गाई पाल्यो वनैको बाघलाई, छोरो पाल्यो जर्मनको धावालाई

गाई पाल्यो वनैको बाघलाई, छोरो पाल्यो जर्मनको धावालाई

यमबहादुर दुरा  |  लोकरञ्जन  |  चैत्र २९, २०७५

लाहुर र लाहुरे नेपाली जनजीवनमा बरोबर उच्चारण भइरहने शब्द हुन् ।  दुवै शब्द रोजीरोजीसँग गाँसिएका छन् । त्यही भएर हुनसक्छ– यी दुई शब्द नेपाली जनजिब्रोमा बढी उच्चारण भइरहन्छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘नेपाली बृहत् शब्दकोश’ (पाँचौ संस्करण) ले लाहुर शब्दलाई यसरी परिभाषित गरेको छ: ‘अचेल पाकिस्तानमा परेको पञ्जाबको राजधानी’ । त्यही शब्दकोशले लाहुरे शब्दलाई ‘भारतीय सेनामा नोकरी गरेको नेपाली जवान’ भनी परिभाषित गरेको छ । 

नेपाली बृहत् शब्दकोशले दिएको लाहुरेबारे परिभाषामा हाल आएर अपूरो हुन पुगेको छ । लाहुरे शब्दको अर्थ विस्तार भइसकेको छ । अहिले यो शब्दले ब्रिटिस सेना, सिंगापुर पुलिस र नेपाली सेनामा नोकरी गर्ने नेपाली जवानलाई समेत सम्बोधन गर्न थालिएको छ । हुँदा हुँदा अरबतिर रोजगार गर्न जानेलाई ‘अरबे लाहुरे’ भन्ने चलन आजभोलि गाउँघरमा चलेकोे छ ।

लाहुर र लाहुरेको चर्चा गर्ने क्रममा एकैछिन इतिहासतिर फर्कौँ । नेपाल र अंग्रेजबीच लडाइँ जारी रहेकै बेलामा सन् १८१५ तिर अंग्रेजले ‘गोर्खा भर्ती केन्द्र’ खोल्यो । चरम गरिबी पिल्सिएका नेपाली युवा भोको पेट र खाली खुट्टा लिएर ‘इस्ट इण्डिया कम्पनी’ भनेर चिनिने अंग्रेजको सेनामा भर्ती हुन थाले । अंग्रेजसँगको लडाइँमा नेपालको अपमानजनक हार भयो । सन् १९१६ मा नेपाल र अंग्रेजबीच ‘सुगौली सन्धि’ भयो ।
असमान प्रकृतिको ‘सुगौली सन्धि’ मा नेपालले आफ्नो एक तिहाइ भूभाग मात्र गुमाएन, स्वाभिमानी नेपालीको मन पनि उजाड हुन पुग्योे । अंग्रेजसँगको लडाइँमा युद्ध मैदानमा उत्रिएका बलभद्र कुँवर पनि एकाएक ‘हरुवा कमाण्डर’मा परिणत भए । इतिहासमा उपलब्ध अभिलेखका अनुसार उनी मनमा अनेकौं कुण्ठा लिएर एक बटालियनभन्दा बढी गोर्खाली सैनिकलाई साथमा लिएर ‘लाहोर’ भन्ने ठाउँमा पुगी तत्कालीन पञ्जाबका महाराज रणजीत सिंहको सेनामा भर्ती भए । शिख राज्यको राजधानीको रूपमा रहेको ‘लाहोर’ अहिले पाकिस्तानमा पर्छ ।

लाहुरेमाथि भएका शोषण र उत्पीडनका कथा अनन्त छन् । फौजको गोलीगठ्ठा बिसाएर लाहुरे छुट्टीमा घर फर्कन्थ्यो । लामो रेलयात्रा र पैदलयात्रा तय गरेर घर आइपुग्थ्यो । घर आउने क्रममा नौतुना, पक्लिहवाजस्ता ‘ट्रन्जिट पोइन्ट’ मा उसको बास पर्‍थ्र्याे । कतिपय लाहुरे त्यहाँका लैनछोकुडीको नक्कली मायाजालमा लाहुरे फस्थे । कति त घरै नआई उतै छुट्टी पूरा गरेर पल्टन फिर्थे । साथमा ल्याएको रकम तिनै लैनछोकुडीसँग सक्थे । अन्त्यमा तिनै लैनछोकुडीसँग बाटो खर्च सापटी मागेर हाजिर हुन जान्थे । यही अवस्थालाई दर्साउन ‘आयो लाउरे बुटजुत्ता कसेर गयो लाउरे खरानी धसेर’ भन्ने गीत जन्मेको हो भन्ने भुक्तभोगीको कमी छैन । 

बलभद्र कुँवर कुन मनस्थितिका कारण पराइ सेनामा समाहित भए, त्यो बेग्लै विश्लेषण विषय हुनसक्छ । तर, कुँवर विदेशी सेनामा भर्ती भएपछि उनको पदचाप पछ्याउँदै बेरोजगार युवा गोर्खा भर्ती केन्द्रमा भर्ती हुने लहर नै चल्यो । त्यही समयदेखि विदेशी सेनामा भर्ती हुन जानेहरू ‘लाहुरे’ नामले चिनिन थाले । ‘लाहुरे संस्कृति’को इतिहास त्यति मीठो छैन । ‘लाहुरे संस्कृति’को अर्को नाम ‘बलभद्र संस्कृति’ हो । ‘लाहुरे संस्कृति’मा घाइते स्वाभिमान र दासताका अध्याय भेटिन्छन् ।

दुई सय वर्षभन्दा पुरानो इतिहास बोकेको ‘लाहुरे संस्कृति’ जे जसरी सुरु भए पनि यसले नेपाली जनजीवनमा गहिरो प्रभाव पारेको छ । नेपालको अर्थतन्त्रदेखि लोकवाङ्मयसम्मका तमाम आयाम यसबाट प्रभावित छन् ।  त्यसमा पनि लोकवाङ्मयको एउटा महत्वपूर्ण विधा मानिने लोकगीत ‘लाहुरे संस्कृति’बाट बिछट्टै प्रभावित छ । लोकगीतले लाहुर र लाहुरे जीवनशैलीसँग आत्मीय नाता गाँसेको छ  । 

‘लाहुरे संस्कृति’ र लोकगीतको नाता–सम्बन्धबारे विश्लेषण गर्नलायक धेरै आयाम छन् । यसै क्रममा ‘लाहुरे संस्कृति’ नै जन्माएको एउटा भाकाको एकैछिन कुरा गरौं । गण्डकी प्रदेशअन्तर्गत स्याङ्जा र पर्वतको पश्चिमी भेगमा प्रचलित एउटा भाका छ, जुन ‘गल्लैलाउरे’ नामले परिचित छ । तुलसी प्रवासले ‘गल्लैलाउरे’लाई ‘लाहुरे संस्कृति’ले जन्माएको एउटा पीडादायी गीत भनेर चित्रण गरेका छन्, (कान्तिपुर, कोसेली, २०७५ फागुन २५) । 

दोस्रो विश्वयुद्धमा गल्लाहरू गाउँघर डुल्थे । उनीहरूले लक्का जवानलाई जम्मा गरेर भर्ती गर्न लैजान्थे । हरेक व्यक्तिको भोलि अनिश्चित छ । त्यसमा पनि लडाइँको बेलामा जीवन त्यसै अनिश्चित हुने भइहाल्यो । भोलिको अनिश्चितालाई मनमा राखेर गल्ला र लाहुरे हुन जाने गाउँले जवानलाई बिदाइमा गाउँमा रातभर नाच चल्थ्यो । त्यही वियोगपूर्ण समयको नाचगानले ‘गल्लैलाउरे’ गीत जन्मेको अनुमान तुलसी प्रवासले गरेका छन् । 

लोकसाहित्यविद् सत्यमोहन जोशी २००२ सालतिर लमजुङ पुगेका रहेछन् । गाउँघर डुल्दा उनले त्यहाँको लोकजीवनलाई नजिकबाट नियाल्ने मौका पाए । त्यहाँको सरसपूर्ण जीवनशैली देखेर आफू लोकसाहित्यप्रति अनुरक्त हुन पुगेको उनले धेरै मञ्चमा व्यक्त गरेका छन् । जतिबेला उनी लमजुङको गाउँबस्ती डुल्दै थिए, त्यतिबेला दोसो विश्वयुद्धको राप र तापले गाउँघर आक्रान्त थियो ।

गल्लाले गाउँ युवालाई खोजीखोजी भर्ती गर्न लैजान्थे । कति उतै मर्थे, कति अंगभंग भएर कुनै क्षतिपूर्तिबिना नै घर फर्कन्थे । त्यही पृष्ठभूमिमा लडाइँबारे वनपाखामा गुञ्जन्थ्यो । त्यतिबेला, सत्यमोहन जोशीको कानमा एउटा गीत ठोक्किन पुग्यो, ‘गाई पाल्यो वनैको बाघलाई, छोरो पाल्यो जर्मनको धावालाई’ ।

लाहुरेमाथि भएका शोषण र उत्पीडनका कथा अनन्त छन् । फौजको गोलीगठ्ठा बिसाएर लाहुरे छुट्टीमा घर फर्कन्थ्यो । लामो रेलयात्रा र पैदलयात्रा तय गरेर घर आइपुग्थ्यो । घर आउने क्रममा नौतुना, पक्लिहवाजस्ता ‘ट्रन्जिट पोइन्ट’ मा उसको बास पर्‍थ्र्याे । कतिपय लाहुरे त्यहाँका लैनछोकुडीको नक्कली मायाजालमा लाहुरे फस्थे । कति त घरै नआई उतै छुट्टी पूरा गरेर पल्टन फिर्थे । साथमा ल्याएको रकम तिनै लैनछोकुडीसँग सक्थे । अन्त्यमा तिनै लैनछोकुडीसँग बाटो खर्च सापटी मागेर हाजिर हुन जान्थे । यही अवस्थालाई दर्साउन ‘आयो लाउरे बुटजुत्ता कसेर गयो लाउरे खरानी धसेर’ भन्ने गीत जन्मेको हो भन्ने भुक्तभोगीको कमी छैन । 

भारतको भाक्सुमा जीवनकाल बिताएका मास्टर मित्रसेन (वि.सं. १९५२—२००२) गोर्खालीको फौजी जीवनलाई सूक्ष्म किसिमले नियाल्नेमध्येका एक मानिन्छन् । उनका गीतमा लाहुरे जीवनशैलीका धेरै पाटो भेटिन्छन् । उनले लाहुरेको पहिरन र व्यवहारलाई केन्द्रमा गीत गाएका छन् । उनको ‘लाहुरे दाइको रेलिमै फेसनै राम्रो, रातो रुमाल खुकुरी भिरेको’ बोलको बहुचर्चित गीतले लाहुरे जिन्दगीका रोमान्टिक पाटालाई खोतलेको छ । 

विगतमा कलाकार भनेर नचिनिएका असंख्य कलाकारले लाहुर र लाहुरेका गीत गाए । ‘बाँचेँ भने अर्को साल फिरनी, मरेँ भने राइफलको सिरानी’ जस्ता मर्मभेदी गीत वनपाखा र रोदीघरमा गुञ्जिए । रेकर्डिङ प्रविधि आएपछि लोककलाकारले अडियो अल्बममार्फत् लाहुरे जिन्दगानीका अनगिन्ती पाटाहरू उघारे । झलकमान गन्धर्वहरूले लाहुरे जिन्दगानीलाई जोडेर गीत गाए, जसबाट धेरै आमाका परेली भिजे । आजका दिनमा पनि फकल्याण्ड टापू, कार्गिल र जम्मु–काश्मिरमा भएका रक्तमुछेल घटनाबारे म्युजिक भिडियो उत्पादन गर्ने क्रम जारी छ ।

‘लाहुरे संस्कृति’ र लोकगीतको अन्तरसम्बन्धबारे खोज तथा अनुसन्धान हुन बाँकी छ । कति रसिक लाहुरेले गाउँघरको लोकभाका पल्टनको छाउनी पुर्‍याए होलान्, पल्टनमा गुञ्जिएका लोकभाकालाई गाउँमा ल्याए होलान् । यस्ता पक्षको पनि अध्ययन हुन सकेका छैनन् । लोकहृदयले ‘लाहुरे संस्कृति’लाई कण्ठकण्ठमै कसरी बचाउँदै ल्यायो, लाहुरे जिन्दगानीलाई चित्रण गर्ने क्रममा लोकगीतमा के कस्ता मोड आए,लोकगीतको विस्तारमा लाहुरेका के कस्ता योगदान रहे भन्नेजस्ता विषयमा अध्ययन हुन बाँकी छ । समग्रमा भन्दा लोकगीतको रचनागर्भमा ‘गोर्खा भर्ती केन्द्र’ले खेलेको भूमिकाको सुक्ष्मतम् अध्ययन र विश्लेषण गर्ने काम बाँकी छ । 

याे पनि

घाम अस्तायो जुन पनि उदायो अझै फुर्सद भाको छैन र ?

लोकभाकामा मुगलान