चुनावी सर्वेक्षण भन्छ– भाजपाको सिट घट्छ

उत्तर र पश्चिमी राज्यको नोक्सानको भरपाई पूर्वी राज्यले गर्दैछन्

चुनावी सर्वेक्षण भन्छ– भाजपाको सिट घट्छ

ज्ञानमित्र  |  दृष्टिकोण  |  चैत्र २०, २०७५

सन् २०१४ को निर्वाचनमा उत्तर र पश्चिम भारतका राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले अभूतपूर्व विजय हासिल गरेर स्पष्ट बहुमतका साथ दिल्लीको सिंहासन कब्जा गरेको थियो । 
हुन गइरहेको २०१९ को निर्वाचनका लागि भारतमा भएका अधिकांश चुनावी सर्भेक्षणले यी राज्यमा भाजपालाई नोक्सान पुग्ने पूर्वानुमान गरिएको छ । 

सन् २०१४ मा भाजपा आफैले देशभरिबाट २८२ सिट जितेर बहुमत प्राप्त गरेको थियो भने भाजपा नेतृत्वको एनडिए गठबन्धनका अन्य दलले पनि झण्डै ५० सिटमा विजय प्राप्त गरेका
थिए । 

झण्डै ३३० सिटको बहुमतले १६ औं संसद्को कार्यकाल भाजपाले पूरा गर्यो । 

सन् २०१९ को निर्वाचनका लागि ‘मोदी हटाउ’ भन्ने अभिप्रायले सबै विपक्षी दल मिलेर महागठबन्धन बनाउने चर्चा चले पनि यसले मूर्तरूप भने लिन सकेन । 

भारतको राजनीतिमा अधिकांश क्षेत्रीय दल कांग्रेस विरोधमा जन्मेका हुन् । तर, मोदीको उदयपछि कांग्रेसले सबै विरोधी दलसँग मिलेर मोदीलाई सत्ताच्युत गर्ने प्रयास गर्यो । तर, पश्चिम बंगालमा ममता बनर्जीले कांग्रेसलाई साथ दिइनन् । उत्तर प्रदेशमा अखिलेश र मायावतीले आफ्नो गठबन्धनमा कांग्रेसलाई स्थान दिएनन् । 

महागठबन्धनले चुनावपूर्व मूर्तरूप लिन सकेन । भाजपाको आफ्नो स्पष्ट बहुमत नआएको खण्डमा मात्र २३ मे पछि एकपटक पुनः महागठबन्धनको चर्चा उठ्ने छ । चुनावमा सबैले सबैसँग प्रतिस्पर्धा गर्दै छन् । 

भाजपालाई उत्तरी र पश्चिमी राज्यमा कति सिटको नोक्सान हुन्छ र के दक्षिणी र पूर्वीय राज्यबाट भाजपाले यो नोक्सानको भरपाई गर्न सक्छ ? भाजपाको दिल्लीको दौड यसले नै निर्धारित गर्छ । 
चुनाव पूर्वका तमाम सर्वेक्षणको विश्लेषण गर्दा स्थिति यस्तो देखिन्छ । 

सन् २०१४ को निर्वाचनमा जम्मु काश्मिर राज्यबाट भाजपाले राज्यका ६ सिटमध्ये ३ सिटमा विजय हासिल गरेको थियो । यहाँ भाजपालाई कुनै नोक्सान र नाफा हुने देखिन्न । भाजपाको ३ सिट यथावत रहने अनुमान छ । 

सबैभन्दा रोचक निर्वाचन विहारमा हुन गइरहेको छ । बहु प्रचारित महागठबन्धन यस राज्यमा मात्र हुन सक्यो । लालुप्रसाद यादवको राष्ट्रिय जनता दल कांग्रेससहित राज्यका अन्य साना दलको गठबन्धन बनाएर नीतिशको जनता दल + रामविलास पासवानको लोक जनशक्ति पार्टी + भाजपाको मुकावलागर्दैछ । २०१४ मा भाजपाले राज्यका २२ सिटमा विजय पाएको थियो भने उसका सहयोगी दल लोजपाले ६ सिट जितेको थियो । यस राज्यमा भाजपालाई भने ७–८ सिटको नोक्सान हुने देखिन्छ । तर, सहयोगी दलले जितेका सिट जोडेर यस राज्यमा एनडिएलाई नोक्सान पुग्ने देखिँदैन ।

अर्को राज्य हिमाचल प्रदेशका ४ वटै सिटमा भाजपाले पुनः विजय पाउने सर्वेक्षणले देखाएका छन् । 

उत्तराखण्ड राज्यमा भाजपाले १ सिट गुमाउने संभावना व्यक्त गरिएको छ । सन् २०१४ मा राज्यका ५ वटै सिटमा भाजपाले विजय प्राप्त गरेको थियो । 

दिल्ली दौडमा दिल्लीकै कुरा । दिल्लीका लागि अरविन्द केजरीवालले जति हार गुहार गरे पनि कांग्रेसले उनीसँग गठबन्धन गर्न मानेन । कांग्रेस नेतृ शीला दीक्षितले अर्को वर्ष हुने विधानसभाको चुनावलाई विचार गर्दै केजरीवालसँग सम्झौता गरिनन् । त्रिपक्षीय मुकावला दिल्लीका ७ वटै सिटमा भाजपाको विजय हुने अनुमान गरिएको छ । 

दिल्लीसँगै जोडिएको हरियाणा राज्यका १० सिटमध्ये ७ सिटमा भाजपाको कब्जा छ । हरियाणामा भाजपाको सिट बढ्ने अनुमान मत सर्वेक्षणले देखाएका छन् । यहाँ पनि भाजपालाई कुनै नोक्सान पुग्ने देखिँदैन । 

उत्तरको अर्को राज्य पंजावमा लोकसभाका १३ सिट छन् । सन् २०१४ मा भाजपाले आफ्नो सहयोगी अकाली दलसँग मिलेर राज्य २+४ = ६ सिट जितेको थियो । ४ सिटमा अरविन्द केजरीवालको आम आदमी पार्टीले जित हासिल गरेको थियो र कांग्रेसले ३ सिट जितेको थियो । सन् २०१९ को निर्वाचनमा आम आद्मी पार्टीले आफ्ना सिट गुमाउँदै छ । यसको फाइदा कांग्रेसलाई पुग्ने देखिन्छ । भाजपालाई यस राज्यमा ३ सिटको नोक्सान पुग्ने देखिन्छ । 

राजस्थानको कुरा गर्दा, राज्यका २५ सिट मध्ये २०१४ मा भाजपाले सबै सिटमा विजय हासिल गरेको थियो । यस पटक यस राज्यमा भाजपाले ५ सिट गुमाउने मत सर्वेक्षणले देखाएका छन् ।     
उत्तर भारतको अर्को राज्य मध्यप्रदेश जहाँ लोकसभाका २९ सिट छन् । २०१४ मा भाजपाले २७ सिट जितेको थियो । यहाँ पनि भाजपालाई नोक्सान पुग्ने देखिन्छ । भाजपाले यस राज्यमा २९ मध्ये २३ सिटमा मात्रै विजय पाउने अनुमान गरिएको छ । यहाँ भाजपालाई ४ सिटको नोक्सान पुग्न सक्छ । 

पश्चिमी भारतको ठूलो राज्य महाराष्ट्रमा प्रमुख ४ दलको उपस्थिति छ । शरद पवारको एनसिपी र शिवसेना । एनसिपी कांग्रेस नेतृत्वको युपिएसँग छ भने शिवसेना भाजपाको एनडिएसँग । 

२०१४ को निर्वाचनमा राज्यका ४८ सिट मध्ये भाजपाले २३ र शिवसेनाले १८ गरी ४१ सिटमा विजय प्राप्त गरेको थियो । शरद पवारको दलले ४ सिट र कांग्रेसले २ सिट जितेको थियो । 
भाजपा र शिवसेनालाई यसपटक यस राज्यमा ५ सिटको नोक्सान पुग्ने सम्भावना छ ।  

पश्चिमी भारतको गुजरात राज्यमा भएको ‘लेटेस्ट’ मत सर्वेक्षणले भाजपालाई ६ सिटको नोक्सान पुग्ने देखाएको छ । राज्यका २६ सिटमै भाजपाको कब्जा रही आएको छ । 

सबैभन्दा रोचक निर्वाचन विहारमा हुन गइरहेको छ । बहु प्रचारित महागठबन्धन यस राज्यमा मात्र हुन सक्यो । लालुप्रसाद यादवको राष्ट्रिय जनता दल कांग्रेससहित राज्यका अन्य साना दलको गठबन्धन बनाएर नीतिशको जनता दल + रामविलास पासवानको लोक जनशक्ति पार्टी + भाजपाको मुकावला गर्दैछ । २०१४ मा भाजपाले राज्यका २२ सिटमा विजय पाएको थियो भने उसका सहयोगी दल लोजपाले ६ सिट जितेको थियो । यस राज्यमा भाजपालाई भने ७–८ सिटको नोक्सान हुने देखिन्छ । तर, सहयोगी दलले जितेका सिट जोडेर यस राज्यमा एनडिएलाई नोक्सान पुग्ने देखिँदैन । 

भाजपालाई सबैभन्दा ठूलो नोक्सान छत्तिसगढ राज्यमा हुन गइरहेको छ । राज्यका ११ सिटमध्ये १० सिट जितेको भाजपालाई यस पटकको निर्वाचनमा ७ सिट गुम्ने खतरा देखिएको छ । कांग्रेसका पक्षमा सबैभन्दा राम्रो खबर यसै राज्यबाट आउने सम्भावना रहेको छ । 

उत्तर प्रदेशको चर्चा गर्नुभन्दा पहिला यी राज्यमा भाजपालाई भएको नोक्सानको गणना गरौं । उत्तराखण्डमा १ सिट, राजस्थानमा ५ सिट, मध्यप्रदेशमा ४ सिट, पञ्जाबमा ३ सिट, विहारमा ८ सिट, महाराष्ट्रमा ५ सिट, गुजरातमा ६ सिट र छत्तिसगढमा ७ सिट भाजपाको खाताबाट बाहिरी रहेका छन्, यो सिट नोक्सान संख्या ३९ पुग्छ । 

उत्तरप्रदेशमा सपा र बसपाको गठबन्धनले भाजपालाई कति नोक्सान पुर्‍याउँछ, यसको अनुमान गर्न त्यति सहज छैन । राज्यका ८० सिटमध्ये भाजपाले २०१४ मा ७३ सिट जितेर तहल्का मचाएको थियो । 
सपा र बसपा गठबन्धनमा कांग्रेस भइदिएको भए भाजपालाई उत्तरप्रदेशमा २५ सिटमै खुम्चिने स्थिति हुन्थ्यो । सबैभन्दा लेटेस्ट एविपी टेलिभिजनको सर्वेका मुताबिक यस राज्यमा भाजपा ४० सिटमा विजय प्राप्त गर्न सक्छ । उत्तर प्रदेशमा भाजपालाई २०१४ को तुलनामा ३३ सिटको नोक्सान हुन सक्ने सम्भावना रहेको छ । 

यसरी भाजपा गठबन्धनलाई विगतमा आफ्नो वर्चस्व रहेको राज्यमा ७२ सिटको नोक्सान पुग्ने विभिन्न मत सर्वेक्षणले देखाएका छन् । 

२०१४ मा भाजपाले जितेको २८२ सिटमा उत्तर पश्चिमी भारतका राज्यबाट ७२ सिट गुमाएर भाजपा २१० सिटमा झर्ने देखिन्छ । 

तर, २०१४ को निर्वाचन भाजपा कमजोर रहेका अन्य राज्यबाट भने भाजपाले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । केरलबाट १–२ सिट, उडिसाबाट १२–१४ सिट, पश्चिम बंगालबाट ८–१० सिट र पुर्वाेत्तरका अन्य राज्बाट झण्डै थप १० सिट भाजपाको खातामा आउने प्रबल सम्भावना मत सर्वेक्षणले देखाएका छन् । यी राज्यबाट भाजपाले ३० सिट जितेर सिट संख्या २४० सम्म पुर्‍याउने अनुमान गरिएको छ । 

भाजपाका अन्य घटक दलले सरकार बनाउन अपुग ३२ सिट संख्या सहजै पार गर्ने देखिन्छ । विहारका दुइटा सहयोगी दलले १२–१५ सिट, महाराष्ट्रको सहयोगी दल शिवसेनाले १२–१५ सिट, पञ्जाबको अकाली दलले २–३ सिट, तमिलनाडुको एआइडिएमकेले १०–१२ सिट ल्याएर २७२ को अंक सजिलै पार गर्ने सबै मत सर्वेक्षणले देखाएका छन् । 

भाजपाका लागि भने मूल प्रश्न सरकार बनाउनु नभएर आफ्नै बलमा २७२ सिट पार गर्नुरहेको छ । भाजपाको आफ्नो बहुमत पुग्ने/नपुग्ने उत्तर प्रदेश, राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, गुजरात, महाराष्ट्र, बिहार र केही हदसम्म पश्चिम बंगालमाथि निर्भर गर्छ ।

भारतका उत्तरी पूर्वीय तथा पश्चिमी राज्यका मतदाताको मनस्थितिबारे एउटा कुरा बिसर्नु हुन्न । यी राज्यका मतदाताको मनस्थिति पूर्णतया चीन र पाकिस्तान विरोधी छ । यहाँका वासिन्दा संसारको जुनसुकै देशले जेसुकै गरेको पनि सहन गर्न सक्छन् । तर, चीन र पाकिस्तानको नाम आउनासाथ यी विवेकशून्य हुन पुग्छन् । निश्चय पनि यस चुनावमा डोकलाम विवादमा नरेन्द्र मोदी सरकारले लिएको अडान र पाकिस्तानको बालाकोटमा गरेको सैन्य कार्यवाहीले ठूलो भूमिका खेल्छ । उत्तर प्रदेश, राजस्थान, मध्यप्रदेश, गुजरात, महाराष्ट्र यहाँसम्म कि पञ्जाबमा भाजपाको पक्षमा पुनः २०१४ कै लहर आयो भने कुनै अचम्म हुने छैन । भारतका विपक्षी दललाई यसको पूर्वानुमान नभइसकेको होइन, सबै विपक्षी सैन्य कारवाहीको श्रेय सेनालाई दिने प्रयास गरिरहेका छन् । तर, भारतीय मतदातालाई पनि त थाहा छ, सेनाले सिमाना मिचेर अर्को राष्ट्रमा सैन्य कारवाही गर्नु प्रधानमन्त्रीकै निर्णय र स्वविवेकमा निर्भर गर्छ । चुनावमा पाकिस्तान फ्याक्टरले काम गर्यो भने भाजपाको सिट संख्या तीन सय पुग्न असम्भव हुने छैन ।  

भारत चुनावी महिनामा (अप्रिल ११ देखि) प्रवेश गरिसकेको छ । सबै दलले आफ्नो प्रचार अभियान तीव्र बनाउँदै गइरहेका छन् । भारतको आन्ध्रप्रदेश र तेलांगाना राज्यबाहेक सबै राज्यमा ठूलो उलटपुलट हुने सम्भावना छ । आन्ध्रप्रदेशको २५ सिटमध्ये जयमोहन रेड्डीको वाइएसआर कांग्रेसले २० सिट जित्ने निश्चित प्रायः छ । तेलांगानामा भने अर्को क्षेत्रीय दल चन्द्रशेखर रावको टिआरएसले राज्यका १७ मध्ये १२–१४ सिट जित्ने सम्भावना रहेको छ । 

याे पनि
के मोदीले फेरि ‘मनकी बात’ गर्न पाउँलान् ?

भारतमा काँग्रेसको ४४ सिट आउन पनि मुस्किल !

मोदी लहरबाट अप्रभावित यी राज्यहरु

पूर्ववाट सूर्यमात्र होइन कमल पनि उदाउने