द्वितीय 'अहं', परमात्माले दिएको  'अहं'  र अद्वैतभाव

द्वितीय 'अहं',  परमात्माले दिएको  'अहं'  र अद्वैतभाव

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  माघ ११, २०७६

    यो मां पश्यति सर्वत्र सर्वञ्चमयि पश्यति ।
    तस्याहं न प्रणश्यामि स चं मे न प्रणश्यति ।। ३० ।।

अन्वय र अर्थ – यः = जसले, मां (सर्वस्यात्मानं) = सबैको आत्मा रूप मलाई, सर्वत्र=सबै प्राणीहरूमा व्यापक, पश्यति = देख्दछ, सर्बं (ब्रम्हादिभूतजातं) = ब्रम्हादि समस्त प्राणीहरूलाई , च = पनि, मयि (सर्वात्मनि) = म सर्वात्मा (परमेश्वर) मा, पश्यति = देख्दछ, तस्य = आत्माको एकतालाई देखने त्यस ज्ञानीको लागि, अहं (ईश्वरः) = म, न प्रणश्यामि = अदृश्य छैन, सः च = त्यो ज्ञानी पनि, मे = मेरो दृष्टिबाट, न प्रणश्यति = अदृश्य हुँदैन ।

भावार्थ – जो मलाई सम्पूर्ण प्राणीमा र सम्पूर्ण प्रणीलाई ममा नै दर्शन गर्दछन्, उनीहरूबाट म कहिल्यै अदृश्य हुन्न तथा तिनीहरू पनि मबाट कहिल्यै अदृश्य हुँदैनन् ।

विशिष्टार्थ – सिद्ध बनेपछि अर्थात् साधक साधनाको चरम सीमामा पुगेपछि आफ्नो  इच्छानुसार ब्रम्हमा मिलेरनिराकार रूपले  'तदसत् तत्परंयत् – एकभेवाद्वितीयं' पनि हुन सक्छन्, फेरि नमिलेर 'हरिहरात्मा' जस्तै साकारमा उपास्य उपासक भावको रक्षा गरेर पनि अवस्थिति प्राप्त गर्न सक्छन्, यी दुबै नै उनको आयत्ताधीन रहन्छन् ,प्रथम अवस्था अद्वैतवादको विषय हो र द्वितीय अवस्था विशिष्टाद्वैतावादको विषय हो । यस श्लोकमा यी दुबै अवस्था व्यक्त भएका छन् । यथा– सर्वत्र समदर्शी, अभेदज्ञान सम्पन्न हुनाले योगी परमात्ममा मिलेर नित्य युक्त हुन्छन्, तब उनको अन्तःकरणमा उभयत्व मेटिएर एक अद्वितीय 'अहं' मात्र रहन्छ, त्यसकारण 'अहं' परमात्मालाई दिएर परमात्माले दिएको  'अहं' लाई ढाक्नु हुँदैन । दुबै मिलेर एक भएपछि अर्थात्  मत् (तत्) र त्वं मिलेर एक 'अहं' हुनाले उनको  'अहं' र मेरो तत् दुबै मिलेर एक यस भावको नाश हुँदैन, यो अद्वैतभाव हो ।

चित्तको  साम्यभावलाई नै योग भन्दछन् । यो साम्यभाव एकै पटक तुरुन्त हुँदैन । शुरूशुरूमा यो योग क्षण स्थायी जस्तो हुन्छ, तुरुन्त फेरि विजुली चम्के जस्तै चम्केर भंग पनि हुन्छ । विषयाकर्षण प्रति मनको चंचलता नै यसको कारण हो । यस अवस्थामा साधकले दीर्घ स्थायी समाधि पाउंदैन । ३३ औं श्लोकमा यो कुरानै अर्जुनको मुखबाट व्यक्त भएको छ ।

समदर्शी र अभेदज्ञान सम्पन्न हुनाले योगी परमात्मा वा परमेश्वरका साथ मिलेर नित्ययुक्त हुन्छन्,दुबै नै परस्परको आकर्षणमा आवद्ध रहन्छन्, अतः योगीको निर्मल सूक्ष्म दृष्टि सतत प्रकाशमा रहन्छ, अनि त्यहाँ दृष्टि कुनै आवरणलेन ढाकिने हुँदा उनका  आँखामा सर्वत्र नै परमेश्वर विराजमान देखिनुहुन्छ । त्यस्तै उनको ज्ञान भक्तिमा मुग्ध भएर परमेश्वर पनि उनी प्रति आफ्नो  अनुग्रह प्रवाह सतत् प्रवाहित राख्नुहुन्छ । निमेष मात्रका लागि पनि उनलाई आफ्नो  अनुग्रहबाट वञ्चित गर्नुहुन्न । वास्तवमा दुबैमा एकात्मकता हुन्छ । यो विशिष्टाद्वैतवाद हो ।

    सर्वभूतस्थितं यो मां भजत्येकस्थमास्थितः ।
    सर्वथा वर्तमानोऽपि स योगी मयि वर्तते ।। ३१ ।।

अन्वय र अर्थ – यः = जो, सर्वभूतस्थितं = सम्पूर्ण भूतहरूमा स्थित, मां = मलाई, एकत्वं = अभेदभावले, आस्थितः (सन्) = आश्रय लिएको छँदो, भजति = भजन गर्दछ, सः = त्यो पूर्ण ज्ञानी, योगी = योगी, सर्वथा= सम्पूर्ण प्रकारले, वर्तमानः अपि = वर्तमान रहेर पनि, मयि = परम वैष्णव पदमा, वर्तते = रहन्छ ।

भावार्थ – जो सर्वभूतस्थित मलाई अभेदभावले आश्रय गरेर भजन गर्दछन्, त्यस्ता पूर्ण ज्ञानी योगी सबै प्रकारमा विद्यमान रहेर पनि ममा नै विद्यमान रहन्छन् ।

विशिष्टार्थ– सुषुम्नाको अन्तर्गत ब्रम्हनाडीको अवलम्बन गरेर क्रियाविशेषद्वारा जुन साधक तन्मय बनेको छ, दृष्टि ब्रम्हमयी गरिसहेको छ, उसका लागि सबैनै एक हो, त्यो योगी आत्मालाई सर्वभूतमा नै अभेदभावले ग्रहण गर्दछ । अतः उसमा विषय र ब्रम्हमा भेद नरहनाले त्यो योगी जहां जुन अवस्थामा रहन्छ साधारण जीव सदृश सर्वतोभावमा विषय भोग गर्नाले पनि त्यो योगी हो अर्थात योगावस्था सम्पन्न हो, अतः 'म' मा अर्थात् आत्मपदमा–परमपद विष्णुपदमा अवस्थित छ, त्यो नित्य मुक्त छ, कुनै कसैले पनि उसको मोक्ष मार्गमा अवरोध पुर्‍याउन सक्दैन । शरीर धारण अवस्थामा होस् या शरीरान्त अवस्थामा, त्यो योगी 'अहं'  'म' बनेर नै रहन्छ ।

    आत्मौपम्येन सर्वत्र समं पश्यति योऽर्जुन ।
    सुखं वा यदि वा दुःखं स योगी परमो मतः ।। ३२ ।।

अन्वय र अर्थ – अर्जुन = हे  अर्जुन ! यः =  जुन  पुरुष  आत्मौपम्येन = आत्म तुलनामा (आफु सहश) सुखं = सुख, वा = अथवा, यदि वा = अनि, दुःखं = दुःख, सर्वत्र = सम्पूर्ण देश काल पात्रमा, समं = समान्, पश्यति = देख्दछ, सः = त्यो, योगी, परमः = उत्कृष्ट, मतः = मानिन्छ ।

भावार्थ – हे अर्जुन ! जुन पुरुष आत्मतुलनामा सुख र दुःखलाई सर्वत्र समान दृष्टिले दर्शन गर्दछ, त्यही पुरुष परम योगी हो ।

विशिष्टार्थ – योगीहरू साधना फललाई दुई अवस्थामा भोग गर्दछन् – एक  आत्मभावावस्थामा, दोस्रो जीव भावावस्थामा । जब उनीहरू बाह्य विषयलाई त्यागेर अन्तरमा विचरण गर्दछन् त्यो उनीहरूको आत्मभावावस्था हो र जब बाह्य विषयहरूमा रहन्छन् त्यो उनीहरूको जीवभावावस्था हो । आत्मभावमा सर्वज्ञत्व हेतु निर्विकार साम्यावस्थाको प्राप्ति हुन्छ, स्थिर आनन्द प्रवाह बगिरहन्छ, तथा विषय संस्पर्शमा आउँदा खेरि पनि जुन प्रकारको वृत्तिको उदय भएर मनमा सुख दुःखको विकाश गर्दथ्यो अब त्यो हुँदैन । त्यस आत्मभावबाट जीवभावमा उत्रेर विषय संस्पर्शमा आउँदा शुरू शुरूमा 'संगात् संजायते कामः' यस वाक्य अनुसार विषय वृत्तिको उदय हुन्छ । परन्तु जब अभ्यास सिद्ध भएर भित्र बाहिर समान हुन्छ तब जीवभावमा विषय भएर पनि विषयाकार वृत्तिको उदय नभै अन्तःकारणमा समान आत्मानन्द प्रवाह वगिरहन्छ, सुख दुःखसबै नै एक चिद्विलास वाहेक अरू भावले लक्षित हुँदैन, त्यसैले समान आकार धारण गर्दछ । यस आत्मभावको सादृश्यमा ब्रम्हभावको गठन गर्नु नै साधनाको चरम फल हो, यस अवस्थामा जुन साधक पुग्दछन् तिनै पुरुष परमयोगी हुन् ।

भगवान् श्रीकृष्णले ब्रम्हज्ञ (जीवनमुक्त) को लक्षण र अवस्था २९,३०,३१ श्लोकहरूमा बताउनु भएको छ, विशेषतः 'सर्वथा वर्तमानोऽपि' इत्यादि वचनद्वारा देखाइदिनु भएको छ – ती योगीहरूलाई अरू कुनै विधि निषेध छैन, अतः संसारवाही मूढ जस्तै आचार व्यवहार उनलाई हुनु पनि असंगत हुन सक्दैन । तब उनीहरूको भनोभाव कस्तो हुन्छ यसलाई बुझाउन भगवान्ले यस ३२ औं श्लोकमा भन्नुभएको छ, उनीहरूको भित्र बाहिर एकरस बरावर समान, भित्र जस्तो निर्विकार रहन्छन् बाहिर आएर पनि त्यस्तै, सुख दुःखका तरंगहरू उनीहरूका मनमा उठ्दैनन् । 

अर्जुन उवाच –

    योऽयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन ।
    एतस्याहं न पश्यामि चंचलत्वात् स्थिति स्थिराम् ।। ३३ ।।

अन्वय र अर्थ – अर्जुन उवाच = अर्जुनले भने, मधुसूदन = हे मधुसूदन ! अयं = यो, यः = जुन, योगः = योग, त्वया = तपाईले साम्येन = समत्वभाव रूप, प्रोक्तः = बताउनु भयो, अहं = मैले, चंचलत्वात् = मनको चंचलताका कारण, एतस्य = यस योगको, स्थिरां = अचल, स्थितिं = स्थितिलाई, न पश्यामि = देख्दिन ।

भावार्थ – अर्जुन भन्दछन् । हे मधुसूदन ? साम्यरूप यो जुन योग तपाईले मलाई बताउनु भयो, मनको चंचलताका कारण यसको अचल स्थितिलाई मैले देख्दिन ।

    चंचलं हि मनः कृष्ण प्रमाथि बलवद्दृढम् ।
    तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।। ३४ ।।

अन्वय र अर्थ – कृष्ण = हे कृष्ण ! हि (यतः) = किन कि,मनः = मन, चंचलं = चंचल, प्रमाथि = शरीर र इन्द्रियहरूलाई विक्षिप्त गर्ने, बलवत् = अत्यन्त बलियो, (तथा = त्यस्तै), दृढं दुर्भेद्य छ, अहं = म, तस्य = त्यस्तो लक्षण भएको मनको, निग्रहं = निरोध, वायो = वायुको निग्रह गर्नु, इव = जस्तै, सुदुष्करं = अत्यन्त कठिन, मन्ये = ठान्दछु ।

भावार्थ – हे कृष्ण ! मन त अति चंचल, प्रमाथि, बलवान् र दृढ छ । म यस्तो मनलाई नियन्त्रणमा लिनु वायुलाई निग्रह गर्नु जस्तै ठान्दछु ।

विशिष्टार्थ – चित्तको  साम्यभावलाई नै योग भन्दछन् । यो साम्यभाव एकै पटक तुरुन्त हुँदैन । शुरूशुरूमा यो योग क्षण स्थायी जस्तो हुन्छ, तुरुन्त फेरि विजुली चम्के जस्तै चम्केर भंग पनि हुन्छ । विषयाकर्षण प्रति मनको चंचलता नै यसको कारण हो । यस अवस्थामा साधकले दीर्घ स्थायी समाधि पाउंदैन । ३३ औं श्लोकमा यो कुरानै अर्जुनको मुखबाट व्यक्त भएको छ । परन्तु साधक क्रियायोगद्वारा क्षणिक स्थिति भोग गरेर मनको प्रकृति जान्न सक्छन्, अनि देख्दछन् – मन अति चंचल प्रमाथि अर्थात् कुनै  न कुनै विषय तिर दौडेर इन्द्रियसमूहलाई विलोडित गरिरहेको छ, स्थिर हुन दिंदैन, बलवत् अर्थात् अति बलियो छ, वशमा ल्याउन सकिन्न, अनि दृढ अर्थात् विषय वासनाले जडित रहेका कारण दुर्भेद्य, भेदन गर्न जाँदा बासनामानै लपेटिनु पर्दछ । यी सबै कुरा प्रत्यक्ष (भोग) गरेर नै साधकले थाहा पाउँछन् – जस्तो शरीरमा वायुलाई निरोध गर्नु जति कठिन छ मनलाई वशमा ल्याउनु पनि त्यत्ति नै कठिन छ, वशमा आउँदै आउँदैन ।अतः व्याकुल भएर पुनः गुरुको शरणमा पर्दछन् (आत्मभावमा लक्ष्य गर्दछन्) । श्रीकृष्ण नै गुरु हुनुहुन्छ, भक्तजनका पापादि दोष कर्षण गर्नुहुन्छ – पश्चात् भक्तलाई तानेर निर्वाणपद (मुक्तिपद) मा मिलाईदिनु हुन्छ, त्यसैले उहाँको नाम 'कृष्ण' हो ।

श्री भगवानुवाच –

    असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
    अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।। ३५ ।।

क्रमशः

याे  पनि

कर्मयोग र संन्यासयोगका सूत्रः साधना र अभ्यास कसरी ?

ज्ञान र विज्ञानकाे अन्तरात्माः  ब्रम्हज्ञान अर्थात् आत्मज्ञान

तारकब्रम्ह कूटस्थ पुरुषको पूजा र 'सर्वदा' समयकाे सन्दर्भ

आत्मा के हाे, प्राकृतिक प्रदार्थ अर्थात प्रभेद के हो ?

आत्मच्युत चंचल मनलाई परित्याग गरी वशमा राख्ने उपाय