त्यागी देखाउने अकर्मभन्दा कर्म नै श्रेष्ठ हुन्

त्यागी देखाउने अकर्मभन्दा कर्म नै श्रेष्ठ हुन्

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार २१, २०७६

कमेन्द्रियाणि संयम्य य आस्ते मनसा स्मरन् ।
इन्द्रियार्थान् विमूढात्मा मिथ्याचारः स उच्यते ।। ६ 

भावार्थ – जसले कर्मेन्द्रिय समूहलाई हठात् वशमा लिएर मनमा इन्द्रियहरूका विषयहरूको चिन्तन गर्दछ त्यस्तालाई मूढात्मा तथा मिथ्याचारी भनिन्छ ।

विशिष्टार्थ – कर्मद्वारा कर्मभूमि अतिक्रम नगरिकन जो त्यागी बन्दछ त्यस्तो व्यक्ति कर्मेन्द्रियहरुलाई संयतमा राखेर पनि प्राकृतिक गुणद्वारा आवद्ध रहन्छ । अतः उसले विषयमा मन दिनै पर्छ, त्यसो हुनाले केवल आफ्नो त्यागीत्व, लोक जगत्लाई देखाउनका लागि कर्मेन्द्रियलाई कार्यबाट विरत गरेको हुन्छ । यसरी गरिने इन्द्रियजयको तरीकामा लोकानन्द बाहेक ब्रम्हानन्द मिल्दैन । मूढताका कारण मनमा विषयावेग रहनाले पनि केवल मानप्रतिष्ठालाई कायम राख्नका लागि उसको यो इन्द्रिय संयम हो, त्यसकारण ऊ मिथ्याचारी हो । 

साधक मात्रलाई थाहा हुन्छ कि क्रियाकालमा ठीक ठीक आसनमा बसेर नै क्रिया हुन्छ, क्रिया हुँदाहुँदा मनमा एक विषयको चिन्ता भयो जसले गर्दा त्यस दिन सोही चिन्तामा क्रियाको अन्त भयो, असल काम केही पनि भएन । यसलाई पनि मिथ्याचार अवस्था जान्नु पर्छ । यस अवस्थामा 'ततस्ततो नियम्यैतत् आत्मन्येन वशं नयेत्' यस उपदेश अनुसार द्दढ उद्यमक्रिया गर्नाले मात्र यसबाट निष्कृति पाइन्छ ।

 यस्त्विन्द्रियाणि मनसा नियम्यारभते ऽर्जुन ।
 र्केन्द्रियैः कर्मयोगमसक्तः स विशिष्यते ।। ७ 

भावार्थ– हे अर्जुन ! किन्तु जसले मनद्वारा सम्पूर्ण इन्द्रियहरूलाई नियन्त्रणमा लिएर कर्मेन्द्रियहरूद्वारा कर्मयोग आरम्भ गर्दछ त्यस्तो आसक्तिशून्य पुरुष नै विशिष्ठ अर्थात् युक्त हुन्छ ।

विशिष्टार्थ – एकाग्रचित्त भएर स्वस्तिकासमनमा बसेर एउटा गोडाको कुर्कुच्चाले गुह्यभाग र अर्को गोडाको कुर्कुच्चाले जननेन्द्रियको मूल भागलाई दवाएर अनि आसनमा संलग्न दुबै घुंडामाथि हात सीधा गर्दै दुबै माणिबन्धलाई राखेर मेरुदण्ड,ग्रीवा तथा शिरलाई सीधा गरेर कूटस्थ लक्ष्य गर्ने र त्यहां जे जे भइरहन्छ त्यतातिर ज्ञानेन्द्रिय समूहलाई मनमनै स्थिर राखेर गुरूपदिष्ट प्रकरण अनुसार प्राण चालनद्वारा कर्म गर्नाले केही समय पश्चात् युक्त भइन्छ । अनि सोही भाव अनुसार बसेर,दुबै हातका ‍औंलाहरूले (गुरुले बताए अनुसार) आंखा, कान, नाक र मुखलाई बन्द गर्नाले 'परमं पुरुषं दिव्यं याति' अर्थात् परम पुरुषको दर्शन हुन्छ, जसलाई छान्दोग्य उपनिषद्को प्रथम प्रपाठकको छैठौं श्लोकमा हिरण्मय पुरुष भनेर वर्णन गरिएको छ, सोही पुरुष परागति हुनुहुन्छ । जसले प्राणायामद्वारा चित्तशुद्ध गरेर अनासक्त बनेर कर्मेनिद्रयहरूको सहतायताले नवद्वारहरूलाई रोकेर यो परम पुरुषार्थ साधनमा यत्न गर्दछ त्यही पुरुष युक्त हो, त्यही पुरुष विशिष्ट हो ।

 नियतं कुरु कर्मत्वं कर्म ज्यायोह्यकर्मणः ।
  शरीरयात्रापि च ते न प्रसिध्येदकर्मणः ।। ८ ।।

भावार्थ – तिमीले शास्त्रविहित कर्तव्य कर्म  गर, किन कि कर्म नगर्नु भन्दा कर्म गर्नु श्रेष्ठ छ । त्यसमा पनि कर्म नगर्दा तिम्रो शरीर यात्राको निर्वाह पनि हुन सक्दैन ।

विशिष्टार्थ – कर्मी (योगी) नभइकन त्यागी बन्नाले जुन अकर्म हुन्छ त्यसमा रहँदा सबै इन्द्रियहरू पूर्व सञ्चित कर्मफल अनुसार विषयहरूमा आवद्ध रहने हुनाले परमपद प्राप्ति हुन सक्दैन किन्तु गुरूपदिष्ट मत अनुसारको कर्म गर्नाले त्यसको अवश्यंभावी फलद्वारा कर्मक्षय भएर जुन अकर्म हुन्छ त्यसैमा परमपद प्राप्ति हुन्छ । त्यसकारण त्यस्तो त्यागी देखाउने अकर्मभन्दा कर्म नै श्रेष्ठ छ । कर्म भित्र–बाहिर प्राण वायुको गमनागमन हरेक शरीरमा हुन्छ नै,त्यसलाई त्याग गरेर कसैले पनि शरीर रक्षा गर्न सक्दैन । स्वभावको वशमा रहेर सबैले यसो गर्नु पर्दछ । यो स्वभावसिद्ध कर्ममा कौशल प्रयुक्त हुनाले नै एक अलौकिक नित्य आनन्द वैभवको उत्पत्ति हुन्छ । अतः श्रीगुरुदेवले उपदेश दिनु भएको छ 'नियत' नै कर्म गर्नु हो । दृढतापूर्वक यथाकालमा नियमयुक्त भएर  आत्मलक्ष्य लिई प्राण चालन गर्नु अर्थात् स्वाभाविक कर्ममा कौशलताको प्रयोग गर्नुको नाम नै नियत कर्म हो ।

    यज्ञार्थात् कर्मणोऽन्यत्र लोकोयं कर्मबन्धनः ।
    तदर्थं कर्म कौन्तेय मुक्तसंगः समाचर ।। ९ ।।

भावार्थ – यज्ञार्थ (कर्तव्यकर्म) विना अरू कर्म गर्नाले मानिसलाई यसलोकमा कर्मबन्धनले आबद्ध हुनु पर्दछ । अतः हे कोन्तेय ! तिमी अनासक्त भएर यज्ञका लागि कर्म गर । 

विशिष्टार्थ – देवोद्देश्य लिएर मन्त्रोच्चारण पूर्वक अग्निमाआहुति दिनु यज्ञ हो । 'यज्ञोविष्णुः' अर्थात् विष्णुनै यज्ञ हुनुहुन्छ, विष्णु नै देव हुनुहुन्छ । भगवान्ले स्वयं भन्नुभएको छ – 'अहमादि र्हि देवानां' उहांबाट नैै 'प्रवृत्तिः प्रसृता पुराणाी', उहाँ नै कूटस्थ पुरुष हुनुहुन्छ । उत् ऊध्र्वदेश अर्थात् कूटस्थ लक्ष्य गर्नुको नाम नै उद्देश हो ।

कूटभित्र लक्ष्य स्थिर गरेर प्रति चक्रमा आत्ममन्त्रका साथ प्राणाहुति दिंदादिंदा (जसलाई प्राणयज्ञ वा अन्तर्योग पनि भन्दछन्) जब भित्रबाट उठेको भ्रमर गुञ्जन ध्वनिले मन मोहित हुन्छ तब सहस्रारबाट सुधा टप्कन थाल्छ । त्यस सुधालाई माथि उठाइएको जिब्रोको टुप्पोले धारण गरेर वैश्वानरमा क्षेपण गर्नु पर्दछ । यसैको नाम यज्ञ हो । यो यज्ञ देवउद्देश नलिइकन हुँदैन, अनि यसैबाट विष्णु प्रसन्न हुनुहुन्छ । जुन साधकले त्यस सुधालाई बैश्वानर नामक जठराग्निमा आहुति दिन सक्दछ त्यो आहुति सम्पूर्ण नाडीहरुमा व्याप्त भएर सर्व शक्ति (जुन जुन शक्ति षट्पद्मका प्रतिपत्रमा छ) लाई पुष्ट तथा प्रबुद्ध गर्नाले साधकको शरीर लावण्यमय भएर – प्रस्फुटित ज्योति निक्लेर बाहिर आउँछ । यस शरीरलाई नै विष्णु मन्दिर भन्दछन्, जहाँ ब्रह्मण्यदेव हरि विराजमान हुनुहुन्छ । जसरी कर्ममा प्राणलाई चालन गर्नाले (जुन कर्म सिक्नका लागि नै गुरुकरण प्रयोजन छ) यज्ञेश्वर प्रसन्न हुनुहुन्छ, त्यो नै  'तदर्थे कर्म' हो । त्यो  'तदर्थे' कर्मलाई छोडेर अन्य प्रकारको कर्म गर्नाले अर्थात् कूटस्थमा मन स्थिर तथा प्रतिकमलमा प्राण विन्यास नगर्नाले अर्थात् मन–प्राणमा मन नमिलाउनाले प्राकृतिक जगत्मा कर्म बन्धनमा बांधिइरहनु पर्दछ । बन्धन–जुन कर्मको फल भोग गर्नु पर्दछ त्यो नै बन्धन हो । त्यो बन्धन नै प्राकृतिक आवरण हो । त्यो आवरण स्थूल–सूक्ष्म भेदले अनेक प्रकारको छ । स्थूल शरीर एक बन्धन हो, यसलाई  लिएर आश्रय छोडि दिने हो भने शून्यमा रहन सकिदैन, गुरुत्वाकर्षण शक्तिले पृथ्वीमा नै खस्नु पर्छ । सूक्ष्म शरीर पनि एक बन्धन हो, यसको पनि भिन्न भिन्न कर्म संस्कारका कारण लघु गुरु– पृथकता छ; यस शरीरलाई लिएर वायुमार्गमा जान सकिन्छ, किन्तु वायुमण्डल भन्दा पर पारमा जान सकिदैन – जहाँ संस्कारानुयायी स्तरमा वा लोकमा विचरण गर्नु हो, त्यो भन्दा उच्चतर स्तर विशुद्धआकाश मण्डलमा जान सकिदैन । साधारण मृत्यु पछि प्रेतात्मा वायुभूत अवस्थामा अनेक रूपले यही वायुमण्डलमा नै रहन्छ, त्यसपछि कालवश कर्म फल अनुसार पुनः संसारमा प्रवेश गर्दछ । जबसम्म कर्म क्षय हुँदैन तबसम्म यो आउनु जानु रूप बन्धन क्लेश भोग्नु नै पर्दछ । साधनाद्वारा सत्संस्कारको बृद्धि भएर कर्म क्षय भएपछि बन्धनहीन हुन्छ, अर्थात् मुक्ति हुन्छ –'यदि देहं पृथक् कृत्वा चिति विश्राम्य तिष्ठसि । अधुनैव सुखी शान्तः बन्धमुक्तो भविष्यसि' (अष्टावक्रः) । त्यसकारण हे कोन्तेय ! कर्म बन्धनको हेतु आसक्तिलाई त्यागेर 'तदर्थे' कर्म गर .

  सहयज्ञाः प्रजाः सृष्ट्रा पुरोवाच प्रजापतिः ।
  अनेन प्रसविष्यध्वमेष वोऽस्त्विष्टकामधुक् ।। १० ।।

भावार्थ – सृष्टिको प्रारम्भमा सृष्टिकर्ता ब्रम्हाले यज्ञ सहित भनुष्यको सृष्टि गरेर भन्नु भएको थियो – यस यज्ञद्वारा तिमीहरू सबैले आत्मोन्नतिको लाभ गर, यो तिमीहरू सबैको बाञ्छित भोग प्रद होस् ।

विशिष्टार्थ– पितृशरीरबाट मातृगर्भमा जाँदा नै सन्तानमा पितृप्राण संचारित हुन्छ, त्यस प्राणमा मातृप्राण मिलेर प्राण प्रवाह आरम्भ हुन्छ । त्यति बेला शरीररूप ब्रम्हाण्डमा अणु भन्दा पनि सूक्ष्म अणुको आकारबाट सप्तवर्गको  सृष्टि  हुन्छ,  तिनै  सप्तस्थानमा  प्राणरूपी  महामाया  (जगद्धात्री) ले क्रीडा गरेर सप्त स्थान निहित दैवी शक्तिहरूलाई सचेष्ट गर्नुहुन्छ । यसबाट सप्तधातुले बृद्धि प्राप्त गरेर शरीरकोषको बृद्धि हुँदै जान्छ । त्यसकारण प्रजा सहयज्ञ हो । मनुष्य सम्बन्धमा प्रजापति दुई छन् – पहिलो जन्मदाता र दोस्रो जन्मदाता । पहिलो जन्मदाता जनक (बाबु) हुन् भने दोस्रो जन्मदाता गुरु । यी दुवैले भन्छन् 'अनेन प्रसविष्यध्वम्” इत्यादि । जनकको भनाइ आदि इच्छाशक्ति अन्तर्गत हुनाले अप्रकट (अप्रकाश) छ,  गुरुको  भनाइ  उपदेश  अन्तर्गत  हुनाले  प्रकाश छ । श्री  गुरुदेव (श्रीकृष्ण) ले शिष्य (अर्जुन) लाई बाहिरबाट अन्तर्जगतमा प्रवेशको अधिकार दिएर दोस्रो जन्म दिनुहुन्छ । त्यसबेला त्यो सहज प्राण यज्ञ लक्ष्य गराएर कौशल प्रयोग प्रकरण सिकाउँदै भन्नुहुन्छ – 'यसैबाट उन्नति, यसैबाट नै इष्टफलको प्राप्ति हुन्छ' ।

    देवान् भावयतानेन ते देवा भावयन्तु वः ।
    परस्परं भावयन्तः श्रेयः परमवाप्स्यथ ।। ११ ।।

भावार्थ – यस यज्ञद्वारा तिमीहरू सबैले देवताहरूलाई प्रसन्न गर, ती देवताहरूले पनि तिमीहरूलाई उन्नत गर्नेछन् । यसरी परस्परको भावनाले तिमीहरू सबैले परम इष्ट लाभ गर्ने छौ ।

विशिष्टार्थ – साधना मार्गमा गणेश, शक्ति (देवी), सूर्य, विष्णु, शिव यी पाँच देवता उपास्य छन् । यी पाँचै देवताहरू गन्धर्व, किन्नरादिका आश्रय हुन् । साधक मात्र यी पाँच देवताहरुको  उपासक  हो,  किन  कि एउटै  ब्रम्ह भूलोक, (मूलाधार) मा गणेश, भुवर्लोक (स्वधिष्ठान) मा  शक्ति, स्वर्लोक (मणिपुर) मा सूर्य, महर्लोक (अनाहत) मा  विष्णु, जनलोक (विशुद्ध) मा शिव यी पाँच रूपले आविर्भुत भएर साधकको हित साधन गर्दछन् । यी पाँच क्षर ब्रम्ह हुन् । यी क्षर ब्रम्हको उपासनाले भूतशुद्धि भएपछि तपोलोक (आज्ञा) मा अक्षर ब्रम्ह कूटस्थ पुरुषको उपासना हुन्छ । त्यसपछि  सत्यलोक (सहस्रार) मा उत्तम पुरुषलाई संझेर सर्वविद् भएर सत् असत् देखि पर जो छ सोही हुनु हो ।

यस यज्ञले ती देवताहरूलाई भावना अर्थात् अभिषेकद्वारा जगाउनु हो । देवगण जागे पछि उनीहरूले जीवलाई उन्नत गर्दछन् अर्थात् तत्वज्ञानद्वारा आभूषित गर्दछन् । यसरी परस्परको भावनाले परम श्रेय जुन गति हो अर्थात् आत्म गतिमा मुक्ति हो त्यो प्राप्त हुन्छ ।

ब्रम्हनाडीको अवलम्बन गरेर दृष्टिलाई कूटस्थमा आबद्ध राखेर मनमनै उच्चरित आत्ममन्त्र मिश्रित प्राणद्वारा प्रतिकमलमा आघात (धक्का) दिंदै पूरक रेचक गर्नु पर्दछ; एक स्थानमा धक्का दिएपछि स्वभावको वशमा रहेर प्राण प्रवाहमा कुनै प्रकारको कर्तृत्व नराखेर, त्यहाँबाट स्थानान्तर हुनु पर्दछ । कुनै स्थानमा पनि विन्दुमात्र पनि इच्छाको प्रयोग गर्नु उचित हुँदैन, किन कि इच्छाको विकास भएर नै त्यसको बन्धनमा परेर पतन हुन्छ, नत्र भने त्यसै स्थानमा नै रहिरहनु पर्दछ, उन्नति हुँदैन । यसरी पूरक रेचक गर्दा गर्दा जब सबै नाडीहरु भित्र वायु प्रविष्ट भएर ती  सबैलाई क्रियामुखी बनाउँदछ तब सहस्रार विगलित सुधा वैश्वानर कर्तृक ऊध्र्वमुखी भएर  मेरुदण्डगत स्नायु मण्डलीलाई परिपुष्ट तथा सतेज गर्दछ र प्रतिपद्ममा त्यो धक्का लागिरहनाले तत् तत् स्थानको आकाशस्थ वायु आलोडित तथा कम्पित भएर तत् तत् स्थानको शक्तिमा चेतना संचार गर्दछ, अनि देश (अधिष्ठात्री देवीका साथ तत् तत् कमल) अपूर्व ज्योतिलेआप्लुत हुन्छ । यसैको नाम देवताहरूको भावना  हो । त्यस ज्योतिले हृदयको अन्धाकार हटेर जानाले साधकलाई भूत, भविष्यत्, दृष्टिगोचर भइरहन्छ एवं पृथ्वी जलादिको तत्वज्ञान उत्पन्न हुन्छ । यसैलाई नै देवगणबाट प्रजा वा जीवका लागि भावना भन्दछन् । यसरी भावना क्रिया भइरहँदा परिपुष्ट एवं प्रबुद्ध शक्तिको चरम चैतन्य ज्योति तथा जीव (साधक) को चरम तत्वज्ञान अन्तमा एक भएर आत्मज्ञानको पराकाष्ठा  ”चिदानन्दरूपः, शिवो ऽहं शिवो ऽहम्' हुन्छ ।

    इष्टान् भोगान् हि वो देवा दास्यन्ते यज्ञभाविताः ।
    तै र्दत्तानप्रदायैभ्यो यो भुक्ते स्तेन एव सः ।। १२ ।।

क्रमशः

याे पनि

योगको मूल पनि सांख्य, फल पनि सांख्य

जाग्रत समाधि युक्त पुरुष नै जीवन मुक्त हो

इन्द्रियद्वारा  ग्रहण  विषयको नाम नै ‘आहार’ हो

भोगको नाम काम हो र आकांक्षा पनि काम हो

कर्म त्याग नभएसम्म प्रकृत सन्यास हुँदैन