चिनी रोग : जसका कारण देखिने अल्पकालीन बिमार, लक्षण र उपचार

चिनी रोगमा हुने अल्पकालीन रोगहरूमा रगतमा ग्लुकोज कम हुने हाईपोग्लोइसेमिया (Hypoglycemia) , रगतमा ज्यादा ग्लुकोज हुनुको साथै पिसाबमा एसिटोन हुने डायवेटिक किटो एसिडोसिस (Diabetic keto acidosis), रगतमा ज्यादा ग्लुकोज भएता पनि पिसाबमा एसिटोन नदेखिने हाइपर अस्मोलार हाइपरग्लाइसेमिया (Hyperosmolar Hypoglycemia)  र जिवाणुहरुद्वारा सङ्क्रमण हुने रोगहरू पर्दछन् ।

यो लेखमा माथि उल्लेखित गरिएका रोगहरूको विषयमा छलफल गरिने छ । चिनी रोगमा हुने अल्पकालीन रोगहरूका विषयमा स्वास्थ्यकर्मीहरुले मात्र नभएर सर्वसाधारणले पनि राम्रो जानकारी राख्नु अति आवश्यक छ ।  चिनी रोगीहरुलाई अचानक कस्ता रोगहरू लाग्छन् भन्ने जानकारीले समयमा नै उपचार गरेर ज्यान जोगाउन सकिने बढी सम्भावना हुन्छ । 

रगतमा ग्लुकोज कम हुँदा मुटुको धड्कन बढ्नुको साथै हात काँप्ने र पसिना आउने गर्छ । शरीर कमजोर हुनु, बेसी भोक लाग्नु, हात गोडा झम झम गर्नु, रिँगटा लाग्नु र वेहोसी अवस्थामा पनि चिनी रोगीहरु पुग्न सक्छन् । रगतमा ग्लुकोज कम हुने रोगलाई हाईपोग्लाइसेमिया (Hypoglycemia) भनिन्छ ।

रक्त ग्लुकोज ७० मिलिग्राम अथवा यो भन्दा कम भयो भने हाइपोग्लाइसेमियाका लक्षणहरू आउन सक्ने भएकाले चिनी रोगीहरु सतर्क हुनु पर्छ । सन् २०१९ मा अमेरिकन डायवेटिक एसोसिएसन र डायवेटिन अध्ययन गर्ने इरोपियसन एसोसिएसनले ५४ मिलिग्राम भन्दा कम ग्लुकोजलाई हाईपोग्लोसेमिया भन्नु पर्छ भनेका छन् । धेरै समयसम्म चिनी रोग नियन्त्रण नभएका चिनी रोगीहरुमा रक्त ग्लुकोज ५४ मिलिग्राम भन्दा ज्यादामा नै हाइपोग्लोसेयिाका लक्षणहरू देखा पर्न सक्छन् ।

दोस्रो किसिमको भन्दा पहिलो किसिमको चिनी रोगमा हाईपोग्लाईसेमियाका लक्षणहरू देखा पर्ने सम्भावना ज्यादा हुन्छ । सल्फोनिलयुरिया समूहका लामो अवधि काम गर्न ओखतीहरू र इन्सुलिनको सुई लिने गरेका दोस्रो किसिमका चिनी रोगीहरुलाई पनि हाईपोग्लाइसोमियाका लक्षणहरू हुने सम्भावना हुन्छ । ग्लाईवुरायड (Glyburide)   लामो अवधिसम्म काम गर्ने सल्फोनुरिया समूहको औषधि हो भने  ग्लिमेपिरायड र ग्लाइकाजायड छोटो अवधि काम गर्ने सल्फोनिलयूरिया समूहमा पर्छन् ।

रगतमा धेरै ग्लुकोज भएका चिनीरोगीहरुमा जीवाणुको सङ्क्रमण देखियो भने एण्टीवायोटिकको प्रयोग आवश्यक पर्छ । रगतमा ग्लुकोज धेरै भएर पिसाबमा एसिटोन हुने चिनीरोगीहरुको रगतमा वाइकार्वोनेट दिएर उपचार गर्ने विषयमा विज्ञहरूको एउटै मत छैन । यस्तो अवस्थामा रगतको पिएच ६.९ अथवा यो भन्दा कम भएमा १०० मिली इकुइभेलेण्ट वाइकार्वोनेटलाई शिराद्वारा प्रयोग गरेर उपचार गर्नु पर्छ भनेर विशेषज्ञहरूले भनेका छन् ।

धेरै समयको चिनी रोग, वृद्धावस्थामा, व्यायाम, मद्यपान र दीर्घ मृगौलारोगमा हाइपोग्लाइसेमिया हुने सम्भावना ज्यादा हुन्छ । ज्यादा गरेर हाईपोग्लाइसेमिया राती सुतेका बेला हुन्छ । समय समयमा खाना नखाने तर इन्सुलिनको सुई लिई राख्ने चिनी रोगीहरुको रक्त ग्लुकोज कम हुने सम्भावना ज्यादा हुन्छ ।

रगतमा कम ग्लुकोज हुँदा हुने लक्षणहरू देखा पर्ना साथ यसको प्राथमिक उपचार गरिहाल्नु पर्छ । ग्लुकोजको चार चक्की अथवा ४ चम्चा ग्लुकोज पानीमा घोलेर खानाले हाइपोग्लाईसेमियाका लक्षणहरू हटेर जाने गर्दछन् । बेहोस भएका चिनीरोगीहरुलाई ५० प्रतिशत ग्लुकोजको ५० मिली लिटर शिराद्वारा दिन सकिन्छ । ग्लुकागोन प्यांक्रियाजको अल्फासेलहरुबाट उत्पन्न हुन्छ र यो हर्मोनले रगतमा ग्लुकोज बढाउँछ । अचानक रक्त ग्लुकोज कम भएको अवस्थामा एक मिलिग्रामको ग्लुकागोनको सुईलाई छालामुनि दिएर पनि हाइपोग्लईसेमियाको उपचार गर्न सकिन्छ ।

खास गरेर इन्सुलिन प्रयोग गर्ने चिनीरोगीहरुले  ग्लुकोज आफूसँग साथै राख्नु बुद्धिमानी हुन्छ । कहिले काहीँ ग्लुकोज उपलब्ध नहुँदा ४ चम्चा चिनी अर्थात् सुक्रोज पानीमा घोलेर खान सकिन्छ । चिनी ग्लुकोजमा परिवर्तन भएर रगतमा ग्लुकोज बढाउँछ । एकार्वोस नामक ओखती प्रयोग गरिरहेका डायवेटिजका रोगीहरूले चिनी खाएर ग्लुकोजको मात्रा बढाउन सक्दैनन् ।

एकार्वोसले चिनीलाई ग्लुकोज बनाउन दिँदैन । यसर्थ एकार्वोस प्रयोग गर्ने चिनीरोगीहरुले हाईपोग्लाइसेमियाको उपचार चिनी खाएर गर्नु हुँदैन ।

रगतमा ग्लुकोज कम हुँदाको प्राथमिक उपचार पछि रगतमा ग्लुकोज जाँचेर चिकित्सकको सल्लाह अनुसार खाने ओखती र इन्सुलिनको मात्रा मिलाउनु पर्छ । चिनीरोगीहरुले समय समयमा खाना पनि बिर्सनु हुँदैन ।

चिनी रोगीहरुको रगतमा ग्लुकोज धेरै बढेर पिसाबमा एसिटोन देखा पर्‍यो भने यस्तो अवस्थालाई डाईवेटिक किटो एसिडोसिस भनिन्छ । केही प्रतिशत चिनी रोगमा रगतमा ग्लुकोजको मात्रा बढेको हुन्छ तर पिसाबमा एसिटोन हुँदैन । यी दुवै किसिमका  रगतमा ज्यादा ग्लुकोज हुने अवस्थामा ज्यानलाई खतरा हुने भएकोले अस्पतालमा भर्ना गरेर उपचार गर्नु पर्छ ।

रगतमा ग्लुकोज ज्यादा हुने डायवेटिक किटोएसिडाेसिसमा रगतमा अम्ल पदार्थ जम्मा भएर रगतको पिएच कम हुनको साथै वाइकार्वोनेट १८ मिली इक्इभेलेन्ट भन्दा कम हुन्छ ।  प्राय गरेर ग्लुकोज २५० मिलिग्राम भन्दा ज्यादा हुन्छ । केही प्रतिशत चिनी रोगमा रक्त ग्लुकोज ८०० मिलिग्राम सम्म पुग्छ । डायवेटिक किटोएसिडोसिसमा पेट दुख्नु, लामो लामो सास फेर्ने लक्षण हुनु, तीव्र हृदय गति, कम रक्तचाप र शरीरमा पानी कम हुँदा हुने डिहाइड्रेसन जस्ता लक्षणहरू हुन सक्छन् । अन्तमा धेरै रक्त ग्लुकोज हुने रोगीहरू बेहोसी अवस्थामा पुग्छन् । यो किसिमको चिनी रोग हुने रोगीहरूका लक्षण चाँडो आउँछन् ।

रगतमा ग्लुकोज बढेता पनि पिसाबमा एसिटोन नपाइने किसिमको चिनी रोगीहरुमा रक्त ग्लुकोज १००० मिलिग्रामसम्म बढ्न सक्छ तर रोगका लक्षणहरू भने बिस्तारै देखा पर्छन् । चिनी रोगको यस्तो अवस्थामा स्नायु पद्धतिलाई ज्यादा प्रभाव परेर मानिस बेहोस हुन्छ ।

माथि उल्लेख गरिएका दुवै प्रकारका चिनी रोगमा ज्यानलाई खतरा हुने भएकोले तुरुन्त अस्पतालमा भर्ना भएर उपचार गराउनु बुद्धिमानी हुन्छ ।

चिनीरोगीहरुमा रगतको ग्लुकोज अचानक बढेर बेहोस हुनका धेरै कारणहरू हुन्छन् । रगतमा अचानक ग्लुकोज बढ्नुको मुख्य कारण जीवाणुद्वारा सङ्क्रमण हुनु हो । जीवाणुद्वारा निमोनिया र पिसाबको सङ्क्रमण हुँदा रक्त ग्लुकोज बढ्नुको साथै पिसाबमा एसिटोन पनि देखिन्छ । ग्लुकोकर्टिष्कोस्टेरायड र थायजाइड समूहका पिसाब लगाउने औषधिहरूले पनि रगतको ग्लुकोज बढाउँछन् । कोकेनले पनि रगतको ग्लुकोज बढाउँछ । समय समयमा खाना नखाने र इन्सुलिनको सुई लिन पनि बिर्सने व्यक्तिहरूमा पनि रगतको ग्लुकोज बढ्छ ।

अचानक धेरै रक्त ग्लुकोज बढेका व्यक्तिहरूलाई अस्पतालको सघन कक्षमा भर्ना गरिसके पछि रगतको ग्लुकोज, इलेक्ट्रोलाइट्स, ब्लडयूरिया, क्रियाटिनिन, पिसाबमा एसिटोन र जीवाणुद्वारा सङ्क्रमण भए नभएको पत्ता लगाउन आवश्यक जाँचहरू गर्नु पर्छ । रगतको पिएच पनि थाहा पाई राख्नु पर्छ । छातीको एक्स-रे र इसिजी पनि गर्नु पर्ने हुन्छ । इन्सुलिनको मात्रा मिलाउन र पोटासियम प्रयोग गर्न शुरुमा घण्टा घण्टामा रगतको जाँच आवश्यक पर्छ ।

शुरुमा प्रत्येक घण्टामा एक लिटर नर्मल सलाइन दिनु पर्छ । रगतको ग्लुकोज कम गराउन छोटो अवधि काम गर्ने सलुवल इन्सुलिनलाई प्रत्येक किलोग्राम तौलको लागि ०.१ युनिटका दरले हिसाब गरेर शुरुमा शिराद्वारा एकैपल्ट दिइन्छ र पछि यत्ति नै इन्सुलिन एक घण्टा लगाएर दिनु पर्दछ । एक घण्टा पछि रगतको ग्लुकोज ५० मिलिग्राम देखी ७० मिलिग्राम भन्दा कम भएन भने इन्सुलिनको मात्रालाई दोबर बनाएर शिराद्वारा दिइन्छ ।

डायवेटिक किटो एसिडोसिसबाट पीडित चिनी रोगीहरुको रगतमा पोटासियमको मात्रा कम हुन्छ । रगतमा पोटासियम कम हुँदा हृदयगतिका रोगहरू भएर ज्यानलाई खतरा हुन सक्छ । रगतमा पोटासियम ३.३  मिली इकुइभेलेन्ट भन्दा कम भएका चिनी रोगीहरुलाई इन्सुलिन दिनु हुँदैन । इन्सुलिनले पोटासियमलाई कोषहरू भित्र पसाएर प्लाज्माको पोटासियम कम हुन्छ जसको फलस्वरुप हृदयगतिका रोगहरू हुने सम्भावना हुन्छ । यसरी पोटासीयम ३.३ मिली इकुइभेलेन्ट भन्दा कम भएका चिनी रोगीहरुलाई शिराद्वारा पोटासियम प्रयोग गरेर रगतको पोटासियम बढाइ सकेपछि मात्र इन्सुलिन दिन सकिन्छ ।

डायवेटिक किटो एसिडोसिसमा शिराद्वारा इन्सुलिन दिएर रक्त ग्लुकोज २५० मिलिग्राममा झरिसके पछि नर्मल सलाईनको बदला डेक्सट्रोस सलाईन शुरु गरिन्छ ।

रगतमा धेरै ग्लुकोज भएका चिनीरोगीहरुमा जीवाणुको सङ्क्रमण देखियो भने एण्टीवायोटिकको प्रयोग आवश्यक पर्छ । रगतमा ग्लुकोज धेरै भएर पिसाबमा एसिटोन हुने चिनीरोगीहरुको रगतमा वाइकार्वोनेट दिएर उपचार गर्ने विषयमा विज्ञहरूको एउटै मत छैन । यस्तो अवस्थामा रगतको पिएच ६.९ अथवा यो भन्दा कम भएमा १०० मिली इकुइभेलेण्ट वाइकार्वोनेटलाई शिराद्वारा प्रयोग गरेर उपचार गर्नु पर्छ भनेर विशेषज्ञहरूले भनेका छन् ।

रगतमा धेरै  ग्लुकोज भएका चिनीरोगीहरुको उपचारको संक्षिप्त विवरण मात्र माथि उल्लेख गरिएको छ । धेरै ग्लुकोज बढेका चिनीरोगीहरुको उपचार गर्दा अनुभवी चिकित्सकहरूको सल्लाह चाहिन्छ । सबै चिनीरोगीहरुको चिनी रोग एकै किसिमको हुँदौन् । चिनी रोगबाट पीडित व्यक्तिहरूलाई मुटु र मिर्गौलाका रोगहरू पनि भई सकेको हुन्छ र यस्तो अवस्थामा औषधि गर्दा धेरै कुराहरूलाई ध्यान दिनु पर्ने हुन्छ ।

यो पनि

चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?

चिनी रोगीहरूको सङ्ख्या : नेपालमा १५ देखि १९ र विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !


प्रा.डा. डिबी कार्की,बरिष्ठ मुटुराेग विशेषज्ञ हुनुहुन्छ ।