सबै जीवहरूका अभ्यन्तरमा रहेको 'म' रूपी विद्यमान अवस्था

सबै जीवहरूका अभ्यन्तरमा  रहेको 'म' रूपी विद्यमान अवस्था

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र २२, २०७६

    तेषां ज्ञानी नित्ययुक्त एकभक्ति र्विशिष्यते ।
    प्रियो हि ज्ञानिनोऽत्यर्थमहं स च मम प्रियः ।। १७ ।।

अन्वय र अर्थ – तेषां (मध्ये) = ती चार प्रकारका भक्तहरू मध्ये, ज्ञानी = यथार्थ तत्वलाई जान्ने, नित्ययुक्तः = सदा ममास्थित, एक भक्तिः = ममा मात्र भक्ति गर्ने, (अतएव) विशिष्यते = अरू भन्दा विशेष मानिन्छ, अहं = म, हि = निश्चय नै, ज्ञानिनः = ज्ञानीहरूको, अत्यर्थं = अत्यन्त, प्रियः = प्रिय छु, सः = त्यो ज्ञानी, च = पनि, मम = मेरो प्रियः = प्रिय छ ।

भावार्थ – ती सबै मध्ये ज्ञानी नित्ययुक्त र एक भक्ति हुनाले श्रेष्ठ छ, म ज्ञानीको अत्यन्त प्रिय छु, ज्ञानी पनि मेरा अत्यन्त प्रिय छन् ।

विशिष्टार्थ – जसको अन्तःकरणमा परमेश्वर नै सम्पूर्ण प्राणीहरूको आत्मा स्वरूप हो भन्ने यस प्रकारको ज्ञानको उदय (स्थिर निश्चय) भैसकेको छ त्यही ज्ञानी हो । ज्ञानीको दृष्टिमा सबै ब्रम्ह हो । अतः उसमा देहाभिमान पनि छैन, चित्त विक्षेप पनि हुँदैन । यसकारण ऊ नित्ययुक्त अर्थात् नित्य वस्तु परमेश्वरमा युक्त छ । उसको भक्ति तथा अन्तःकरणको स्थिति एक विना दोस्रो हुँदैन । कारण यो हो – एक आत्मा नै उसको अवलम्बन, आत्मा विना अरु कसैको पृथक् अस्तित्व उसले देख्दैन । अतः ऊ  'एक भक्ति' हो । अरू सुकृतगण एकभक्ति होइनन्, किन कि ती सबैको भक्ति  'दुई' मा एकहो उद्देश्यमा, अर्थात् आकांक्षित वस्तुमा अर्को एक हो, उद्देश्य साधन गर्ने वाला वा आकांक्षित पूर्ति गरिदिने भगवानमा । ज्ञानीको लागि भगवान् नै सबै हो, भगवान् विना अरू कुनै उद्देश्य हुँदैन ।  अतः  भनिएको छ – म (अक्षर ब्रम्ह) ज्ञानीको अत्यन्त प्रिय छु । वास्तवमा 'म' वा आत्मा सबैको प्रिय हुन्छ, जो सुकै पनि आफूलाई सुखी राख्नका लागि नै म, म, मेरो मेरो भन्दै दौडिरहेका छन् । साधारण मनुष्यहरू अज्ञान अन्धकारले गर्दा आफ्नो 'म' को स्वरूप नसंझेर विषय सुखमा भुलिरहन्छन्, परन्तु ज्ञानी ज्ञानालोकमा 'म' को स्वरूप दर्शन गरेर आत्मानन्द सुखबाट विषयानन्द सुखमा उत्रदैनन् । विषय सुख भोगले मन निस्तेज हुन्छ, आत्मसुखभोगले मन सतेज रहन्छ, अतः ज्ञानी अत्यन्त नै आत्मालाई प्रिय मान्दछन् । पुनः ज्ञानीको हृदय सर्वदा निर्मल हुन्छ वासना मलको छाँयामात्र पनि ज्ञानीमा हुँदैन, यसकारण त्यहाँ सदाकाल नै आत्माको स्वरूप विकास छ, निभेषमात्रका लागि पनि भगवान् त्यहाँबाट अन्तर्हित हुनुहुँदैन, ज्ञानीको हृदय पनि भगवत् मन्दिर हो । यसकारण भनिएको छ – ज्ञानी मेरो परम प्रिय हो ।

    उदारा सर्व एवैते ज्ञानी त्वात्मैव मे मतम् ।
    आस्थितः स हि युक्तात्मा मामेवानुत्तमां गतिम् ।। १८ ।।

अन्वय र अर्थ – एते = आर्त आदि, सर्बे एव = सबै (तीन) नै, उदाराः = उत्कृष्ट छन्, तु = किन्तु, ज्ञानी = ज्ञानी, आत्मा एव = मेरो स्वरूप नै हो, मे = मेरो, मतं = निश्चय हो, हि = यसकारण, सः = त्यो ज्ञानी, युक्तामा = समाहित चित्त भएर, अनुत्तमां = सवोत्कृष्ट, गतिं = गति स्वरूप, मां एव = म परब्रम्हमा नै, आस्थितः = आस्थित (आश्रित) छ ।

भावार्थ – आर्तादि यी सबै उदार हुन्, किन्तु ज्ञानी मेरो मतमा आत्माको नै स्वरूप हो, किन कि ज्ञानी युक्तात्मा भएर अनुत्तमगति ममा नै आश्रय गरेर रहन्छ ।

परमात्मा–देवता, मनुष्य आदि सबै जीवहरूका अभ्यन्तरमा 'म' रूपले विद्यमान हुनुहुन्छ । अतः जुनसुकै देवताको पूजा गरिएता पनि एक 'म को नै अर्चना गर्नु हो । परन्तु मेदज्ञान रहनाले कामना शील भक्तहरू 'म' लाई एक भावले ग्रहण नगरेर भिन्न भावले ग्रहण गर्दछन् । त्यसकारण अन्तर्यामी भगवान् (परमात्मा) ले पनि  ती सबैलाई सोही भिन्न भाव अनुरूप श्रद्धा प्रदान गर्नुहुन्छ, ती सबैको भेदभाव  मेटाएर अभेदभाव दिनुहुन्न ।

विशिष्टार्थ – उदार = उत्+आर – ऊध्र्वमा आगमन गर्ने अर्थात् जुन साधक प्राकृतिक आवरणलाई भेदन गरेर माथि आउँछन्, जसको त्यो कार्यमा कुनै प्रकारको बाधा अड्चन रहदैन तिनै पुरुष उदार हुन् । आर्त, जिज्ञासु, अर्थार्थी र ज्ञानी यी सबै उदार (महान्) हुन्, किन कि यी सबैले प्राकृतिक तत्वलाई परित्याग गरेर एक मात्र परमात्मतत्वको अवलम्बन गर्दछन्, अतएव १४ औं श्लोक अनुसार क्रिया गर्नाले यी सबैलाई मायाको आवरणमा पर्नु पर्दैन । यी सबै नै भगवानका प्रिय छन् । परन्तु ज्ञानीको केही विशेषता छ । आर्त, जिज्ञासु, अर्थार्थी यी तीनै जना 'एक भक्ति' होइनन्, किन कि यी सबैको नै भगवान्लाई अवलम्बन गरेर कुनै न कुनै अभिलाषा पुरा गराउने अभिलाषा छ, परन्तु ज्ञानीको कुनै अभिलाषा छैन, 'परं' वा परमात्मा नै ज्ञानीको सबै थोक हो । परमात्मा परंब्रम्ह नै सर्वोत्तम गति हो, त्यस भन्दा माथि अरू कुनै गति छैन । ज्ञानी युक्त चित्त भएर यस सर्वोत्तम गतिको आश्रय गरेर रहन्छन्, ज्ञानीको हृदयमा दोस्रो अरू केहीले स्थान पाउँदैन । यसकारण ज्ञानी आत्म सदृश वा आत्माको स्वरूप हुन् ।

  बहूनां जन्मनामन्ते ज्ञानवान् मां प्रपद्यते ।
वासुदेवः सर्वमिति स महात्मा सुदुर्लभः ।। १९ ।।

अन्वय र अर्थ – ज्ञानवान् = परिपक्व ज्ञान प्राप्त, बहूनां = अनेकौं, जन्मनां = जन्महरूको, अन्ते = समाप्तिमा (अर्थात् अन्तिम जन्ममा) सर्वं =सम्पूर्ण, वासुदेवः इति = वासुदेव नै हो, भन्ने सर्वात्मदृष्टिले, मां = म सर्वात्ममा, प्रपद्यते = प्राप्त हुन्छ,  सः = त्यो, महात्मा = महात्मा, सुदुर्लभः = अति दुर्लभ छ ।

भावार्थ – ज्ञानान् धेरै जन्मपछि 'सवैनै वासुदेव' यसरी ममा प्राप्त हुन्छन्, यस प्रकारका महात्माहरू अति दुर्लभ छन् ।

विशिष्टार्थ – आत्मा नै सत् हो, आत्मा विना अरू सबै असत् हो – यो ध्रुव सत्यलाई बुझेर जुन पुरुष एकमात्र परमात्म सेवामा रत हुन्छन् तिनै पुरुष ज्ञानवान् हुन् , र जुन पुरुष त्यस सत्यलाई अपरोक्षानुभूतिद्वारा प्रत्यक्ष गरेर आत्मस्वरूप लाभ गर्दछन् तिनै पुरुष ज्ञानी हुन् । त्यस कारण आर्त, जिज्ञासु, अर्थार्थी यी सबै ज्ञानवान् हुन् । ज्ञानवानबाट ज्ञानी हुनका लागि अनेकौं जन्म अतिबाहित गर्नु पर्दछ । ज्ञानी हुनु नै यस श्लोकको 'मां प्रपद्यते' अवस्था हो, अर्थात्  'ममा प्राप्त हुनु' वा आत्म स्वरूप प्राप्त अवस्था हो । यो अवस्था प्राप्त भएपछि 'सबै वासुदेव' यस प्रकारको अमेद ज्ञानले सर्वत्र आत्मदृष्टि स्थापन हुन्छ । यस प्रकारको आत्मभाव प्राप्त पुरुष नै महात्मा हुन्, महात्मा अति दुर्लभ छन् । अर्थात् तेस्रो श्लोकको 'कश्चिन्मां वेत्ति तत्वतः' यस वाक्यानुसार ज्यादै कम पुरुषहरू हजारौं सिद्धहरू मध्ये एक दुई शरीर मात्र 'म' मा प्राप्त हुन्छन् । त्यसकारण उक्त अवस्था प्राप्त महात्मा पुरुष दुर्लभ छन् ।

    कामै स्तै स्तै र्हृतज्ञानाः प्रपद्यन्ते ऽन्य देवताः ।
    तं तं नियममास्थाय प्रकृत्या नियताः स्वया ।। २० ।।

अन्वय र अर्थ – तैः तैः = धन जन, यज्ञ, कीर्ति प्रभृति आदि अनेक प्रकारका विषयहरूका, कामैः = कामनाहरूद्वारा हृतज्ञानाः = विवेक विज्ञान नष्ट भएका मनुष्यहरू, तं तं = ती ती, नियमं = देवताहरूको आराधनाका लागि जुन जुन उपवास व्रत आदि प्रसिद्ध  नियमहरू छन् ती नियमहरूको, आस्थाय = आश्रय लिएर, स्वया = आप्mनो, प्रकृत्या = स्वभावले अर्थात् जन्म जन्मान्तरमा एकत्रित संस्कारहरूको स्वभावद्वारा, नियताः = वशीभूत भएका छँदा, अन्य देवताः = अन्य देवताहरूको अर्थात् आत्मस्वरूप म बाहेक अरूको, प्रपद्यन्ते = आराधना गर्दछन् ।

भावार्थ – मनुष्यहरू धन, जन, यज्ञ, कीर्ति आदि विषयहरूका अनेक प्रकाका कामनाहरूद्वारा हतज्ञान भएर, आफ्नव  स्वभावको वशमा परेर तिनै तिनै कामनाहरू अनुरूपका नियमहरू अवलम्बन गरेर अरू देवताहरूको आराधना गर्दछन् ।

विशिष्टार्थ – सबै ज्ञानवान् हुन सक्दैनन् । हजारौं पुरुषहरू मध्ये कुनै एक सत्पथमा खडा हुन्छ, सत्पथमा खडा भएर पनि हजारौं मध्ये कुनै एकले मात्र अभेदज्ञान लाभ गर्दछ,अरू पुरुषहरू मेदज्ञानले मोहित भएर धन, जन, यज्ञ, कीर्ति विषयक नाना प्रकारका कामनाहरूको फन्दामा परेर हतज्ञान हुन्छन् । अतएव तिनी तिनै कामना पूरणका लागि चेष्टा गरेर कर्म संस्कारको सृष्टि हुन्छ । पूर्व जन्मको सञ्चित यो कर्म संस्कार नै ती सबैको आफ्नाे प्रकृति (स्वभाव) हो । मनुष्यहरू आफ्नो यस प्रकारको प्रकृतिको वशमा  परेर अवश भावले कार्यमा नियोजित हुन्छन्, परन्तु भेदज्ञानले आत्महारा हुनका लागि मूल परमात्मतत्वलाई लिन सकदैनन्, अनि साधनोपयोगी उपवासादि रूप जुन जुन नियम प्रवृत्ति शास्त्रमा लेखिएको छ, ती सबै नियमहरूको आश्रय गरेर ती कामनाहरूका अधिष्ठात्री अन्य अन्य देवी देवताहरूको आराधनामा प्रवृत्त हुन्छन् ।

    यो यो यां यां तनुं भक्तः श्रद्धयार्चितुमिच्छति ।
    तस्य तस्याचलां श्रद्धां तामेव विदधाम्यहम् ।। २१ ।।

अन्वय र अर्थ – यः यः = जुन जुन, भक्तः = सकाम भक्त, श्रद्धया = श्रद्धा पूर्वक, यां यां = जुन जुन, तनुं = देवतारूप मेरै मूर्तिलाई, अर्चितुं = पूजा गर्न, इच्छति = प्रवृत्त हुन्छ, तस्य तस्य = त्यसै त्यसै भक्तको, तां एव = तत् तत् मूर्ति विषयमा नै, अचलां = अचल, श्रद्धा = भक्तिभाव,अहं = म, विदधामि = स्थिर गरिदिन्छु ।

भावार्थ – जो जो सकाम भक्त बनेर श्रद्धापूर्वक जुन जुन देवमूर्तिहरूलाई अर्चना गर्न प्रवृत्त हुन्छन्, म ती सबैलाई सोही मूर्ति, सोही विषयमा नै अचल श्रद्धा दिइरहन्छु ।

विशिष्टार्थ – परमात्मा–देवता, मनुष्य आदि सबै जीवहरूका अभ्यन्तरमा 'म' रूपले विद्यमान हुनुहुन्छ । अतः जुनसुकै देवताको पूजा गरिएता पनि एक 'म को नै अर्चना गर्नु हो । परन्तु मेदज्ञान रहनाले कामना शील भक्तहरू 'म' लाई एक भावले ग्रहण नगरेर भिन्न भावले ग्रहण गर्दछन् । त्यसकारण अन्तर्यामी भगवान् (परमात्मा) ले पनि  ती सबैलाई सोही भिन्न भाव अनुरूप श्रद्धा प्रदान गर्नुहुन्छ, ती सबैको भेदभाव  मेटाएर अभेदभाव दिनुहुन्न । किन कि जसले जुन भावले प्रभुको भजन भक्ति गर्दछ, प्रभुले पनि उसलाई सोही भावले सन्तुष्ट गर्नुहुन्छ – ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।

    स तया श्रद्धया युक्त स्तस्याराधनमीहते ।
    लभते च ततः कामान्भयैव विहितान् हि तान् ।। २२ ।।

क्रमशः

यो पनि 

चित्त शुद्धि भएर पनि ध्यान विना मुक्ति असम्भव

मनुष्यहरूको ज्ञान, भक्ति र सिद्धि प्राप्तीकाे बाटो

मणिमय मालाको धागो , 'म' र सर्वतत्वको मित्र ब्रम्हसूत्र

उपासनामा अपरोक्ष ज्ञान लाभ प्राप्तीका पाँच श्लोक र सोह्र विभूति

सात्विक, राजसिक र तामसिकः त्रिगुणमय भावले मोहित  समस्त जीवहरूकाे यथार्थ