योग भ्रष्टका प्रकार र लाभकाे अन्तरसम्बन्ध

योग भ्रष्टका प्रकार र लाभकाे अन्तरसम्बन्ध

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  फाल्गुन १०, २०७६

एतन्मे संशयं कृष्ण छेत्तुमर्हस्यशेषतः ।
त्वदन्यः संशयास्यास्य छेत्ता न ह्युपपद्यते ।। ३९ ।।

 अन्वय र अर्थ – कृष्ण = हे कृष्ण ! मे (मम) = मेरो एतत् = यो, संशयं = सन्देहलाई, अशेषतः = पूर्णरूपले, छेत्तुं = नष्ट गर्नका लागि, अर्हसि = समर्थ हुनुहुन्छ, त्वदन्यः = तपाई बाहेक अरू,  अस्य = यो, संशयस्य = संशयको, छेत्ता = नाश गर्ने, न हि उपपद्यते = संभव छैन ।

भावार्थ – हे कृष्ण ? निःशेषरूपले मेरो यो संशयलाई तपाईले नष्ट गरि दिनुहोस् यस संशयलाई नाश गर्ने तपाई बाहेक अरू  कुनै अर्को हुन सक्दैन ।

विशिष्टार्थ – श्रीकृष्ण नै अक्षर पुरुष ईश्वर हुनुहुन्छ, उहाँमा नै सर्वज्ञत्वको वीज वर्तमान, परिपूर्ण छ । अरू जति देवता, ऋषि, मुनि आदि सुषुम्ना मार्गमा अवस्थित छन् ती सबै नै यस पूर्णका अंश हुन् । अतः उनीहरूको सर्वज्ञता पनि तदनुरूप छ । जबसम्म यस परिपूर्ण अक्षर ब्रम्हमा पग्लिएर एक रस भइदैन तबसम्म नै पूर्णत्व र अंशत्व रूप तारतम्य रहन्छ । भूत विभष्यत्लाई वर्तमान जस्तै देख्नु छ भने, सर्वसंशय नाश गर्नु छ भने त्यस अक्षर ब्रम्हमा चित्त संयम गर्नु पर्दछ, अन्यत्र कहीं गरेर हुँदैन । अतः यस योगभ्रष्टको गति विषयक प्रश्नको उत्तर दिन तपाई मात्र समर्थ हुनुहुन्छ ।

श्री भगवानुवाच –

 पार्थ नैवेह नामुत्र विनाश स्तस्य विद्यते ।
  न हि कल्याणकृत् कश्चित्दुर्गतिं तात गच्छति ।। ४० ।।

अन्वय र अर्थ – श्री भगवानुवाच = भगवान् श्री कृष्णले भन्नु भयो, पार्थ = हे पार्थ ? न एव इह = न यस लोकमा नै, न अमुत्र = न परलोकमा नै, तस्य = त्यस योग भ्रष्टको, विनाशः = विनाश, विद्यते = हुन्छ, हि = यसकारण, तात = हे तात ! कल्याण कृत् = शुभ अनुष्ठान गर्ने, कश्चित् (जनः) = कुनै पनि पुरुष, दुर्गतिं = दुर्गतिमा, न गच्छति = प्राप्त हुँदैन ।

भावार्थ – श्री भगवानले भन्नुभयो, हे पार्थ ? के यस लोकमा के परलोकमा योगभ्रष्ट पुरुषको विनाशहुँदैन, किन कि शुभ अनुष्ठान गर्ने कोही पनि कहिल्यै कदापि दुर्गतिमा प्राप्त हुँदैन ।

विशिष्टार्थ – यदि योगी अयति छन् परन्तु आस्तिक्य बुद्धियुक्त छन् अथवा योगभ्रष्ट छन् भने पनि उनको विनाश हुँदैन । यस लोकमा त छंदैछैन, परलोकमा पनि हुँदैन, किन कि जो कल्याण कर्मको अनुष्ठान गर्दछन् अर्थात् आत्मप्रतिष्ठा वा ब्राम्हीस्थिति लाभको लागि चित्त शुद्धिको उपायभूत क्रियानुष्ठान गर्दछन् उनीहरूलाई अरू दुर्गति प्राप्त हुँदैन ।

योगज संस्कार केही समयका लागि अर्को संस्कारबाट अभिभूत हुन सक्छ, परन्तु यसले ती सबैलाई क्षय गरेर स्वयं आफ्नो  क्रियालाई प्रकाशित गर्दछ, योगज संस्कार विनष्ट हुँदैन । यो साधारण नियम हो, किन्तु जुन  'योगात् चलितमानसः'  अर्थात् दोस्रो प्रकारका योग भ्रष्ट छन्, तिनीहरूलाई अरू कुनै दोस्रो संस्कारको उदय मा अवश हुनु पर्दैन ।

यस लोकमा विनाश हुँदैन भन्नुको कारण हो – एक पटक अखण्ड मण्डलाकार गुरुपद दर्शन भएपछि आस्तिक्य बुद्धिको उदय हुन्छ अनि आत्म विस्मरण हुँदैन, अतः क्रियायोगमा यत्नशील नरहे तापनि गुरुपद  दर्शन जनित सत् संस्कार शक्तिले गर्दा कुनै पनि खराव कर्ममा मति गति हुँदैन । परलोकमा पनि विनाश छैन – यसको कारण हो – त्यस सत् संस्कार शक्तिमा हीन जन्मको प्राप्ति हुँदैन ।

तात – पिताले पुत्ररूपमा आत्माको विकास गर्छ अतः ऊ तात हो । गुरूले पनि दीक्षाद्वारा  शिष्यको दोस्रो जन्म दिएर द्विज बनाएर आत्मज्ञानको विस्तार गर्छन् । अतः शिष्य पुत्र तुल्य हुन्छ । अतएव कृष्ण भगवानले  स्नेह गरेर अर्जुनलाई  ”तात” भनेर सम्बोधन गर्नु भएको छ ।

    प्राप्य पुण्यकृतां लोकानुषित्वा शाश्वतीः समाः ।
    शुचीनां श्रीमतां गेहे योग भ्रष्टोऽभिजायते ।। ४१ ।।

अन्वय र अर्थ – योगभ्रष्टः = योग भ्रष्ट पुरुषले, पुण्यकृतां = पुण्यकर्म गर्नेहरूको, लोकान् = लोकहरूलाई, प्राप्य = प्राप्त गरेर, (त्यहां) शाश्वतीः समाः = धेरै समयसम्म, उषित्वा = रहेर, शुचीनां = सदाचारी शुद्ध, श्रीमतां = विभूति सम्पन्न पुरुषहरूको, गेहे = घरमा, अभिजायले = जन्म लिन्छन् ।

भावार्थ – योगभ्रष्ट पुरुषहरू पुण्यकर्म गर्ने पुरुषहरूले प्राप्त गर्ने लोकहरूलाई प्राप्त गरेर त्यहां धेरै वर्षहरूसम्म निवास गर्छन् । अनिपछि पवित्र एवं ऐश्वर्य सम्पन्न पुरुषहरूका घरमा जन्म लिन्छन् ।

विशिष्टार्थ – योग भ्रष्ट दुई प्रकारका हुन्छन्–एक मनमा विषय वासनाको उदय गराउने कारक तत्व प्रति वैराग्य (शिथिलता) उत्पन्न हुनाले अयतिः बन्दा र दोस्रो–कालको वशमा मृत्युको मुखमा परेको वेला तीव्र वैराग्य रहनाले संचित कर्म दोषका कारण अजानभावले विषयाकर्षणमा  परेर अतिमृत्युपदमा पुग्नु भन्दा पहिले 'यागाच्चलितमानसः' हुनाले हुन्छ । जुन साधकहरू भोग वासनाको वशमा परेर योग भ्रष्ट हुन्छन् ती सबैको यस श्लोक अनुसार गति हुन्छ र जुन अरू सबैको बैराग्य रहेर पनि दैव विपाकमा परेर योग भ्रष्ट हुनु पर्छ, ती सबैको गति आउने श्लोक अनुसार लाभ हुन्छ ।

प्रथम प्रकारका योग भ्रष्ट पुरुष, मृत्युपछि पारलौकिक फल भोग्नका लागि पुण्यान पुरुषहरू जुन जुन लोकहरूमा गएर वास गर्छन् आप्mनो कर्मफलले ती सबै लोकहरूमा केही समय वास गरेर अविछिन्न भावले सुख भोग गर्दछन्, पछि भोग क्षय भएर कर्मभूमि मत्र्य लोकमा प्रवेश गर्दछन् अर्थात् पुनः जन्म ग्रहण गर्दछन् । यो जन्म ती पुरुषहरूको विषय भोग–वासनाको पूरण हुनका लागि जस्तो ऐश्वर्य सम्पन्न घरमा हुन्छ, त्यस्तै उनीहरूको आध्यात्मिक उन्नतिका लागि त्यो ऐश्वर्य सम्पन्न घर शुचि अर्थात् सदाचार सम्पन्न पनि  हुन्छ । जुन घर (संसार) मा उदारभावको भगवत् प्रेम वर्तमान छ त्यही घर शुचि हो ।

    अथवा योगिनामेव कुले भवति धीयताम् ।
    एतद्धि दुर्लभतरं लोके जन्म यदीदृशम् ।। ४२ ।।

अन्वय र अर्थ – अथवा = ऐश्वर्य युक्त कुल बाहेक, धीमतां = व्यवसायात्मिका बुद्धि युक्त, योगिनां = योगनिष्ट पुरुषहरूका, एव = नै, कुलं = कुलमा, भवति = हुन्छ, जन्म = जन्म, यत् = जुन, इदृशं = यस्तो उपर्युक्त विशेषणले युक्त छ, एतत् = यो जन्म, हि = परन्तु, लोके = यस लोकमा, दुर्लभतरं = अत्यन्त दुर्लभ छ ।

भावार्थ – अथवा जो भ्रष्टयोगी धीमान् योगीहरूका कुलमा जन्म ग्रहण गर्दछन् यस्तो जुन जन्म हुन्छ त्यो यस जगत्मा दुर्लभ छ ।

विशिष्टार्थ – द्वितीय प्रकारका भ्रष्ट योगीहरू श्रेष्ठ छन् । व्यवसायात्मिका बुद्धियुक्त योगीको घरमा त्यस्ता व्यक्तिले जन्म लिन्छन् । यस जगत्मा यस्तो प्रकारको जन्म अति दुर्लभ हुन्छ किन कि यो अति सौभाग्यको फल हो । यस प्रकारको जन्म प्राप्ति भएपछि जीवलाई जन्मसिद्ध शक्ति प्राप्त हुन्छ, किन कि कुलाचार प्रथाले विना प्रयास नै उसको लागि भगवत् प्राप्तिको ढोका खुल्दछ ।

    तत्र तं बुद्धिसंयोगं लभते पौर्वदेहिकम् ।
    यतते च ततो भूयः संसिद्धौ कुरुनन्दन ।। ४३ ।।

 
अन्वय र अर्थ – (सः = त्यस्तो पुरुषले) तत्र= शुचि तथा श्रीसम्पन्न घरमा अथवा श्रीसम्पन्न योगीहरूका कुलमा जन्मेको छँदो, पौर्वदेहिकं = पूर्व देह सम्पन्न, तं = त्यस, बुद्धिसंयोगं = ब्रम्हविषय, युक्त बुद्धिको सम्वन्ध, लभते = प्राप्त गर्दछ । कुरूनन्दन = हे कुरूनन्दन ? संसिद्धौ = संसिद्धि प्राप्तिका लागि, ततश्च = पूर्वकृत् संस्कार भन्दा पनि, भूयः = अधिक, यतते = प्रयत्न गर्दछ ।

भावार्थ – हे कुरूनन्दन ! त्यहां उसले पूर्व देह जात सोही बुद्धिसंयोगको लाभ गर्दछ र संसिद्धि प्राप्तिका लागि पहिले भन्दा पनि अधिक यत्न गर्दछ ।

विशिष्टार्थ – जसरी बुद्धिसंयोग हुनाले पूर्व जन्ममा ब्राम्हीस्थिति लाभका लागि यत्न गरेको थियो, पवित्र लक्ष्मीमन्तको घरमा अथवा धीमान् योगीहरूका कुलमा जन्म ग्रहण गरेर त्यो पुरुष सोही बुद्धि (ब्रम्हविषयक) नै लाभ गर्दछ, अनि यस जन्ममा पहिले भन्दा पनि अधिक यत्न गरेर सिद्धिलाभको चेष्टा गर्दछ । 

पूर्वाभ्यासेन तैनैव ह्रियते ह्यवशोऽपि सः ।
जिज्ञासुरपि योगस्य शब्द ब्रम्हराति वर्तते ।। ४४ ।।

अन्वय र अर्थ – हि = किन कि, सः = त्यो योगभ्रष्ट, अवशः अपि = अनिच्छुक भएर पनि, तेन = त्यस, पूर्वाभ्यासेन = पूर्व जन्ममा गरेको योगाभ्यासले, एव = नै, ह्रियते = विषयबाट हटेर संसिद्धिमा आकृष्ट हुन्छ, योगस्य = योगको स्वरूपलाई जिज्ञासुः = जान्न चाहेर, योगमार्गमा लागेको, अपि = पनि, स्वरूपलाई, सः = त्यो योग भ्रष्ट सन्यासी, शब्दब्रम्ह = वेदोक्त कर्मफललाई, अतिवर्तते = अतिक्रमण गर्दछ, अर्थात् त्यो भन्दा माथि पुग्दछ ।

भावार्थ – किन कि श्रीसम्पन्न घरमा जन्मेको त्यो योग भ्रष्ट योगी अथवा (अनिच्छुक) भएर पनि सोही पूर्वाभ्यासद्वारा आकृष्ट हुन्छ, अनि योगको तत्व जिज्ञासु हुँदा मात्र पनि शब्द ब्रम्हलाई अतिक्रमण गर्दछ ।

विशिष्टार्थ – योग भ्रष्ट योगी सिद्धिलाभमा पूर्व जन्मको भन्दा अधिकतर यत्न गर्दछन् । यसको कारण हो – ती योगी पूर्व जन्मको योगाभ्यासका लागि संस्कारको प्रबल ताडनामा चालित हुन्छन् । यदि ती योगी अवश नै होउन् अर्थात् मनमा यदि विषय भोग वासनाको संस्कार उदय भएर अवरोध स्वरूप  बन्नाले योग संसिद्धि प्राप्ति विषयमा अनिच्छुक पनि होलान्, तै पनि पूर्वकृत् योगज संस्कार यति प्रबल हुन्छ कि उनलाई वाध्य गरेर योगमा प्रवृत गराउँछ । योगज संस्कार केही समयका लागि अर्को संस्कारबाट अभिभूत हुन सक्छ, परन्तु यसले ती सबैलाई क्षय गरेर स्वयं आफ्नो  क्रियालाई प्रकाशित गर्दछ, योगज संस्कार विनष्ट हुँदैन । यो साधारण नियम हो, किन्तु जुन  'योगात् चलितमानसः'  अर्थात् दोस्रो प्रकारका योग भ्रष्ट छन्, तिनीहरूलाई अरू कुनै दोस्रो संस्कारको उदय मा अवश हुनु पर्दैन । ती भ्रष्ट योगी जब पूर्व योग संस्कारद्वारा हित अर्थात् आकृष्ट भएर योगका जिज्ञासु हुन्छन् अर्थात् योगको स्वरूप जान्नका लागि योगमा प्रवृत्त हुन्छन्, तत्क्षणत् विना प्रयासले नै पूर्व अभ्यास गुणले शब्द ब्रम्ह वा वेदलाई अतिक्रमण गर्दछन्, अर्थात् एकदम नाद अन्तर्गत ज्योति भित्र मनलाई विलीन गरेर विष्णुको परम पदमा स्थित हुन्छन् । अनाहत ध्वनि वा प्रणवनाद नै आदि हो, त्यसैद्वारा कर्मको क्रम विकास गरेर सहस्रादि सात चक्रमा अथर्व, साम, यज्ञुर ऋक्को उत्पत्ति हुन्छ । यी सबैलाई नै शब्द ब्रम्ह भन्दछन् । ऋगादि चतुर्देद जब मूलाधारादि सप्त स्वर्गमा क्रिया विकास गर्दछन् तब मात्र शरीरको उत्पत्ति हुन्छ । शरीरलाई कार्य ब्रम्ह भन्दछन् । कार्य ब्रम्ह कर्म हो, शब्द ब्रम्ह ज्ञान हो ।

    प्रयत्नात् यतमानस्तु योगी संशुद्धकिल्विषः ।
    अनेकजन्मसंसिद्ध स्ततो याति परां गतिम् ।। ४५ ।।

क्रमशः

याे पनि 

तारकब्रम्ह कूटस्थ पुरुषको पूजा र 'सर्वदा' समयकाे सन्दर्भ

आत्मा के हाे, प्राकृतिक प्रदार्थ अर्थात प्रभेद के हो ?

आत्मच्युत चंचल मनलाई परित्याग गरी वशमा राख्ने उपाय

द्वितीय 'अहं', परमात्माले दिएको  'अहं'  र अद्वैतभाव

अभ्यास के हो ? वैराग्य के हो ?