गर्भावस्थाको चिनी रोगको निदान, लाग्नु कारण र उपचारका विधि

गर्भावस्थाको चिनी रोगको निदान, लाग्नु कारण र  उपचारका विधि

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  असार २१, २०७७

मे महिना सन् २०२० सम्म विश्वको जनसङ्ख्या ७.८ बिलियन पुगी सकेको छ । संसार भरिको कुल जनसङ्ख्याको झान्नै आधा अर्थात् ४९.६ प्रतिशत महिलाहरू छन् ।  सन् २०१२ मा २१३ मिलियन महिलाहरूले गर्भधारण गरेका थिए । अमेरिकामा २ देखि १० प्रतिशत गर्भवती महिलाहरूमा जेष्टेसनल डायवेटिज मेलाइटस अर्थात् जिडिएम पाइएको तथ्याङ्क छ । 

चिनी रोग भएका महिलाहरू गर्भवती हुन सक्छन् । चिनी रोग नभएका महिलाहरू गर्भावस्थामा चिनी रोगबाट ग्रस्त हुन सक्छन् र यसलाई जेष्टेसनल डायवेटिज मेलाईटस भनिन्छ । उपरोक्त तथ्याङ्कबाट जिडिएमद्वारा पीडित गर्भवतीहरूको सङ्ख्या सानो छैन । गर्भावस्थामा हुने चिनी रोगले गर्भवती महिलाको साथै गर्भमा रहेको शिशुको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने भएकोले यस विषयमा सबैले जानकारी राख्नु अत्यन्त आवश्यक छ ।

विशेषज्ञहरूले चिनी रोगका विषयमा गरिएका अनुसन्धानका आधारमा गर्भावस्थामा हुने चिनी रोग कसरी निदान गर्ने र गर्भवतीहरूको रगतको ग्लुकोज कति हुनु पर्छ भन्ने विषयमा समय समयमा निर्देशिका निकालेका छन् । अमेरिकन डायवेटिक एसोसिएसनले प्रकाशित गरेका चिनी रोगको निदान र उपचार सम्बन्धी गाइडलाइन विश्वभरकै चिकित्सकहरूले अपनाएका हुन्छन् । वर्तमानमा मान्यता पाएका गाइडलाइन भविष्यमा परिवर्तन हुँदै जान सक्छन् । यसर्थ अनुसन्धानका आधारमा परिवर्तन गरिएका उपचार विधिको जानकारी सबै स्वास्थ्यकर्मीहरुले राख्नु आवश्यक छ । 

इन्सुलिनको सुइँको साथै खाने ओखतीहरू पनि प्रयोग गर्न सकिन्छ । इन्सुलिनले तौल बढाउछ तर मेटफोर्मिनले तौल बढ्न दिँदैन । मेटफोर्मिन र ग्लाइवुरायड चिनी रोग भएका महिलाहरूमा प्रयोग गर्न सकिने मुख्य ओखती मानिन्छ ।  यी दुबै ओखतीहरू प्लासेन्टावाट शिशुको रगतमा पुग्छन्  यिनीहरुले शिशुको रक्त ग्लुकोजलाई कम गराउन सक्छन् ।  शिशुलाई दुधपान गराउने महिलाहरूको रगतको ग्लुकोज कम हुन सक्ने भएकोले समय समयमा खानेकुरा खान बिर्सनु भने हुँदैन । 

जेष्टेसनल डायवेटिज मेलाइटसको निदान 

जिडिएम कसरी थाहा पाउने भन्ने विषयमा अमेरिकन डायवेटिज एसोसिएसनले सन् २०१६ मा डायवेटिक केयरमा प्रकाशित गरेको छ । 

पहिले चिनी रोग नभएका २४ देखि २८ हप्ताको गर्भ भएका महिलाहरूलाई ७५ ग्राम ग्लुकोज खान दिएर रगतको ग्लुकोज खाएको एक र दुई घण्टापछि जाँचिन्छ । खाली पेटको ग्लुकोज ९२ मिलि ग्राम भन्दा ज्यादा एक घण्टा पछिको १८० मिलिग्राम अथवा दुई घण्टा पछिको रगतको ग्लुकोज १५३ मिलिग्राम भन्दा ज्यादा पाइएमा जिडिएमको निदान गर्नु पर्छ । 

जिडिएम भएका महिलाहरूलाई प्रसूति पछि चिनी रोग हुने सम्भावना भएकोले यिनीहरूको रगतको ग्लुकोज समय समयमा जँचाई राख्नु बुद्धिमानी हुन्छ । यी महिलाहरूले आफ्नो तौल हुनुपर्ने भन्दा ज्यादा भएमा खानपिनमा परहेज र नियमित व्यायाम गर्नुपर्छ ।

जिडिएम भएका महिलाहरूमा प्रिडायवेटिज अर्थात् चिनी रोग हुन आँट्यो भने खानामा परहेज गर्नुको साथै मेटफोमिन नामक ओखतीको प्रयोग गर्ने सल्लाह दिइन्छ । प्रिडायवेटिजमा खालिपेटको रक्त ग्लुकोज १०० देखि १२५ मिलिग्राम हुन्छ ।

चिनी रोगबाट पीडित महिलाहरुलाई गर्भावस्थामा इक्लामसिया नामक रोग लाग्न सक्छ । यो रोगमा रक्तचाप बढ्छ र पिसाबमा प्रोटिन देखा परेर मिर्गौला प्रभावित भएको सङ्केत गर्छ । शरीर कापने र बेहोस हुने पनि हुन सक्छ । गर्भवतीहरूलाई हुने यो रोग चिनी रोगीहरूमा ज्यादा हुन्छ । यो रोग हुन नदिन दैनिक ७५ मिलिग्रामको अस्पिरिनको चक्की खान सकिन्छ । 

जिडिएममा रगतको जाँच 

जिडिएम भएका महिलाहरूले समय समयमा रगत जाँच गराउनु पर्छ । चिनी रोग राम्ररी नियन्त्रण हुँदा आमा र शिशुमा पर्ने नराम्रा प्रभाव पर्दैनन् । चिनी रोगलाई राम्ररी नियन्त्रण गर्न रगतको ग्लुकोज निम्न प्रकारको हुनु पर्छ । 

१. खालि पेटको रगतको ग्लुकोज ९५ मिलिग्राम प्रतिशत भन्दा कम
२. खाना खाएको एक घण्टा पछिको रक्त ग्लुकोज १४० मिलिग्राम भन्दा कम 
३. खाना खाएको दुई घण्टा पछिको रक्त ग्लुकोज १२० मिलिग्राम भन्दा कम 
४. HbAic ६ प्रतिशत भन्दा कम । गर्भावस्थामा HbAic प्राय गरेर कम हुन्छ ।

रगतको क्रियाटिनिन र पिसाबको आल्युमिन र क्रियाटिनिन रेसियोले मिर्गौलामा प्रभाव परे नपरेको थाहा पाउन सकिन्छ । 

गर्भावस्थामा रक्तचाप १३५/८० भन्दा कम राख्नु पर्छ । रक्तचाप धेरै कम हुन दिनु पनि हुँदैन । १२०/८० भन्दा कम भयो भने शिशुको शारीरिक वृद्धिमा प्रभाव पर्न सक्छ । 

गर्भावस्थामा चिनी रोग राम्ररी नियन्त्रण भएन भने गर्भपात, प्रिइक्लामसिया, शिशुको ठुलो मुख र ज्यादा तौल, शिशुलाई फोक्सोको रोग र ज्यादा विलिरुविन हुने अवस्था आदि हुने सम्भावना हुन्छ । 

चिनी रोग भएका महिलाहरूले गर्भधारण गर्नु अगाडी रगतको ग्लुकोज राम्ररी नियन्त्रण भएको हुनुपर्छ । रगतको ग्लुकोज ठिक नहुन्जेल परिवार नियोजनका साधन प्रयोग गर्नु बुद्धिमानी हुन्छ । गर्भावस्थामा एञ्जियोटेनसिन कनभार्टिङ् इन्जायाम इन्हीविटर समूहका औषधिहरू, एटेनोलोल, पिसाब लगाउने ओखतीहरू र स्टाटिन समूहका ओखतीहरू खानु हुँदैन । यी ओखतीहरू प्रयोग गरिरहेका महिलाहरूले यी औषधि बन्द गर्नुपर्छ ।

जिडिएमको उपचार 

रगतमा हुनुपर्ने भन्दा ज्यादा ग्लुकोजलाई खानामा परहेज गरेर नियन्त्रण गर्नु पर्छ । शरीर मोटो भएमा कार्बोहाइड्रेट खाना कम खाएर र नियमित व्यायाम गरेर आफ्नो तौल घटाउनु पर्छ ।

गर्भावस्थामा प्लासेन्टाबाट रगतको ग्लुकोज बढाउने हर्मोनहरु उत्पन्न हुन्छन् । यस कारणले पनि गर्भवतीहरूको रगतको ग्लुकोज ज्यादा हुन्छ । रगतको बढेको ग्लुकोजलाई घटाउन इन्सुलिनको सुई लगाउनु सबभन्दा राम्रो उपचार हो । इन्सुलिनको सुइँको मात्रा मिलाउन समय समयमा रगतको ग्लुकोज जँचाउनुको साथै सुरुमा आफ्नो चिकित्सकसँग सम्पर्क गर्नुपर्छ । सुरुको गर्भावस्थामा इन्सुलिन धेरै क्रियाशील हुन्छ र रगतको ग्लुकोज कम हुने सम्भावना हुन्छ ।  पछि इन्सुलिनको मात्रा बढाउनुपर्ने हुन्छ ।

 जिडिएममा खाने आखतीहरुलाई पनि प्रयोग गर्न सकिन्छ ।  इन्सुलिनको सुइँको साथै खाने ओखतीहरू पनि प्रयोग गर्न सकिन्छ । इन्सुलिनले तौल बढाउछ तर मेटफोर्मिनले तौल बढ्न दिँदैन । मेटफोर्मिन र ग्लाइवुरायड चिनी रोग भएका महिलाहरूमा प्रयोग गर्न सकिने मुख्य ओखती मानिन्छन् ।  यी दुबै ओखतीहरू प्लासेन्टावाट शिशुको रगतमा पुग्छन् । यिनीहरुले शिशुको रक्त ग्लुकोजलाई कम गराउन सक्छन् ।  शिशुलाई दुधपान गराउने महिलाहरूको रगतको ग्लुकोज कम हुन सक्ने भएकोले समय समयमा खानेकुरा खान बिर्सनु भने हुँदैन । 

 वाञ्छनीय तौल भएका गर्भवती महिलाहरूले प्रत्येक एक किलोग्राम तौलमा ३० किलो क्यालोरी भएको खाना खानु पर्छ । मोटा महिलाहरूले कम क्यालोरी खानु उचित हुन्छ । रगतमा ग्लुकोज कम हुन नदिन अलिअलि  ३ पटक खाना र २ पटक खाजा खाने सल्लाह दिइन्छ । फलफूल र साग सब्जी नियमित खानु राम्रो हो । नियमित व्यायाम पनि गर्नु आवश्यक छ ।  

यो पनि 

चिनी रोग : के कारण लाग्छ ? लागेको कसरी थाहा पाउने ? र कति प्रकारका हुन्छन् ?

चिनी रोगीहरूको सङ्ख्या : नेपालमा १५ देखि १९ र विश्वमा करिब ३ प्रतिशत जनसङ्ख्या पीडित !

चिनी रोग : जसका कारण देखिने अल्पकालीन बिमार, लक्षण र उपचार

चिनी रोग र दीर्घकालीन रोग : यसले मिर्गौला, आँखा, स्नायु र छालामा पुर्‍याउने गम्भीर खाले क्षति

चिनी रोगका औषधि : कुन अवस्थामा कुन प्रयोग गर्ने ?