मनमा बहुज्ञान रहनेले  बहुविश्वासको बहुत्वमा रहनुपर्छ

मनमा बहुज्ञान रहनेले  बहुविश्वासको बहुत्वमा रहनुपर्छ

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  भदौ २१, २०७६

  जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्वतः ।
  त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन ।। ९ ।।

अन्वय र अर्थ – अर्जुन = हे अर्जुन ! मे = मेरो, एवं = यस प्रकारको, स्वेच्छताले धारण गरिएको, दिव्यं = अलौकिक, जन्म = जन्म, कर्म = कर्म, च = पनि, यः = जसले, तत्वतः (स्वरूपतः) = यथार्थरूपले , वेत्ति = जान्दछ, सः = त्यो, देहं (देहाभिमानं) = यस शरीरलाई, त्यक्त्वा = त्याग गरेर, पुनर्जन्म = यस संसारमा जन्म, न एति = प्राप्त गर्दैन, (किन्तु) मां = ममा, एति = प्राप्त हुन्छ ।

भावार्थ – हे अर्जुन ! जसले मेरो यस प्रकारको दिव्य जन्म र कर्मलाई यथार्थरूपले जान्दछ, त्यसले यस शरीरलाई त्याग गरेपछि फेरि यस संसारमा जन्म लिनु पर्दैन, किन्तु ममा –(परमागतिमा) नै प्राप्त हुन्छ ।

विशिष्टार्थ – भगवान् नारायण जो युगयुगमा चिन्मय, चित्तमय, विज्ञानमय, मनोमय प्रभृति विविध रूपले आविर्भूत भएर साधु रक्षण, दुष्कृत नाशन तथा धर्म संस्थापन रूप क्रिया गर्नुहुन्छ त्यही नै भगवान्को आत्ममायाकृत वा निज इच्छाकृत जन्म कर्म हो । त्यो समस्त नै दिव्य हो,  किन कि यी सबैले अन्तराकाशमा नै प्रकाश पाउंछन्, बाहिर पाउंदैनन् । क्रियाको अनुष्ठानले साधनाक्रममा आन्तरिक रूपमा माथि उठेर जसले त्यस जन्म कर्मलाई जानिरहेका हुन्छन् तिनीहरूले नै तत्वतः(यथार्थ रूपले) जान्न सक्छन् । वाणीको उपदेशले वा पुस्तकहरूको पठन पाठन गरेर जान्नुलाई जानेको भनिदैन । इष्टदेवको त्यस दिव्य कर्मलाई यथार्थ रूपले जान्नाले देह त्यागको समयमा मानस नेत्र विषयावरणले नढाकिएको हुँदा शुद्ध चैतन्य ज्योतिमा लागिरहेको हुन्छ । अतः अरू जन्म लिने अवस्था आउंदैन, परमागति (आत्मस्थिति) को लाभ हुन्छ ।

    वीतराग भय क्रोधा मन्मया मामुपाश्रिताः ।
    बहवो ज्ञानतपसा पूता मद्भावमागताः ।। १० ।।

अन्वय र अर्थ – ज्ञान तपसा = ज्ञान र तपस्याले,पूताः = पवित्र भएका, बहवः = अनेकौ, वीतरागभयक्रोधाः = अनुराग, भय, क्रोधले विहीन, मन्मयाः (मदेकचित्ताः) = ममा तल्लीन, मां = ममा नै, उपाश्रिताः = आश्रित भएका छँदा, मद्भावं = मेरो स्वरूपलाई, आगताः = प्राप्त गरेका छन् ।

भावार्थ – ज्ञान र तपस्याले पवित्र अनेक साधकहरूले अनुराग विहीन, भय विहीन, क्रोध विहीन र मदेकचित्त भएर ममा नै आश्रित भएर मेरो स्वरूपलाई नै प्राप्त गरेका छन् ।

विशिष्टार्थ – म नै ब्रम्ह हुँ, ब्रम्ह नै सबै हो भन्ने यो दृढ धारणा नै (विशुद्ध लौकिक) ज्ञान हो । समं कायशिरोग्रीवं भएर जिब्रोलाई उल्टाएर दाँतलाई दाँतले दवाएर, भ्रूमध्यमा प्राणलाई प्रवेश गराए पश्चात् जुन अवस्थान हुन्छ त्यही तप हो ।  यो ज्ञान र तपले नै चित्तशुद्धि हुन्छ । यसरी शुद्ध चित्त भएका अनेकौं महापुरुषहरू मेरो दिव्य जन्म कर्मलाई जानेर अनुराग विहीन, भय विहीन, क्रोध विहीन वनेका छँदा ममा नै तल्लीन भएका छन् अर्थात् कूटस्थ चैतन्य अभीष्ट देव परमात्मालाई आश्रय स्वरूप पाएर परमात्मामा आफूलाई विलय गराएर चिरस्थिर भएका छन् । हे अर्जुन ! तिमी मात्र यस मार्गका यात्री हैनौ, यस्ता कैयाैं भैसके, भएर पनि परागति प्राप्त गरिसके । यसमा डर के को ?
 

ज्ञान र तपले नै चित्तशुद्धि हुन्छ । यसरी शुद्ध चित्त भएका अनेकौं महापुरुषहरू मेरो दिव्य जन्म कर्मलाई जानेर अनुराग विहीन, भय विहीन, क्रोध विहीन वनेका छँदा ममा नै तल्लीन भएका छन् अर्थात् कूटस्थ चैतन्य अभीष्ट देव परमात्मालाई आश्रय स्वरूप पाएर परमात्मामा आपूmलाई विलय गराएर चिरस्थिर भएका छन् ।


    ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
    मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वश: ।। ११ ।।

अन्वय र अर्थ – पार्थ = हे पार्थ ! ये = जुन मानिसहरू, मां = मलाई, यथा = जुन भावले (सकाम निष्काम भावले), प्रपद्यन्ते = भजन गर्दछन्, अहं = म, तान् = ती जनहरूलाई, तथा एव = सोही भावले नै, भजामि = भजन गर्दछु, (आश्रय दिन्छु), (यतः = किन कि), मनुष्याः = सबै मनुष्यहरू, सर्वशः = सबै प्रकारले, मम = मेरो, वत्र्म = मार्गको, अनुवर्तन्ते = अनुगमन गर्दछन् ।

भावार्थ – हे पार्थ ! मनुष्यहरू मलाई जुन जुन भावले भजन गर्दछन् म पनि तिनीहरूलाई सोही भावले भजन गर्दछु । किन कि मानिसहरू सबै प्रकारले मेरो नै पथको अनुवर्तन गर्दछन् । 

विशिष्टार्थ – अनेकौं मनुष्यहरू मद्भाबमा प्राप्त भएका छन्, त्यसको मूल कारण हो विश्वास, किन कि  ‘यादृशी भावना यस्य सिद्धि र्भवति तादृशीै अर्थात् जसको मनको भाव जस्तो छ त्यसलाई त्यस्तै प्रकारको सिद्धि लाभ हुन्छ । साधकले साधनामा आफूलाई मुक्त बन्ध, लिप्त, निर्लिप्त, सकाम–निष्काम, एक अनेक प्रभृति जुन भावमा राख्दछ साधनाफलद्वारा उसको आत्माले पनि सोही भावमा रहेर त्यसलाई ग्रहण गर्दछ अर्थात् उसले त्यस्तै प्रकारको अवस्थालाई प्राप्त गर्दछ । यसको कारण हो–मनुष्य–जो सुसम्पन्न मनोवृत्तिशील जीव हो, सबै प्रकारले आत्ममतको नै अनुवर्तन गर्दछ अर्थात जसको जुन विषयमा जस्तो मत छ तदनुसार नै चल्दछ अर्को मतमा चल्दैन, किन कि त्यस विषयमा उसको आफ्नो मत नै उसको अन्तःकरण (मन) को वत्र्म हो त्यसले आप्mनो निश्वासको अनुरूप गति पाउंछ ।

पानीलाई मन्थन गर्दा पानीमा अनेक तरंग, बुद बुद तथा फींज उत्पन्न हुन्छन् त्यस्तै भगवान्ले आफ्न इच्छा शक्तिले आफूलाई मन्थन गरेर आफूले विश्व जगत्को रचना गर्नु भएको छ । तरंग, बुद बुद, फींज भन्नु पानी नै हो केवल नाम र रूपले अलग अलग छन् । यस्तै यो विश्व जगत् पनि आत्माविना अरू केही पनि हैन । तैपनि मनुष्यले आफूलाई आत्मादेखि अलग ठान्दछ । त्यसको कारण हो – भ्रम, यो भ्रम नै माया हो । त्यसकारण मनुष्यको मनमा जे जस्तो  भाव सकाम होस् वा निष्काम, असल होस् वा खराब जस्तो होस् यी सबै आत्माका नै भाव हुन् । जस्तो–एउटै ज्योति रंगीन शीशाभित्रबाट भएर जाँदा रातो,  नीलो, हरियो आदि भिन्न भिन्न रूपमा देखिन्छ त्यस्तै एक आत्मा आफ्नै  इच्छा शक्ति वा माया शक्तिको विकारले आफ्ना चौवीस प्रकारका तत्वहरूको संयोगबाट अनेक प्रकारका भावहरूमा प्रकट हुन्छ । यी चौवीस तत्वहरु नै आत्माका वत्र्म या पथ हुन् अर्थात् आत्मा यी सबै तत्व क्रमले नै मायालाई विस्तार गरेर स्वयं विश्व रूपले सजिएको छ, यी सबै नै आत्मा हुन् । अतः उसको जीव हुनुको भाव, आफ्नै इच्छा भ्रममा आफूलाई आत्मा देखि भिन्न ज्ञान गरेर विविध तत्वमयी मूर्तिको पृथक् ज्ञानमा मोहित भए ता पनि उसले एक   ‘म’ लाई नै ग्रहण गर्नु हो, किन्तु उसको मनमा एक ज्ञान नभएर बहुज्ञान रहनाले उसलाई आफ्न त्यो बहु विश्विासको अनुरूप बहुत्वमा रहनु पर्छ, ऊ एकत्वमा मिल्न सक्दैन । जस्तो –रातो, नीलो, शीशाको आवरण हटाउंदा ज्योति झल्किन्छ, त्यस्तै स्थिर विश्वास गरेर अर्थात् व्यावसायात्मिका बुद्धिले आफूलाई  ‘म’ भन्ने ज्ञान लिएर लययोगको अवलम्बन गर्नाले नै सबै आवरण स्वतः क्षय भएर जान्छन् अनि त म नै  ‘म’ यो ज्ञान आएर  ‘मद्भावभागत’ हुन्छ ।

     कांक्षन्तः कर्मणां सिद्धिं यजन्त इह देवताः ।
    क्षिप्रं हि मानुषे लोके सिद्धि र्भवति कर्मजा ।। १२ ।।

क्रमशः

याे पनि

'सत्' ज्ञान स्वरूप 'चित्' र सुखस्वरूप 'आनन्द' हो

ज्ञान र कामना परस्पर विरोधी हुन्

आत्मा मन अनि बुद्धिभन्दा पनि श्रेष्ठ

संसारमा कर्म नै एक मात्र बन्धन हो

‘म’ को जन्म नभएपछि  मरण पनि हुँदैन