सेफालोस्पोरिन समूहका एन्टिवायाेटिकको प्रयाेग गर्ने अवस्था र अवाञ्छनीय असरहरु

सेफालोस्पोरिन समूहका एन्टिवायाेटिकको प्रयाेग गर्ने अवस्था र अवाञ्छनीय असरहरु

प्रा.डा.डम्बरबहादुर कार्की  |  स्वास्थ्य  |  भदौ २१, २०७७

सेफालोस्पोरिन (Cephalosporin) समूहका औषधिहरु 

पेनिसिलिनद्वारा जिवाणुजनित धेरै रोगहरुको सफल उपचारले मानिसहरुको अकाल मृत्यु हुन छाडे पनि केहि जिवाणुहरुलाई पेनिसिलिनले नाश गर्न नसक्दा वैज्ञानिकहरुले सेफालोस्पोरिन  समूहका ओखतीहरुको आविष्कार गरेका हुन् । पेनिसिलिनको बनावट परिवर्तन गरेर विभिन्न थरीका सेफालोस्पोरिन बनाइएका हुन् । सिफालोस्पोरिन  सन् १९४५ मा पत्ता लगाईएको भएता पनि यसकोे बिक्री वितरण सन् १९६४देखि सुरु भएको पाईन्छ । 

फङ्गस र व्याक्टेरियाबाट जिवाणुनाशक ओखतीहरुको उत्पत्ति एउटा रोचक विषय हो । संसारका विभिन्न ठाँउबाट संङ्कलन गरिएको माटोमा पाइने ब्याक्टेरियाबाट विभिन्न थरीका एण्टिवायोटिकहरु बनाउन सम्भव भएको थियो ।क्लोरामफेनिकललाई स्ट्रेप्टोमाइसिस भेनेजुएलाबाट बनाइएको हो । त्यस्तै भ्यान्कोमाइसिनलाई स्ट्रेप्टोमाइसिस ओरियान्टालिसबाट पैदा गरिएको थियो । सेफालोस्पोरिन लाई सेफालोस्पोरियम फङ्गसबाट उत्पन्न गराइयो ।

सेफालोस्पोरिनले व्याक्टेरियाको आवरण बनाउन आवश्यक पेनिसिलिन  वाइण्डिङ प्रोटिनलाई नाश गरेर व्याक्टेरियालाई नष्ट पार्छ । सेफालोस्पोरिन  समूहका औषधिहरुलाई खान दिएर अथवा सुईद्वारा प्रयोग गरिन्छ । केही सेफालोस्पोरिनलाई सुईद्वारा मात्र प्रयोग गर्न सकिन्छ । धेरैजसो यो समूहका ओखतीहरुको अर्धजीवन छोटो भएकोले यिनीहरुलाई धेरै पल्ट प्रयोग गर्नु पर्छ । पहिलो पुस्ताका सेफालोस्पोरिन  र तेस्रो पुस्ताको सेफ्ट्रायकजोनको अर्धजीवन लामो हुने भएकाले यिनीहरुलाई दिनमा एकदुई पल्ट मात्र प्रयोग गरे हुन्छ । 

पहिलो पुस्ताको सेफाजोलिनलाई शल्यक्रिया पछि जिवाणुद्वारा संक्रमण हुन नदिन प्रयोग गर्ने सल्लाह विज्ञहरुले दिएका छन् । 

सुडोमिनास एरोजेनेसा नामक जिवाणुको संक्रमणले गम्भिर प्रकारको रोग लाग्न सक्छ । यो जिवाणुलाई दोस्रो पुस्ताको सेफालोस्पोरिन, तेस्रो पुस्ताको सेफ्टाजिडिम र चौंथो पुस्ताको सेफालोस्पोरिनहरुले नाश गर्न सक्छन् । पाँचौं पुस्ताका सेफालोस्पोरिन धेरै शक्तिशाली भए पनि सुडोमिनास जिवाणुलाई नाश गर्न सक्षम हुदैंनन् ।

सेफ्ट्रायजोनका सूईद्वारा ज्यादा मात्रामा र धेरै समयसम्म उपचार गराउने बिरामीहरुको पित्तको थैलीमा बाक्लो झोल जमेर पछि पत्थरी हुने सम्भावना हुन्छ । 

सेफालोस्पोरिन समूहका ओखतीहरुलाई पाँच पुस्तामा विभाजन गरिएको छ । प्रत्यक पुस्ताका सेफालोस्पोरिनहरुका आफ्नै विशेषता हुन्छन् । कुन सेफालोस्पोरिन कुन पुस्ताको हो भन्ने कुरा थाहा पाइसकेपछि, यिनीहरुलाई कुन रोगमा प्रयोग गर्न सकिने कुरा चालपाउन सजिलो पर्छ । 

पहिलो पुस्ताका सेफालोस्पोरिनहरुको विशेषता 

पहिलो पुस्ताका सेफालोस्पोरिनका नाँउमा Cef पछि A, Pha, अथवा Phra हुन्छ । यो कुरालाई ख्याल गर्दा पहिलो पुस्ताका सेफालोस्पोरिनलाई चिन्न सक्न्छि । 

खाने खालको सेफालोस्पोरिनको नाउ को अन्तमा OR हुन्छ । Cephalexin Cephadroxil पहिलो पुस्ताका खाने खालका औषधिहरु हुन । Cefazolin, Cephalothin Cephapirin पहिलो पुस्ताका सुई द्वारा प्रयोग गरिने औषधिहरु हुन् । Cephradine पहिलो पुस्ताको सेफालोस्पोरिनलाई खान दिएर अथवा सुईद्वारा प्रयोग गर्न सकिन्छ । 

पहिलो पुस्ताका सेफालोस्पोरिनको स्ट्रेप्टोककाइ र स्टाफाइलोककाइ जस्ता ग्रामपोजेटिभ जिवाणुहरुलाई नाश गर्ने शक्ति हुन्छ । यो समूहका सेफालोस्पोरिनहरुको ग्राम नेगेटिभ जिवाणुहरुलाई नाश गर्ने शक्ति कम भएता पनि केहि ग्राम नेगेटिभ जिवाणुहरुमा (E.Coli,proteus mirabilis, klebsella Pneumonia) यिनीहरुलाई प्रयोग गर्न सकिन्छ । पहिलो पुस्ताको सेफालोस्पोरिन शल्यक्रिया पछि जिवाणुहरुको संक्रमण हुन नदिन उपयोगी औषधि मानिन्छ । दाँत फुकाल्दा जिवाणु्हरुद्वारा मुटुका भाल्भहरु प्रभावित हुन नदिन पनि पहिलो पुस्ताका सेफालोस्पोरिन प्रयोग भएको पाईन्छ । 

दोस्रो पुस्ताका सेफालोस्पोरिनहरुको विषेशता

CefuroximeCefaclor खाने खालका र Cefuroxime cefotetan, cefoxitin सुईद्वारा प्रयोग गर्न सकिने सेफालोस्पोरिन हुन् । यो पुस्ताका सेफालोस्पोरिनहरुले ग्राम नेगेटिभ जिवाणुहरुलाई  (H. influenza, Enterobacter aero genes , Neisseria and Serratia)  नाश गर्न सक्छन् ।

व्याक्टेरायडस  (Bacteroides)  ग्राम नेगेटिभ जिवाणुहरु हुन । Cephamycin र समूहका  Cefometazole, Cefotetan Cefoxitin औषधिहरुले व्याक्टेरायडसलाई नाश गर्न सक्छन् । Cephamycin विटाल्याक्टम जिवाणु नाशक ओखती हो ता पनि यो सेफालोस्पोरिन समूहमा पर्दैन । 

तेस्रो पुस्ताका सेफालोस्पोरिनका विषेशता

Cefixime Cefpodoxime खाने खालका र Cefotexime, CeftazidimeCeftriaxone सुइद्वारा प्रयोग गरिने तेस्रो पुस्ताका सेफालोस्पोरिन हुन् । यो पुस्ताका सेफालोस्पोरिनका नामको अन्तमा IME,ONE अथवा TEN पाइन्छ । यो पुस्ताका सेफालोस्पोरिनको ग्राम पोजेटिभ र ग्राम नेगेटिभ जिवाणुनाशक शक्ति हुन्छ । यिनीहरुमा ग्रामपोजेटिभ भन्दा ग्रामनेगेटिभ जिवाणुनाशक शक्ति ज्यादा हुन्छ । 

यो समूहका सेफालोस्पोरिनहरु मस्तिष्कमा पुग्न सक्ने भएकाले मेनिञ्जाइटिसको उपचार सेफ्ट्रयाकजोनको सुईद्वारा गरिन्छ । यो ओखती मृगौलाका रोगीहरुमा पनि प्रयोग गर्न सकिन्छ । यही समूहको Ceftazidime  सुडोमिनास जिवाणुको संक्रमण हुँदा प्रयोग गर्न सकिन्छ । 

चौथो पुस्ताका सेफालोस्पोरिनको विशेषता 

CefipimeCefpirome चौथो पुस्ताका सेफालोस्पोरिनहरुलाई सुईद्वारा मात्र प्रयोग गर्न सकिन्छ । यो पुस्ताका औषधिहरुको नाममा Pi हुन्छ र यिनीहरु ग्राम पोजेटिभ र ग्राम नेगेटिभ जिवाणुलाई नाश गर्न पूर्व पुस्ताका सेफालोस्पोरिनहरु भन्दा ज्यादा शक्तिशाली हुन्छन् । Cefipime ले सुडोमोनासलाई र विटाल्याक्टिमेज उत्पन्न गराउने जिवाणुलाई नाश गर्न सक्छ  । 

पाँचौ पुस्ताका सेफालोस्पोरिनहरुको विशेषता

CeftobiproleCeftaroline सुईद्वारा मात्र प्रयोग गर्न सकिने पाचौं पुस्ताका शक्तिशाली सेफालोस्पोरिन हुन् । यो पुस्ताका सेफालोस्पोरिनहरु ग्राम पोजेटिभ र ग्राम नेगेटिभ जिवाणुहरु नाश गर्न अरु पुस्ताका सेफालोस्पोरिन भन्दा ज्यादा शक्तिशाली हुन्छन् ।

Methicillin Resistant Staphyllococcus Aureus अर्थात MRSA द्वारा हुने संक्रमणलाई यो पुस्ताका औषधिहरुले नियन्त्रण गर्न सक्छन् । पाँचौ पुस्ताका औषधिहरुले सुडोमोनास नामक जिवाणुलाई नाश गर्न सक्दैनन् । 

सेफालोस्पोरिनका अवाञ्छनीय असरहरु

सेफालोस्पोरिन समूहका औषधिहरुका धेरै गम्भिर किसिमका अवाञ्छनीय असरहरु हुँदैनन् ता पनि यो समूहका औषधिहरु प्रयोग गर्दा होसियारी भने अपनाउनु पर्छ । Buit Preuss CV द्वरा प्रकाशित लेखको आधारमा सेफालोस्पोरिनका अवाञ्छनीय असरहरुको छोटो विवरण यहाँ प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । 

१. सेफालोस्पोरिन प्रयोग गर्नेहरुलाई पेट दुख्ने, रुचि कम हुने, वाकवाकी र उल्टी हुने लक्षणहरु आउन सक्छन् ।

२. शरीरमा डावर आउन सक्छ । कडा किसिमको असर पर्दा कम रक्तचाप र तीब्र हृदय गति जस्ता लक्षणहरु देखा परेमा एड्रिनालिनको सुई लिनु पर्ने हुन्छ र विरामीहरुले तुरुन्तै अस्पताल गएर चिकित्सकलाई देखाउनु पर्छ । पेनिसिलिनको एलर्जी भएका ५–१० प्रतिशत बिरामीहरुलाई मात्र सेफोलोस्पोरिनको पनि एलर्जी हुने सम्भावना हुन्छ । तेस्रो देखि पछिका पुस्ताका सेफालोस्पोरिनका अवाञ्छनीय असर धेरै कम भएको पाइएको छ ।

३. हिमोलाइटिक एनिमिया भएर रगत कम हुन सक्छ ।

४. मदिरापान गर्नेहरुले Disulfiram खाँदा अवाञ्छनीय असर आउँछ । त्यस्तै सेफालोस्पोरिन समूहका ओखतीहरुले (Cefaperazone, Matalactam)   डाइसलफुराम जस्तै अवाञ्छनीय असर गराउन सक्छन् ।

५. भिटामिन के लाई क्रियाशील तुल्याउने इञ्जायमलाई निष्कृय बनाएर रगत पातलो हुँदा रक्तश्राव हुन सक्छ । 

६.सेफालोस्पोरिनलाई एमाइनोग्लाइकोसाइड सूमूहका ओखतीहरुसँग प्रयोग गर्दा मृगौलामा प्रतिकुल प्रभाव पर्ने सम्भावना हुन्छ । 

७. तेस्रो पुस्ताका सेलोफालोस्पोरिनहरुले सुडोमेम्ब्रेनस कोलाइटिस गराउन सक्छन् ।

८. क्याल्सियम प्रयोग गर्ने बिरामीहरुले सेफालोस्पोरिन लिनु हुदैंन ।

९. कमलपित्त भएका शिशुहरुलाई पनि सेफालोस्पोरिनद्वारा उपचार गर्नु हुदैन ।

१०. सेफ्ट्रायक्जोनका सूईद्वररा ज्यादा मात्रामा र धेरै समयसम्म उपचार गराउने बिरामीहरुको पित्तको थैलीमा बाक्लो झोल जमेर पछि पत्थरी हुने सम्भावना हुन्छ । 

अनैरोविक जिवाणु नाशक सेफालोस्पोरिन

अनैरोविक जिवाणुहरु अक्सिजन नभएको वातावरणमा हुर्किन्छन् । क्लोसट्रिडियम वोटुलिनम र टिटानी अनैरोविक जिवाणु हुन् । दोस्रो र पाँचौ पुस्ताका सेफालोस्पेरिनहरुले मात्र अनैरोविक जिवाणुहरु नाश गर्न सक्छन् । अरु पुस्ताका सेफालोस्पोरिनहरुले अनैरोविक जिवाणुनाश गर्न सक्दैनन् ।

यो पनि 

आर्सेनिक देखि पेनिसिलिनसम्मकाे कहानी: जिवाणु नाशक ओखती अर्थात एण्टिवायोटिकले काम नगर्ने अवस्था

एण्टिवायोटिकहरुको चाखलाग्दो कहानी : कहिले र कसले पत्ता लगायो ?