साधनाको  शेष : ज्ञानाग्निमा अज्ञानता आफै आहुतिमा जलेर चिरकालका लागि भस्म हुन्छ

साधनाको  शेष : ज्ञानाग्निमा अज्ञानता आफै आहुतिमा जलेर चिरकालका लागि भस्म हुन्छ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  आश्विन ३, २०७७

  अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।
    परं भावमजानन्तो मम भूतमहेश्वरम् ।। ११ ।।
   मोघाशा मोघकर्माणो मोघज्ञाना विचेतसः ।
    राक्षसीमासुरीं चैव प्रकृतिं मोहिनीं श्रिताः ।। १२ ।।

अन्वय र अर्थ – मोहिनीं = मोह गर्ने, राक्षसीं = राक्षसी, आसुरीं = आसुरी, च एव = पनि, प्रकृतिं = प्रकृतिको, श्रिताः = आश्रय गरेका, मोघाशाः = व्यर्थ कामना गर्ने, मोघकर्माणः = व्यर्थ कर्म गर्ने, मोघज्ञानाः = निष्फलज्ञान भएका, विचेतसः = विवेकहीन, मूढाः = मूर्ख जनहरू, मम = मेरो, भूतमहेश्वरं = सम्पूर्ण प्राणीहरूको महान्, परं = श्रेष्ठ, भावं = भावलाई, अजानन्तः (सन्तः) = नजानेका छँदा, मानुषीं = मनुष्य सम्बन्धी, तनुं = देहलाई, आश्रितं = धारण गरेको, मां = मलाई, अवजानन्ति = अवज्ञा गर्दछन् ।

भावार्थ – मोह गर्ने राक्षसी र आसुरी प्रकृतिको आश्रय गरेर नै मोघाशा, मोघकर्मा, मोघज्ञान, विक्षिप्तचित्त भएका मूढ मनुष्यहरू, मेरो भूतमहेश्वरको परमभावलाई नजानेर मेरो अवज्ञा गर्दछन् ।

विशिष्टार्थ – जसको मन छ उसैलाई मनुष्य भन्दछन् । त्यही मनको धर्म संकल्प र विकल्प गर्नु हो । त्यस मनोधर्ममा जो कुनैले आतुरता देखाउँछ अर्थात् संकल्पमा होस् वा विकल्पमा नै होस् – कार्य सिद्धि गर्न नसक्नाले नै जस्तो  'म मरें, मेरो सर्वस्व भयो' यस्ता अन्धतामिश्रमा डुब्दछ त्यो नै मानुषी तनुको अधीन हुन्छ । यस प्रकारको  अन्तःकरणको दुर्बलता जसको छ त्यही मूढ हो । किन कि, भोगलालसाको आपूरण भयो भने त्यो वांच्छ, अनि भएन भने मर्छ । यस्तो अवस्थामा पुगेको मानिस संकीर्णचित्त भएको हुन्छ । 'म' जो अनादि अनन्त, यस भूत जगत्को महान् ईश्वर हुँ । त्यो कुरा ऊ संझन सक्दैन । अतः ऊ स्वयंले मलाई सानो बटृामा शालिग्राम शिला (नारायण) को रूपमा सजाएर अवज्ञा गर्दछ । अनित्य आशा अनित्य कर्म, अनित्य ज्वालामयी राक्षसी, आसुरी (आत्मघाती) प्रकृतिको आश्रय लिनु नै यसको कारण हो ।

    महात्मानस्तु मां पार्थ दैवीं प्रकृतिमाश्रिताः ।
    भजन्त्यनन्यमनसो ज्ञात्वा भूतादिमव्ययम् ।। १३ ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ ! तु = किन्तु, दैवीं =दैवी, प्रकृतिं = प्रकृतिमा, आश्रितां = आश्रित, महात्मानः = महात्माहरू, अनन्य मनसः (सन्तः) = अनन्यमना भएर, मां = म, अव्ययं = अविनाशी, भूतादिं = जगत्को कारण, ज्ञात्वा = जानेर, भजन्ति = भज्दछन् ।

भावार्थ – हे पार्थ ! परन्तु दैवी प्रकृति विशिष्ट महात्माहरू अनन्यमना बनेर मलाई भूतको आदि र अव्यय जानेर भजन गर्दछन् ।

विशिष्टार्थ – महत् प्रधान हो, म आत्मा हुँ । यो प्रधान अर्थात् मूल प्रकृति वा माया यी सबै कुरा  छोडेर  'म' लाई सन्मुखमा राखेर बसिरहन्छ अथवा  'म' मा  मिल्दैन तथा  पीठतिर (संसारतिर) को कुनै काम पनि गर्दैन, मायाको यस अवस्थामा जुन रहन्छ, त्यही साधक महात्मा हो । यो अवस्था, साधन बलले मन– बुद्धि–अहंकार–चित्तका चारै अवस्थालाई पछि पारेर 'म' मुखी दृष्टिले हुन्छ, र निम्न दिशा (चित्तको पनि कार्यविमुक्ति अवस्थाको प्रारम्भको तल) मा कुनै अन्तःकरणको धर्ममा रहनाले यो हुनुको युक्ति छैन । यो त अतिमात्र तीव्र साधकको काम हो । यस समयमा प्रकृति प्रसव शक्तिलाई त्यागेर पतिरता हुन्छे । यसैलाई 'दैवी प्रकृति' भनिएको छ । साधक पनि यस अवस्थापन्न प्रकृतिको आश्रयबाट मन आदि अन्तःकरण चतुष्टयलाई हटाएर 'म' लाई भजिरहन्छन्, अर्थात् भूतको आदि कारण– सर्वशक्तिमती प्रकृतिका सर्वशक्तिकारण 'म' लाई नै  'म' जानेर, अव्यय निश्चय गरेर, मिलेर, एक हुने चेष्टा गर्दछन् ।

    सततं कीर्तयन्तो मां यतन्तश्च दृढब्रताः ।
    नमस्यन्तश्च मां भत्तन्या नित्ययुक्ता उपासते ।। १४ ।।

अन्वय र अर्थ – (ते महात्मानः = ती महात्माहरू), सततं = निरन्तर, मां = ब्रम्हस्वरूप मलाई, किर्तयन्तः = कीर्तन गर्दै, दृढव्रताः (सन्तः) = दृढव्रत भएर, यतन्तः = प्रयत्न गरेर, भत्तन्या = भक्तिपूर्वक, मां = मलाई, नमस्यन्तः च = नमस्कार गरेर, (तथा = त्यस्तै), नित्ययुक्ताः (सन्तः) = मसंग आप्mनो वास्तविक सम्बन्ध कायम राख्दै, उपासते = उपासना गर्दछन् ।

भावार्थ – तिनै महात्माहरू सतत मेरो कीर्तन गरेर दृढव्रती बनेर प्रयत्नका साथ भक्तिपूर्वक मलाई नमस्कार गरेर र नित्ययुक्त भएर उपासना गर्दछन् ।

विशिष्टार्थ – सतत (अविच्छिन्नभावले) जब प्रकृति पुरुषको चाक्षुषी मिलन हुन्छ (प्रकृति नै साधक हो) तब साधक तृतीय चक्षुको दृक् शक्तिद्वारा मलाई साधक भित्र प्रवेश गराएर, भित्र बाहिर अणु–परमाणुमा मिलाएर आधा  'म' भएर मेरो निर्गुणता र साधकको सगुणता एक गरेर सगुणमा विकार निर्गुणमा निर्मलता देख्दछन् । यो जुन देख्नु हो त्यसैलाई मेरो कीर्तन भन्दछन् अर्थात् आफ्नो  भक्तको गुण मन मनै संझेर जसरी प्रसन्न हुन्छु, अथवा मेरो त्यो प्रसन्नतालाई बाहिरको कसैले पनि जान्न सक्दैन । मनको प्रसन्नता मनमा नै रहेर जसरी मन मनै मनलाई आनन्दित तुल्याउँछ, यो कीर्तन पनि त्यस्तै प्रकारको हो । निर्गुणको निर्मलतामा अरू गुणको विकारको मेलहुन नसकोस्, गुणको विकारले पनि उसको निर्मलतामा मलिनता मिलाउन नसकोस् भनेर यस विषयमा दृढताका साथ सतर्क हुन्छन् ।

यसैलाई नै दृढब्रत भएर प्रयत्न गर्नु भनिन्छ । मलिनता प्रकृतिमा र निर्मलता  'म' मा छ । एक पटक निर्मलतामा  लक्ष्य, फेरि मलिनतामा आउनु, फेरि निर्मलतामा लक्ष्य फेरि मलिनतामा आउनु यो जुन माथि–तल गर्नु हो अब आएर खडा भयो, यसैलाई नमस्कार भन्दछन् । यो गुरु वाक्यमा अटल विश्वासको  नाम भक्ति हो । यसरी जाने–आउने गर्दै गर्दै प्रकृतिको अनित्यता  'म' को संयोगले घट्दै जान्छ । 'म' नित्य हुँ, प्रकृति क्रम अनुसार 'म' मा युक्त भएर मेरो सेवामा मिल्छे । जस्तै– स्फटिकमा नजिकको जवाकुसुमको रातो रंगको संक्रमण हुन्छ । जवाकुसुम अलग छ, स्पटिक पनि अलग छ । स्फटिक अत्यन्त स्वच्छ छ, जवाकुसुमको रंगलाई आफूमा धारण गरेर जस्तै जवाकुसुमको रंगमा स्फटिक रंगीन बन्छ, प्रकृतिको  'म' उपासना पनि तदूप हो ।

    ज्ञानयज्ञेनचाप्यन्ने यजन्तो मामुपासते ।
    एकत्वेन पृथक्त्वेन बहुधा विश्वतोमुखम् ।। १५ ।।

अन्वय र अर्थ – अन्ये अपि च = अरूहरू पनि, विश्वतोमुखं = सर्वात्मक, मां = मलाई, ज्ञानयज्ञेन = ज्ञान रूप यज्ञले, एकत्वेन = अभेदभावले, पृथक्त्वेन = पृथक् भावले, बहुधा = बहुभावले, यजन्तः (सन्तः) = पूजा गर्दा छँदा, उपासते = उपासना गर्दछन् ।

भावार्थ – अरूहरू पनि सर्वात्मक मलाई ज्ञानले एकत्व (अभेद्) भावले, पृथक्भावले, र बहुधा (बहुभाव) भावले पूजा गरेर उपासना गर्दछन् ।

विशिष्टार्थ – एकलाई अर्को एकमा आहुति दिनुको नाम यज्ञ हो– जस्तै चरु, समिधालाई ध्यूमा चोभेर अग्निमा हवन गर्नु । त्यस्तै साधनाको  शेषमा जब जब निज वोधरूप ज्ञानको प्रकाश भइरहन्छ तव तव त्यस ज्ञानाग्निमा अज्ञानता आफै आहुति जस्तै परेर जलेर चिरकालका लागि भस्म हुन्छ र स्वरूपमा स्थित पनि हुन्छ । यो ज्ञान यज्ञ हो । यसमा संझाइएकोछ –'म' विना  अरू केही छैन ।  यो एक ज्ञान जब थिएन तब विश्व थियो । यस विश्वमा नानात्व – 'म' तिमी, यो, त्यो, सात, पाँच कति छन् कति । जसको भन्दा जसको बुद्धि केही निर्मल छ, त्यसले त्यस अनिर्मल बुद्धि (पृथकत्व)लाई आफ्नो उपासक बनाउँछ । त्यो अनिर्मलले उसैको नै उपासना गर्दछ ।

यस्ता देवी, शिव, विष्णु, गणेश, सूर्य महाकाल आदि कैयौं उपास्य र उपासकका तरङ्गहरू चलिरहन्छन् । यस्तो देख्नमा आउँछ । परन्तु वस्तु जो एक मात्र एक छ, उसलाई अर्थभेदले खुलासा गर्ने शक्ति नपाएर ऊ अलमलमा पर्दछ । साधक जब गुरुसंग पहिलो पल्ट पुग्दासम्म उसलाई केही पनि ज्ञान थिएन । गएर हात जोरेर प्रणाम  गर्दै भन्छ – गुरु ! म यहाँ किन आएं ?  म के चाहान्छु ? म के गरुंला ? अहो ! यस सरलताको आधार, शिष्यलाई प्राप्त गरेर दयाका सागर गुरुदेव भन्नुहुन्छ-  बत्स ! तिमी यस त्रितापमय संसारको ज्वालामा जल्दै जल्दै यहां आएका छौ, तिमीलाई  मुक्ति चाहिएको छ, यस त्रितापले तिमीलाई कुनै तरहले अरू धोका दिन नसकोस् । तिमीले जे गर्नेछौ, त्यो म तिमीलाई बताउंछु । यति भनेर गुरुदेवले जिज्ञासु शिष्यको बहिर्मुखी वृत्तिलाई अन्तर्मुखमा चित्तपथमा ल्याइदिनु भयो ।

जब साधक मूल आधारमा मूलाधारका माथि बसे, तत्क्षणात् आफ्नो  अधिष्ठान (स्वाधिष्ठान) मा प्राप्त भए । जब अधिष्ठान अर्थात् बस्नका लागि ठाउं प्राप्त भयो, तुरुन्त मणिमय पुरमा पुगे । जब मणिमय पुरका भित्र उपस्थित भए, तत्क्षणात् देख्दछन्, अब उनलाई कसैबाट आहत हुने डर रहेन । यसपछि तुरुन्त अनाहतमा 'विशोका ज्योति' प्रस्फुटित हुन्छ, त्यसमा त्रितापको ज्वाला नष्ट भएर जान्छ । जब विशोका ज्योति प्रस्फुटित भयो, साथ साथै विशिुद्ध अर्थात् निर्मलत्वको प्राप्ति पनि भयो । जब निर्मलत्वको प्राप्ति भयो, तत्क्षणात् युगपत् अज्ञानको अन्त भयो । जब अज्ञानताको शेष भयो तत्क्षणात् स्वस्वरूपमा अवस्थान भयो । यो स्वस्वरूपमा अवस्थान र ज्ञानाग्निमा अज्ञानताको आहुति एउटै कुरा हो । अब तिमीले थाहा पायौ, एकत्व र पृथकत्व के हो ।

    अहं क्रतुरहं यज्ञः स्वधाहमहमौषधम् ।
    मन्त्रो ऽहमहमवताज्यमहमग्निरहं हुतम् ।। १६ ।।

क्रमशः
 

यो पनि 

सूर्यकोष भित्रका चाैध भुवनवासीले पुनर्जन्म लिन नपर्ने अवस्था

परिवर्तन र विनाशकाे तुलना : पानी र समय जस्तै हाे जन्म-मृत्यु पनि !

शरीर त्याग तथा काल के हो ? पुनरावृत्ति अर्थात् पुनर्जन्म बारेमा उपदेश !

भूतहरूको उत्पत्तिकर्ता र ससीमकी आमा

सत्त्व, सत्वरजः, रजस्तमको उच्च स्थानमा वास र बन्धन