भारत पाकिस्तानमा युद्धजस्तै माहोल

भारत पाकिस्तानमा युद्धजस्तै माहोल
भारतको जम्मु काश्मिर राज्यस्थित लेह विमानस्थल । फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १५, २०७५

काठमाडौं । भारतले पाकिस्तानविरुद्ध गरेको हवाई आक्रमणपश्चात दुवै देशमा युद्धको माहोल बढेको छ ।

भारतीय समाचार एजेन्सी आजतकले आज बुधबार बिहानैदेखि ‘लाइन अफ कन्ट्रोल’मा दुवै देशबीच गोलीबारी भएको जनाएको छ ।  

समाचार अनुसार आज बिहान पाकिस्तानी जहाज भारतीय वायु–सीमामा प्रवेश गरे । पाकिस्तानले आफ्नो सिमानामा पसेको दुईवटा भारतीय जहाज खसालेको दाबी गरेको छ । 

पाकिस्तानले भारतका दुईवटा जहाज खसालेको दाबी दाबी गरिरहँदा भारतले पाकिस्तानको एउटा एफ–१६ विमान खसालेको भिडियो सार्वजनिक गरेको छ । भारतीय वायुसेनाले आफ्नो सुखोइ ३० एमकेआई लडाकु जहाजले पाकिस्तानी एफ–१६ विमान खसालेको दाबी गरेको छ । 

दुवै देशका सेना हाई अलर्टमा रहेको समाचार एजेन्सीले जनाएका छन् । 

एअरपोर्ट बन्द

सुरक्षा कारणले भारतले जम्मु काश्मिर राज्यस्थित लेह, जम्मु, श्रीनगर र पन्जावको पठानकोट एअरपोर्टका अतिरिक्त उत्तराखण्डको देहरादून, हिमाञ्चल प्रदेशको कुल्लु तथा धर्मशाला एअरपोर्टलाई बन्द गरेको छ । पन्जाव राज्यको अमृतसर एअरपोर्ट पनि बन्द गरी ‘हाई अलर्ट’मा राखिएको छ । यसले गर्दा कैयौं आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । कैयौं अन्तर्राष्ट्रिय उडानको ‘रुट’ परिवर्तन गरिएको छ ।  पाकिस्तानले पनि लाहोर, मुल्तान, फैसलावाद, स्यालकोट र इस्लामावाद एअरपोर्टलाई तत्काल प्रभावले बन्द गरेको छ ।

 

दुवै देशबीच बढ्दै गएको तनावका कारण भारतले आफ्ना सीमावर्ति राज्यका अस्पताल र स्वास्थ्य केन्द्रमा ठूलो परिमाणमा औषधि आपूर्ति गरेको छ । अस्पताल र स्वास्थ्य केन्द्रका सबै कर्मचारीको बिदा रद्द गरी उनीहरूलाई ड्युटीमा उपस्थित हुन आदेश जारी गरिएको छ । 

स्टक एक्सचेञ्जमा असर

समाचार अनुसार पाकिस्तानको कराँची स्टक एक्सचेञ्जमा हाहाकार मच्चिएको छ । भारतले मंगलबार गरेको ‘एअर स्ट्राइक’ले कराची स्टक एक्सचेञ्ज बुधबार बिहान १५ सय अंक तल झरेको छ । दुई दिनमै स्टक एक्सचेञ्ज २ हजार अंकले तल झरेको हो । यता भारतको स्टक एक्सचेञ्जमा भने बढोत्तरी भएको छ । 

याे पनि

दुई भारतीय विमान खसालेको पाकिस्तानको दाबी

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो

के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?

भारत पाक युद्धको सँघारमा !