नेपाली पर्यटनकाे आकर्षणः पाँचतारे होटलदेखि छाप्रो झुप्रोको होमस्टेसम्म सेवा दिने सक्ने

नेपाली पर्यटनकाे आकर्षणः पाँचतारे  होटलदेखि छाप्रो झुप्रोको होमस्टेसम्म सेवा दिने सक्ने

प्रचण्डमान श्रेष्ठ  |  दृष्टिकोण  |  माघ १५, २०७६

आयोजकले कार्यक्रमको शीर्षकमा ‘समृद्धि र अर्थ–राजनीति’ दिएको छ । यो विषयलाई मैले तीन तहमा हेरेको छु । सर्वप्रथम राष्ट्रको राजनीतिको मूल उद्देश्य आर्थिक उपलब्धि हो वा होइन ? यदि हामी मान्छौँ आर्थिक उपलब्धिको उद्देश्य हो भने त्यो आर्थिक उपलब्धि कुन क्षेत्र, कुन रणनीति र त्यसमा ‘इन्डिकेटर’ के देखाउने ? स्पष्ट हुन गाह्रो छैन ।

त्यसरी हेर्ने हो भने हामीले विगतका केही राजनीतिक घोषणापत्रहरू हेर्‍यौँ भने साह्रै सकारात्मक के पाउँछौँ भने सम्पूर्ण दलहरूले पर्यटनलाई अतिमहत्त्वपूर्ण स्थानमा राखेका छन् । कुनै विवाद र कुनै विभेद छैन । सायद राष्ट्रिय सहमतिको विन्दु नै पर्यटन हो कि भन्ने जस्तो लाग्छ । त्यस कारण यो राष्ट्रको अर्थ–राजनीतिमा पर्यटन अपरिहार्य भइसकेको छ । त्यसमा विवाद गर्नु जरुरी छ जस्तो लाग्दैन ।

अब प्रश्न उठ्यो, यो पर्यटन छुट्टै ‘सेक्टर’ हो कि होइन ? मेरो अनुभवलाई सोध्ने हो भने पर्यटन छुट्टै ‘सेक्टर’ होइन । यो सम्पूर्ण अर्थतन्त्रका विभिन्न क्षेत्र र उपक्षेत्रको ‘सिङ्क्रोनाइज’ परिणति मात्र हो । यसलाई के चाहिँदैन ? यसलाई भूगोल, यातायात, आमोल–विमोल पनि चाहिन्छ, संस्कृति पनि चाहिन्छ र प्रकृति पनि चाहिन्छ, सबै चाहिन्छ ।

आज मैले यहाँहरूको बहसलाई सहयोग पुगोस् भनेर केही बुँदालाई प्रस्तुत गर्न चाहेको छु ।

पर्यटन, अर्थनीति र समृद्धिका लागि सामान्य जनताले के पाउँछन् ? नतिजामा ल्याउनका लागि यहाँ आठवटा बुँदालाई फोकस गर्‍यौँ भने पर्यटनलाई एउटा उद्योगको रूपमा हेरेर एउटा व्यावसायीले महसुस गरेको कठिनाइदेखि लिएर पर्यटन समृद्धि कसरी हुन सक्छ भन्ने कुरा पनि आउला ।

हामीले ‘भर्टिकल’ हेर्‍यौँ भने पहिलो बुँदा नेपाली पर्यटनलाई कसरी बुझ्ने ? यहाँ हामीले जति पनि प्रचार गर्‍यौँ, नेपाल भ्रमण वर्षमा त्यसमा अन्तर्राष्ट्रिय पर्यटकलाई फोकस गरेका छौँ ? त्यस कारण कति नेपालीहरू विदेशमा घुम्न जान्छन् र कति विदेशीहरू नेपालमा आउँछन् ? नेपाली विदेश जाँदा कति विदेशीलाई नेपालका बारेमा चर्चा गर्छन् ? विदेशीहरूलाई कति नेपालीहरूले ल्याउँछन् ?

यदि हाम्रो उद्देश्यको पाटो निकास गर्ने हो भने हाम्रो अन्तर्राष्ट्रिय टुरिजमलाई मात्र फोकस गर्नु जरुरी छ, आन्तरिक पर्यटकलाई बिर्सिदिए पनि हुन्छ । एक राष्ट्रभित्र कुनै पनि पर्यटकीय गतिविधिहरू बढ्छन् भने बहुआयामिक प्रभाव पर्छ ।

इन्टरनेसनल टुरिजमको बहस एउटा हुन्छ । नेपालको परिवेशमा डोमेस्टिक टुरिजममा अझै पनि नियामक संयन्त्रहरूमा अलमल छ । भारतीयले आफ्नो गाडी लिएर आयो भने रोक्ने कि छाड्ने ? अझ नेपाली नै हरियो प्लेटमा चढ्न पाइने कि नपाइने ? कति पटक रोकिएको छ ? यो सबै कन्फ्युजन किन त भन्दा डोमेस्टिक पर्यटन पनि राष्ट्रले पहिचान गरेको हो भने त्यसैअनुरूपको पर्यटनसम्बन्धी प्रावधान र नियमन संशोधन पनि जरुरी छ ।

नेपालमा पर्यटनको संभावना छ कि छैन ? कस्ले छैन भन्छ ? किन छ भन्छ त ? सगरमाथा छ, लुम्बिनी छ, जनकपुर छ । नेपालमा के छैन ? तर, बहसको रूपमा मलाई सोध्नुभयो भने म छैन भन्छु ।

संसारमा पर्यटन विकास भइरहेको छ । समुद्रमा छैन कि ? पहाडमा, हिमालमा छैन कि ? मरुभूमिमा छैन कि, कहाँ छैन ? जस्तोसुकै ठाउँमा पनि पर्यटनको विकास भएको हामी पाउँछौँ । तसर्थ, यहाँ संस्कृति र प्रकृति भयो भन्दैमा सबैमा पर्यटन विकासको संभावना छ भन्नु गलत हुन्छ । त्यस कारण त्यो त ‘स्टार्टिङ प्वाइन्ट’ मात्र हो ।

त्यसलाई पर्यटकीय उपजका रूपमा विदेशमा प्रस्तुत र प्रयोग गर्नका लागि त्यतिले पुग्दैन । सगरमाथा पहिले पनि थियो अहिले पनि छ र पछि पनि हुन्छ । तसर्थ, दोस्रो तत्त्व के हो ? यी भौतिक वस्तुहरू जहाँजहाँ थिए, अहिले पनि त्यहीँ छन् । त्यसमा गतिविधिहरू मनोरंजनात्मक गतिविधि, आमोदप्रमोदका गतिविधिहरूको विकास गर्न सक्छौँ कि सक्दैनौँ ? भन्ने दोस्रो प्रश्न हो । हिमाल, जंगल, पहाड, पानी, समुद्र, नदी, जेसुकै होस्, त्यसलाई के गतिविधिहरूले विकास गर्न सकिन्छ ? भन्ने हो ।

तेस्रो के हो भने अन्य गतिविधि विकास गर्न सकिन्छ र आकर्षण गर्न सकिन्छ भने त्यहाँ त सेवा सुविधाहरू चाहियो नि ! बस्ने ठाउँ, खानेकुरा, सुरक्षा, हाइजेनिक कुराहरू, यी सम्पूर्ण कुराहरू आउँछन् । त्यसमा हामी स्पष्ट हुनुपर्छ । त्यस कारण नेपालका मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म कुन भौतिक तत्त्वलाई के गतिविधि गराउन सकिन्छ ? र, के सेवा पुर्‍याउन सकिन्छ ?

हामी बेलाबेलामा भन्छौँ, हामीकहाँ पूर्वाधार छैन । पूर्वाधार कहाँ छ त ? अझै पनि विकसित राष्ट्रमा पूर्वाधार बनाउँदै छन् । कहिले पनि पूरा हुँदैन त्यो । सम्पूर्ण भौतिक पूर्वाधार भएपछि मात्र पर्यटनको विकास गर्छु भन्दा कुरेकोकुर्‍यै हुन्छ । अथवा अलिकति आलोचनात्मक भनौँ भने नेपालको काठमाडौं सम्पूर्ण सफा गरेपछि मात्र पर्यटक नेपाल ल्याउँछु भनेर भन्यो भने त झन् कहिले हो कहिले । यो त कलिल्यै सफा हुँदै हुँदैन । यो ठाउँ सफा छ कि छैन ? यो सफा भन्ने शब्दको हामी नेपालीको संस्कृति के छ ? हामी सुत्नेबेलामा खाटमा धुलो भयो भने यसो धुलो झारेर सुत्छौँ । हप्तामा एक दिन बिदा भयो भने मात्र कोठा सफा गर्छौं । फोहोर सबै संकलन गरेर बाहिर फाल्छौँ, त्यो पनि महिनामा एक दिन सफा गरेर सडकमा फाल्छौँ ।

नेचर र कल्चरको कुरा आउँछ । हामीले सबै नेसनल पार्क बनाएका छौँ । त्यहाँ हामीले रोकिरहेका छौँ ? नभए कहाँबाट बढाउने ? दोस्रो कल्चरको कुरामा तपाईंले सुन्नुभएको होला, हाम्रो ‘लिभिङ गडेस’ भनेर पोस्टर देखाउँछौँ । हाम्रो राष्ट्रिय संस्कृति देशले पर्यटकका लागि छुट्टै योजना ल्याउन तयार छौँ कि छैनौँ त ?

अझ पनि हामीलाई बेलाबेलामा फोहोर कहाँ फाल्ने ? समस्यो हुने गरेको छ  । त्यस कारण सफाई पर्यटकका लागि होइन, यो त हामीलाई चाहिन्छ । त्यही कारण यहाँ जान्छौ भने मास्क लगाउनुपर्छ कि ? पानी बोक्नुपर्छ कि ? त्यो आधारमा उसलाई दिन सक्ने सेवा, सुविधा, आकर्षण, मनोरंजनात्मक कुराहरूबाट सन्तुलन गरेर र नियमन गरेर जाने कि नजाने निर्णय गरेर जानु जरुरी छ ।

हामीले यो भिजिट नेपाल तेस्रो पटक मनायौँ, सन् १९९८, २०११ र २०२० मा । यसबाट के सिक्यौँ ? यो राष्ट्रमा पर्यटनबाट आर्थिक उपलब्धि गर्न सकिन्छ । केही समय जनतालाई पनि फाइदा गर्न सकिन्छ । त्यो फाइदा भनेको के हो त ? कुनै पनि व्यक्तिले रोजगारी त भन्छौँ । होटलमा गए रोजगारी, ट्राभल्समा रोजगारी त छँदै छ, त्यसका अलावा अहिले हाम्रा यी टुरिस्टहरू घरमै बसालेर, झुप्रा छाप्रा जे छन्, ती झुप्रा छाप्रामा पनि हाम्रो संस्कृतिअनुसार होटल नभएको ठाउँमा भ्रमण गराउन गयौँ भने जहाँनेर टुकि बत्ती बल्छ, त्यहाँ हामीले ‘बास पाइन्छ ?’ भनेर ढोका ढकढक्याउँछौँ । यो होटल होइन तर पर्यटकीय सेवाको उसलाई सोच छ वास दिनका लागि ।

जात को हो ? मन लागेको जात छ भने अँगेनासम्म लगेर वास दिन्छन् नभए बाहिर नै भुइँमा सुत्नुस् भनेर भन्छन् । त्यो हाम्रो परंपरा हो । भएको गुन्द्रुक, दूध, मकै खुवाउँछन् अनि आरामसँग जानुस् भनेर नमस्ते गर्छन् । त्यो क्षमतालाई भोलिपल्ट नमस्ते गर्दाखेरि दूध एक गिलासको १००, गुन्द्रुक एक कचौराको ५०, सुतेको ५० गरेर २०० रुपैयाँ तिर्नुपर्‍यो भन्न सक्ने क्षमताको विकास गर्‍यौँ भने जो पर्यटनमा आवद्ध भयो, त्यसलाई हामीले होमस्टे भनेर सुरु गर्‍यौँ ।

यसको पनि ठूलो विरोध भयो । हामी यत्रो लगानी गरेर होटल खोल्ने, तपाईं पर्यटकलाई गाउँको घरघरमा लगेर राख्ने ? कोठाकोठामा सुरक्षाको कसले जिम्मा लिन्छ ? भन्ने तर्क उठेको थियो ।

त्यही बेला म नै पर्यटन बोर्डमा थिएँ । हाम्रो राष्ट्र कुन अवस्थामा छ भन्ने हो । यही एउटा राष्ट्र हो पाँचतारे अन्तर्राष्ट्रिय स्तरको होटलदेखि छाप्रो झुप्रोको होमस्टेसम्मबाट सेवा पुर्‍याउन तत्पर छ । होमस्टेमा बसेको १०० रुपैयाँ होला, फाइभस्टार होटलमा १०० डलर होला । अब बहसको विषय के भयो भने आकर्षणलाई प्रस्तुत गर्न सक्यौँ भने यो पर्यटकीय प्रोडक्ट हुन्छ ।

तर, त्यो प्रस्तुत गर्न सक्ने क्षमता छैन नेपालीसँग । शिक्षा नै पुगेको छैन । त्यसपछि ‘स्पेसलाइजेसन’ छैन । विदेशबाट आएको, अन्तैको समूहबाट आएको ग्राहकलाई सन्तुष्ट हुनेगरी सेवा दिने क्षमता हामीसँग धेरै कम छ । त्यस्तो अवस्थामा सगरमाथा, जनकपुर, लुम्बिनी भएर पुग्दैन है भनेको मात्र हो । दोस्रो विषयमा ।

तेस्रो, सामान्यतया बुझेर वा नबुझेर हो ग्रामीण क्षेत्रमा पनि त्यहाँका मान्छेहरूले हामीकहाँ पर्यटक चाहियो भनेको सुनिन्छ । त्यहाँ नीतिगत रूपमा केन्द्रमा बसेको क्याबिनेटले पनि भिजिट नेपालका अनेकौँ नीतिमा छलफल गर्छ । भर्टिकल्ली ग्रामीण क्षेत्रदेखि माथिल्लो क्षेत्रमा पनि एउटा बहस र छलफलमा आएर उनीहरूलाई फाइदा हुँदो रहेछ ।

हाम्रो राष्ट्रको अर्थतन्त्रलाई राम्रो गर्ने हो भने यसमा पर्यटनको भूमिका छ । तर, केके गर्ने भन्ने प्रश्न छ । भविष्यमा हामीले कुन ठाउँमा के गर्दा सन् २०२० मा २० लाख पर्यटन ल्याउन सकिएला ? सन् २०१८ र २०१९ को सुरुमा नै भैरहवाको एयरपोर्ट सम्पन्न हुनुपर्ने हो ।

काठमाडौं शहरको कुरा आयो । शहरको ठाउँठाउँमा भएका ढुंगाको मूर्तिमा पनि टीका लगाएको, फूल चढाएको हामी पाउँछौँ । हाम्रो धार्मिक आस्था त जेसुकै होला तर हामी नेपालीले त्यो ढुंगामा टीका लगाएको ठाउँमा कुल्चेर जाँदैनौँ । र, त्यही टीका नलगाएको त्यस्तै मूर्तिसँगै भएको अर्को ढुंगालाई फुटबल खेल्दै जान्छौँ ।

अब विदेशी पर्यटक आयो भने त्यो बच्चाले फुटबल हिर्काएको ढुंगा देख्छ । उसले त्यो टीका लगाएको ढुंगालाई पनि हिर्काउन खोज्छ । कुल्चिन खोज्छ । अब त्यो फूल चढाएको टीका लगाएको वर्णन कसले गर्छ त भन्दा नेपालीले गर्छ । अनि त्यो पर्यटकले आज हाम्रा कुरा सुन्दासुन्दै त्यो केही पनि नभएको ढुंगा केमा परिवर्तन हुन्छ ? भगवानमा परिवर्तन हुन्छ ।

ढुंगा होस् वा नहोस् सँग मतलब छैन । त्यो ढुंगाको वर्णन गर्न सक्ने क्षमता भयो भने पर्यटक प्रयोजनमा परिणत भयो । उसले धेरै कुरा थाहा पाएँ भनेर दंग परेर १०० रुपैयाँ खल्तीमा हालिदिएर जान्छ । यसले आर्थिक गतिविधि बढ्यो ।

विगत ४० वर्षदेखि पोखरामा पर्यटन विकासको इतिहासमा पर्यटन विकासको एउटा महत्त्वपूर्ण काम ६० प्रतिशतले गर्छन् होला । सायद काठमाडौं, पोखरा, चितवन यही हो, हाम्रो बेचिरहेको टुर एण्ड ट्राभल किन त ? काठमाडौं एउटै गेटवे छ, एउटै इन्टरनेसनल एयरपोर्ट छ । त्यसैले आउनै पर्‍यो, एक रात बस्नै पर्‍यो, बसेपछि ट्राभल्सले अफर गर्छ । हाफ डे, फुल डे किनकि सातवटा विश्व सम्पदा सूचीमा भएको ठाउँ छन् यहाँ । जनसुकै धर्मावलम्बीहरूले हेरिदिने हो । भोलिपल्ट काठमाडौं जान्छ किन पोखरा जान्छ ? नेपाल आउनुको डेस्टिनेसन भनेको हिमाल हो । त्यसैले त्यहाँ जाने भन्दा त्यहाँको डेस्टिनेसन भनेको हिमालको डेस्टिनेसन हो ।

अब त्यो मान्छे हिमालमा जान त सक्दैन तर हिमालका बारेमा अनुभव गर्छ । तर, काठमाडौंमा यो हिमाल अनुभव गर्न पाउँदैन, हिमालको मनोरम दृश्य देख्न पाउँदैन । त्यसैले काठमाडौं कम उचाइमा छ तर त्यहाँ हवाईजहाज वा गाडीबाट गइसकेपछि पाँचतारे होटलमा राखेर यसो पर्दा खोल्यो भने २५ किमिको दूरीमा हिमालको गन्तव्य स्थलमा पुगेँ भन्ने उसले महसुस गर्छ ।

हिमाल नलगेर, हिमाल भएको ठाउँ हो भनेर हिमाल भन्दा त्यो प्रोडक्ट प्राप्त गर्न सकिँदो रहेछ नि त ! त्यो क्षमता सबै नेपालीमा छैन, साह्रै कममा छ । त्यो क्षमता विकासको संभावना भने छ ।

त्यस कारण कतिसम्म विकास हुन्छ त ? त्यो क्षमता जुन अनुरूपमा विकास हुँदै जान्छ, त्यही रूपमा पर्यटनमा विकास भयो भने सबैले फाइदा पाउँछन् नत्र भने पाउँदैनन् । खर्च गर्ने ठाउँ र वस्तुहरूको क्षमतामा वृद्धि गर्‍यौँ भने राम्रै खर्च गर्छ । ५०० जना मान्छे आउन चाहन्छन्, तिनैलाई मात्र ल्याउनु छ भने ठीकै छ । तर यो २० लाख, १० लाख आँकडा कहाँबाट आयो ? सन् १९९८ मा धेरैलाई कन्फ्युज भएको छ । सरकारले पर्यटन ल्याउने पनि होइन त सरकारले २० लाख कहाँबाट ल्याउने ? न सरकारले एयरलाइन्स चलाउँछ, न त ट्राभल्स चलाउँछ । एयर ट्रान्सपोर्टेसनलाई नेपाली र विदेशी एयरलाइन्सहरू कति चलेका छन्, त्यसको सिट क्यापासिटी कति छ, फ्रिक्वेन्सी कति छ ? त्यो सिटको क्यापासिटि क्याल्कुलेट गर्ने हो भने दिनमा, महिना वा वर्षमा कतिसम्म आवतजावत गर्न सकिन्छ ?

१० लाख सकिन्छ कि २० लाख सकिन्छ भनेर सरकारले भनिदिएको हो । २० लाखसम्म वर्षमा आयात गर्ने हाम्रो क्षमता छ हामीसँग । अब अर्को कुरा के हो ? जस्तोः सरकारले २० लाख भित्र्याउँछौँ भनेको छ नि ! होटल त सरकारले खोल्दैनन्, निजी क्षेत्रले बैैकबाट लोन लिएर, ट्राभल एजेन्सीले लोन लिएर गाडी किनेर भटाभट लगानी गर्न खोज्यो ।

यो निजी लगानीलाई पर्यटनम कसरी परिचालन गर्ने भन्ने मात्र हो । त्यो प्रत्यक्ष होइन, अप्रत्यक्ष हो । अर्को पक्ष भनेको नेपाल सुन्दर, शान्त, विशाल छ भनेर प्रचार प्रसार गरियोस् भन्ने हुन्छ ।

हिजो ५ लाखमा १० लाख ल्याउँछु भन्ने, १० करोड रुपैयाँ खर्च गरेर ८ लाखमा झर्‍यो भने के गर्ने ? कसले लिने त्यसको दायित्व ? उसलाई पनि त गाह्रो भयो नि ! प्रचार प्रसारमा निरन्तरता दिइरहनुपर्छ । कति हाम्रो बजेटले भ्याउँछ ।

त्यसैले मलाई सोध्नुहुन्छ भने नेपालको अहिलेको पर्यटनलाई ‘पोजिसनिङ’ गर्ने हो भने जे जस्तो हाम्रो क्षमता छ, अवस्थिति छ, पूर्वाधारको क्षमता छ, संगठनात्मक क्षमता छ, त्यो क्षमतालाई पूर्ण  रूपमा अधिकतम प्रयोग गर्नका लागि प्रयास गर्नुपर्छ ।

अब सन् २०११ मा पनि प्रयास गर्न नसकेको कुरा हो यो । प्राइज बढायो भने पनि ग्राहक नआउने भयो, घटायो भने हामीलाई घाटा पर्ने भयो । पर्यटनबाट जनताले रोजगारी खोजेको हो, वैकल्पिक आय खोजेको हो । राष्ट्रले राजस्व खोजेको हो ।

हाम्रो राष्ट्रको अर्थतन्त्रलाई राम्रो गर्ने हो भने यसमा पर्यटनको भूमिका छ । तर, केके गर्ने भन्ने प्रश्न छ । भविष्यमा हामीले कुन ठाउँमा के गर्दा सन् २०२० मा २० लाख पर्यटन ल्याउन सकिएला ? सन् २०१८ र २०१९ को सुरुमा नै भैरहवाको एयरपोर्ट सम्पन्न हुनुपर्ने हो ।

स्थानीय समुदायहरू पर्यटनमा संलग्न हुन सक्ने क्षमता कति छ ? चितवनमा त्यतिका होटल बनेका छन् । त्यहाँको स्थानीय समुदायले के पाउने त ? अंश के पाउने ? अहिले त नाचगान गरेर अलिकति पैसा त जोडिन्छ । होटल व्यावसायी शहरबाट गएको छ, त्यहाँ प्रस्तुत गर्ने सबै बाहिरबाटै आएको छ । त्यहाँको सामग्री र सेवा उपभोग भएको छैन ।

मन्त्रीज्यूले भन्नुभयो, हामीले ३० प्रतिशत होमस्टेले गर्नुपर्‍यो भनेर । अब यस्तो ठाउँमा होमस्टे गरेर के हुन्छ ? त्यहाँ आलु पनि बाहिरबाट ल्याउनुपर्छ । त्यो तरिका होइन । नकारात्मकताबाट कहिले पनि जान्नुहुँदैन । सकारात्मक सोचबाट होमस्टेलाई कसरी चलाउने ? होमस्टेमा क्लिन गर्ने पानी छैन ।

जति मान्छे आऊन्, जति ट्राभल एजेन्सीको नम्बर बढोस्, नेपालले फाइदा लिएको छैन अर्थतन्त्रमा । विदेशमा जहाँबाट नेपाल आउँछन्, जापान जान, जर्मन जान, विभिन्न डेस्टिनेसनमा ‘लेट्स गो टु नेपाल’ लेखेको हुन्छ । त्यहाँ पैसा पनि हुन्छ । मैले हेरेको थिएँ एउटा म्यागेजिनमा । १० दिन नेपाल जानका लागि उसले विज्ञापन गरेको छ– ‘पर डे वान थाउजेन्ड’ भनेर ।

१० हजार डलर तिर्नुपर्‍यो १० दिनलाई । हवाई टिकट पनि सहज छैन । महँगो प्याकेज । अब त्यो जम्मा गर्ने मान्छे कोको आए ? ५० जना मान्छे जम्मा भएपछि उसलाई देखाउन पनि सजिलो भयो । यहाँको ट्राभलमा मेरा ५० जना मान्छेहरू आउँदै छन्, यस्तो होटल दिनुपर्छ, यस्तो गाडी दिनुपर्छ भन्नुपर्छ ।

हाम्रो ट्राभल्सले के गर्‍यो ? उसले २०० डलर पर डे भन्दा मैले १९० मा दिन्छु । मैले १५० मा दिन्छु, यति मेरो प्राइज भन्नुपर्‍यो । अब उसले बेचेको छ एक हजार डलर पर डे, १० दिनको १० हजार डलर भनेर । हाम्रो कम्पनीले २० डलर पर डे भनेको १० दिनमा २ हजार भयो । त्यो ८ हजार कहाँ गयो त ?

पसल कहाँ खोल्छौँ हामी ? हामी ठमेल र दरबारमार्गमा ट्राभल्सहरू खोलेर बेसेका छौँ । विदेसीलाई ल्याउनलाई चुनौती बढी तर प्राप्ति कम हुन्छ । नेपालीलाई विदेश पठाउँदा ‘रिस्क लो रिर्टन इज हाई’ हुने भयो । यहाँ काठमाडौंको मान्छे रारा जाऊ भने पनि जान सकेको छैन  । ६०–७० हजार रुपैयाँ त्यहाँसम्म पुग्नका लागि खर्च हुन्छ ।

नेचर र कल्चरको कुरा आउँछ । हामीले सबै नेसनल पार्क बनाएका छौँ । त्यहाँ हामीले रोकिरहेका छौँ ? नभए कहाँबाट बढाउने ? दोस्रो कल्चरको कुरामा तपाईंले सुन्नुभएको होला, हाम्रो ‘लिभिङ गडेस’ भनेर पोस्टर देखाउँछौँ । हाम्रो राष्ट्रिय संस्कृति देशले पर्यटकका लागि छुट्टै योजना ल्याउन तयार छौँ कि छैनौँ त ?

सातवटा प्रदेश बनाइए । प्रत्येक प्रदेशमा पर्यटन बोर्ड छ । पर्यटनको चाहना बढेको छ । एक–दुई ठाउँमा मैले पनि काम गरिदिएँ । काठमाडौंमा आएर काठमाडौंबाट पर्यटक ल्याउन लगाएर सुदूरपश्चिम र कर्णाली प्रदेश लैजान त संभव नै छैन । कुनै ट्राभल्सले भेट्नै चाहँदैनन् । त्यसको सट्टा अर्को ठाउँमा जा भन्छन् । 

अनि त्यो एयरपोर्टको क्षमता सानो जहाज भए पनि गाह्रो हुने खालको छ । ठूलो जेट नै भएपछि मात्रै इन्टरनेसनल एयरपोर्ट बन्छ भन्ने हुँदैन । अनि इन्टरनेसनल एयरपोर्ट काठमाडौंमा मात्र सीमित रहँदैन । यो अभियानले गर्न सक्ने कुरा हो जस्तो लाग्छ ।

अब सन् २०११ मा पनि प्रयास गर्न नसकेको कुरा हो यो । प्राइज बढायो भने पनि ग्राहक नआउने भयो, घटायो भने हामीलाई घाटा पर्ने भयो । पर्यटनबाट जनताले रोजगारी खोजेको हो, वैकल्पिक आय खोजेको हो । राष्ट्रले राजस्व खोजेको हो ।

विभिन्न रूपमा यी तीनवटा अर्थ, राजनीतिमा परेको कन्फ्युजन हो । फिलिपिन्सले मनिलाबाट न्यूयोर्कसम्मको फिलिपिन्स एयरलाइन्सको फ्लाइट १० डलर भनेर प्याकेज बनाइदियो । त्यो प्याकेज ७ दिनको हो । ७ दिनको प्याकेजमा एयर टिकट र ७ दिनको होटेल प्याकेज । होटलको चार्ज ९ सय डलरमा थियो । होटलको चार्ज घटाएर २०० डलर गरिदियो । तिर्ने मान्छेले  त्यही नै तिर्‍यो । पैसा १४ सय डलर साटिदियो, ७ सय डलर एयरलाइन्सलाई दिने, ७ सय डलर त्यो मान्छेले राख्यो ।

कुरा त्यति नै हो । बैंककको कस्ट पाकेज अफ सपिङमा हेर्ने हो भने सपिङमा समेत ट्याक्सी राख्यो भनेदेखि तपाईंले किन्नुहोस्, नकिन्नुहोस् त्यो टयाक्सी ड्राइभरले कमिसन पाउँछ ।

त्यस कारण यो नेपालमा मात्र सुरु हुन सकेन । अब त ‘अर्गनाइज्ड’ हुन थाल्यो सपिङ पनि, जहाँजहाँ जान्छ, त्यो कुरालाई प्याकेजिङ गर्न सक्यो भनेदेखि महँगो नभएर पनि विजनेस गर्न सक्छौँ भन्ने धारणा हो ।

(नेपाल वैकल्पिक अध्ययन समाजको समकालीन विमर्श शृङ्खला– १७ मा २०७६ माघ ५ गते आइतबार काठामाडौँ विश्वविद्यालयका सागरराज शर्माले  प्रस्तुत  गर्नु भएकाे ‘समृद्धिमा पर्यटनको अर्थ– राजनीति’ विषयक कार्यपत्र  माथि टिप्पणी गर्दै  नेपाल पर्यटन बाेर्डका पूर्व कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले राख्नुभएको धारणाको सम्पादित अंशलाई आलेखका रूपमा प्रस्तुत गरिएको छ ।)

याे पनि 

अस्तव्यस्त काठमाडौं, प्रदूषण, बाटाघाटाहरूकाे बिचमा पर्यटकहरूलाई कुन खालको अभियान ल्याउँदै छौँ ?

२०२०मा पर्यटककाे स‌ंख्या र भौतिक पूर्वाधार निर्माणकाे सन्दर्भ

'पर्यटकको सुरक्षा छैन मात्र भन्ने ? के हो सुरक्षा भनेको ? यहाँ शत प्रतिशत सुरक्षा छ !'

मलाई सुरक्षित छु भन्ने महसुस छैन 'कस्टुमर' लाई कसरी सुरक्षित छ भनेर भन्न सक्छु ?