सपना भित्रको सपना फिल्म इन्सेप्सनको कल्पना

सपना भित्रको सपना फिल्म इन्सेप्सनको कल्पना

सरोज ज्ञवाली  |  ज्ञानविज्ञान  |  चैत्र १२, २०७५

सपना हामी सबैले देख्ने गर्छौं । भनिन्छ सपना मानिस मात्रले होइन जनावरहरु पनि सपना देख्ने गर्छन् । केही व्यक्तिहरुलाई सपना भित्र पनि अर्को सपना देखेको अनुभव हुन्छ । हुन सक्छ यो अनुभव भ्रम मात्रै होस । तर, यसै धारणालाई समेटेर क्रिस्टोफर नोलानले ‘इन्सेप्सन’ नामक सिनेमा बनाए । फिल्मको कथावस्तु तथा निर्देशन उनी स्वयंले गरेका थिए । 

सन् २०१० जुलाईमा प्रदर्शित यस फिल्मलाई  त्यस बेलाको सफल फिल्मको रुपमा लिइन्छ । यस सिनेमाका मुख्यकलाकारहरुमा लियोनार्दो डिक्याप्रियो, केन, जोसेफ, मारियोन, इलेन, टम आदि रहेका थिए । करिब १६० मिलियन डलरमा निर्माण भएको यस सिनेमाले करिब ८२८ मिलियन डलरको कमाई गरेको थियो । यस सिनेमाले सिनेम्याटोग्राफी, साउण्ड एडिटिंग, साउण्ड मिक्सिंग, भिज्युयल इफेक्ट विधामा एकेडेमी अवार्ड प्राप्त गरेको थियो ।

यस सिनेमाको पृष्ठभूमि नायक डोमिनिक कोबको वरिपरी घुम्छ । सिनेमाका नायक कोब सपनाको दुनियाँका चोर हुन्छ । उसले अरु व्यक्तिमा रहेको विचार अथवा सोचलाई चोरेर अन्य व्यक्तिलाई बेच्ने काम गर्छ । त्यसैले ऊ सिनेमामा देखाइएको दुनियाँमा एउटा खतरनाक जासूसी पात्रका रुपमा बद्नाम हुन्छ । उस्को यस कार्यमा उसका मुख्य सहयोगी पात्र आर्थस हुन्छ, जसले सपनाको दुनियाँको निरीक्षण तथा सूचना संकलन गरी कोबलाई सहयोग गर्दछ । यस्तै किसिमले अरनेस, जो वास्तविक दुनियाँमा एउटा बहुरुपिया हुन्छ  उस्ले पनि सपनाको दुनियाँमा छद्म भेषी रुप धारण गरी, सबैको सोचलाइ भ्रमित तुल्याउने काम गर्छ । यसैगरी युसुफ नामक अर्को सहयोगीपात्र हुन्छ, जो एउटा रसायन शास्त्री हुन्छ र विभिन्न रसायनको निर्माण गरी मानिसको शरीरमा कुनै माध्यमद्वारा पठाउने काम गर्ने गर्छ । उसको यस कामले मानिसलाई सपनाको दुनियाँमा लैजान सजिलो बनाउँछ । 

यस सिनेमाको परिकल्पनाकारले सिनेमामा समयको मापन बेग्लै किसिमले गरेका छन् । सिनेमाका अनुसार १० घण्टाको वास्तविक दुनियाँको समय, पहिलो तहको सपनाको दुनियाँमा एक हप्तासम्मको हुनसक्छ । यसै प्रकारले, यही १० घण्टाको समय सपना भित्रको अर्को सपना अर्थात दोस्रो तहको सपनाका लागि छ महिना लामो हुन्छ । र, यसैगरी यही समय  तेस्रो तहको सपनाको लागि पचास वर्ष अवधिको हुन जान्छ । सपनाको दुनियाँबाट बाहिर आउन झड्काको आवश्यकता पर्दछ अनि मात्र सपना हेरिरहेको व्यक्ति सपनाको दुनियाँबाट मुक्त भएर वास्तविक दुनियाँमा आउन सक्छ । 

‘इन्सेप्सन’ एउटा जटिल काल्पनिक साइको थ्रिलर सिनेमा हो । साधारण दर्शकलाई यो सिनेमा हेर्दा झर्को लाग्न सक्छ । जिज्ञासु दर्शकलाई पनि दुईचार पटक नहेरिकन यो सिनेमाको कथा वस्तु वा परिकल्पना बुझ्न कठिन पर्नसक्छ । मनोविज्ञान तथा वैज्ञानिक कसौटीमा यस सिनेमालाई कुनै स्तरमा राख्न नसकिए पनि सिनेमाको कथाकार तथा निर्देशक क्रिस्टोफरको कल्पनाशीलताको भने प्रशंसा नगरी रहन सकिँदैन । 

यदि सपनाकोे दुनियाँबाट कुनै व्यक्ति कुनै कारणवश बाहिर आउन नसकेको खण्डमा सपना हेरिरहेको व्यक्ति प्रेत अवस्थामा रहन पुग्छ । यस सपनाको प्रेत अवस्थामा व्यक्तिले सपनाको दुनियाँलाई नै वास्तविक दुनियाँ सम्झिरहन्छ र वास्तविक दुनियाँमा रहेको उसको भौतिक शरीरको मृत्युृ पनि हुन सक्छ । अथवा उसको वास्तविक दुनियाँमा रहेको शरीर कोमामा पनि जान सक्छ । 
सिनेमामा कोबको समूह एउटा धनी व्यापारी साइतोको विचार चोर्ने क्रममा असफल हुन्छ र कोबको समूहमा रहेका सम्पूर्ण सदस्यहरुलाई साइतोले बन्दी बनाउँछ । साइतोले कोबलाई ब्ल्याकमेल गर्दै प्रस्ताव राख्छ । साइतो भन्छ— यदि कोबले उसको व्यवसायिक प्रतिद्धन्दी मोरिसस फिसरको कम्पनीलाई बर्बाद गर्नमा साइतोलाई सहयोग गरेमा साइतोले उसका सबै साथीहरुलाई मुक्त गरिदिनुका साथै कोबलाई पनि श्रीमती मारेको झुठा आरोपबाट मुक्त गराइदिन सहयोग गर्छ । 

फिल्ममा देखाइए अनुसार यस कार्यका लागि कोबले प्रतिद्वन्दी व्यवसायी फिसरको छोराको मनमा आफ्नो बाबु प्रति नकरात्मक धारणा विकास गरेर आफ्नो पुस्तैनी कारोबार बन्द गर्ने विचार छोराको मनमा प्रत्यारोपण गर्नुपर्ने हुन्थ्यो । 

कोबका साथीहरुलाई यो कार्य असम्भव लाग्छ । उनीहरु कसैको विचार चोर्न त सिपालु हुन्छन् तर कसैको सपनामा पसेर उसको मस्तिष्कमा नयाँ विचार प्रक्षेपित गर्ने कार्य उनीहरुले गरेका हुँदैनन् । उनीहरुलाई यो काम असम्भव लाग्छ । 

तर कोबले भने यो कार्य हुने सम्भावना देख्छ । उसले एक पटक यस्तो प्रयोग आफ्नो श्रीमतीसँग गरिसकेको थियो । उसले एकचोटी आफूले बनाएको सपनाको दुनियाँमा आफ्नो श्रीमती मालसँग ५० वर्ष विताएको थियो । यसै क्रममा उसको श्रीमती  माललाई सपनाको दुनियाँ नै मनपर्न थाल्छ र ऊ वास्तविक दुनियाँमा फर्कंदा पनि वास्तविक दुनियाँलाई सपनाको दुनियाँ नै सम्झिरहन्छे । यसै क्रममा वास्तविक दुनियाँलाई नै सपनाको दुनियाँ सम्झँदा, उनको मृत्यु हुन पुग्छ र कोबलाई मालको हत्याको आरोप लाग्छ । यसकारण कोब आफ्नो घर लस एन्जेलस जान सकिरहेको हुन्न् । 

कोबले साइतोको प्रस्ताव स्वीकार गर्छ । र सपनाको दुनियाँ निर्माण गर्नको लागि आरिडिन नामक एकजना आर्किटेक्टलाई नियुक्ति गर्छ । कोबले आरिडिनलाई तालिम दिएपछि उनीहरु आफ्नो मिशनमा अगाडि बढ्छन् । उनीहरुले फिसरको छोरालाई ड्रग्स दिएर पहिलो तहको सपनाको दुनियाँमा प्रवेश गराउने सफलता प्राप्त गर्छन् । यो पहिलो तहको सपनाको दुनियाँको रचयिता भने कोबको सहयोगी युसुफ हुन्छ जसले सबैलाई निद्राको अवस्थामा एउटा भ्यानमा राखेको हुन्छ । त्यस पछि दोस्रो तहको सपनाको दुनियाँको निर्माण अभिभारा अर्का साथी आर्थसलाई दिइएको हुन्छ । आर्थसले सबैजनालाई सपनामा नै एउटा सेभेन स्टार होटेलमा पु¥याउँछन् । दोस्रो तहको यो सपना पछि तेस्रो तहको सपनाको निर्माण गर्ने जिम्मा कोबका अर्का साथी अरनेसलाई प्राप्त भएको हुन्छ । अरनेसले दोस्रो तहको सपनामा सेभेन स्टार होटलमा रहेका सबैजनालाई हिउँले ढाकिएको एउटा पहाडमा लैजाने तेस्रो तहको सपना निर्माण गर्छ । 

प्लान बमोजिम कोबले फिशरको छोराको मनमा वाञ्छित धारणा प्रत्यारोपित गर्ने सफलता प्राप्त गर्छ । साइतोले कोबलाई आफूले दिएको वचन अनुसार आफ्नो पहुँचले कोबलाई हत्याको आरोपबाट मुक्त गराइदिन्छ । यस पछिको दृष्यमा कोब आफ्नो घरमा जान्छ र बगैंचामा आफ्ना बच्चाहरु खेलिरहेको देखाइन्छ । 

सिनेमाको अन्तमा एउटा घुमिरहेको भुरुङ्ग देखाइन्छ । कोबले यस भुरुङ्गको प्रयोग जागृत तथा स्वप्न अवस्थाको भेद छुट्ट्याउन गर्थे । भुरुङ्ग लगातार घुमि रहेमा स्वप्न अवस्था रहेको तथा भुरुङ्ग रोकिएमा वास्तविक दुनियाँ हो भनेर कोबले बुझ्थे । 

‘इन्सेप्सन’ एउटा जटिल काल्पनिक साइको थ्रिलर सिनेमा हो । साधारण दर्शकलाई यो सिनेमा हेर्दा झर्को लाग्न सक्छ । जिज्ञासु दर्शकलाई पनि दुईचार पटक नहेरिकन यो सिनेमाको कथा वस्तु वा परिकल्पना बुझ्न कठिन पर्नसक्छ । मनोविज्ञान तथा वैज्ञानिक कसौटीमा यस सिनेमालाई कुनै स्तरमा राख्न नसकिए पनि सिनेमाको कथाकार तथा निर्देशक क्रिस्टोफरको कल्पनाशीलताको भने प्रशंसा नगरी रहन सकिँदैन । 

फिल्ममा जागृत तथा स्वप्न अवस्थाको भेदलाई केही हदसम्म देखाउन खोजिएको छ । पूर्वीय दर्शनको आधारमा हेर्ने हो भने जागृत, स्वप्न, तुरीया र समाधीको भेदलाई केही हदसम्म यस फिल्मले व्याख्या गर्न खोजेकोे छ । यस्तै प्रकारले यस फिल्मले सिगमन्ड फ्रायडको इड, इगो र सुपर इगोको धारणालाई पनि स्वीकार गरेको छनक दिन्छ । सिनेमामा कथाकार र निर्देशकको सीपलाई हेर्ने हो भने, यसलाई एउटा उत्कृष्ट सिनेमाको कोटिमा राख्न सकिन्छ । समग्रमा फिल्म सपनाकै अवधारणा वरिपरी घुम्छ । कथाकारले सपनामा कुनै व्यक्ति भित्र विचार आरोपित गर्न  त्यस व्यक्तिमा रहेका विचार विथोल्न अथवा उसका विचार परिवर्तन गर्न सकिन्छ भन्ने कल्पना गरेका छन् । 

याे पनि

ड्रगले मस्तिष्कीय क्षमता सय प्रतिशत हुने फिल्म लुसीको नायिका सुपरम्यान बनिन

कृतिम बौद्धिकताको संसारः म्याट्रिक्स फिल्मबारे एक चर्चा