दुई भारतीय विमान खसालेको पाकिस्तानको दाबी

दुई भारतीय विमान खसालेको पाकिस्तानको दाबी
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७५

काठमाडौं । पाकिस्तानी सेनाले दुईवटा भारतीय लडाकु विमानमाथि प्रक्षेप्यास्त्र हानी खसालेको दाबी गरेको छ । 

२६ फेब्रुअरीमा भारतीय लडाकु विमानले पाकिस्तानको सीमाभित्र पसेर बम खसालेका थिए । घटनाको भोलिपल्ट आज बुधबार २६ फेबुअरीमा पाकिस्तानले आफ्नो सीमामा पसेका दुई भारतीय लडाकु जहाजलाई नष्ट गरेको दाबी गरेको हो । 

पकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्विटमार्फत भारतीय जहाज खसालेको जानकारी गराएका छन् । उनको ट्विटमा भनिएको छ– आज बिहान पाकिस्तानी वायुसेनाले गरेको आक्रमणको प्रतिकार गर्दै दुईवटा भारतीय लडाकु जहाज नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) पार गरी पाकिस्तानी सिमानामा पसे । पाकिस्तानी वायुसेनाले पाकिस्तानको आकाशमा रहेका ती भारतीय जहाजलाई आक्रमण गरी खसालिदियो । एउटा जहाज पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा खस्यो र अर्को जहाज भारतको काश्मिर क्षेत्रमा गएर खस्यो ।

पाकिस्तान नियन्त्रित काश्मिरमा जहाजको पाइलटलाई पाकिस्तानी सेनाले आफ्नो नियन्त्रणमा लिएको पनि उनको ट्विटमा उल्लेख गरिएको छ । पाकिस्तानी सेनाको यस दाबीबारे स्वतन्त्र रूपले अहिलेसम्म पुष्टि हुन सकेको छैन । 

यसै सन्दर्भमा पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले ट्विटमार्फत भनेका छन्– आज बिहान पाकिस्तानी वायुसेनाले आफ्नो सिमानामा रही नियन्त्रण रेखापारि भिषण बमबारी गर्यो । सेनाले यो बमबारी हिजोको घटनाको प्रतिक्रियास्वरूप गरेको हो । 

समाचार एजेन्सी पिटिआई र रोयटर्सले पनि बालाकोट आक्रमणको दोस्रो दिन पाकिस्तानी लडाकु जहाजले नियन्त्रण रेखा पार गरी भारतीय वायु–सीमामा प्रवेश गरेको समाचार दिएका छन् । 

उक्त एजेन्सीहरूका अनुसार पाकिस्तानी जहाजले काश्मिरको राजौरी जिल्लाको नौशेरा सेक्टरमा प्रवेश गरेका हुन् । पिटिआईको समाचार अनुसार भारतीय वायुसेनाले तत्कालै जवाफी कारवाही गरेर पाकिस्तानी जहाजलाई भगाइदिए । 

यसैबीच अर्को समाचार अनुसार पाकिस्तानका प्रधानमन्त्रीले ‘नेसनल कमाण्ड अथोरिटी’ (एनसिए) को बैठक आह्वान गरेका छन् । यस अथोरिटीमा प्रधानमन्त्रीका साथै विदेशमन्त्री, गृह मन्त्री र सेनाका उच्च अधिकारी रहेका हुन्छन् । पाकिस्तानको परमाणु बमको साँचो यसै अथोरिटीसँग हुन्छ । पाकिस्तानी प्रधानमन्त्रीले आजै पाकिस्तानी संसद्का दुवै सदनलाई सम्बोधन गर्ने पनि समाचार छ । 

पाकिस्तानी संसद्मा प्रधानमन्त्रीविरुद्ध नाराबाजी 

हिजोको संसद्मा विपक्षी दलका सदस्यका साथै पूर्व विदेशमन्त्री हिना रब्बानीले इमरान खानको चर्को आलोचना गरेकी थिइन् । संसद्मा इमरान खान मुर्दावाद तथा शेम, शेम इमरान नाराबाजी भएको थियो ।

याे पनि

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो

के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?

भारत पाक युद्धको सँघारमा !