'योगमाया' अर्थात वासनाः इछाशक्तिको नियन्त्रण र शक्ति त्रिगुणको संयोग

'योगमाया' अर्थात वासनाः  इछाशक्तिको नियन्त्रण र शक्ति त्रिगुणको संयोग

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  चैत्र ३०, २०७६

    स तया श्रद्धया युक्त स्तस्याराधनमीहते ।
    लभते च ततः कामान्भयैव विहितान् हि तान् ।। २२ ।।

अन्वय र अर्थ – सः = त्यो भक्त, तया = मद्वारा स्थिर गरिएको, श्रद्धया = श्रद्धाले, युक्त = युक्त भएको छँदो, तस्या = सोही देवताको स्वरूपको, आराधनं = आराधना गर्नमा, ईहते = चेष्टा गर्दछ । ततः = त्यसपछि, मया एव = म सर्वज्ञद्वारा नै, विहितान् = निर्मित, तान् = ती, कामान् = इष्ट भोगहरूलाई, हि = निश्चय नै, लभते = प्राप्त गर्दछ ।

भावार्थ – त्यो भक्त त्यसरी नै श्रद्धाले युक्त भएर तिनै देव मूर्तिहरूको आराधना गर्दछ, तदनुसार मद्वारा नै विहित तिनै कामनाहरूलाई लाभ गर्दछ ।

विशिष्टार्थ – भगवान् कामी भक्तहरूलाई उनीहरूको भेदज्ञान अनुरूप जुन श्रद्धा प्रदान गर्नुहुन्छ तिनीहरू त्यही श्रद्धाले युक्त भएर सोही देव मूर्तिको आराधनामा प्रवृत्त हुन्छन् । आराधना पछि अमीष्ट फल लाभ पनि गर्दछन्, परन्तु त्यो फल परमेश्वरले नै विहित गर्नु हुन्छ अर्थात् परमेश्वरनै (ती सवैका मित्र जो  'म' रूपमा हुनुहुन्छ) ती सबैको कामना पूरण गर्नुहुन्छ, किन कि परमेश्वर नै एक मात्र  कर्मफल प्रदाता हुनुहुन्छ । कामीजनहरू हतज्ञान भएर एक मात्र प्रभु परमेश्वर नै उनीहरूको  काम्यफल प्रदान गर्नुहुन्छ भन्ने कुरा संझन सकदैनन्; त्यो नसंझेको कारणले नैउनीहरू आफ्ना  आराधित देवता नै आफ्नो अमीष्ट पूरण गर्नुहुन्छ भन्ने सोच्दछन् । यही भेदज्ञानको कारण तिनीहरूले प्राप्त गरेको फल चिरस्थायी हुँदैन ।

    अन्तवत्तु फलं तेषां तद्भवत्यल्पमेधसाम् ।
    देवान् देवयजो यान्ति मद्भक्ता यान्ति मामपि ।। २३ ।।

अन्वय र अर्थ – तु = किन्तु, अल्पमेधसां = अल्पबुद्धि भएका, तेषां = ती कामनायुक्त, पुरुषहरूको, तत् फलं =त्यो मैले दिएको फल पनि, अन्तवत् = विनाशशील, भवति = हुन्छ । देवयज्ञः = देवताहरूको आराधना गर्नेहरू, देवान् = देवताहरूलाई, यान्ति = प्राप्त गर्दछन्, अर्थात् उत्पत्ति नाशशील देवभाव प्राप्त गर्दछन्, मद्भक्ताः = मेरा भक्तजनहरू, मां अपि = आदि अन्त नभएको परमानन्दरूप मलाई नै, यान्ति = प्राप्त गर्दछन् ।

यो शक्ति त्रिगुणको संयोगबाट नै उत्पन्न भएको हो, अतः यसको नाम योगमाया हो । यो इच्छाले नै जगतलाई घेरेको छ, यो सूर्य र पृथ्वीको वीचमा रहेको मेघावरण जस्तै परमात्मा र जीवको मध्य भागमा विद्यमान रहेर परमात्मालाई जीवचक्षुबाट लुकाई राखेको छ । मानिसहरू यस इछाशक्तिको वशमा परेर म यो गर्छु त्यो गर्छु, यो मेरो हो, त्यो मेरो हो यस किसिमका वासना विलासद्वारा मुग्ध (मोहित) ज्ञानहारा हुन्छन् ।

भावार्थ – परन्तु ती अल्पमेधा सम्पन्न ती पुरुषहरूको त्यो फल अन्तवत् (अचिरस्थायी) हुन्छ, देवयाजीहरू देवताहरूलाई प्राप्त गर्दछन्, मेरा भक्तहरू मलाई नै प्राप्त गर्दछन् ।
 
विशिष्टार्थ – एक मात्र  'म' नै अनादि अनन्त हुँ । यो विश्व प्रपञ्च मबाट नै उत्पन्न भएको हो, कालान्तरमा फेरि ममा नै लय हुन्छ । अतः देवगण विश्वका सर्व श्रेष्ठ  जीव हुन् ता पनि अचिरस्थायी छन्, कालको वशमा परेर सबै लयमा प्राप्त हुन्छन् । परन्तु जो 'म' परमात्मा वा परमेश्वर हुनुहुन्छ उहाँको लय हुँदैन । उहाँ नित्य, शुद्ध, बुद्ध, मुक्त स्वभाव सम्पन्न हुनुहुन्छ । उहाँलाई छोडेर भेदज्ञानमा अरू देवताहरूको आराधना गर्नाले जुन फल प्राप्त हुन्छ, त्यो परमेश्वरद्वारानै निहित हो ता पनि अन्तवत्हरूको आराधनाको फल हुनाले अन्तवत् नै हुन्छ । अरू पनि देवताहरूको आराधना गर्नाले देवलोकमा देवभावको नै प्राप्ति हुन्छ,  भोगक्षय पश्चात् फेरि मत्र्यलोकमा नै जन्म ग्रहण गर्नु पर्दछ । परन्तु परमेश्वरको आराधना गर्नाले  अनादि, अनन्त, परमानन्दस्वरूप परमेश्वरमा नै मिलन हुन्छ, फर्केर फेरि मत्र्य लोकमा आउनु पर्दैन । देवताहरूको आराधना गर्नमा जुन प्रकारको आयास (कष्ट) भोग्नु पर्दछ,  परमेश्वरको आराधनामा पनि त्यही आयास हो, त्यो भन्दा अधिक हुँदैन । परन्तु देवयाजीहरू समान आयास गरेर पनि  आत्मगति लाभ गर्न सक्दैनन्, अनन्तफल पाउदैनन् । अल्प बुद्धि हेतु वास्तविकतालाई नबुझेर कामना लिएर देवताहरूको आराधनामा रत रहन्छन् ।

    अव्यक्तं व्यक्तिमापन्नं मन्यन्ते मामबुद्धयः ।
    परं भावमजानन्तो ममाव्ययमनुत्तम् ।। २४ ।।

अन्वय र अर्थ – अबुद्धयः = विवेकहीन पुरुषहरू, मम = मेरो, अव्ययं = व्यय रहित, अनुत्तमं = सर्व श्रेष्ठ, परंभावं = परमात्मस्वरूप भावलाई, अज्ञानन्तः (सन्त) = नजान्दा छँदा, अव्यक्तं = प्रपञ्चातीत (मन इन्द्रियहरू भन्दा पर रहेको), मां = मलाई, व्यक्तिं = व्यक्ति सरह, आपन्नं = मनुष्य मत्स्य कूर्मादि रूपले प्रकट भएको, मन्यन्ते = ठान्दछन् ।

भावार्थ – बुद्धिहीन मनुष्यहरू मेरो अव्यय, अनुत्तम र परमभावलाई नजानेर अव्यक्त जो म हुँ त्यसलाई व्यक्ति भाव प्राप्त संझन्छन् ।

विशिष्टार्थ – समान प्रयासबाट नै जब अनन्त फल प्राप्त हन्छ, तब ती सबै व्यक्तिहरू अरू देवताहरूलाई त्यागेर किन परमात्मसेवारत हुँदैनन् भन्ने कुराको कारण यस श्लोकमा बताइएको छ । जसको बुद्धि छैन अर्थात् जुन मानिसहरू कर्मद्वारा कर्मलाई अतिक्रम गरेर आज्ञाचक्रको बुद्धितत्वमा पुगेर विवेक ज्ञान लाभ गर्न सक्दैनन्, तिनीहरूको अन्तर्दृष्टि आवृत्त नै रहन्छ । त्यसकारण परमेश्वर परमात्माको जुन अव्यय (नित्य), अनुत्तम (सर्वाेत्कृष्ट) र परं (मायातीत) स्वरूप हो, त्यसलाई  प्रत्यक्ष गर्न सकदैनन् । प्रत्यक्ष नगर्नाले परमात्मालाई अव्यक्त भएता पनि व्यक्ति भावापन्न ठानेर मनमा धारण  गर्दछन् । अर्थात् परमात्मा निराकार ब्रम्ह भएर पनि जगत्को रक्षाको लागि लीला छल गरेर  जुन विविध मूर्ति धारण गर्नुहुन्छ ती सबै मूर्तिहरूलाई साधारण जीव सरह संझन्छन् । अतः यसलाई एक भावमा नलिएर, आदर सत्कार नगरेर, विविध मूर्तिहरूमा देवताहरूको आराधना गर्दछन् । ती सबै देवताहरू पनि जो सोही प्रभुका स्वरूप हुन् त्यसलाई तिनीहरू अभेदभावले ग्रहण गर्दैनन् । अतएव आपात रमणीय भोगमा मोहित भएर, अन्तवत् फल प्राप्त गर्छन्, अनन्त फल पाउंदैनन् ।

    नाहं प्रकाशः सर्वस्य योगामाया समावृतः ।
    मूढोेऽयं नाभिजानाति लोकोमामजमव्ययम् ।। २५ ।।

अन्वय र अर्थ – अहं= म, सर्वस्य = समस्त प्राणी समुदायका लागि, प्रकाशः = प्रकट, न = हुन्न, (यतः = किन कि), योगमायासमावृतः = योगमायाद्वारा राम्ररी ढाकिएको, (अतएव) मूढः = मूढ, अयं = यो, लोकः = प्राणी समुदाय, अजं = जन्मरहित, अव्ययं = अविनाशी, मां = परमात्मालाई, न अभिज्ञानाति = जान्न सक्दैन ।

भावार्थ – म समस्त प्राणी जगत्का लागि प्रकाशित छैन, किन कि यो जगत् योगमायाद्वारा राम्ररी आवृत भएर मूढता प्राप्त हुनाले अज, अव्यय मलाई जान्न सक्दैन ।

विशिष्टार्थ – योगमायाको आवरण रहनाले नै  बुद्धिहीन मनुष्य मेरो परम भावलाई जान्न सक्दैनन् । योगमाया भन्नु वासना हो । भगवान्को जुन औचिन्त्य प्रज्ञाविलासद्वारा अघटन घटन हुन्छ त्यसैलाई नै योगमाया भन्दछन् । यो भगवानको अनिच्छाको इच्छा वा लालसारूपा महाशक्ति हो, जुन जीवभावको अनुभवमा आउंदैन ।

    या सा माहेश्वरी शक्तिज्र्ञान रूपातिलालसा ।
     व्योमसंज्ञा पराकाष्ठा सैषा हैमवती सती ।।

यो शक्ति त्रिगुणको संयोगबाट नै उत्पन्न भएको हो, अतः यसको नाम योगमाया हो । यो इच्छाले नै जगतलाई घेरेको छ, यो सूर्य र पृथ्वीको वीचमा रहेको मेघावरण जस्तै परमात्मा र जीवको मध्य भागमा विद्यमान रहेर परमात्मालाई जीवचक्षुबाट लुकाई राखेको छ । मानिसहरू यस इछाशक्तिको वशमा परेर म यो गर्छु त्यो गर्छु, यो मेरो हो, त्यो मेरो हो यस किसिमका वासना विलासद्वारा मुग्ध (मोहित) ज्ञानहारा हुन्छन् ।  अतः आवरणभेद गरेर अज र अव्यय परमात्माको स्वरूपलाई जान्न सक्दैनन् । परन्तु जुन साधक भक्तिबलले योगमायाको आवरण भेद गर्न सक्छन्, अर्थात् संसार वासना त्याग गर्न सक्छन्, तिनीहरूको आँखालाई ढाक्ने पर्दा खुल्छ  साधकलाई सबै प्रष्ट हुन्छ र परमेश्वर पनि उसको नजिक प्रकट हुनुहुन्छ । अतः भगवान्ले भन्नु भएको छ 'म' सबैका  लागि प्रकाशित छैन अर्थात् भगवान् भक्त र ज्ञानीका लागि सदा  प्रकाशमान हुनुहुन्छ, अभक्त र अज्ञानीका लागि अप्रकाश हुनुहुन्छ ।

    वेदाहं समतीतानि वर्तमानानि चार्जुन ।
    भविष्याणि च भूतानि मां तु वेद न कश्चन ।। २६ ।।

क्रमशः

याे पनि

मनुष्यहरूको ज्ञान, भक्ति र सिद्धि प्राप्तीकाे बाटो

मणिमय मालाको धागो , 'म' र सर्वतत्वको मित्र ब्रम्हसूत्र

उपासनामा अपरोक्ष ज्ञान लाभ प्राप्तीका पाँच श्लोक र सोह्र विभूति

सात्विक, राजसिक र तामसिकः त्रिगुणमय भावले मोहित  समस्त जीवहरूकाे यथार्थ

सबै जीवहरूका अभ्यन्तरमा रहेको 'म' रूपी विद्यमान अवस्था