जतिसुकै परिष्कार गरिएको भने पनि यसमा प्राचीनकालदेखि नै विकृति पनि टाँस्सिएका छन् । यही विकृति टाँस्सिएको ठाउँ थाहा नभएर नै हामी रुमल्लिइरहेका छौँ ।      

भनिन्छ- हाम्रो देशमा नागपञ्चमीदेखि चाडपर्वको समय सुरु हुन्छ । नागपञ्चमीसम्म खेतमा मरिमेटेर लाग्ने अनि खेत रोपिसकेर चाडपर्वको रसरंगमा लाग्नु कृषिप्रधान मुलुकका लागि स्वाभाविक हो पनि । हिलो, चिप्लो नभनी र झरी, वर्षात नभनी माटामा हड्डी घोट्ने बहुसंख्यक जनताले उल्लासको सास फेर्ने समय पनि हो यो । यसै समयमा जनै पूर्णिमा, कृष्णाष्टमी, तीज, ऋषिपञ्चमी, पितृपक्ष, नवरथा, दशैँ, तिहार जस्ता बडाबडा चाडपर्व मनाइन्छ । सुदूरपश्चिमतिर गौरा, काठमाडौँलगायतका नेवारी समुदायमा गाईजात्रा, मधेमा छठ पनि यसै समयमा मनाइन्छ । यसमा हरिशयनी एकादशीदेखिको चार महिना मात्र नभएर साउने संक्रान्तिदेखि माघे संक्रान्तिसम्मको समग्र दक्षिणायन नै समेटिएको पाइन्छ । त्यस कारण पनि चाडपर्वका हिसाबले अहिलेको समय अत्यन्त व्यस्तताका साथ अघि बढेको छ । 

स्पष्ट छ- चाडपर्वको आफ्नै सामाजिक र सांस्कृतिक महत्त्व हुन्छ र सामाजिक र सांस्कृतिक विवेचना पनि । 

चाडपर्वका स्वरूपहरू परिवर्तनशील हुन्छन् । बिहान पूर्वमा उदाएको घाम बेलुका पश्चिम पुग्छ तर घाम हिँडेको थाहा हुँदैन । त्यसरी नै चाडपर्वमा आएका परिवर्तन नदेखिए तापनि केही समयको अन्तरालमा यसमा आएका पृथकता अनुभूत भइहाल्छ । त्यसमाथि पनि सामाजिक सञ्जालको यस समयमा चाडपर्व मोबाइलमा सवार भएर तपाईंको सिरानीमा आइपुग्छ । जस्तो कि तपाईंको म्यासेन्जरमा सन्देश आउँछ- 'साउनको सोमबारको हार्दिक शुभकामना !' अनि तपाईंलाई थाहा हुन्छ कि आज मनाउनै पर्ने पर्व पो रहेछ । 

गाउँमा बसेर खेत खन्नेले थालमा एक गिलास दही र एक मुठी चिउरा नि बल्लबल्ल दर्शन गर्न भ्याउँछ, शहरमा बस्नेले टाइचिन चिउरा, जुजु धौ, आँपका फक्ल्याँटा, छोडाएको केरा, तारेको आलु र खसीको मासुले थाल सजाएर फेसबुक भरिदिन्छ । असार पन्ध्र मनाउने तरिका शहरमा कस्ताकस्ता छन् भन्ने कुरा यहाँ वर्णन गरिसाध्य छैन । गमलामा धान रोपेर कृषिक्रान्ति गर्ने मन्त्री पनि यहीँ छन् । मिनरल वाटरका बोतलमा धान दिवस मनाउने महानुभाव पनि यहीँ छन् । असार पन्ध्र होस् वा साउन पन्ध्र होस्, चाडपर्व मनाउनेभन्दा पनि 'सेलिब्रेट' गर्नतिर हाम्रो समाज अग्रसर छ । दहीचिउरा , खिर र क्वाँटीका फोटाले के कुरा इंगित गर्छन् भने पसिना बगाउनेका जिब्रालेभन्दा अरूका जिब्राले नै स्वादका नौरङ थाहा पाएका छन् । 

निकै थोरै समयमा देशैभर व्याप्त अर्काे सांस्कृतिक फेसन साउनको सोमबार पनि हो । हुनत साउन सकिएर भदौ लागिसक्यो तर अर्काे वर्ष पनि आउँछ र झन् भव्य, दिव्य र झल्लरीमल्लरी भएर आउनेछ । साउने सोमबारले समाजलाई मात्र होइन, राजनीतिलाई समेत हरियाली बनाउँछ । 

खासमा तीज स्वतन्त्रता र स्वाधीनताको पर्व नभएर बन्धन र जडताको पर्व हो कि भन्ने कुरा प्रतीत हुन थालेको छ । खुट्टामा चाँदीको साङ्लाले बाँधेर हातमा सुनको हथकडी कसेर, काँधमा पोतो लठ्ठा झुण्ड्याएर, नत्थी छेडेर हिँड्ने नारीहरू कसरी स्वतन्त्र र उन्मुक्त हुनसक्छन् ?

आफूलाई मार्क्सवादका बडा पण्डित ठान्ने नेताहरू पनि भोट बैंक जोगाउन बोलबमको भजनमण्डलीमा घुसेर भाषण मारिरहेका छन् । साउनको सोमबार व्रतपूजाका लागि पहिलेदेखि नै राम्रो अवसर मानिए तापनि हरियो सारी, पोते, चुरा र बोलबमको जन्डिसले पहेँल्याउन थालेको धेरै भएको छैन । सांस्कृतिक किटाणुहरू डेंगुभन्दा चाँडै फैलिँदा रहेछन् र नियन्त्रणमा आउन मान्दारहेनछन् । 

देशलाई नै ग्रस्त गराउने अर्काे पर्वको नाम हो- हरितालिका अर्थात् तीज । एक महिनाअघिबाटै तीजको हरिताल सुरु भइसकेको छ । अधिकांश चाडपर्वले महिलाहरूलाई नै छपक्क छोप्छ, त्यहाँमाथि पनि यो त भयो तीज, जसमा महिलाहरूकै एकाधिकार छ । तीज घरको चौघेराबाट निस्किएर विद्यालय, कार्यालय, होटल, रेस्टुरेन्ट र पार्टी प्यालेससम्म पुगिसक्यो । हुनत उत्तरआधुनिक पुँजीवादी बजारका लागि यो अत्यन्त उत्साहजनक अवस्था हो तर मौलिक संस्कृतिका पक्षधरहरूका लागि भने यस अवस्थाले अवश्य पनि मुटुमा करौँती लगाएको छ । 

हाम्रो समाजमा बहुमतको कदर अर्थात् भीड संस्कृति यसरी मौलाएको छ कि यतिबेला कुनामा बसेर रामनाम जप्ने हो भने स्वायम् रामले पनि सुन्दैनन् । त्यस कारण सांस्कृतिक विकृतिका विषयमा बोल्ने मान्छेलाई तत्काल पाखे, रुढीवादी, गँवार करार गरिन्छ र उसका कुरालाई 'डस्टबिन'मा 'सेभ' गरिन्छ । 

यो पनि : तीजको दरः पार्टी प्यालेसको खाना खाएर रमाइलो गर्दा महिलाहरू  बिग्रन्छन् ?

कतिपय समाजशास्त्रीहरूले तीजलाई नारीहरूको स्वतन्त्रताको पर्व मानेका छन् । हिमालयकी छोरी पार्वती शिव (महादेव)लाई अत्यन्त मनपराउँथिन् । उनको सपना र विपना महादेवकै चिन्तनमा डुब्थ्यो । महादेवप्रति उनको प्रेममय भक्ति थियो तर उनको पाणिग्रहण महादेवबाट नहुने भएपछि उनका संगिनीहरूले पार्वतीलाई अत्यन्त गोप्य स्थानमा लुकाए र विद्रोह गरे । पार्वतीको विवाह महादेवसितै गर्ने बृहत् शान्ति सम्झौता भएपछि आन्दोलन स्थगित भयो र पार्वती भूमिगत आवस्थाबाट सार्वजनिक भइन् । संगिनीहरूबाट हरण गरिएकी भन्ने अर्थमा 'हरितालिका' शब्द प्रयोगमा आएको भन्ने मत पाइन्छ । यसरी नारीहरूले आफूलाई मनपरेको पुरुषलाई जीवनसाथी चुन्न पाएको महत्त्वपूर्ण परिघटनाबाट वा क्रान्तिबाट तीज सुरु भएको कुरा उल्लेख गरिन्छ । यस मिथकबाट प्रतिबिम्बित हुने अर्थ नारी अधिकारका सन्दर्भमा अवश्य पनि महत्त्वपूर्ण छ । 

तीजको सामाजिक मूल्य हाम्रा लागि महत्त्वपूर्ण छ । नारी-पुरुषबीचको विभेद त हाम्रो समाजको प्राथमिक चरित्र नै भयो र यसबाट नारी नै उत्पीडनमा परेका छन् । पितृसत्तात्मक सामाजिक संरचना र स्रोतका बलिया मतियार पुरुषले महिलालाई नै बनाइदिएको छ । पुरुषको हैकम महिलाको काँध चढेर महिला माथि नै खनिन्छ । त्यसलाई सासूहरूले, जेठानीहरूले, नन्दआमाजूहरूले र सौताहरूले पनि गौरवका साथ काँध हाल्दै आएका छन् । यस किसिमका शोषण र उत्पीडनमा परेका नारीहरूले आफ्ना विरहलाई गीतमार्फत् विरेचन गर्ने अवसर  थियो । 

सासुको कचकच र घरको बुहार्तनबाट अलिकति भए नि विश्राम लिने मुहूर्त थियो यो तर समयले तीजको यो परिभाषा वा परिचयलाई परिवर्तन गरिरहेको छ । 

समाजमा यतिबेला हेर्ने हो भने सासू-ससुरा वा बुढा बाबुआमा नै दु:खमा पर्दै गएका छन् । वास्तवमा शक्ति भनेकोे सम्पत्ति रहेछ । सम्पत्तिका साँचो जोसित छ, उही नै शक्तिशाली हुँदोरहेछ । सम्पत्ति आर्जनका लागि घर छोडेका छोराछोरी तीजका बेलामा घर आउँछन् कि भनेर गौँडामा आँखा ओच्छ्याएर पिँढीमा झ्याउरिने बुढाबुढी नै यतिबेलाका दु:खी हुन् र पीडित पनि हुन् । 

बैँस र पैसा हुनेहरू त खाएकै छन्, नाचेकै छन् । न उनीहरूको गीतको भाकाले दु:ख बोल्छ, न व्यवहारले । न अब दरमा मौलिकता छ, न तीजको रहरमा । खासमा तीज स्वतन्त्रता र स्वाधीनताको पर्व नभएर बन्धन र जडताको पर्व हो कि भन्ने कुरा प्रतीत हुन थालेको छ । खुट्टामा चाँदीको साङ्लाले बाँधेर हातमा सुनको हथकडी कसेर, काँधमा पोतो लठ्ठा झुण्ड्याएर, नत्थी छेडेर हिँड्ने नारीहरू कसरी स्वतन्त्र र उन्मुक्त हुनसक्छन् ? यति धेरै बन्धन राखेर कार्वाही त कुनै अपराधीलाई नि गरिन्न संसारमा । तीज त मात्र एउटा बहाना हो, जुनसुकै विशेष अवसरमा पनि नारीहरू पुरुषसत्ताले दिएका बन्धनमा बाँधिन रुचाउँछन् वा उनीहरूको मनस्थिति त्यस प्रकारले तयार गरिएको छ । यस्तो अवस्थाप्रति आलोचनात्मक नहुने र प्रश्न नउठाउने हो भने नारीहरूले मीठो खालान्, राम्रो लाउलान् तर सांस्कृतिक जडताको गर्तबाट बाहिर निस्कने आँटचाहिँ गर्नसक्दैनन् । 

संस्कृति र विकृति एकदमै टाँसिएका हुन्छन्, अझ त्यसमा धर्मको 'फेबिकोल' पनि लगाइदिएपछि त जो पायो त्यहीले मरे पनि उप्काउन सक्दैन । त्यसका लागि दृष्टिकोण वैज्ञानिक हुनुपर्छ । हामीले हाम्रा चाडपर्वप्रति वैज्ञानिक दृष्टिकोण राख्नसकौँ ।