'रामप्रसाद दाइचाहिँ उपाध्याय बाहुन, हरिचाहिँ जैसी बाहुन !' प्रसादबाट विनोद मध्यभाग परिवर्तन !!

फर्कलान् र ती दिनहरू-२

'रामप्रसाद दाइचाहिँ उपाध्याय बाहुन, हरिचाहिँ जैसी बाहुन !' प्रसादबाट विनोद मध्यभाग परिवर्तन !!

हरिविनोद अधिकारी  |  साहित्य  |  चैत्र २९, २०७६

१५. पण्डित साम्बभक्त सुवेदी गुरुले एक दिन गाइजात्रे पत्रिका पढ्न दिनुभयो- हाँस्ने कुरा र व्यंग्य चित्रसहितको । हामीलाई गाईजात्राकै बारेमा थाहा थिएन, झन् गाईजात्रे पत्रिकाको के कुरा भयो र ?

पत्रिकाका बारेमा भने मलाई थाहा थियो किनभने बाले गोरखापत्रको मेरो र बाको नाममा ग्राहक बन्नुभएको रहेछ । देउरालीटारका तीर्थ काका हुलाकको कर्मचारी भएकाले या भनौँ हल्कारा भएकाले पत्रिका सिधै बाको हातमा दिनुहुन्थ्यो । पत्रिकामा छापिएको अक्षरमा रामप्रसाद उपाध्याय र हरिप्रसाद अधिकारी भनेर लेखिएको हुन्थ्यो ।

त्यो बेलासम्म त के भन्नु , कक्षा ८ सम्म मेरो नाम हरिप्रसाद नै थियो । अनि देउरालीटारका कान्छा काका ओमराज कोइराला मलाई जिस्क्याउँदै भन्नुहुन्थ्यो- 'रामप्रसाद दाइचाहिँ उपाध्याय बाहुन, हरिचाहिँ जैसी बाहुन !' म त चुपै लाग्थेँ तर मेरो सान्दाजु पीताम्बर दाइ भने रिसाउँथ्यो कान्छाबासँग । तर, गाईजात्रे पत्रिकाका बारेमा चाहिँ मलाई थाहै थिएन ।

सानैदेखि गोरखापत्र वाचन गरेर सुनाउँथेँ । गाईजात्रे पत्रिका गुरु काठमाडौँबाट मगाउनुहुन्थ्यो । चतुर्मासा भनेको असारदेखि कात्तिकसम्मको अवधि हो- हरिशयनी एकादशीदेखि हरिबोधिनीसम्मको समय । त्यही बेलामा दशैँ, तिहार पनि पर्छन् । अझ जनै पूर्णिमा त पर्ने नै भयो । जनै पूर्णिमाको भोलिपल्टलाई गाईजात्रा मनाउने चलन रहेछ काठमाडौंं उपत्यकामा । हामीले भन्ने नेपाल खाल्डोमा ।

नेपाल भनेको काठमाडौं नै हो पर्यायवाची शब्द । नेपाल जाने भनेपछि राजधानी जाने, काठमाडौं जाने भन्ने बुझिन्थ्यो । हाम्रो गाउँबाट छिटोछिटो हिँड्नेले दुई दिनमा मुस्किलले र तीन दिनमा आरामसँग पुगिने । अहिलेको बीपी राजमार्गको फेदीसम्मको बाटो त उही नै हो, कतै वारि पारि पर्छ । भरिया र बच्चा लिएर वा महिलाहरूसँग आउँदा चार दिन पनि लाग्थ्यो ।

दशैैँका लागि सामान किन्न आउने व्यापारी वा उहाँले चिनेका साहित्यकार, सायद रचनाका सम्पादक रोचक घिमिरे दाइले हुनुपर्छ, गाईजात्रे पत्रिका आउँथ्यो भदौको बीचमा वा अन्तिममा वा असोजको सुरुमा नै भए पनि । गुरुका लागि काठमाडौं खुसी र दुःखको दुवै पर्याय रहेछ । पहिलो कुरा शिक्षा र ज्ञानको मात्र कुरामा केन्द्रित गुरु समाज सुधारका लागि पुराणलाई आधार बनाउनुहुन्थ्यो भन्ने अहिले लागेको छ । त्यही कुरा जति म बुझ्थेँ, त्यति मेरा पात्रहरूलाई पनि भन्थेँ, मौन भाषामा ।

कहिलेकाहीँ ती पात्रहरूसँग पनि घम्साघम्सी पर्थ्यो किनभने ती धेरै कुरा बुझ्दैनथे । अर्थात् म धेरै कुरा बुझ्दैनथेँ । तर, बुझेको जस्तो गरी कल्पनामा पनि उनीहरूलाई आदेश दिन्थेँ । मैले जति बुझ्थेँ, त्यतिलाई नै पूर्ण मानेर बताउँथेँ । जस्तो कि एउटा शिक्षकले आफूले बुझेजति मात्र अन्तिम हो भनेर भन्ने गर्छ कहिलेकाहीँ । ठीक त्यस्तै हुन्थ्यो मेरा पात्रहरूसँग मेरो पनि । 

१६. तिनले त मेरा कुरा नमान्ने कुरै थिएन तर मैले पो कति बुझेको थिएँ र ! तैपनि म कल्पनामा उनीहरूसँग बहस पनि गर्थेंं र सरलाको कुरालाई धेरै वास्ता गर्थें । सरलालाई सोध्थेँ- खाएको छ कि छैन ? लुगा कस्तो लगाएको ? भनेर टिप्पणी गर्थेँ । मलाई नै कस्तो लुगा लगाउँछन् छोरीहरूले भन्ने त्यस्तो जानकारी थिएन । जुन मैले आफ्नो परिवेशमा देखेको थिएँ, त्यही मात्र सरलाले लाएको हेर्न चाहन्थेँ । तर, मेरो बालापनको मनमा पनि के जमेर बसेको थियो भने मेरो मनको कुरा नवराज, गण्डकराज र सरलराज कसैले थाहा नपाऊन् । सबै पात्रहरू सँगै हुन्थे तर कहिलेकाहीँ कुनै पात्र कुलामा जानुपर्थ्यो त कुनै पात्र गाई हेर्न पनि जान्थ्यो, कुनै पात्र घाँस काट्न पनि जान्थ्यो ।

मैले घाँस नकाटेकाले र दाउरा नकाटेकाले र नबोकेकाले ती पात्रहरू पनि ती कामका लागि उद्यत हुँदैनथे । खासगरी मेरो कल्पनाशीलता भनेको खुला रूपमा दीर्घ शंंका शौच या दिसा गर्न जाँदा हुने गर्थ्यो, जुनबेला कुनै व्यवधान हुँदैनथ्यो र अविरल दोहोरो वार्ता गर्न सकिन्थ्यो ।

अनि त्यो बेलामा सायद कल्पनाका संवादमा शरीरको गतिशीलता पनि साँच्चै कुरा गर्दाको जस्तै लाग्थ्यो । म भन्ने पात्र त्यहाँ स्वअस्तित्वको लागि आफैँमा भयानक रूपमा प्रस्तुत हुन्थ्यो । अर्थात् म एउटा सार्वभौम सिंंगो व्यक्ति थिएँ, आफैँमा पूर्ण ।

धर्मुकाकाको कान्छो भाइ टंकुकाका । विमलाजी धर्मुकाकाकी कान्छी साली । त्यस्तो केही पनि  होइन तर काका लाज मान्नुहुन्थ्यो । कहिले धेरै अघि त कहिले धेरै पछि बस्नुहुन्थ्यो । म र केशव त विमलाजीसँग एउटै क्लास भएकाले कुरा गर्दै आउँथ्यौँ । अहिले केशव कता होला, विमलाजी कहाँ हुनुहोला । गणेशसँग त भेट भइरहन्छ । मैले काकाहरूमध्ये तँ भनेर भन्ने गणेशलाई मात्र हो ।

१७. वास्तवमा त्यो बालापनमा कल्पनाशीलता जुन थियो, सीमित घेरामा थियो । तर, जिज्ञासा र संंगतले सोच्ने गराएको होला । अब ती पात्रहरू आक्कलझुक्कल जेहेनमा आउँछन् त्यही वयको सेरोफेरोमा र त्यही कल्पना गरेको क्षेत्रमा । यता, मैले केही महिना जस्तो जन्मभूमिमा बिताएँ तर फगत एक्लो भएर । न बा, न त आमा, न भाइ, न  त अरू परिवारका मानिसहरू नै । त्यो बेला भनेको कुनै चिन्ता गर्ने बेला पनि थिएन र परिवेशका बारेमा आफैँलाई कस्तो हो भन्ने पनि थाहा थिएन । एकाकी जीवन । मस्त जीवन । कसैलाई केही दिनु पनि नपर्ने, कसरी खान पाइन्छ भनेर थाहा पनि सामान्य भएको तर कुनै परिश्रमविना नै खान, लाउन पाएको बेलामा आउने अपरिपक्व कल्पनाले जीवनमा प्रभाव त पार्दोरहेछ तर धुमिल सम्झना र प्रभावहीन परिणाम देखाउँदो रहेछ ।

बारम्बार अतीतका सम्झनाले झंंकृत पार्दो रहेछ । अहिले पनि आँखा चिम्लँदा आउने कल्पना त्यही बेलाको नै हुन्छ, त्यसैले त एकान्तमा रमाउन सकिन्छ र त्यही बेलामा आँखाबाट अविरल आँसु बगेको थाहै हुँदैन किनभने परिवेश उही र पात्रहरू पनि उही, मात्र समय अहिलेको ।

१८. जीवनको गाडीलाई यसो हेर्दा इन्धन चाहिँदैन तर जीवनका लागि प्रेरणा, उत्साह र भरोसा नै महत्त्वपूर्ण इन्धन मानिँदो रहेछ क्यारे ! सायद त्यसैका लागि आफन्त र सद्भाव चाहिन्छ ।

आमाको मायाले सबैभन्दा ठूलो ऊर्जा दिइरहेको  म पाउँथेँ । मेरी आमालाई मभन्दा राम्रो अर्को कोही लाग्दैनथ्यो तर पनि मलाई काले भनेर पनि भन्नुहुन्थ्यो- मायाले । मेरो नाम सानैदेखि हरि नै रह्यो र आज पनि त्यो नाम यथावत् छँदै छ बरु हरिप्रसादबाट हरिविनोदचाहिँ सिन्धुलीको कमला हाई (इङ्लिस) स्कुलको कक्षा ९ मा भर्ना हुँदा मेरो नामको मध्यभाग परिवर्तन भयो । यसमा पनि गुरुकै हात रह्यो । गुरु पुरातन कुरामा खासै रुचि नराख्ने रूपान्तरणकारी हुुनुहुन्थ्यो अनि मलाई हरिप्रसादबाट उहाँले विनोद थप्नका लागि मेरा बालाई दबाब दिनुभयो किनभने गुरु मलाई विनोद नै भनेर बोलाउनुहुन्थ्यो । उहाँ मध्य नाममा प्रसाद राख्ने बाहुनहरूको चलनमा परिवर्तन आउनुपर्छ भन्नुहुन्थ्यो । पहाडतिर प्रसाद भन्ने मध्य नामचाहिँ बाहुनकै मात्र हुँदो रहेछ तर काठमाडौंमा प्रसाद मध्य नाम नेवार समुदायमा पनि प्रशस्त हुँदो रहेछ ।

वास्तवमा प्रसाद भनेको त नैवेद्य हो । भगवानको प्रसादको रूपमा जन्मने बच्चाको नाम राख्ने चलन रहेछ राजधानीमा । पछि राई, लिम्बूहरूको पनि प्रसाद राखेको पाइयो । मेरो साथी, जो कक्षा ८ मा सँगै पढ्थ्यौँ, रामेछापको गौरीशंकर हाईस्कुलमा, केशव पौडेल, उसले मलाई धेरै वर्षपछि भेट्दा हरिप्रसादजी भनेर नै बोलाएको मलाई सम्झना छ र म बेस्सरी हाँसे अनि भनेँ-'साथी, तिम्रो साथी तिमीसँगबाट बिछोड भएर सिन्धुली पुगेपछि नै प्रसाद छाडेर विनोद भइसकेको छ तर म तिम्रो त्यही हरिप्रसाद नै हुँ, जो साह्रै मिल्ने साथी थियो तिम्रो ।'

मलाई पछि थाहा भयो, केशव त मेरो ठूलो मामा धीरप्रसाद उपाध्याय ढुंगेलको मामाको छोरा रहेछ, मैले मामा भन्नुपर्ने । मेरा गुरु धर्मराज बराल काकाको सालो भनेर हामीले चिनेका थियौँ त्यो बेला । अनि केशवकी दिदी विमलाजी पनि हामीसँगै कक्षामा हुनुहुन्थ्यो । म र मेरो दाजु पिताम्बर अधिकारी (कान्छाबाको छोरो, हाम्रो संयुक्त परिवारमा मभन्दा लगत्तै जेठो दाजु) हामी दुवै जना भँगेरीको कृष्णगोपाल श्रेष्ठ ठूलाबाको घरमा बस्थ्यौँ र माथिल्लो बाबिया खर्कमा केशवको घर थियो । हामी गुरुको घर केवलेश्वर महादेव स्थान जाँदा त्यो बाटो पनि जान्थ्यौँ । त्यसैले केशव र हामी ( म, गणेश बराल काका, टंकु बराल काका, पिताम्बर दाइ) सधैँजसो सँगै आउँथ्यौँ बेलुका स्कुल छुट्टीपछि । टंकु काका अलिक लाज मान्नुहुन्थ्यो किनभने विमलाजीलाई देखाएर साली भनेर जिस्क्याउँथे साथीहरूले ।

धर्मुकाकाको कान्छो भाइ टंकुकाका । विमलाजी धर्मुकाकाकी कान्छी साली । त्यस्तो केही पनि  होइन तर काका लाज मान्नुहुन्थ्यो । कहिले धेरै अघि त कहिले धेरै पछि बस्नुहुन्थ्यो । म र केशव त विमलाजीसँग एउटै क्लास भएकाले कुरा गर्दै आउँथ्यौँ । अहिले केशव कता होला, विमलाजी कहाँ हुनुहोला । गणेशसँग त भेट भइरहन्छ । मैले काकाहरूमध्ये तँ भनेर भन्ने गणेशलाई मात्र हो । मलाई मेरा छोराछोरीहरू जिस्क्याउँछन् पनि, काकालाई तँ भनेकाले । बालसखा हो, त्यसैले काकालाई तँ भन्दा उसलाई पनि नराम्रो लाग्दैन र मलाई पनि अप्ठ्यारो लाग्दैन ।

काकाका छोराहरू, भाइहरूले पनि त्यो सम्बन्धलाई उच्च रूपमा हेरेका छन् । काकी पनि हाँस्नुहुन्छ र हाम्रो प्रेम सधैँ यस्तै रहोस् भनेर हाम्रा परिवारका सबैले आदर गर्छन् । तर, टंकु काकासँग भने करिब ४० वर्षपछि भर्खरै मात्र भेट भयो र सम्बन्धलाई पुराना यादहरूले ताजा गराइयो । 

१९. केशव र मेरो पनि एउटा गज्जबको कहानी छ । कक्षा ८ मा ब्यारोमिटर पढ्नुपर्ने । हावा कसरी खालि हुन्छ र भरिन्छ भनेर केशवले मलाई सिरिन्जको प्रयोगले देखायो । मैले पनि प्रयोग गर्न खोज्दा त्यो सिरिन्जको अघिल्लो भाग जोडले ठोकियो र फुट्यो अनि केशव डरायो । त्यो वास्तवमा केशवका दाजु बाणिज्य बैंक रामेछापमा हुनुहुन्थ्यो, मीनप्रसाद सायद नाम । केही समय पहिले मात्र मैले काठमाडौंमा कता हो, भेटेको पनि थिएँ उहाँलाई । फुट्यो । अब के गर्ने ? हामीले उपाय खोज्यौँ- कसरी त्यो फुटेको सिरिन्जलाई फिर्ता गर्ने !

वास्तवमा मैले नै फुटाएको थिएँ तर केशवले सिकाएको कुरामा केही नमिल्दा । सियो राख्ने ठाउँमा हातको औँला राख्दा र औषधि तान्ने गरी खालि माथि तान्दा हावा शून्य अवस्था हुँदो रहेछ । तर, विस्तारै फेरि त्यही ठाउँमा ल्याउनुपर्नेमा मैले माथि नै हातले समाउन छाड्दा जोडले खालि हावा भएको ठाउँमा गयो र ठोकियो अनि मैले हातको औँला राखेको भाग फुट्यो  र मेरो हातमा आयो । डराउन त म धेरै डराएँ किनभने त्यो किनेर मैले दिनुपर्ने थियो । त्यो सिरिन्ज सायद हस्पिटलबाट कसैलाई सुई दिनका लागि दाइले लैजानुभएको थियो क्यारे ! तर, यसको समाधान कसरी गर्ने ? हामीले सोच्नै सकेनौँ ।

रामेछापमा त्यो किन्न पनि पाइँदैन थियो र सम्भवतः मसँग त्यो किन्ने पैसा पनि थिएन । केशवसँग पनि थिएन । अन्त्यमा मैले केशवलाई भनेँ- 'हिँड बैंकमा, दाजुसँग म सबै सत्य कुरा भन्छु, दाजुले जे भन्नुहुन्छ, म त्यही गर्छु ।'

गयौँ बैंकमा । त्यहाँ देउरालीटारका सान्दाजु गुणराज कोइराला पनि हुुनुहुन्थ्यो । मेरो नाताले त मामा हो तर सबैले सान्दाजु भनेकाले म पनि सान्दाजु नै भन्थेँ, भन्छु अहिले पनि ।

बाहिर बोलाएर मीनप्रसाद दाइलाई केशव र म भएर सबै कुरा भन्यौँ । उहाँ हाँस्नुभयो र भन्नुभयो- कम्तीमा तिमीहरूले हावा शून्यको अवस्था थाहा पायौ । केही छैन, मैले अस्पतालबाट मागेर लगेको थिएँ, अस्पताललाई तिर्नु परे म आफैँ तिरौँला तर त्यहाँ धेरै सिरिन्ज हुन्छन् । यो मलाई नै दिएको हो, एक पटकभन्दा बढी सिरिन्ज प्रयोग गर्नुहुँदैन, गर्नु नै परे तातो पानीमा पकाएर मात्र गर्नुपर्छ । ठीकै छ, हरि र केशवले यसमा चिन्ता लिनु जरुरी छैन ।'

सान्दाजुले पनि पछि यो कुरा थाहा पाउनुभयो । केशव र मीनप्रसाद दाइले यो कुरा  बिर्सनुभयो होला तर मैले किन अझै पनि सम्झेको भने विज्ञानको त्यो नै मेरो पहिलो प्रयोग थियो । हुनत हामीले सधैँ विज्ञानको प्रयोग गरिरहेका हुन्छौँ तर कुनै साधनलाई बुझ्ने गरी प्रयोग गरेको मेरो पहिलो त्यही अनुभव हो । पछि सिन्धुलीमा आएपछि बिकर तताउने, अरू केके अभ्यास गरियो ।

शंकरनाथ शर्मा अधिकारी हाम्रो विज्ञान गुरु हुुनुहुन्थ्यो । उहाँले हामीलाई विज्ञानको प्रयोगशालामा लैजानुहुन्थ्यो । पछि विद्यालय समाप्त भएपछि मैले वाणिज्य विषय लिएँ, त्यसपछि शुद्ध विज्ञानसँग मेरो खासै साक्षात्कार भएन । पछि सचिवालय विज्ञानसँग मात्र चिनजान भयो । 

क्रमशः

याे पनि 

फर्कलान् र ती दिनहरू ! 'नवराज बाबूू जस्तो हुनू' !!