समसामयिक नियात्रामा सामाजिक चेतना

समसामयिक नियात्रामा सामाजिक चेतना

जय छाङ्छा  |  साहित्य  |  भदौ ६, २०७६

मानिस समाजकै एक अंश हो । समाज र मानिसको बीचमा अविनाभावको गाढा सम्बन्ध रहेको हुन्छ । समाज र वातावरणका प्रभावहरूलाई समेटेर एउटा सचेत सर्जकले गरेका अनुभूति, उत्पन्न हुने विचारहरूलाई प्रक्षेपण गर्ने काम गरेको हुन्छ । अझ भन्ने हो भने सफल नियात्राकारले आफ्ना नाङ्गा ऑखाले देखेका समाज र वातावरण, अनुभूति गरेका विचार, सुनेका र पढेका संस्कृति तथा इतिहास, प्राकृतिक एवं कृत्रिम रूपमा बनेका विविध दृश्यावलीहरूलाई नै केन्द्रमा राखेर समसामयिक नियात्राहरू चित्रात्मक एवम् मन छुने गरी सिर्जना गर्ने गरिएको पाइन्छ । यसबाट स्पष्ट हुन्छ- नियात्रा समाजकै सेरोफेरोलाई केन्द्रविन्दु मानेर सिर्जना गरिन्छ । किनकि नियात्राले समाज लेख्छ र समाजले नै नियात्राको पठन गर्ने हुन्छ । 

यसको दृष्टान्तका रूपमा लिन सकिन्छ- नियात्रा विधाको आरम्भकृति राजा गगनीराजको यात्रा (वि.सं.१८५०)का केही हरफहरू : ‘दिनु भएका सॉधभित्रको माटो जस्तो परी आउँछ, त्यस्तै चाकरी गर्नाले कर्नेप थापाले भूमि पाएको धर्मपत्र लिखत गरी दिँदा दिएको जग्गा मोटा भीटा उँभो, लेकडाँडा, कराँसे पहरा तित्रेमूल यता खग्यानी कमर्यानी उँधो कैलाश थाम (खर्क) उँधो, गैह्रा सीम यता जम्मा साँध राजा गगनिभूम राजाले दिनुभयो । ... रविदासले देउवाले रविदासकी केटी (दुखदा–विरामी हुँदा) झारफुक गर्ने काम गरेको हुँदा जयमल देउवा र सोडारी समेत लागेर गरेको काम हुँदा त्यस हिसाबले धारेढुंगा उँभो कराइले पातलदेखि उँभो भीरढिस्को र बडोस्याउले समेत वत्सराजले मुस्ताङ्गी राजालाई दिनुभयो ।’ (पृष्ठ: ७३)

उल्लिखित उद्धरणबाट नियात्रा लेखनका प्रारम्भदेखि नै समाज र सामाजिकताकै सेरोफेरोमा परिक्रमा गरेको पाइन्छ भने समसायिक नियात्रा लेखनमा पनि समाज तथा सामाजिकताकै सुगन्ध मगमगाएका पाइन्छन् । जुन कुराको उदाहरणको रूपमा केही नियात्रा कृतिहरूका पंक्तिहरूलाई उध्दृत गर्न सकिन्छ । जस्तो कि केदारमणि आचार्य दीक्षितका यात्राका कुरामा उल्लेख भएका केही हरफहरू :
'बरु डोलेलाई खुसी पार्न र फुर्तीसाथ हिँडाउन, उनीहरूले, ‘लौ न बाज्या जॉड खान द्यौ न, अनि हाम्रो फुर्ती देख्ला । घोडा जस्तो दौडिन्छ’ भनेको कुरा मानेर सडकको छेउ, ससाना छाप्रोमा भट्टी थापेर बस्ने गुरुङ्सिनीहरूको पसल अगाडि रोकेर एक एक बटुको जॉड प्रत्येक डोलेलाई खान दिन्थ्यौ‘ । (पाना १०)। 

यस्तै किसिमको समसामयिक नियात्रा प्रसिध्द नियात्राकार प्रा.डा. निर्मोही व्यासको काठमाडौंदेखि सिलिगुडीसम्ममा पठन गर्न पाइन्छ– मेचीपारि पानीटङ्की चेकपोष्टमा गाडी रोकेर एक जना प्रहरीले ‘सामान उतारो’ भन्ने कडिकडाउ आदेश दिए... साराका सारा गरुङ्गा सुटकेस र ब्याग ओराल्न र चेकजाँच गर्ने टेबुलमाथि राख्न लगाए । हामीले चाइँचुइँ नगरी खुरुक्क आज्ञा पालन गर्‍यौँ । उनले एउटै पनि नबिराई भएजति झोलाझाम्टाभित्रको सम्पूर्ण मालताल खोसेलखासल मात्र पारेनन्, बाहिरै झिकेर बिस्कुन लगाइदिए र एकेक गरी जाँच सकिएपछि हामीले फेरि सबै तह लगाएर जीपको छानामाथि चढायौँ।' (मधुपर्क, नियात्रा विशेषाङ्क पाना: २६)। 

अर्का नेपाली साहित्यका विद्वान् समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले 'मेरो पहिलो बेलायत यात्रा'मा लेख्नुहुन्छ– 'अब अन्तरसांस्कृतिक सहिष्णुताले र प्रेमले मात्र यस्ता विविधतालाई जोड्न सकिन्छ । अब लेखकहरूले यस्ता अनेक जाति धर्म विश्वासलाई शारीरिक र मानसिक विभेदहरूलाई मेट्ने मेटाउनेतिर होइन, घृणा र द्वेष उत्पन्न हुने कुरा मात्र मेट्तै जानुपर्छ, सहअस्तित्वको पाठ मात्रै लेख्नुपर्छ बोल्नुपर्छ । (पाना : ८१) 

यस्तै प्रकारले समाजलाई नै इंगित गर्दै नियात्राकार श्रीओम श्रेष्ठ ‘रोदन’ लेख्नुहुन्छ- 'सानो छाप्रोभित्र एउटा लासलाई सेतो कपडाले छोपेर राखेको छ । ‘बिरामी थियो, एक्लै बस्थ्यो । हिजो मज्जाले पियो होला । बिहान ढोका नखोलेकोले के भएछ भनेर जोडले ढोका खोल्दा त मरिसकेको ।’ मानिसको नियति पनि कस्तो ? कसैले पनि थाहा नपाउने गरी आएछ मृत्यु । गरिबीकै कारण त होला नि ! मानिसको बाध्यता भनेकै मृत्यु स्वीकार्ने त हो नि ! (समकालीन साहित्य त्रैमासिक, नियात्रा विशेषाङ्क, २०७४ मङ्सिर–माघः पूर्णाङ्क ८२, पाना : १८७) । 

खाँटी नियात्राले सामाजिक चेतनाको संवाहकको प्रमुख माध्यमको रूपमा उभिएको हुनुपर्ने हुन्छ । तसर्थ नियात्राकारले विभिन्न देश देशावरका धर्म, संस्कृति, रहनसहन, प्रचलन आदिलाई सकरात्मक सहअस्तित्वका भूमिका खेल्ने किसिमका रचनाहरू सिर्जना गर्नुपर्छ । नकरात्मक चिज, प्रचलन आदिको गवाह भएमा पनि सोको सुधारका निमित्त आफ्ना तर्कसहितको सुझाव पस्केर समाजलाई सकारात्मकका साथ अगाडि बढाउने पथप्रदर्शकको काम गर्नुपर्छ । 

यस्तै मानवीय र सामाजिकतालाई केन्द्रमा राखेर अर्का नियात्राकार प्रदीप नेपाल लेख्नुहुन्छ– 'भुटानी शरणार्थी समस्यालाई मैले राजनीतिक ऑखाले मात्रै हेरेको रहेछु । त्यसभित्रको मानवीय संवेदनातिर कहिल्यै मेरो ध्यान गएनछ । भुटानमा नेपालीको प्रवेश तीन सय वर्षभन्दा पुरानो हो । गोर्खाका राजा रामशाहको पालामा भुटानी राजा (भुटानी राजा शाव्दु्रङ न्गवाङ नाम्गेल)ले बोलाएर नेपालीहरू त्यता लागेका हुन् । (पाइला टेकेर विदेशमा, पाना : ६३–६४) ।

उपर्युक्त उद्धरणहरूबाट स्पष्ट हुन्छ कि समसामायिक नियात्रामा मात्र नभई आरम्भकालका नियात्रा सिर्जनाहरूमा पनि पर्याप्त समाज र सामाजिकतालाई केन्द्रमा राखेर नै नियात्रा सिर्जना भएका पाइन्छन् । यसको उदाहरणको रूपमा लिन सकिन्छ प्रारम्भकालीन नियात्रासङ्ग्रह सुवेदार मेजर शेरसिंह रानाको 'मेरो लन्डन राजलितक यात्राका केही हरफहरू : साना २ (साना?) केटाकेटीहरूलाई पनि यस्तो तालिम गरेका रहेछन् कि ती पनी ठूला मनुष्यका झैँ कुरा गर्दा ‘थेङ्क्स’ जसको माने धन्यवाद अनि ‘प्लीज’ जसको माने कृपा छ भन्दा रहेछन् । न तिनीहरू कसैलाई टकटकी लगाई हेर्दारहेछन् । तेत्रो ठूलो घुञीचो भए पनी कसैले बाटामा हिँड्दा वा उठ्दा र बसदा थूक थाक गरेको देखेनौँ । हामी गोर्खालीहरूलाई ता यस्तो अभ्यास छ कि ४ पाइला हिँड्दै पॉच गाऊमा थूकी शक्त छौँ तर बेलायतमा भैंमा थुकदैनन् ।...जब मानीसलाई आराम र गफाष्टक गरन मन लाग्दो रहेछ, तब ती सडकका किनारमा रहेका फलैंचामा अथवा हरीया घाँसका चउरमा बसी कुरा गरदारहेछन । (पाना : ८) ।

सर्जक समाजकै एक अभिन्न अङ्ग भएकाले समकालीन समाजकै गहिरो छाप लिएर अगाडि बढेको हुन्छ । तत्कालीन समयको समाज, संस्कृति, धर्म, राजनीतिका साथसाथै भौगोलिक परिवेशलाई अभिलेखन गर्ने काममा अग्रसर हुन्छ । किनकि आलाप वा राग मात्र होइन कुनै पनि साहित्य । त्यसैले पनि नियात्राले समाजलाई प्रतिबिम्बित गर्दै समाजकै क्रियाकलापहरूका अभिलेखीकरण गर्छ ।  

त्यसैले प्रारम्भमा आजको जस्तो खुला वातावरण र परिस्थिति, स्वतन्त्रता, अभिव्यक्ति चेतना, साधानहरूको अभावमा कारणबाट पनि वर्तमान सयममा सिर्जना गरिँदै आएका नियात्राभन्दा पृथक हुनु स्वाभाविक छ । नियात्रा लेखनको धेरै कालखण्ड बितिसकेको छ र हालसम्म आइपुग्दा नियात्रा सिर्जनाका स्वरूप, शिल्प, दायरा, विशेषता आदिमा धेरै परिवर्तन आइसकेको छ ।

यसबाट स्पष्ट हुन्छ कि नियात्राको मूल मियो समाज हो भने नियात्राकारहरूबाट मियोकै वरिपरि परिक्रमा गरेर समसामयिक नियात्राहरू सिर्जना गरिंदै आएका पाइन्छन् । 

निष्कर्ष

नियात्रा विधा नेपाली साहित्यको त्यस्तो विधा हो, जहॉ साहासिक लेखन हुन्छ र जसले प्रकृतिलाई सम्मान गर्छ, अनुसन्धानको निकटवर्ती सम्झन्छ, जिज्ञासु पर्यटकका लागि पथप्रदर्शकको कार्य गर्छ । यात्राले मानवलाई आधारभूत प्रेरणा प्रदान गर्ने हुन्छ । स्थान र समाजले नियात्राकारलाई संभाषक मध्यस्थताकर्ताको रूपमा बुझ्ने हुन्छ । र, यसले आधुनिक युगको कुनै पनि स्थानको प्राकृतिक भूदृश्य, वातावरणको सजीव अनुभूतिलाई बचाइराख्ने काम गर्छ, जुन कुरा इतिहासले पनि बचाइराख्न सक्दैन । 

यसका साथसाथै नियात्राले कुनै पनि स्थानको संस्कृति, इतिहास र भौगोलिकताको विवेचना गर्नसक्ने क्षमता राख्छ । वर्तमान विश्व भूमण्डलीकरणको समयमा नियात्राले विश्वभ्रातृत्वको वकालत गर्छ । खाँटी नियात्राले सामाजिक चेतनाको संवाहकको प्रमुख माध्यमको रूपमा उभिएको हुनुपर्ने हुन्छ । तसर्थ नियात्राकारले विभिन्न देश देशावरका धर्म, संस्कृति, रहनसहन, प्रचलन आदिलाई सकरात्मक सहअस्तित्वका भूमिका खेल्ने किसिमका रचनाहरू सिर्जना गर्नुपर्छ । नकरात्मक चिज, प्रचलन आदिको गवाह भएमा पनि सोको सुधारका निमित्त आफ्ना तर्कसहितको सुझाव पस्केर समाजलाई सकारात्मकका साथ अगाडि बढाउने पथप्रदर्शकको काम गर्नुपर्छ । 

यस दृष्टिकोणबाट नियाल्दा नियात्रा र समाज एकअर्काका परिपूरक हुन् । समाज, समय, परिस्थिति, भूगोललाई मेरुदण्ड मानेर आवश्यकताअनुसार नुन, खुर्सानी, मरमसला तथा चास्नीको घुलनसहित नियात्रा सिर्जना गरिनुपर्ने हुन्छ । यही नै नियात्राको प्राण तथा लक्ष्य र गन्तव्य हुनेछ ।

याे पनि

नियात्रा विधाका प्रमुख तत्त्व पाँच ‘क’

नालीबेली नियात्रा र  निकटवर्ती विधाहरुकाे