उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान : विच्छैद नै मृत्यु र अविच्छेद अमृत !

उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान : विच्छैद नै मृत्यु  र अविच्छेद अमृत !

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  फाल्गुन ९, २०७७

    उच्चैः श्रवसमश्वानां विद्धि माममृतोद्भवम् ।
    ऐरावतं गजेन्द्राणां नराणां च नराधिपम् ।। २७ ।।

अन्वय र अर्थ –मां = मलाई, अश्वानां (मध्ये) = अश्वहरूमध्ये, अमृतोद्भवं = अमृत प्राप्तिका लागि समुद्र मन्थनबाट उत्पन्न, उच्चैः श्रवसं = उच्चैश्रवा नामक, गजेन्द्राणां = ठूलाठूला हात्तिहरूमध्ये, ऐरावतं = इरावतीको पुत्र, नराणां च = मनुष्यहरूमध्ये पनि, नराधिपं = नरपति, विद्धि = जान ।

भावार्थ – घोडाहरूमध्ये अमृतोद्भव उच्चैःश्रवा, हात्तिहरूमध्ये ऐरावत र मनुष्यहरूमध्ये नरपति भनेर मलाई जान ।
००००
विशिष्टार्थ – 'उच्चैः श्रवसं'– जब साधक सुषुम्ना भित्र ब्रम्हनाडी हुँदै (त्यो ब्रम्हनाडीलाई नै क्षीरसमुद्र भन्दछन्) यथोपदिष्ट मनमा आवामगन गर्दछन् त्यसैलाई नै समुद्र मन्थन भन्दछन् । क्रिया गर्दा गर्दा प्रवह्, संवह, विवह, उद्वह, आवह, परिवह, र परावह यी सात प्रधान वायुको उदय हुन्छ । यिनीहरूमध्ये संवहको परिवार युक्त अपान, विवहको समान, उद्वहको व्यान, आवहको उदान र परिवहको प्राण हो । प्राणको कार्य शरीर भित्र रहेर शरीरको रक्षा गर्नु र अपानको कार्य शरीरको भित्रबाट प्राणलाई बाहिर फाल्नु हो । प्रति निःश्वास प्रश्वास नै यी दुई वायुको संघर्ष चलिरहेको हुन्छ । परन्तु क्रियाकालको संघर्षमा केही विशेषता छ । प्रत्येक कमलको प्रत्येक दलमा शक्तिरूपले एक एक वायु रहन्छ । त्यो जुन एक एक वायु हो, ती सबैको  सामञ्जस्य राख्नका लागि मूलाधारदेखि सहस्रार पर्यन्त प्रति कमलमा यथाक्रम अनुसार कीर्ति, श्री, वाक्, स्मृति, मेधा, धृति र क्षमा नामले सात मातृका शक्तिहरू छन् । क्रियाकालमा जब बहिराकाशको वायु शरीरमा प्रवेश गर्दछ, तब मूलाधारबाट कीर्ति माथि उठ्छ र सहस्रारबाट क्षमा तल ओर्लन्छ, यी दुबै शक्ति र अन्य शक्तिहरूको आवागमनमा सबै शक्तिहरूको अवस्थामा परिवर्तन हुन्छ । क्षमाको स्थानमा कीर्ति पुगेपछि तत्क्षणात् कीर्तिको कृतीत्व लोप हुन्छ र क्षमाले कीर्तिको स्थानमा अधिकार जमाउनासाथ त्यहाँ क्षमत्वको विस्तार हुन्छ । वीचका शक्तिहरू जसरी प्रारम्भिक अवस्थामा क्रिया (सृष्टिस्थिति) गर्दथे अब उनीहरूका क्रिया विपरित भए अर्थात् ब्रम्हमुखी बने । यसकारण षट्पत्रका प्रत्येक पत्रको वायुको गति विपरीत भयो अर्थात् संसारमुखीमा जुन जुन कार्य गर्दथे त्यो सबै समेटेर असंसारमुखमा आफ्नो आफ्नो शक्ति प्रहार गर्न थाले । यी सबैको समष्टि शक्तिबाट चौध प्रकारको  स्वरको आविर्भाव भयो । यो समस्त शब्द विच्छेद शून्य निरन्तर र उच्च स्वरमा सुनिन्छ, त्यसकारण यसको नाम 'उच्चैःश्रवसं' राखियो । यो अविच्छेद निरन्तरत्व ममा नै प्रतिष्ठित भएको हुनाले म नै  'उच्चैः श्रवा'हुँ । उच्चैः श्रवा अश्वहरू मध्ये प्रधान हो । अश्व एक भार वाहक पशु हो । शरीरभित्र जुन सबै वायुहरू निःश्वास रूपले मनलाई बोकेर बाहिर ल्याएर शब्द स्पर्श रूप–रस–गन्धसंग संग्रह गराएर फेरि प्रश्वास रूपले भित्र मनोमय कोषमा  लगेर ती सबैको भोग गराउँछन्, तिनै निःश्वास र प्रश्वासरूप दुई प्रकारको वायुलाई अश्व भन्दछन् । यिनीहरूमध्ये मनलाई जसले नादभित्र लगेर तद् विष्णुको परम पद साक्षातत्कार गराउँछ त्यो नै उच्चैःश्रवस् हो जस्तो माथि बताइएको छ ।

कुनै विषय छैन, कुनै भोग छैन, कुनै कुराको प्राप्ति पनि छैन, परन्तु समस्त प्राप्तिको प्राप्ति पाउँदै पाउंँदै माथि पुगेर  तिमी  विलीन  हुन्छौ । तब  तिमीलाई  के भित्र (अभ्यन्तर), के बाहिर कुनै प्रकारको बोध हुँदैन । यस अवस्थामा कूटस्थमा पूर्व दिशामा श्वेत हस्तीको दर्शन हुन्छ यो अवस्था मदेखि भिन्न छैन, त्यसकारण गजेन्द्रहरूमध्ये म ऐरावत हुँ ।

विच्छैद नै मृत्यु हो र अविच्छेद अमृत  । यस अविच्छेदको ध्वनिले यस अवस्थाको परिज्ञान हुन्छ, त्यसकारण उच्चैः श्रवस्लाई अमृतबाट उत्पन्न  '(अमृतोद्भव)' भनिएको हो । किन कि यस अवस्थामा साधकको सहस्रारबाट क्षरित सुधाले अविश्रान्त मूलाधार स्थित क्षमालाई अभिषेक गरिरहन्छ, अनि सोही अमृतको गति फर्किनाका कारण त्यसमा अरू अपक्षय हुँदैन । यस अपक्षयशून्य अवस्थामा नै त्यो स्वर श्रवणमा आउंछ । यस अवस्थामा शक्ति–अग्निको क्रिया हुन्छ (बहिर्मुखी वृत्ति रहदैन), अतः उच्चै श्रवालाई इन्द्रको वाहन भनिन्छ ।

'ऐरावतं गजेन्द्राणां'–ऐरावत– (इरा = जल, वत् = सदृश) जल सदृश, परन्तु जल हैन, तृष्णा निवारणक्षमतृप्तिविशेष हो । गज–जो स्पर्शसुखबाट गल्छ, जो स्पर्शसुखबाट आत्महारा बन्छ । इन्द्र भनेको श्रेष्ठ हो । अर्थात् जो केवल स्पर्शसुखबाट आत्महारा बनेर जगत्का समस्त विषयहरूको तृष्णा निवारणक्षम तृप्ति भोग गर्छ उसलाई गजेन्द्र (ऐरावत) भन्दछन् । साधक ! अब तिमी यसलाई आफूमा मिलाऊ । जब तिमी मणिपुरबाट अष्टधा बलयाकारा स्थान भेद गरेर अनाहत (मोहको स्थान) लाई भेद गर्न जान्छौ, त्यस बेला तिमी स्पर्श सुखबाट यति मोहित, यति आत्महारा हुन्छौ जसमा तिम्रा शरीरका  सम्पूर्ण रौंहरू ठाडा हुन्छन्, तिम्रो सारा शरीरमा कम्पन उत्पन्न हुन्छ–शीत छैन, जाडो छैन परन्तु कम्पन, यस्तो कम्पन जसलाई कुनै प्रकारले निवारण गर्न सकिदैन– तिम्रो पैतलादेखि तालुसम्म भित्र बाहिर कम्पायमान गराइदिन्छ । त्यस बेला तिम्रो हृदयमा र मस्तकमा यस्तो सिरसिरे चिसो चिसो स्पर्शशक्तिको अनुभूति हुनेछ, जसले तिमीलाई जगत्को समस्त भोगको तृप्ति मिलाइदिन्छ । कुनै विषय छैन, कुनै भोग छैन, कुनै कुराको प्राप्ति पनि छैन, परन्तु समस्त प्राप्तिको प्राप्ति पाउँदै पाउंँदै माथि पुगेर  तिमी  विलीन  हुन्छौ । तब  तिमीलाई  के भित्र (अभ्यन्तर), के बाहिर कुनै प्रकारको बोध हुँदैन । यस अवस्थामा कूटस्थमा पूर्व दिशामा श्वेत हस्तीको दर्शन हुन्छ यो अवस्था मदेखि भिन्न छैन, त्यसकारण गजेन्द्रहरूमध्ये म ऐरावत हुँ ।

'नराणां च नराधिपम्'– नर समूहमध्ये म नराधिप हुँ । नर–नृ+अ । नृ– लिनु, अ–न । जुन अवस्थामा लिनु पाउनु केही रहदैन त्यो नै नर अवस्था हो । लिनु, पाउनु जे छ त्यो विषयमा नै छ । विशुद्धचक्र (कमल) सम्म विषय हुन्छन् । त्यसभन्दा माथि आज्ञाचक्रमा पुगेपछि नै आत्मोन्नतिको अधिकार प्राप्त हुन्छ । जसले आत्मोन्नतिको अधिकार प्राप्त गरेको छ त्यसैलाई नर भन्दछन् । फेरि आज्ञाचक्रभन्दा माथि पुगेर ओर्लेन भने अधिप हुन्छ । किन कि यहाँबाट आत्मोन्नति पनि हुन्छ र अनासक्तभावमा रहनाका लागि विषयादिको पनि पालन गर्न सकिन्छ । यस स्थानमा रहेर उत्तम पुरुष विष्णुको दर्शन गरेर तदाकारत्व प्राप्ति हुन्छ । पालन जसले गर्छ उही अधिप हो । भगवान् विष्णु यस जगत (विषयादि भोग स्थान) को पालना गर्नुहुन्छ, तथा निर्लिप्तभावले रहनुहुन्छ, त्यसकारण उहाँ योगेश्वर हुनुहुन्छ । अतः म भन्छु – नर समूहमध्ये नर श्रेष्ठ अधिप नै विष्णु हुनुहुन्छ । अनि सोही विष्णु 'म' हुँ ।

आयुधानामहं वज्रं धेनूनामस्मि कामधुक् ।
प्रजनश्चास्मि कन्दर्पः सर्पाणामस्मि वासुकिः ।। २८ ।। क्रमश:

याे पनि 

कपिलदेव अर्थात् 'कपिल मुनि' : पुनर्जन्म र फलभोगमा समस्त सिद्धि निरन्तरताका विद्यमान अवस्था

बुध ग्रह र सूर्यको समीपको सम्बन्ध र महाप्रकाशको प्रत्यक्ष अवगत

जब मैले भोग गरेर ओर्लेँ, तबमाथि जे जे भनिएका छन् ती सबै सत्य मानेँ !

'गुडाकेश' र आत्मा' : सर्वभूतहरूको आशय अथवा अधिपतिको नाम

पाँच ज्ञानेन्द्रिय तथा पाँच कर्मेन्द्रिय र मन : बाह्य शब्द–स्पर्श–रूप–रस–गन्धादिको ज्ञान 'म' !