चित्त शुद्धि भएर पनि ध्यान विना मुक्ति असम्भव
फाल्गुन १७, २०७६

    प्रयत्नात् यतमानस्तु योगी संशुद्धकिल्विषः ।
    अनेकजन्मसंसिद्ध स्ततो याति परां गतिम् ।। ४५ ।।

अन्वय र अर्थ – तु = बास्तवमा, योगी = योगी,प्रयत्नान् यतमानः = पहिले पहिलेको यत्नभन्दा पनि अधिक यत्न गर्दोछँदो, संशुद्ध किल्विषः (विधूतपापः) = पाप रहित भएर, अनेक जन्म संसिद्ध्रः = अनेक जन्महरूमा संचित योगले सिद्धअवस्था प्राप्त गरेको छँदो, ततः = त्यसपछि, परां गतिं = मोक्ष, याति = प्राप्त गर्दछ ।

भावार्थ – वस्तुतः योगी पूर्व पूर्वको प्रयत्न भन्दा पनि अधिक प्रयत्नशील हुनाले क्रमशः निष्पाप बन्दै बन्दै अनेक जन्महरूमा संसिद्धि लाभ गर्दछन्, पछि मोक्ष हुन्छन् ।

विशिष्टार्थ – भगवान् श्रीकृष्णले ४० देखि ४४ औंं श्लोकसम्म अर्जुनको प्रश्नको उत्तर दिएर अब योगित्व नै श्रेय छ, योगी भएर मन्द प्रयत्न हुँदा पनि परागति प्राप्त भएको कारण, छिन्नाभ्र जस्तो बनेर नष्ट हुनु पर्दैन भन्ने कुरा देखाउनु भएको छ ।

योगी अर्थात् योगानुष्ठानमा श्रद्धा युक्त जो छ त्यो  'प्रयत्नवान् यतमानः'अर्थात्  उनको पूर्व प्रयत्न भन्दा परवर्ती प्रयत्न अधिक बलबत्तर छ, किन कि एक पटकको चेष्टामा योगमार्गमा जति अभ्यास हुन्छ, दोस्रो पटकको चेष्टामा त्यति उठाउन अरू कष्ट हुँदैन । यसको कारण हो पहिलो पटकको अभ्यासको संस्कार मनमा दृढबद्ध रहन्छ, अतः दोस्रो पटक सोही संस्कारवश क्रिया हुन्छ, त्यसकारण यत्न अमार्गमा प्रयुक्त नहुनाले क्रमअनुसार अधिकतरबढ्दै जान्छ । योग अभ्यस्त हुनाले नै पछि संशुद्धकिल्विषः भइन्छ अर्थात् चित्तशुद्धि हुनाले विषय रमणरूप पाप (चंचलता)  मा लिप्त हुनु पर्दैन । किन्तु चित्त शुद्धि भएर पनि ध्यान विना मुक्ति हुँदैन, अतः भनिन्छ  'अनेकजन्मसंसिद्धस्ततो याति परां गतिम्'।

उही भक्त हो, उही युक्ततम अर्थात् सर्व श्रेष्ठ हो, किन कि योगीहरूका जति प्रकारका अवस्था हुन्छन् ती मध्ये यो अवस्था सवैभन्दा उच्च हो र उही आत्माको अभिमत अर्थात् आत्मा समान हो, आत्मा र उनमा प्रभेद रहदैन उनी आत्मा हुन्छन् ।

अनेक जन्म के हो ?

निःश्वास त्याग गरेर फेरि तान्न नसक्दा जुन प्रलय (मृत्यु) हुन्छ त्यसलाई महाप्रलय भन्दछन्। यस महाप्रलय पछि फेरि अर्को देह धारण गर्नुको नाम जन्म हो ।त्यस्तै निःश्वास त्याग गरेर तान्नु भन्दा पहिलेको काललाई खण्ड प्रलय भन्दछन् । यस खण्ड प्रलय पछि फेरि प्रश्वास ग्रहण गर्नुको नाम पनि जन्म हो । प्रलयको तारतम्य अनुसार सिद्धि लाभको कालको पनि तारतम्य हुन्छ । प्रयत्न मृदु हुँदा महाप्रलय पछिको जुन काल हो त्यो जन्म हो । त्यस प्रकारका अनेक जन्महरू पछि संसिद्धि लाभ परन्तु प्रयत्न तीव्र हुँदा त्यस खण्ड प्रलय पछि जुन जन्म हुन्छ त्यस प्रकारका अनेक जन्म अर्थात् अनेक प्राणायामद्वारा संसिद्धि लाभ हुन्छ । त्यसकारण पतञ्जलि ऋषिले सूत्र लेखेका छन् – 'तीव्रसम्वेगानामासन्नः' अर्थात् तीव्र संवेगवालाहरूको आसन्न हुन्छ अर्थात् समाधि वा योगसंसिद्धि शीघ्र हुन्छ । अतएव स्मृतिमा पनि लेखिएको छ – अत्युत्कटपुण्यपापानामिहैव फलमश्नुते' । संवेग तीव्र हुनाले योगी एक जीवनमा नै कतिपय प्राणायाममा संसिद्ध हुन्छन् । (योगीगणले स्थिर गरेका छन् – प्राणायाम यथानियम एकासनमा बसेर बाह्र पटक गर्नाले नै मनको  'प्रत्याहार' हुन्छ, यसको बाह्रगुना १४४ पटक प्राणयाममा 'धारणा' हुन्छ, यसको पनि बाह्रगुना १७२८ पटक प्राणायाममा  'ध्यान अवस्था' हुन्छ, यसको पनि बाह्र गुना २०७३६ पटक प्राणायाममा 'समाधि' हुन्छ ।) किन्तु तीव्र संवेग नहुंदा एक जीवनमा हुँदैन अनेक जन्म लिनु पर्छ । संसिद्धि (समाधि) लाभ भएपछि नै त्यसको परिपाकमा असंप्रज्ञात समाधि–कैवल्य स्थिति–परागति–ब्रम्हनिर्वाण प्राप्ति हुन्छ ।

    तपस्विभ्योऽधिको योगी ज्ञानिभ्योऽपि मतोऽधिकः ।
    कर्मिभ्यश्चाधिको योगी तस्माद्योगी भर्वाजुन ।। ४६ ।

अन्वय र अर्थ – योगी = योगी, तपस्विभ्यः = तपस्वीहरू भन्दा, अधिकः = श्रेष्ठ छ, ज्ञानिभ्यः अपि = ज्ञानीहरू भन्दा पनि, अधिकः = श्रेष्ठ, मतः = मानिन्छ, योगी = योगी, कर्मिभ्यः च = अग्निहोत्रादि कर्म गर्ने भन्दा पनि, अधिकः = विशिष्ट छ, तस्मात् = त्यसकारण, अर्जुन = हे अर्जुन ? (त्वं = तिमी), योगी = योगी, भव = होऊ ।

भावार्थ – मेरो मतमा योगी तपस्वी भन्दा श्रेष्ठ छ, ज्ञानी भन्दा पनि श्रेष्ठ छ, योगी कर्मी भन्दा पनि श्रेष्ठ छ; अतएव अर्जुन ? तिमी योगी वन ।

विशिष्टार्थ – जो साधक कर्मफलको आश्रय नगरेर कार्यकर्म गर्छन् योगी तिनै हुन्, किन कि कर्मफलको आश्रय नगर्नाले सर्वत्र समदृष्टि हुन्छ, चित्त पनि अज्ञात भावले वासुदेवमा अर्पित हुन्छ, अनि वृत्तिविस्मरण अवस्थामा महाकष्टवाट पनि विचलित नभए जस्तै विषय संस्पर्शमा आएर पनि चित्तमा त्यसको कुनै प्रभाव नपर्नाले आत्मतत्वबाट विचलित हुँदैन । यसकारण योगी – तपस्वी, ज्ञानी र कर्मी यी तीनै भन्दा श्रेष्ठ हो । वाह्य रूपमा जस्तै–जो चान्द्रायणादि ब्रत तपस्या गर्दछन् ती तपस्वी हुन्, जो शास्त्र विज्ञानविद् छन् ती ज्ञानी हुन् र जो अग्निहोत्रादि कर्म गर्दछन् ती कर्मी हुन्, त्स्तै योगमार्गमा साधक जब प्राणमा मन दिएर षट्चक्रमा प्राणचालनद्वारा प्राणायाम गर्दछन् तब ती कर्मी हुन् जब तपोलोक आज्ञामा प्राणलाई स्थिर गर्दछन् तब ती तपस्वी हुन्, अनि जब ती पुरुष मनमा मन दिएर आत्मतत्व जानिराख्दछन् तब ती ज्ञानी हुन् । यी सबै अवस्थामा नै मन एक देशवर्ती अर्थात् निर्दिष्ट एक मात्र तत्वको अवलम्बन गरेर रहन्छ, किन्तु जब अनासक्त हुनाले 'यत्र यत्र मनोयाति तत्रैव ब्रह्म लक्ष्यते' यो अवस्था आउंछ तब मनले कुनै एक निर्दिष्ट  तत्वको अवलम्बन गर्दैन, ब्रम्हाकारावृत्ति लिएर विश्वव्यापी हुन्छ, – योगी बन्छ । अतएव यस प्रकाको अवस्था सबै भन्दा श्रेष्ठ हो । यही जीवन मुक्त साधनाद्वारा अतीत–विधि–निषेध वर्जित अवस्था हो । अतः श्री भगवानले 'तस्मात् योगी भवार्जुन' भनेर योगी हुने अर्थात अनासक्त भएर कार्य कर्म गर्ने उपदेश दिनु भएको छ । पहिले पनि भनिएको छ– 'असक्तो ह्याचरन् कर्म परमात्नोति पूरुष ।'

    योगिनामपि सर्वेषां भग्दतेनान्तरात्मना ।
    श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः ।। ४७ ।।

अन्वय र अर्थ – यः = जुन भक्तले, श्रद्धावान् (सन्) = श्रद्धाले युक्त भएको छँदो, मग्दतेन = म वासुदेवमा समाहित भएर, अन्तरात्मना = अन्तःकरणद्वारा, मां = परमात्मालाई, भजते = भजन गर्दछ, सः = सोही भक्त, सर्वेषां = रुद्र, आदित्य आदि देवहरूको ध्यानमा लागेका समस्त, योगिनां अपि = योगीहरू मध्ये पनि, युक्ततमः = सर्व श्रेष्ठ योगी हो, मे = मेरो, मतः = मत छ ।

भावार्थ – जुन भक्त श्रद्धावान् भएर  मग्दत् चित्तद्वारा मेरो भजन गर्दछ, सोही पुरुष सबै योगीहरू मध्ये पनि सर्व श्रेष्ठ छ । यही मेरो अभिप्राय हो ।

विशिष्टार्थ – भक्त नै भगवान्को अति प्रिय पात्र हो । जसले श्रद्धावान् बनेर अर्थात् ऐकान्तिक आग्रहका साथ योगानुष्ठानद्वारा अन्तरात्मा (चित्त वा चित्त प्रतिविम्बित बिम्ब) लाई परमात्मा भित्र प्रवेश गराउँदछ, तब उसलाई त्यस परमपद विना अरू कुनै दोस्रो अवलम्बन रहदैन, अतः स्वतः सोही एक आत्माको मै भजन भइहन्छ । उही भक्त हो, उही युक्ततम अर्थात् सर्व श्रेष्ठ हो, किन कि योगीहरूका जति प्रकारका अवस्था हुन्छन् ती मध्ये यो अवस्था सवैभन्दा उच्च हो र उही आत्माको अभिमत अर्थात् आत्मा समान हो, आत्मा र उनमा प्रभेद रहदैन उनी आत्मा हुन्छन् ।

यस श्लोकमा श्रीभगवान्ले भक्ति योगानुष्ठानद्वारा योगी बन्ने नै उपदेश दिनु भएको छ ।

इति श्रीमद्भदगवग्दीतासूपनिषत्सु ब्रम्हविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुन संवादे अभ्यास योगो नाम षष्ठोऽध्यायः ।

याे पनि 

आत्मा के हाे, प्राकृतिक प्रदार्थ अर्थात प्रभेद के हो ?

आत्मच्युत चंचल मनलाई परित्याग गरी वशमा राख्ने उपाय

द्वितीय 'अहं', परमात्माले दिएको  'अहं'  र अद्वैतभाव

अभ्यास के हो ? वैराग्य के हो ?

योग भ्रष्टका प्रकार र लाभकाे अन्तरसम्बन्ध