भूतशुद्धिकाे योजना के हाे ? यस जीव उपाधिलाई कसरी परित्याग गर्ने ?
असार ६, २०७७

   अन्तकाले च मामेव स्मरन्मुक्त्वा कलेवरम् ।
    यः प्रयाति समद्भावं याति नास्त्यत्र संशयः ।। ५ ।।

अन्वय र अर्थ – अन्तकाले = मृत्युको समयमा, च = पनि, मां एव = म परमेश्वर विष्णुलाई नै, स्मरन् = स्मरण गर्दो छँदो, कलेवरं = शरीरलाई,मुक्ता = त्याग गरेर, यः = जुन पुरुष, प्रयाति = जान्छ, सं = त्यो पुरुष, मद्भावं = मेरो परमस्वरूपमा, याति = प्राप्त हुन्छ, अत्र = यसमा, संशयः = कुनै आशंका, न अस्ति = छैन ।

भावार्थ – अन्तकालमा जसले मलाई स्मरण गर्दै गर्दै देह त्याग गर्दछ, त्यो मेरो भावमा नै प्राप्त हुन्छ, यसमा कुनै संशय छैन ।

विशिष्टार्थ – अर्जुनको सातौं प्रश्नको उत्तर श्लोक ९ र १० हुन् अर्थात् जुन उपायले भगवान् प्रयाणकालमा ज्ञेय हुनुहुन्छ त्यो कुरा यी दुई श्लोकमा भनिएको छ । परन्तु त्यो उपाय अभ्यास सापेक्ष छ । अतः भगवान्ले ५ देखि ८ श्लोकहरूमा मृत्युकालको मानसिक अवस्थाको फल भनेर अभ्यास–सकरण भन्नु भएको छ ।  पाँचौ श्लोकमा भनिएको छ – अन्तकालमा मलाई संझेर देह त्याग गर्नाले मद्भावमा प्राप्त हुन्छ, यसको कारण स्वरूप छैठौं श्लोकमा भनिएको छ, जुन हेतु देह त्याग गर्ने वेलामा जुन भावको स्मरण  हुन्छ, सोही भाव  प्राप्त  हुन्छ ।  त्यसकारण  सप्तम  श्लोकमा  सर्वकाल  'मामनुस्मरन्' र युद्ध  (प्राणायामादि) गर्न भनिएको छ । त्यसपछि आठौं श्लोकमा भनिएको छ – यस प्रकारको अभ्यास योगले चित्त जब अनन्तगामी हुन्छ तब मात्र परमपुरुष प्राप्त हुन्छ । यी सबै कुरा पूर्व सूचना स्वरूप बताएर पछि ९ र १० श्लोकमा भगवान्ले प्रयाणकालमा कुन उपाय र कुन प्रकारले ज्ञेय हुनुहुन्छ  त्यो बताउनु भयो । यी श्लोकहरूलाई क्रमान्वय पढ्नाले सबै थाहा हुनेछ ।

भगवान् भन्नुहुन्छ – अब हेर, त्यस अक्षरब्रम्हदेखि लिएर यस अधियज्ञ पर्यन्त सबै कुरा मेरै आश्रय गरेर रहन्छन्, अतः म वासुदेव हुँ, (जसका शरीरमा सबै वास गर्दछन्, जो सबैको आश्रय हो, यस जगतका समस्त जीव जसको शरीरका अंगप्रत्यङ्ग हुन् तथा जो शरीर वा शरीरी हैन, उही वासुदेव हो) । यस्तो जो 'म' त्यस 'म' को 'म' जानेर अर्थात् मातृ पितृ अंश यो शरीर 'म' हैन यस ज्ञानले जसले शरीरलाई त्याग गर्दछ उही 'म' हुन्छ अर्थात् आत्मस्वरूप लाभ गर्दछ । यसमा संशय गर्ने कुनै प्रयोजन छैन, यो कुरा सत्य हो ।

    यं यं वापि स्मरन् भावं त्यजत्यन्ते कलेवरम् ।
    तं तमेवैति कौन्तेय सदा तद् भाव भावितः ।। ६ ।।

अन्वय र अर्थ – कौन्तेय = हे कौन्तेय ! अन्ते = अन्तकालमा, यं यं = जुन जुन, वा अपि= पनि, भावं = भावलाई,स्मरन् = स्मरण गर्दो छँदो, कलेवरं = देहलाई, त्यजति = त्याग गर्छ, सदा = हमेसा, तद्भावभावितः = त्यस भावले भावित जीव, तं तं = सोही सोही स्मरण गरेको भावमा, एव = नै, एति = प्राप्त हुन्छ ।

जब केवल मात्र 'एक्लो हुँ' लाई छोडेर अरू कुनै बोध गर्दैन, फेरि पनि क्रमानुसार म हुँ यस प्रकारको बोध पनि गर्दैन अथवा चैतन्य विलुप्त नभएर ऊखूको रसमा घोलिएको गुलियो जस्तै चैतन्यघनमा गएर मिल्दछ, तब मात्र  योगयुक्त र अनन्यगामी चेतन भनिनेछ । यसै अवस्थामा षोडशकला विशिष्ट छायाविहीन अंगुष्ठमात्र तेजस पुरुषको दर्शन हुन्छ ।

भावार्थ – हे कौन्तेय ! सर्वदा अभ्यास हेतु जसको मनमा जुन भाव प्रबल हुन्छ, त्यसले अन्तकालमा सोही भावलाई स्मरण गर्दै गर्दै शरीर त्याग गर्दछ, अतएव ऊ सोही भावनामय शरीरमा नै प्राप्त हुन्छ ।

विशिष्टार्थ – जब आयु सकिन्छ, पुनः मृत्यु आउँछ । यो जुन सन्धि समय हो, यस समयमा जुन मनोवृत्तिद्वारा जसले शरीर (शेषनिःश्वास) त्याग गर्दछ, त्यसले सोही वृत्ति अनुरूपको अवस्थालाई प्राप्त गर्दछ । अतः प्रति निश्वासको शेष अवस्थामा त्यो तद्विष्णुको परमपद मन मनै देख्दै देख्दै निश्वास त्याग गर्नु उचित छ । किन कि मलाई त थाहा छैन मेरो अन्तिम निश्वास यही हो वा होइन । साधक २१६०० पटकको प्रत्येक निःश्वासमा नै सावधान हुनु पर्दछ ।

    तस्मात् सर्वेषु कालेषु मामनुस्मर युध्य च ।
    मग्यर्पित मनोबुद्धि र्मामेवैष्यस्य संशयम् ।। ७ ।।

अन्वय र अर्थ – तस्मात् = त्यसकारण, सर्वेषु कालेषु = हरहमेसा, मां = मलाई, अनुस्मर = स्मरण गर, युद्ध च = स्वधर्मरूप युद्ध पनि गर, मय्यर्पित मनो बुद्धिः = ममा अर्पित मन बुद्धिवाला बनेर, असंशयं = निःसन्देह, मां एव = ममा नै, एष्यसि = प्राप्त हुने छौ ।

भावार्थ – अतएव सर्वकालमा मलाई संझिराख र युद्ध गर, तिम्रो मन र बुद्धि ममा अर्पित हुनाले नै तिमीले निःसन्देह मलाई नै अर्थात् यथाचिन्तित स्वरूपलाई नै प्राप्त गर्ने छौ ।

विशिष्टार्थ – त्यसकारण म भन्दछु –सर्वकालमा अर्थात् सर्वदा (रातको साढे ९ बजेपछि सांढे चार बजेसम्म) मेरो अणु (प्रणव) को स्मरण गर्दै गर्दै युद्ध (प्राणायाम आदि क्रिया) गर । युद्ध गर्नु भनेको काटमार गर्नु हो । मार्न जाँदा एक पटक हतियार उठाउने र एक पटक प्रहार गर्ने हुन्छ, तिमी पनि जब श्वास (वाण) उठाउंछौ र फाल्छौ, तब गरूपदेश अनुसारको क्रियाद्वारा पृथ्वी जलमा, जल तेजमा, तेज वायुमा, वायु आकाशमा, आकाश इन्द्रिय पञ्चकमा, इन्द्रियहरूलाई तन्मात्रामा, तन्मात्रा अहंकारमा, अहंकार महतत्वमा र महत्वलाई जीवमा योजना गर्ने छौं । यस्तो योजनाको नाम नै भूतशुद्धि हो । यस भूतशुद्धिद्वारा स्वरूपस्थ भएर जीव उपाधिलाई परित्याग गर्ने छौ । यस्तो एभपछि नै तिमी संशयशून्य 'म'  हुनेछौ । किन कि मन र बुद्धि भन्दा माथि नै 'म' छ, यी दुबैलाई ममा फाल्नाले नै 'म' भइन्छ । यसमा कुनै सन्देह छैन ।

    अभ्यास योगयुक्तेन चेतसा नान्यगामिना ।
    परमं पुरुषं दिव्यं याति पार्थानुचिन्तयन् ।। ८ ।।

अन्वय र अर्थ –  पार्थ= हे पार्थ ! अभ्यासयोगयुक्तेन = अभ्यास रूप योगले युक्त, नान्यगामिना = विषयान्तरमा नजाने, चेतसा = चित्तद्वारा, अनुचिन्तयन् = शास्त्र एवं गुरुको उपदेश अनुसारको चिन्तन गर्दो छँदो, दिव्यं = दिव्य, परमं = परम, पुरुषं = पुरुषमा, याति = जान्छ ।

भावार्थ – हे पार्थ ! अभ्यासरूप योग गरेर युक्त (एकाग्र) तथा अनन्यगामी चित्तद्वारा अनुचिन्तन गर्दै गर्दै (योगी) दिव्य परम पुरुषमा प्राप्त हुन्छन् ।

विशिष्टार्थ – माथि लेखिएको यो जुन भूतशुद्धि र प्रकृतिलयको उपदेश हो, मनमा स्मरण गरेर मात्र हुँदैन । छैठौं अध्यायको उपदेश अनुसार कैयौं दिनको अभ्यास गर्दै गर्दै साधक, जब योगमा युक्त हुन्छ, (युक्तावस्था = एक वस्तुलाई अर्कोमा मिलाउनु योग हो, जस्तो ताँबोलाई सुनका साथ मिलाएर गलाउँदा दुबै गलेर एक हुन्छ र सुन जस्तो प्रतीत हुन्छ, ताँबो भनेर चिनिदैन, त्यस्तै साधनद्वारा पुरुषमा महामायाको लय पछि साकमा अरू कुनै माया विकारको प्रकाश हुँदैन, यस्तो एक हुनको नाम युक्तावस्था हो ।) अर्थात् जब मन गुरूपदिष्ट क्रियामा मूलाधारदेखि योगस्थान हुँदै माथि बढ्दै बढ्दै कूटस्थमा पुगेर 'अहं ममत्व' एकदम विर्सिदिन्छ, जब केवल मात्र 'एक्लो हुँ' लाई छोडेर अरू कुनै बोध गर्दैन, फेरि पनि क्रमानुसार म हुँ यस प्रकारको बोध पनि गर्दैन अथवा चैतन्य विलुप्त नभएर ऊखूको रसमा घोलिएको गुलियो जस्तै चैतन्यघनमा गएर मिल्दछ, तब मात्र  योगयुक्त र अनन्यगामी चेतन भनिनेछ । यसै अवस्थामा षोडशकला विशिष्ट छायाविहीन अंगुष्ठमात्र तेजस पुरुषको दर्शन हुन्छ ।

    कविं पुराण मनुशासितारमणोरणीयांसमनुस्मरेद् यः ।
    सर्वस्य धातारमचिन्त्यरूपमादित्यवर्णं तमसः परस्तात् ।। ९ ।।

    प्रयाणकाले मनसाचलेन भक्त्यायुक्तो योगबलेन चैव ।
    भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैतिदिव्यम् ।। १० ।।

क्रमशः

याे पनि

सात्विक, राजसिक र तामसिकः त्रिगुणमय भावले मोहित  समस्त जीवहरूकाे यथार्थ

सबै जीवहरूका अभ्यन्तरमा रहेको 'म' रूपी विद्यमान अवस्था

'योगमाया' अर्थात वासनाः इछाशक्तिको नियन्त्रण र शक्ति त्रिगुणको संयोग

अक्षर ब्रम्ह अर्थात पानीका तीन अवस्था तरल, ठोस र वाष्प

ब्रम्हतत्व के हो ? अध्यात्म के हो ? कर्म के हो ? अधिभूत केलाई भन्दछन् ? अधिदैव पनि कसलाई भन्दछन् ?