आमाका घिक्क घिक्क गर्दै बितेका अनुत्तरित क्रन्दनका रातहरू र मेरो मस्तिष्कमा टाँसिएको हिंसाप्रति असन्तोष

फर्कलान् र ती दिनहरू ४

आमाका  घिक्क घिक्क गर्दै  बितेका  अनुत्तरित क्रन्दनका रातहरू र मेरो  मस्तिष्कमा टाँसिएको हिंसाप्रति असन्तोष

हरिविनोद अधिकारी  |  साहित्य  |  बैशाख १३, २०७७

अतीतका यादहरू सबै भावनात्मक र स्मरणीय हुँदैनन् । आधुनिक मनोविज्ञानमा ती अपमानहरू र नकारात्मक पक्षहरू अविस्मरणीय हुन् र बिर्सिन लायक हुन्छन् भनिन्छ । प्रचलित हाम्रो नीति शास्त्रमा भनिएको पनि छ —आफू ठगिएको, अपमानित भएको र आफ्ना अति गोप्य कुराहरू विद्वानहरूले प्रकाश नपारुन् ‘वञ्चने चापमाने च मतिमान्न प्रकाशयेत् ।’ 

त्यस्तै हो, सबै अतीतहरू एकातिर स्मरणीय पनि हुँदैनन् या भन्न लायक पनि हुँदैनन् तर कुनै कालमा  भन्नु यस कारणले पनि पर्छ कि नत्र त्यो अन्याय रहिरहन्छ, मनमा तुस रहिरहन्छ र आफैँले आफैँलाई अन्याय गरेजस्तो भइरहन्छ । लामो जीवनमा त्यस्ता धेरै क्षणहरू आए र गए । न त ती दिनहरूको तिथि मिति सबै याद हुन्छ । 

तर त्यसले जीवनमा पारेको दूरगामी प्रभाव भने जीवनमा नसम्झन चाहँदा पनि सम्झनै पर्ने गरी टाँसिएर बसेको हुन्छ । कति पटक त मानिसहरूको जीवनमा ती अपमानजनक घटनाले नयाँ जीवनको सुरुवात गरेको  समेत पाइन्छ । अनि ती सबै महान् व्यक्तित्व बनेको पनि सुनिन्छ र इतिहासमा फेला पनि पारिन्छ । मेरो पनि जीवनमा केही त्यस्ता घटनाहरूले अझै  पनि अमिट छाप छोडेको पाउँछु  । जब म अतीतका फाँटहरूमा घुम्न निस्कन्छु । बेला मौकामा हो अतीतमा फर्कने जब कि अतीतबाट नै आजको वर्तमानमा आइपुगिएको यथार्थ आफ्नो ठाउँमा छँदैछ । 

मैले होस समालेपछि र जानेपछिका धेरै घटनामध्ये मावलका हजुर बा त्रैलोक्यनाथ उपाध्याय ढुङ्गेलको आततायीहरूबाट भएको हत्याले मेरो बाल मस्तिष्कमा एउटा झन्झावट महसुस भएको थियो । ती हत्यारा को थिए  । त्यस बेलामा मलाई के थाहा ? मेरा हजुर बलाई त्यस बेलामा त्यस क्षेत्रमा करिब करिब अजात शत्रुको रूपमा हेरिन्थ्यो रे ! तर उहाँकै हत्या भएको थियो आफ्नै घरमा, सुतेको ठाउँबाट बाहिर दलानमा बोलाएर र बाँधेर । 

उहाँलाई बोलाउन उहाँको विश्वासिलो सायद जजमान, सायद भक्तलाल श्रेष्ठ नाम हो क्यारे ! उनलाई बोलाउन लगाएर राती ओछ्यानबाट बाहिर बोलाउन लगाएका थिए रे ! अनि घरमा पसेर भएका सुन, चाँदी अनि लाखौँ नगद जसमा चाँदीका पुराना सिक्का, आधुनिक मोहर तथा डबल अनि सय, दश, पाँच र एक रुपैयाँका  नोटहरू थिए रे !  करिब ५लाख जत्ति । हजुर बा मधेसमा जग्गासहित घर पनि किन्न चाहनु भएको हुँदा भएभरको रकम जम्मा  गर्नु भएको बुझिन्छ ।

कान्छी सानीमाको बिहे गर्ने पनि उहाँको विचार थियो क्यारे त्यो बेलामा । लाखौँ रुपियाँको नगद तथा जिन्सीको परिमाणमा रहेको सम्पत्ति सबै चोरिएको रहेछ । हजुरआमा भन्नुहुन्थ्यो ‘उहाँहरूको टाउकामा डालाले छोपेको थियो ।’  कसले हत्या गरेको हो भन्नुभन्दा पनि हत्या गरिनु भएका व्यक्ति मलाई जन्म दिने आमाका बा हुनुहुन्थ्यो । मेरा मातामह ! अनि हजुर बाको हत्यापछि मेरो आमाको दैनिक जीवनमा परेका असर अहिले पनि मेरो मस्तिष्कमा ताजै छन्  । आमा रोइरहनु हुन्थ्यो । सामान्यतया  सहज मृत्यु भन्दा दुर्घटनाको मृत्यु सहन गाह्रो हुने रहेछ । आज पनि त्यो घटना दोहोरिएको छ माओवादी जनयुद्धको घाउ अझै । 

जब जब म अहिले पनि बेपत्ता पारिएका परिवारका सदस्यहरूको भेलामा जान्छु । सरकारका सुरक्षा फौजका तर्फबाट या माओवादीका जनसेनाबाट मारिएकाहरूको परिवारका भेलामा जान्छु, अहिले पनि मलाई त्यही बेलाको मेरी आमाको क्रन्दन प्रतिध्वनित हुन्छ र मावलमा देखिएको त्रासदीपूर्ण मानसिकताको झलझली सम्झना आउँछ ।

मेरो घरमा त्यो विषादको क्षण थियो । केही दिन अघि मात्र हजुर बा ग्वाल्टार आउनु भएको थियो र चाँडै फेरि आएर मेरा बा अर्थात् उहाँका ज्वाईँलाई लिएर मधेस जाने र १० बिघा जति जमिन  किन्ने  सल्लाह भएको पनि म सम्झन्छु किनभने म हजुर बाको प्यारो अनि पहिलो नाति थिएँ । 

मेरो हजुर बा पकरबास क्षेत्रका लागि साहु हुनुहुन्थ्यो र प्रतिष्ठित पुरेत पनि हुनुहुन्थ्यो । त्यो बेलाको साहु पनि । अलि हक्की मिजासको, मानिसहरूलाई सहयोग गर्ने धन बलले, जनबलले र कानुनी सहयोगका हसिावले पनि । एक प्रकारले त्यस बेला  पकरबास क्षेत्रका लागि एउटा भरपर्दो अभिभावकको रूपमा उहाँ रहनु भएको कुरा पछि पनि जानकारी पाइन्थ्यो ।

उहाँका सन्तानचाहिँ अलि ढिलो मात्र जन्मेका र त्यसमा पनि पहिलो सन्तानको रूपमा मेरा आमा भएकाले बाबुको माया बढी नै देखिन्थ्यो रे आमालाई । मेरो ठुली हजुरआमाबाट सन्तान नभएपछि अर्को विवाह गरेर पनि ढिलै सन्तान भएको बुझिन्छ ।  किनभने हजुर बाको उमेर उहाँको हत्या हुँदा ६२ वर्षको भनिन्छ र मेरो आमाको उमेर त्यस बेलामा २५ वर्ष पुग्दै थियो ।  अनि ठुली हजुरआमाबाट मेरो आमा जन्मिएको केही महिनामा नै जन्मिनु भएका मेरा ठुलामामा धीरप्रसाद २४ वर्षको हुनुहुन्थ्यो । हजुर बालाई गोली हान्दै गर्दा मेरा बा भनेर अँगालो हाल्न जाँदा मामालाई पनि गोली हानियो । तर त्यो गोली उहाँको छातीमाथिको गर्दनको हाड छेडेर बाहिर निस्किएको थियो रे  र मामा रगतको आहालमा पर्नु भएको थियो । 

हजुर बा अलि बढी स्वाभिमानी ! पहिलेको सरकारी जागिरे र अड्डा अदालतसम्मको पहुँच भएकाले पनि पक्कै त्यो क्षेत्रमा उहाँको प्रभाव बढी नै थियो भन्ने सहज अनुमान गर्न सकिन्छ । २०१५ सालको पहिलो आम निर्वाचनमा त्यस क्षेत्रबाट उहाँहरूकै बन्धु सूर्यप्रसाद उपाध्याय ढुङ्गेल १४ नम्बर क्षेत्र (पूर्व २ नम्बरको पश्चिम भाग)बाट प्रतिनिधि सभामा उम्मेदवार हुनु भएकाले उहाँहरूले  उपाध्यायजीलाई जिताउन लागेको स्पष्ट देखिन्छ । त्यस कारणले त्यो क्षेत्रको मत उपाध्यायजी अर्थात् नेपाली काँग्रेसलाई परेको थियो रे र सम्पूर्ण ढुङ्गेल तथा उहाँहरूका प्रभावमा रहेकाहरूले पनि नेपाली काँग्रेसलाई मत दिएको बुझिन्थ्यो । तर त्यो क्षेत्रबाट जित्नचाहिँ गोरखा परिषद्का बेनीबहादुर कार्कीले जित्नु भएको रहेछ । 

मैले यो कुरा किन पनि भन्नुपरेको हो भने काँग्रेसको त्यस बेलाको असङ्गठित सशस्त्र आन्दोलनको पहिलो सिकार मेरो हजुर बा पर्नु भएको देखिन्छ । २०१८ साल चैत्र १० गते रातीको त्यो कायरतापूर्ण घटनाको प्रभाव आजसम्म पनि त्यो परिवारमा छ । जब जब म अहिले पनि बेपत्ता पारिएका परिवारका सदस्यहरूको भेलामा जान्छु । सरकारका सुरक्षा फौजका तर्फबाट या माओवादीका जनसेनाबाट मारिएकाहरूको परिवारका भेलामा जान्छु, अहिले पनि मलाई त्यही बेलाको मेरी आमाको क्रन्दन प्रतिध्वनित हुन्छ र मावलमा देखिएको त्रासदीपूर्ण मानसिकताको झलझली सम्झना आउँछ ।

 मेरा वृद्ध ठुलामामा, मेरी कान्छी सानीमा बिना कोइरालाको आँखामा अहिले पनि त्यो त्रासदी र विना कारण कसैको आवेशमा हत्या गरिएर पिताविहीन हुनु परेको त्यो अचानक सृजित  दुःखद क्षणको क्रन्दन भेटिन्छ । केही दिन अघि मात्र मेरा मामासँगको भेटमा उहाँले भन्नुभयो— भानिज ! स्वर्ग र नर्क यही संसारमा रहेछ । हामीलाई पिताविहीन टुहुरा बनाउने हत्याराहरूको पनि भलो भएको देखिएन र उनीहरूको मृत्यु मेरा बाको जस्तो वीर गति हुन सकेनछ । दुखद चीत्कारका बिचमा उनीहरूको अन्त्य भएको सुनेँ । हामीले त न्याय पाएनौँ तर दैवले सायद न्याय गरे होलान् । दैव त छ नि ! 

उहाँले त्यसो भन्नुमा ती हत्यामा संलग्न भएकाहरू राजनीतिक माफीकै नाममा पछि नेपाल फर्केका थिए र विभिन्न ओहोदामा पुगेका पनि थिए । न बहुदलभन्दा पहिले नै न्याय पाइयो, न बहुदल आएपछि नै न्याय पाइयो भन्ने मामा र आमाहरूको गुनासो रह्यो । यस्तो सामाजिक घाउ जहिले पनि अर्कालाई लागेको सानो जस्तो लाग्ने अनि आफ्ना घाउचाहिँ आलो र ठुलो लाग्ने रहेछ भन्ने हामीलाई पनि लागेको हो । 

मेरो बाल मस्तिष्कमा त्यो पारिवारिक चीत्कार, अनि हत्यापछिको  परिवारको विशृङ्खलता, आमाको रातारतभर पिताजीलाई सम्झँदै रोएको र रुँदारुँदै छर्लङ्ग रात कटाएका समय मेरालागि अहिले पनि झनझनावट हुन्छ । आज पनि जब मेरो भाइ वशिष्ठ कोइरालाका छोराहरू अञ्जनी र पवनलाई भेट्छु, पत्रकारहरू तृष्णा आचार्य कौडिन्य र सबु शर्माहरूलाई सभा सेमिनारमा भेट्छु, भाइ सुमन अधिकारीलाई  भेट्छु, त्यहाँ म मेरा आमा, मामा र  सानीमाहरूको त्यो निर्दोष र निश्छल अनुहार सम्झन्छु । हाम्रा बाको के गल्ती थियो र मारिनु पर्‍यो ? त्यसको जबाफ सायद न त सत्य निरूपण तथा मेलमिलाप आयोगसँग होला, न त फेरि कसैले उहाँहरूलाई चित्तबुझ्दो उत्तर दिनसक्ला । 

हजुर बाको हत्या हुँदा कान्छामामा कृष्णप्रसाद जनकपुरमा पढ्दै हुनुहुन्थ्यो क्या रे । ठुलोमामा आफैँ घाइते । हजुर बाको सतगत पनि अलि ढिलो नै भयो होला र रामेछापमा बयान चलेको थियो । वास्तवमा ती नेपाली काँग्रेसका सशस्त्र क्रान्तिका लागि खटिएका गुरिल्ला रहेछन् । हातमा हतियार भएपछि आफ्ना आफ्ना रिसइवी साध्न गाउँ पसेका रहेछन् । धेरै पकरबास क्षेत्रका भएकाले र पैसा पनि लुट्ने, त्रास पनि फैलाउन सकिने र जनपरिचालन गर्ने मान्छेलाई मारेपछि त्रासले कसैले पनि विरोध गर्न नसक्ने मानसिकताले मारेका हुनुपर्छ । पछि पद्म शंकर अधिकारीले भनेको सुनियो—मैले त कसैलाई मार्नका लागि आदेश दिएको थिइन, खड्गप्रसाद र भक्तबहादुरले त्रैलोक्यनाथकी र भक्तलाललाई मारेछन् । 

म वीरको मृत्यु मर्छु, गोली खाएर मर्छु बरु कोहीसँग झुक्दिन । साँच्चै उहाँले कोहीसँग झुक्नु परेन र ६२ वर्षको उमेरमा अहिलेको भाषामा 'सहादत ' प्राप्त गर्नुभयो । निरपराध र निर्दोष मृत्यु वरण गर्दै । आज पनि त्यस्तै हालत छ हजारौँ मारिए, हजारौँ बेपत्ता भए तर खोजी पनि छैन, सत्य तथ्यको खोजी गर्न कोही लालायित छैन । 

कसको गल्ती भयो, कसले रीसइवी साँधे थाहा भएन ।  तर दुई जना निरपराध नागरिकको हत्या भएको थियो र त्यसले पारेको विषादले आज पनि छोडेको छैन । मेरा मामामा अहिले पनि त्यो विषादको कमी भएको छैन र सम्झँदा अहिले पनि मुर्छा पर्न बेर लाउनु हुन्न । 

फेरि कस्तो विडम्बना छ भने हाम्रा बाजेका सन्तानहरू सबै नै पछि नेपाली काँग्रेसमा नै लागे ।  जेल परे, सङ्गठनमा लागे । मेरा आमा र मामालाई भोट दिने बेलामा काँग्रेसलाई भोट दिन मन रहेन तर सन्तानका लागि र सन्तानहरू काँग्रेसमा लागेकाले मन राख्न रुखमा मत दिनुभयो । मेरो आमाको आँखामा आँसु नओभाउँदै उहाँको निधन भयो  । मामामा अहिले पनि आफ्ना बालाई मार्ने काँग्रेसको त्यो बेलाको नेतृत्वसँग गुनासो छँदैछ-  'मेरा बाको के गल्ती थियो र मारिनु भयो ?' 

मैले सुने अनुसार राजनीति पीडितहरूका परिवारलाई पछि कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको अध्यक्षतामा सहयोग दिने समिति बनेको थियो । किसुनजीले मेरी सानीमालाई बोलाएर भन्नुभएछ- आऊ बिना ! राजनीतिक पीडित परिवारले पाउने पचास हजार लैजाऊ । सानीमाले स्पष्ट भन्नुभएछ–मेरो बालाई मार्नेलाई पनि तपाईँले राजनीतिक पीडित भनेर पैसा दिनु भएको छ । अनि म पीडित परिवारकीलाई पनि त्यही राहत दिनुहुँदा कति न्याय भयो त ? पहिले ती मेरा बालाई मार्ने तपाईँका दलका कार्यकर्तालाई कारबाही गरेर ज्यानमाराको रूपमा प्रस्तुत गर्नुस् ।  अनि म मेरो दाजुलाई बोलाएर सहायताको कुरा गरौँला ! अनि मेरा बाको चोरिएको सम्पत्तिको पनि कुरा गरौँला । त्यसपछि त्यो अध्याय समाप्त भयो । ती मेरी सानीमा मात्र १३ वर्षकी हुनुहुन्थ्यो जब उहाँका बाको हत्या भएको थियो र कोही पनि बोल्न नसकेको बेलामा गाउँका मानिसहरूलाई मेरा बालाई ‘डाँका’ले मारे भन्दै चिच्याउँदै बोलाउनु भएको थियो रे । 

म मावल जाँदा बासँग गएँ २०१९ सालको वैशाखमा । भरतराज बराल काकाको बिहे थियो नाङ्गेडाँडामा । सायद वैशाख १९ गते । नाङ्गेडाँडाका धेरै जसो नागरिकहरू रामेछापमा सरजमिनका लागि गएका रहेछन् । उनीहरूले ती आततायीहरूलाई सुनकोसी तारेको भनेर बयान लिनका लागि । त्यसमा मेरा भान्दाजुहरु पनि परेको कुरा थाहा भयो किनभने हामी त्यो बिहेपछि उसै पकरबास गएका थियौँ पुछीघाटको बाटो ।

कहाँ दसैँमा जाँदाको मावल, हाँस खुसीको जिन्दगी, हजुर बाको घोडामा चढेर फुल्पा गएको, सानीमा कमिज सुरुवाल जवाहरकोट लगाएर छोरा जस्तै हिँडेको अनि मलाई जे चाहियो त्यही किनेर दिएको अवस्था, कहाँ हत्यापछिको त्यो विषादपूर्ण अवस्था, त्रासदीपूर्ण जीवन, राती कोही पनि घरमा नसुत्ने अनि सबैको मनमा ती आततायी कतै यतै लुकेका छन् र फेरि आएर मार्छन् भन्ने डर । ठिक माओवादी जनयुद्धताकको अवस्था जस्तो । प्रहरीले जसलाई पनि उग्रवादी भन्दै पक्रन सक्ने अवस्था ।  ती गुरिल्लाले पनि जसलाई पनि दोष लगाएर मार्न सक्ने अवस्था । त्रास उब्जाएर जन मानसलाई तह लगाउने पुरानै उग्रवादी तरिका रहेछ जुन आज पनि उस्तै प्रयोगमा छ । 

पछि त्यो परिवार छिन्नभिन्न भयो तर अहिले त्यसको प्रभाव भए पनि दन्त्यकथाको रूपमा त्यो प्रभावलाई परिवारको गौरवको गाथाको रूपमा लिइन्छ  । किनभने हजुर बा भन्ने गर्नुहुन्थ्यो रे - म वीरको मृत्यु मर्छु, गोली खाएर मर्छु बरु कोहीसँग झुक्दिन । साँच्चै उहाँले कोहीसँग झुक्नु परेन र ६२ वर्षको उमेरमा अहिलेको भाषामा 'सहादत ' प्राप्त गर्नुभयो । निरपराध र निर्दोष मृत्यु वरण गर्दै । आज पनि त्यस्तै हालत छ हजारौँ मारिए, हजारौँ बेपत्ता भए तर खोजी पनि छैन, सत्य तथ्यको खोजी गर्न कोही लालायित छैन । 

मेरो बाल मस्तिष्कमा हिंसाप्रति एउटा असन्तोष टाँसिएर बस्यो जुन आज पनि ममा छँदैछ । जब जब ती सत्यको खोजीमा हिँडेकाहरू समक्ष पुग्छु ।  म मेरी आमाको रातको बेलामा घिक्क घिक्क गर्दै उठेका ती अनुत्तरित क्रन्दनलाई सम्झन्छु  । जुन उहाँको दोस्रो हृदयाघातसम्म  कायम थियो । कसैलाई पनि त्यस्तो नपरोस् भन्दै मेरा आमा पुकारा गर्दै भगवानसँग प्रार्थना गर्नुहुन्थ्यो । कस्तो विडम्बना थियो भने हजुर बाको हत्याका विषयमा रामेछापमा बयान दिएर आउनेहरू हाम्रा घरमा बास बस्न आउँथे । अनि आमा तिनलाई देखेर न त नआऊ भन्न सक्नु हुन्थ्यो न त भात पकाएर नख्वाउन नै ! 

क्रमशः

याे पनि 

फर्कलान् र ती दिनहरू ! 'नवराज बाबूू जस्तो हुनू' !!

'रामप्रसाद दाइचाहिँ उपाध्याय बाहुन, हरिचाहिँ जैसी बाहुन !' प्रसादबाट विनोद मध्यभाग परिवर्तन !!

द्वन्द्वको मार र त्रासको अनुभूति: काँग्रेसकै आततायीहरूद्वारा काँग्रेसका मतदाता निहत्था मेरा हजुर वाको गोली हानी हत्या !