अक्षर ब्रम्ह अर्थात पानीका तीन अवस्था तरल, ठोस र वाष्प

अक्षर ब्रम्ह अर्थात  पानीका तीन अवस्था तरल, ठोस र वाष्प

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  बैशाख २०, २०७७

    वेदाहं समतीतानि वर्तमानानि चार्जुन ।
    भविष्याणि च भूतानि मां तु वेद न कश्चन ।। २६ ।।

अन्वय र अर्थ – अर्जुन = हे अर्जुन ? अहं = म, समतीतानि = पहिले भैसकेका, वर्तमानानि च = अहिले भैरहेका र, भविष्याणि च = पछि हुने पनि, भूतानि = त्रि–कालवर्ती स्थावर जंगम आखि सबै, वेद = जान्दछु , तु = किन्तु, मां = मलाइर्, कश्च न = मेरो शरणमा आएका भक्त बाहेक अरू कोही पनि, न वेद = जान्दैनन् ।

भावार्थ – हे अर्जुन ! भूत, भविष्यत् वर्तमान तीन कालका भूत समूहलाई म जान्दछु, परन्तु मलाई कोही पनि जान्दैन ।

विशिष्टार्थ – 'म' अर्थात् परमात्मा वा परमेशवर नित्य, शुद्ध, बुद्ध, मुक्त स्वभाव सम्पन्न हुनुहुन्छ । उहाँ वाणी विलासमा मायाभुक्त भएर पनि सदा मायातीत हुनुहुन्छ, किन कि परमात्मा मायाको आवरणद्वारा मूढतामा प्राप्त हुनुहुन्न । उहाँ परिणाम शून्य र निरहंकार हुनुहुन्छ, त्यसकारण जगत्मा भूत, भविष्यत्, वर्तमान काल भेद रहेता पनि उहाँमा सबै वर्तमान छ, उहाँ सर्वज्ञ हुनुहुन्छ । जीवगण अहंकार युक्त हुनाले अल्पज्ञ छन्, अतः प्रभुलाई जान्न सकदैनन् । जस्तो आकाशमा डम्म बादल लागेर सूर्य ढाकिंदा लोकचक्षुले त्यस मेघावरणलाई भेदन गरेर सूर्यलाई देख्न सक्दैन, परन्तु मेघ  जति नै  घना होस् सूर्यको ज्योतिले त्यसलाई भेदन गरेर जगत्लाई प्रकाश गर्दछु, अल्पज्ञ जीव र सर्वज्ञ सर्वशक्तिमान ईश्वरमा पनि ठीक त्यस्तै  प्रभेद छ । जुन साधक साधनाको धन ज्ञानभक्तिद्वारा अहंकारलाई नाश गर्न सक्छन्; उनको  चक्षुको ज्योतिले आवरण शक्तिको नाश हुन्छ, वा हीनप्रभा भएर जान्छ यस कारण परमेश्वरलाई साधकले प्रत्यक्ष गर्दछ ।

मायातीत वा गुणातीत, अतएव परंब्रम्ह निर्गुण छ । निर्गुणको उपासना हुंदैन । सगुणको उपासनाद्वारा निर्गुणमा परिणत हुनु हो । अतः भगवान्ले भन्नु भएको छ मलाई अर्थात् सगुण अक्षर ब्रम्ह परमात्मालाई आश्रय गर्नाले नै जीव सर्वज्ञ भएर अध्यात्म र कर्म आदि सबै कुरा जान्न सक्छ । तथा निर्गुण ब्रम्हमा पनि प्राप्त हुन्छ ।

    इच्छाद्वेषसमुत्थेन द्वन्द्वमोहेन भारत ।
    सर्वभूतानि सम्मोहं सर्गे यान्ति परन्तप ।। २७ ।।

अन्वय र अर्थ – भारत = हे भारत ! परन्तप = हे परन्तप !सर्गे = स्थूल देहको उत्पत्ति हुंदा नै, सर्वभूतानि = सम्पूर्ण प्राणीहरू, इच्छाद्वेषसमुत्थेन = इच्छा र द्वेषद्वारा समुत्पन्न, द्वन्द्वमोहेन = शीतोष्ण सुखदुःखादि द्वन्द्व निमित्तक  मोहद्वारा विवेकनष्ट भएर, सम्मोहं = म नै सुखी म नै दुःखी यस्तो दृढ निश्चयमा, यान्ति = पुग्छन् ।

भावार्थ – हे भारत ! हे परन्तप ! स्थूल देह उत्पन्न हुँदा खेरी नै प्राणीहरू इच्छा द्वेष जनित द्वन्द्व मोहमा प्राप्त हुन्छन् ।
०००००
विशिष्टार्थ – जीव कहिले योगमायाको वशमा परेर अज्ञानान्ध हुन्छ ? यस प्रकारको प्रश्न उठाएर त्यसको उत्तर स्वरूप यस श्लोकमा भनिएको छ – जीव जन्म लिनासाथ योगमायाको वशमा हुन्छ । जुन बेला जीवको सर्ग अर्थात् स्थूल शरीर धारण या जन्म हुन्छ, तत्क्षणात् उसको मनमा इच्छा–द्वेषको संचार हुन्छ अर्थात् शारीरिक स्वच्छन्दताका प्रति इच्छा र अस्वच्छन्दताका प्रति द्वेष हुन्छ । यो इच्छा द्वेष आउनाले नै द्वन्द्व मोहको उत्पत्ति हुनछ । अर्थात् जीव स्वच्छन्दतामा सुख वोत्र गरेर स्वस्थ (चूपचाप) रहन्छ, अनि अस्वच्छन्दामा दुःख बोध गरेर रोइरहन्छ ।यसरी सुख दुःख आदि मोमय दुबै भावको वबीभूत भएर आफ 'म'लाई विर्सन्छ, संसार तरङ्गमा मोहित भएर रहन्छ ।

    येषां त्वन्तगतं पापं जनानां पुण्यकर्मणाम् ।
    ते द्वन्द्वमोहनिर्मुक्ता भजन्ते मां दृढब्रताः ।। २८ ।।

अन्वय र अर्थ – तु = किन्तु, येषां = जुन, पुण्यकर्मणां = पुण्य आचरणशील, जनानां = जनहरूको, पापं = मनको चंचलता, अन्तगतं = नष्ट भएकोछ, ते = तिनीहरू, द्वन्द्वमोहनिर्मुक्ताः = द्वन्द्व निमित्तक मोहद्वारा निर्मुक्त, दृढब्रताः = धर्म साधनामा अटल भएर, मां = मलाई, भजन्ते = भज्दछन् ।

भावार्थ – परन्तु जुन पुण्यकर्मीहरूको पाप नष्ट भएको छ, तिनीहरू द्वन्द्व मोहबाट मुक्त र दृढव्रत भएर मलाई भज्दछन् ।

विशिष्टार्थ – जुन कर्मले शरीर र मन पवित्र हुन्छ, त्यसैलाई पुण्यकर्म भनन्छ। सात्विक आहार, सात्विक व्यवहार, सात्विक क्रिया–यी सबैबाट शरीर पवित्र हुन्छ, अर्थात् शरीरमा पवित्रता तथा ग्लानि विहीन निर्मल ईश्वरीय तेजको संचार हुन्छ र प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि यी सबै साधनाले मन पवित्र हुन्छ । अतः शरीर र मनलाई पवित्र गर्ने यी सबै पुण्यकर्म हो, र जसले यी सबै पुण्यकर्महरू गर्दछन्, तिनीहरू पुण्यकर्मा हुन् । पुण्यकर्मा भएपछि नै पाप नष्ट हुन्छ । शरीर र मनको मैलाको नाम पाप हो । रजस्तमः प्रधान रस शरीरको मैलो हो, यो मैलो रहिरहँदा कूटस्थमा आत्मज्योति प्रतिफलन शक्तिको ह्रास  हुन्छ, तब अरू अन्तर्दृष्टिद्वारा केही पनि लक्ष्य हुँदैन । विषयासक्ति र अनुदारता मनका मैला हुन्, मनको मैलो नै विषम अनिष्टकारी छ,  किन कि यो मैलो रहेसम्म साधनपथमा अग्रसर भइदैन । पाप नष्ट भएपछि मात्र  द्वन्द्वमोबाट मुक्ति पाइन्छ, अर्थात् वैषयिक सुख दुःखमा अरू अभिमूत हुनु पर्दैन । अतएव अरू कुनै विध्न आइपर्दैन दृढव्रत पनि भइन्छ । यस्तो अवस्थापन्न व्यक्तिले नै परमात्माको भजन गर्दछन्, अर्थात् अभेदभावले परमात्माको साक्षात्कार लाभ गर्दछन् ।

    जरामरण मोक्षाय मामाश्रित्य यतन्ति ये ।
    ते ब्रम्ह तदविन्दुः कृत्स्नमध्यात्मं कर्म चाखिवलम् ।। २९ ।।

अन्वय र अर्थ – ये = जुन जनहरू, जरामरणमोक्षाय = जरा र मृत्युबाट छुटकारा पाउनका लागि, मा = ममा, आश्रित्य = आश्रय लिएर (चित्तलाई समाहित गरेर), यतन्ति = प्रयत्न गर्दछन्, ते = तिनीहरू, तत् = त्यो, ब्रम्ह = परब्रम्हलाई, विदुः = जान्दछन्, (एवं = यस्तै), कृत्स्नं = समस्त, अध्यात्मं = अन्तरात्म विषयक वस्तुलाई, (विदुः = जान्दछन्), अखिलं =  सम्पूर्ण (रहस्ययुक्त), कर्मं = कर्मलाई, च = पनि, (विदुः = जान्दछन् )।

भावार्थ – जुन मानिसहरू जरामरण निवारणका लागि मलाई आश्रय गरेर प्रयत्न गर्दछन् तिनीहरू त्यो परब्रम्ह, समस्त अध्यात्म र अखिल कर्मलाई जान्दछन् ।

विशिष्टार्थ – जरामरण नै जीवको आर्त (दारुण दुुःख) हो । शरीरको जीर्णताको नाम जरा र जसरी देह त्याग भएर पुनः देह धारण गर्नु पर्छ त्यसैको नाम मरण हो ।

जरामरणनिवारणका लागि जुन साधक भगवत् सेवामा नियुक्त हुन्छन् तिनीहरू आर्तभक्त हुन् । आर्तभक्त नै क्रमोन्नतिद्वारा जिज्ञासु, अर्थार्थी र ज्ञानी हुन्छन्, अतः तद्ब्रम्ह अध्यात्म र कर्मको सम्पूर्ण रूप भनेर जान्न सक्छन् । ब्रम्ह एक अद्वितीय भएर पनि जगत् रचना व्यापारको हिसावले उसका तीन अवस्था छन् । यी तीन अवस्थाहरू जस्तो – कार्य ब्रम्ह, शब्दब्रम्ह र परब्रम्ह हुन् । कार्य ब्रम्ह – जीवजगत् हो, यसैलाई क्षर भन्दछन् । शब्द ब्रम्ह – परमेश्वर हो, यो जीव जगत्को आश्रय कूटस्थ अक्षर पुरुष हो, अतः यो सगुण हो । अनि जो परब्रम्ह हो क्षर अक्षरबाट अतीत उत्तम पुरुष हो । उत्तम अर्थमा – उत्+तम अर्थात् तम वा मायाको ऊध्र्वमा – मायातीत वा गुणातीत, अतएव परंब्रम्ह निर्गुण छ । निर्गुणको उपासना हुंदैन । सगुणको उपासनाद्वारा निर्गुणमा परिणत हुनु हो । अतः भगवान्ले भन्नु भएको छ मलाई अर्थात् सगुण अक्षर ब्रम्ह परमात्मालाई आश्रय गर्नाले नै जीव सर्वज्ञ भएर अध्यात्म र कर्म आदि सबै कुरा जान्न सक्छ । तथा निर्गुण ब्रम्हमा पनि प्राप्त हुन्छ ।

अक्षर ब्रम्ह नै आश्रयणीय हो, क्षरब्रम्ह र परंब्रम्ह आश्रयणीय होइनन् भन्ने कुरा सम्झाउन पानीको उदाहरण दिइएको छ । जस्तै पानीका तीन अवस्था हुन्छन्, तरल, ठोस र वाष्प । तरल अवस्था नै जीवको जीवन हो, ठोस अवस्थाले जीवीकामा विध्न पुर्‍याउँछ भने वाष्प अवस्था आयत्तातीत छ, परन्तु विज्ञानको माध्यमबाट वैज्ञानिकहरू इच्छा अनुसार तरलबाट ठोस र वाष्प अवस्था उत्पादन गर्न सक्छन् । ठीक त्यसरी नै कार्यब्रम्ह जीवको बन्धन हो र परंब्रम्ह साध्यातीत छ, शब्द ब्रम्ह नै अमीष्टप्रद छ । यो मन्त्र रूपी छ । यसलाई एकान्त चित्तले अवलम्बन गर्नाले नै यो मनोहर चिद्घन रूपले प्रत्यक्ष हुन्छ, अनि सर्वज्ञ र सर्व शक्तिमान् भएर इच्छानुसार सर्वव्यापी तथा परंब्रम्हमा लीन भइन्छ ।

    साभिधूताधिदैवं मां साधियज्ञञ्च ये विदुः ।
    प्रयाणकालेऽपिच मां ते विदुर्युक्तचेतसः ।। ३० ।।

क्रमशः

याे पनि 

मणिमय मालाको धागो , 'म' र सर्वतत्वको मित्र ब्रम्हसूत्र

उपासनामा अपरोक्ष ज्ञान लाभ प्राप्तीका पाँच श्लोक र सोह्र विभूति

सात्विक, राजसिक र तामसिकः त्रिगुणमय भावले मोहित  समस्त जीवहरूकाे यथार्थ

सबै जीवहरूका अभ्यन्तरमा रहेको 'म' रूपी विद्यमान अवस्था

'योगमाया' अर्थात वासनाः इछाशक्तिको नियन्त्रण र शक्ति त्रिगुणको संयोग