भारत पाकिस्तान परमाणु युद्धको परिणाम के हुन्छ ?

सम्पूर्ण विश्वले नै दुष्परिणाम भोग्नुपर्छ

भारत पाकिस्तान परमाणु युद्धको परिणाम के हुन्छ ?

लोकसंवाद संवाददाता  |  समाचार  |  फाल्गुन १६, २०७५

भारतीय वायुसेनाले गत २६ फेब्रुअरीका दिन पाकिस्तानमा पसेर जैस—ए मोहम्मदका बालाकोट स्थित अखाडामा गरेको बमबारी पछि दुबै देशबीच युद्धको आसन्न खतरा मडारिएको छ । 

सीमाना उल्लंघन गरी आफ्नो देशमा पसी बमबारी गरेको प्रतिक्रिया स्वरुप पाकिस्तानले घटनाको भोलिपल्ट २७ फेब्रुअरीमा ‘लाइन अफ कन्ट्रोल’ क्रस गरी भारतीय भूमिमा बमबारी गर्‍यो । दुबैले आ—आफ्ना सफलताको दावी गरे ।

पाकिस्तानले दावी गर्‍यो, उसका लडाकू विमानले भारतमा पसेर बम वर्षा गरे । आफ्ना विमानलाई लखेट्दै आएका दुईवटा भारतीय लडाकु जहाजलाई नेस्तनाबूद गरेको दावी पनि पाकिस्तानले गर्‍यो । 

यता भारतले आफ्नो सीमानामा पसेका तीनवटा पाकिस्तानी जहाज मध्ये एउटा एफ १६ विमान ध्वस्त पारेको दावी गर्‍यो । 

दुबै देशमा युद्धको माहोल छ । दुबै देश पारमाणविक आयुध सम्पन्न मुलुक छन् । परमाणुशक्ति सम्पन्न रहेका दुई देशबीच युद्ध हुनु दुई देशको मात्रै होइन सम्पूर्ण विश्वकै लागि चिन्ताको विषय हो । परमाणु युद्धको दंश, युद्धमा संलग्न राष्ट्रले मात्र होइन सम्पूर्ण विश्वले नै यसको त्रासदीपूर्ण विभीषिका भोग्नुपर्ने हुन्छ । 

दुबै देशसंग सय + सय भन्दा बढी परमाणु बम रहेका छन् । कथंकदाचित आ—आफ्नो अहमता र मूर्खताले दुबै देश युद्धमा ओर्लिए भने त्यसको परिणामको कल्पना शायद दुबै देशका राष्ट्राध्यक्षले सोचेभन्दा पनि बढी भयावह हुनेछ । 

युद्धमा दुबै देशले आफूसंग भएका परमाणु बमको प्रयोग गरेभने दुई तीन करोड मानिस तत्कालै खरानी हुनेछन् । यो संख्या बम खसेको स्थानको जनसंख्याको आधारमा अझै थप हुनसक्छ । 

बमको प्रभावले आकाशमा रहेको ‘ओजोन लेयर’ आधीभन्दा बढी नष्ट हुन पुग्छ । परमाणु बम विष्फोटन पछि आएको पारमाणविक चिसोले मनसुन र कृषिलाई अकल्पनीय क्षति पुर्‍याउँछ । 

भारतीय उपमहाद्वीपमा भएको परमाणु बम विस्फोटले संसारका झण्डै दुई अर्ब मानिसले जलवायु परिवर्तनबाट आएको दुष्प्रभाव खेप्नु पर्छ । भोकमरी कै अवस्था स्रृजना हुन्छ । 

७४ वर्ष पहिला ६ अगष्ट १९४५ का दिन अमेरीकी वायुसेनाले जापानको हिरोशिमा शहरमा परमाणु बम खसालेको थियो । यस विष्फोटले १ लाख ४० हजार मानिस तत्काल मरे । नागासाकीमा भएको अर्को बम विष्फोटमा ८० हजार मानिस मरेका थिए । 

यहाँ स्मरणीय के छ भने, त्यो बेलाका परमाणु बमको क्षमताको तुलनामा अहिलेका परमाणु बम हजारौं गुना शक्तिशाली छन् । जापानमा भएको परमाणु बम विस्फोटको साक्षी रहेकी एक जना जापानी महिलाले विश्वलाई चेतावनी दिंदै भनेकी थिइन्, ‘बिर्सेर पनि अब कसैले परमाणु युद्धको बारेमा सोच्नु हुन्न, पुस्तौं पुस्ताले यसको दंश भोग्नुपर्ने हुन्छ । एकै पटकमा, एकै ठाउँमा लाखौं व्यक्तिले चिहानसम्म भेट्दैनन् ।’
धेरै बुद्धिजीवि र विश्लेषकहरुले दुबै देशलाई परमाणु युद्धले ल्याउने तबाही बारे बुझाउने काम भइरहेको छ । 

दुबै देशको सामरिक तुलना गर्दा भारतसँग पाकिस्तान भन्दा दोब्बर सैनिक पनि छन्, हतियार पनि छन्, सुदृढ आथिक अवस्था पनि छ । पाकिस्तानले धेरै दिनसम्म भारतसँग युद्ध गरिरहन सक्दैन्, पराजय हुने अवस्थामा पाकिस्तानले परमाणु बम प्रयोग गर्न सक्छ । र परिणाम दुबै देशबीचको युद्ध पारमाणविक युद्धमा उक्लन सक्छ । 

रक्षा विशेषज्ञहरुका अनुसार पाकिस्तानसँग १ सय ४० देखि १ सय ५० सम्म परमाणु बम रहेका छन्, र भारतसँग १ सय ३० देखि १ सय ४० परमाणु बम रहेका छन् । 

‘बुलेटिन अफ एटमिक साइन्टिस्ट’का अनुसार भारतसँग पृथ्वी र अग्नि श्रृंखलाका ५६ वटा ‘ब्यालेस्टिक मिसाइल’ छन् । पाकिस्तानको ७७ प्रतिशत परमाणु सामग्री ८६ वटा ‘ब्यालेस्टिक मिसाइल’मा तैनाथ रहेको छ ।

दुबै देश एक अर्का देशका प्रमुख शहर, सैनिक मुख्यालय र अन्य महत्वपूर्ण स्थलमा परमाणु बम खसाल्न सक्षम छन् । 

दुबै देशसँग एकै पटकमा बीसौं परमाणु बम बोक्ने र खसाल्न सक्ने क्षमताका लडाकु विमान छन् । दुबै देशसँग २ हजार किमि सम्म बम फ्याल्न सक्ने प्रविधि छ । पाकिस्तानको ‘गौरी’ मिसाइलको ‘रेञ्ज’ १ हजार ३ सय किमि छ । भारतका तमाम प्रमुख शहर दिल्ली, जयपुर, अहमदाबाद, मुम्बई, पुणे, नागपुर, भोपाल, लखनउ र पटना सम्म ‘गौरी’को ‘रेञ्ज’ छ । 

पाकिस्तानका सबै ठूला शहरमाथि भारतले बम पुर्‍याउने मिसाइल बनाएको छ । 

परमाणु बमले महाविनाश ल्याउँछ, आशा गरौं दुबै देशले हठधर्मिता त्यागेर युद्ध चाहनामा पूर्णविराम लगाउँछन् । 

एजेन्सीहरुको सहयोगमा 

 

याे पनि

प्रत्याक्रमण गर्नु हाम्रो मजबुरी थियो: इमरान खान

भारत पाकिस्तानमा युद्धजस्तै माहोल

दुई भारतीय विमान खसालेको पाकिस्तानको दाबी

भारतीय वायुसेनाले पाकिस्तानमा बम खसाल्यो

के भन्छन् बम आक्रमण क्षेत्रका स्थानीय ?

भारत पाक युद्धको सँघारमा !