नरेन्द्र राईका प्रज्ञा–प्रतिष्ठानका कुलपति राई र ट्रेड युनियन अध्यक्ष कार्कीलाई २९ वटा खुला प्रश्न !

नरेन्द्रबहादुर राईको खुला पत्र

नरेन्द्र राईका प्रज्ञा–प्रतिष्ठानका कुलपति राई र ट्रेड युनियन अध्यक्ष कार्कीलाई २९ वटा खुला प्रश्न !

लोकसंवाद संवाददाता  |  समाचार  |  आश्विन २१, २०८०

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राई र नेपाल प्रज्ञा–प्रतिष्ठानको आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीलाई पठाइएको खुला पत्र

मिति: २०८०/०६/१९


श्रीमान् सम्पादक तथा प्रकाशज्यू, 
लोकसंवाद अनलाइन पत्रिका ।

विषय : पत्र प्रकाशन गरि दिनु हुन् ।

महोदय,
    त्यस अनलाइन पत्रिकाबाट नेपाल प्रज्ञा–प्रतिष्‍ठानसँग सम्बन्धित विभिन्न मितिमा प्रकाशन गरिएको समाचारका सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राई र सोही प्रतिष्ठानका आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्री धनबहादुर कार्कीको नाममा तपसिल अनुसारको व्यहोरा सहित खुला पत्र प्रेषित गरिएको छ । जस्ताको तस्तै प्रकाशन गरिदिनु हुन अनुरोध गर्दछु ।


–नरेन्द्रबहादुर राई, बुइपा, खोटाङ


मिति: २०८०/०६१९

श्रीमान् कुलपति भूपाल राईज्यू र आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीज्यू,
नेपाल प्रज्ञा–प्रतिष्ठान
कमलादी, काठमाडौँ ।

विषय: ध्यानाकर्षण तथा सार्वजनिक रूपमा सफाइ पेस गर्नुहुन ।

 उपरोक्त सम्बन्धमा नेपाल प्रज्ञा–प्रतिष्‍ठानसँग सम्बन्धित समाचारहरू लोकसंवाद डटकम अनलाइनले बारम्बार प्रकाशन गरिरहेको छ । यसले प्रज्ञा–प्रतिष्ठानलाई दूर दराजमा चिनाउन भूमिका खेलेको मैले विश्वास गरेको छु । खास गरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञिक कर्मका रुपमा रहेका गोष्ठी लगायतका कार्यक्रमका समाचारबारे केही भन्नु र सफाइ पेस गर्नु परेन तर यसको व्यवस्थापनसँग सम्बद्ध र हालै लोकसंवाद अनलाइनले प्रकाशन गरेका विभिन्न समाचारको खण्डन गर्न अनुनय गरिएको प्रतिष्ठान र आधिकारिक ट्रेड युनियनको पत्रले गम्भीर ध्यानाकर्षण पैदा हुनुका साथै प्रतिष्ठान आम प्राज्ञिक समुदायको नभएर कर्मचारी र व्यवस्थापन पक्ष मिलीजुली खाने र सक्ने हो कि भन्ने चिन्ताले यो पत्र कोर्न बाध्य भएको छु ।

नेपाल प्रज्ञा–प्रतिष्‍ठानसँग सम्बन्धित समाचारका रुपमा लोकसंवाद डटकमले  'भूपाल राईज्यू, ! प्रज्ञा परिषद्ले यी तथ्यलाई कसरी देख्नुभयो मानमर्दन र दुःख दिने नियत !?', प्रज्ञा–प्रतिष्ठान: लेनमा तेल भर्न पेट्रोल पम्प,पार्टपुर्जा र मर्मतको कमिसनका लागि वर्कसप नै परिवर्तन !', नेपाल प्रज्ञा–प्रतिष्ठान: पदाधिकारीहरू नियुक्त भएको डेढ महिना नबित्दै अख्तियारमा उजुरी !प्रज्ञा-प्रतिष्ठान : नियुक्ति २०७२ को शपथ भने अन्तरिम संविधान २०६३ अनुसार !  प्रज्ञ–प्रतिष्ठानका विरुद्धमा ११ पूर्व पदाधिकारी सर्वोच्चमा: वैशाख ५ मा अन्तरिम आदेश दिने/नदिने टुङ्गिने !,  अन्तरिम आदेश र अख्तियारको तनाव: प्रज्ञा प्रतिष्ठान कुलपतिसहित १३ पदाधिकारी रारा सयरमाकुलपति भूपाल राईको कविता समावेश पाठ्यपुस्तक विक्री वितरणमा रोक !,  कुलपति र उपकुलपतिको नियुक्ति बदर मागको रिट निवेदनमा कारण देखाऊ आदेश जारी,  प्रज्ञा–प्रतिष्ठानका कुलपतिको नियुक्ति बदर: अन्तरिम आदेशको टुङ्गो जेष्ठ २४ मा लाग्ने  जस्ता समाचारहरू प्रकाशन गरेको र यी सम्बन्धमा गम्भीर चासो लागेकाले केही प्रश्न लागेको बेहोरा हार्दिक अनुरोध गर्दछु । मैले उठान गरेका यी प्रश्नहरूको समाधान गरी आफ्नो सफाइ पेस गर्नुहुन गम्भीरतापूर्वक श्रीमान् कुलपति भूपाल राई र आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्की समक्ष अनुरोध गर्दछु । 

मलाई लागेका महत्वपूर्ण सवालहरू यस प्रकार रहेका छन् जसको सार्वजनिक जवाफको अपेक्षा राखेको छु ।  

१‍. किन तपाईँहरूको मुटुमा ढ्याङ्ग्रो ठोकियो र छानबिन समिति बनाउनुपर्‍यो ? अख्तियारमा मुद्दा हाल्ने विरुद्ध छानबिन समिति बनाएर कारबाही गर्ने कि अख्तियारमा मुद्दा नपर्ने काम गर्ने ?
२‍.   किन भ्रष्ट कर्मचारीलाई कारबाही गर्नुपर्दा भन्दा तपाईंहरुलाई छटपटी र औडाहा भयो ? किन अकुत सम्पत्ती कमाउने कर्मचारीहरुलाई कारबाही गर्दा तपाईंहरुलाई दुख्छ ?
3.    के तपाईंहरुको प्रतिष्ठानमा ७२ वर्षका कर्मचारी करार सेवामा कार्यरत छन् ? ७२ वर्षका व्यक्तिलाई कर्मचारीका रुपमा राखि राख्दा श्रमको मौका नपाई दैनिक लाखौँ हामीजस्ता युवा विदेश पलायन भएको बिर्सिनुभएको छ ?
४‍.   देवकोटा संग्रहालय निर्माण गर्दा के ४ करोड रकम हिनामिना नै हो वा होइन ? 
५‍. के तपाईँहरूका कर्मचारीहरू वा संगठनका पदाधिकारीहरु रामकुमार बोहोरा, राधा कार्की, लोकेन्द्र याक्खा जस्ता कर्मचारीको सक्कली प्रमाण पत्र नै छ कि नक्कली हो यसका सम्बन्धमा आधिकारिक जानकारी गराउन सक्नुहुन्छ ? 
६‍. के कार्यालयको प्रांगणमा÷कार्यकक्षमा प्राज्ञहरूले अप्राज्ञिक (कार्यकक्षमा चुरोट खाएको वा अन्य गतिविधि गरेको कुरा) कार्य गरेको कुरा झुटो हो ? 
७‍.  के प्राज्ञ राजन मुकारुङले कर्मचारीले पाउने हायर पर्चेज ऋण दाबी गरी ऋण लिएको गलत हो ? 
८‍. के प्रतिष्ठानले भानु जयन्तीका नाममा लाखौँ रकम खर्च गर्ने अनि ब्यानरमा आफ्नो नाम नराखेको र राज्यको दुरुपयोग गरेको भन्ने विषय गलत हो ? 
९‍  के प्रज्ञा–प्रतिष्ठानले सवारी चालकको सुविधाका लागि भनी प्रहरीको पेट्रोलपम्प (कार्यालयबाट १ किमि भन्दा नजिक) बाट इन्धन लिइ रहेकोमा साझा पेट्रोल पम्प ललितपुर (कार्यालयबाट ४ किमि भन्दा बढि टाढा) मा लैजाने कार्य गरेको भन्ने कुरा गलत हो ? 
१०‍. के नियमको व्यवस्था विपरीत सरसफाइ सहयोगी पुनम श्रेष्ठलाई कार्यालय सहयोगीमा सेवा परिवर्तन गरिएको छैन ? त्यो समाचार गलत हो ? 
११.  के कुलपतिले एका घरको दिदीको घरमा बसी घरभाडा बापत मासिक रुपमा २५ हजार लिनुभएको गलत हो ? 
१२ . के विभिन्न कार्यक्रमका नाममा देशभित्र र बाहिर अनावश्यक पदाधिकारी र कर्मचारी लगेर राज्य कोषको दोहन गर्नुभएको छैन ? 
१३ ‍. के देवकोटा संग्रहालयका निम्ति छुट्ट्याइएको बजेट देवकोटा संग्रहालयका निम्ति खर्च नगरी नियमविपरीत रकमान्तर गरी खर्च गर्नुभएको छैन ? 
१४. ‍के तपाईंहरुको प्रतिष्ठानमा सवारी हलुका सवारी गाडी चलाएर भारी सवारी चालकको सुविधा उपभोग गरेको भन्ने समाचार गलत हो ? तपाईँहरूकोमा कति वटा हलुका सवारी साधन र कति वटा भारी सवारी साधन छन् ? कुनै रेकर्ड छ वा छैन ?
१५‍.  के तपाईंहरूले नेपाल सरकारले निर्धारण गरेको मर्यादाक्रम विपरीत राज्यमन्त्री, सहायकमन्त्री र मुख्य सचिव सरहको सुविधा खानुभएको छ ? त्यो खाएको विषय गलत हो सही हो ? सही हो भने कुन मानेमा सही हो ? स्पष्ट पार्न सक्नुहुन्छ ?  

अब रह्यो नेपाल प्रज्ञा–प्रतिष्ठानका सचिव र आधिकारिक ट्रेड युनियनका सचिवको दस्तखतमा रहेका २०८० असोज १७ र २०८० असोज १८ गतेका दुई पत्र जुन लोकसंवाद डटकमले खण्डन पत्र भनी प्रकाशन गरेको छ । त्यसमा लेखिएअनुसार माथिका विषयहरु भ्रामक होउन् भन्ने मेरो अपेक्षा छ ? तर पनि व्यवस्थापन पक्षले गरेका अनैतिक काम कारबाहीका सम्बन्धमा ट्रेड युनियनले खबरदारी गर्ने दायित्व होइन र ?


१६‍. तपाईंहरुको वैशाख ४ गते बसेको प्राज्ञ सभाको बैठकको एजेन्डा र निर्णय के थिए ? प्रस्ट पार्न सक्नुहुन्छ ? तपाईंका प्राज्ञ सभा सदस्यले समेत त्यस बैठकको निर्णय पाएको छैन भनिरहेका छन् ? खास यथार्थ कुरा के हो ? प्राज्ञ सभाको प्रतिवेदन सार्वजनिक गर्न सक्नुहुन्छ ? त्यस सभाका भएको खर्च बालुवा पानी भएको भन्न मिल्दैन ?
१७.  के तपाईंहरुको प्रतिष्ठानमा दरबन्दीभन्दा बाहेक (ओभर स्टापिङ) का कर्मचारी छन् ? छन् भने कति छन् ? तिनको तलब सुविधा कुन स्रोतबाट बेहोरिन्छ ? के त्यो नेपाल सरकारको नियमअनुसार नै छन् त ? सुविधा र नियुक्ति मापदण्ड सरकारको नीति तथा व्यवस्थाअनुसार नै छन् त ? तपाईंहरुको प्रतिष्ठानमा खरिदारभन्दा तलका श्रेणी भएका पदहरु विद्यमान छन् ? कि करारमा भर्ती गर्न मात्रै राखि राख्नुभएको छ ?
१८.  तपाईंहरुको प्रतिष्ठानमा पूर्व परिषद्ले निवृत्तिभरण कोषको करिब ४ करोड रकम गैरकानुनी रुपमा खर्च गरेको हो कि होइन ? त्यसको हिसाबकिताब तपाईंहरुसँग छ ? छ भने किन बैँक नगदी किताब, गोश्वारा भौचर, निवृत्तिभरण कोषको बैँक खाताको स्टेटमेन्ट, सिद्धार्थ बैँकमा रहेको मूल खाताको बैँक स्टेटमेन्ट, चालु र पुँजीगत खाताको बैँक स्टेटमेन्ट, तत्कालीन समयमा खिचिएको चेकको विवरण, कुनै खातामा जम्मा गरिएको भए तिनको बैँक भौचर आदि माग गरेको भनेर समाचार आएको छ ? ती कागजातहरु अद्यावधिक नै छन् त ? 
१९. तपाईंहरूले देवकोटा सङ्ग्रहालयका निम्ति प्राप्त बजेट कहाँ कहाँ खर्च गर्नुभयो ? देवकोटाका के के छाप्नुभयो ? के के अभिलेख खडा गर्नुभयो ? के के खरिद गर्नुभयो ? र तपाईंहरुकै परिषद्ले निर्णय गरेको 'नेपाल प्रज्ञा–प्रतिष्ठान अन्तर्गत महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय निर्माणका निम्ति बोलपत्रद्वारा भवनसहित संग्रहालय निर्माणको ठेक्का सम्झौता भई कार्य सम्पन्न उन्मुख भइसकेको सन्दर्भमा उक्त संग्रहालय निर्माण प्रयोजनका निम्ति नेपाल सरकारबाट प्राप्त भएको रकम मध्येबाट करिब ७० लाख महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिहरूको संकलन, सम्पादन र प्रकाशनका साथै पूर्व प्रकाशित कृतिहरूको संकलन र सम्पादनसहित पुनः प्रकाशन गर्ने तथा संग्रहालयका निम्ति देवकोटासँग सम्बद्ध अन्य सामग्री संकलन र व्यवस्थापनमा नियमानुसार खर्च गर्ने” निर्णयअनुसार नै काम गर्नुभयो कि ? त्यसलाई धोती लगाउनुभयो र मनमौजी रुपमा खर्च गर्नुभयो ? संग्रहालय प्रयोजनका निम्ति नेपाल सरकारबाट विनियोजित रकममध्ये कति प्रतिष्ठानलाई निकासा प्राप्त भयो ? कति खर्च भयो ? कति बाँकी छ ? त्यो बाँकी रकम किन सरकारलाई फिर्ता गरिएन ? 
२०.    के तपाईंहरूले आफ्नो छापाखाना प्राइवेट कम्पनीलाई चलाउन दिनुभएको छैन ? दिनुभएको छ भने कुन नियम र प्रक्रियाका आधारमा दिनुभएको छ ? यस सम्बन्धमा उपकुलपति विमल निभाले मनैदेखि नोट अफ डिसेन्ट लेख्नुभएको कुरा सत्य हो ? कि नोट अफ डिसेन्ट नै लेख्नुभएको छैन ? 
२१.    के तपाईंहरूले विना प्रतिस्पर्धा कर्मचारी भर्ना गर्नुभएको छैन ? छ भने किन गर्नुभयो ? 
२२.   के तपाईंहरूले बजेटको शीर्षकमा आफ्नो नाम नै लेख्नुभएको छ ? अनि तपाईंहरूले खाता बन्दी पश्चात् आ.व.को अन्तिम दिन बजेट रकमान्तर गर्नुभएको छ ? कि हचुवाका समाचार हुन् ती ? नेपाल सरकारको बजेट सरकारलाई नै फिर्ता गर्न किन कन्जुस्याइँ गर्नुभयो र रकमान्तर र हिसाब मिलान गर्नुभयो ? 
२३.  तपाईंहरूले लेखा सम्बद्ध कर्मचारीलाई सरुवा गरेर प्रशासनिक कर्मचारीलाई लेखा शाखाको जिम्मेवारी दिएको विषय के गलत हो ? त्यसो हो भने जयराज जोशी नामका कर्मचारी कुन सेवा समूहको कर्मचारी हो ? र अशोक चौरसिया नामका कर्मचारी कुन सेवा समूहको हो जानकारी दिन सक्नुहुन्छ ? तपाईंहरूले बजेट बनाउँदा करार कर्मचारीको तलब कताबाट बेहोर्ने गरी विनियोजन गर्नुभएको छ ? के नेपाल सरकारले करार कर्मचारीको तलब समेत उपलब्ध गराएको छ ? चित्रा ठाकुरले जयराज जोशीलाई दिएको पत्रको प्रतिलिपि सार्वजनिक गर्न सक्नुहुन्छ ?
२४.  तपाईंहरूले कानुनी सल्लाहकार नियुक्त गर्नुभएको गलत हो ? कि विभिन्न व्यक्ति तथा संस्थालाई बहस गरेको भनी रकम दिएको विषयक गलत हो ? 
२५. तपाईंहरूले 'उपप्रमुख विश्वास घिमिरेलाई नेपाल प्रज्ञा–प्रतिष्ठानको मिति २०७९/६/१६ को बैठक सङ्ख्या ५१ को निर्णय नंं. ६ अनुसार प्रोत्साहन स्वरूप ग्रेड दिएको र सोही बैठकको निर्णय नं. ७ बाट निजलाई सरुवा गरिएकोमा निज घिमिरे सरुवालाई अवैधानिक भन्दै वा निर्वाचन आचारसंहिताको विपरीत भन्दै मुद्दा मामिलातिर गएकोमा सरुवा वा कोठा एउटै काम फरक हुँदा सरुवा भनी अदालत जाने तर सोही बैठकले दिएको ग्रेड कसरी वैधानिक हुन्छ ?' यस सन्दर्भमा एउटै बैठकको दोहोरो व्याख्या गरी ग्रेड कायम हुने सरुवा गलत कसरी हुन्छ ? तत्कालीन निर्वाचन आचारसंहिताले त्यही भन्छ ? प्राज्ञ परिषद्को मिति २०७९/८/२१ को ५५ औँ बैठकले ग्रेड समेत रद्द गरेकोमा त्यो निर्णय कसरी उल्टन सक्छ ? तत्कालीन परिषद्को ५१ देखि ५७ औँ बैठकको सम्पूर्ण निर्णय सदर हुने एउटा मात्रै बदर कसरी हुन्छ ?
२६.   के प्रज्ञा प्रतिष्ठानमा सवारी साधन बिग्रँदा जुन गाडी हो त्यसकै सम्बद्ध आधिकारिक कम्पनी वा वर्कसपमा लगेर मर्मत सम्भार गर्ने निर्णय गरेको साँचो हो ? वा अहिले परिषद्ले जहाँ पनि मर्मत गर्न पाउने व्यवस्था गरेको गलत हो ? सम्बद्ध कम्पनी वा वर्कसपमै सवारी साधन मर्मत सम्भार गर्दा कसलाई घाटा वा नाफा भयो ? 
२७.   के रारा कार्यक्रममा जम्बो प्राज्ञ र कर्मचारी लगी लाखौँ रकम दोहन गरेको भनी लेखिएको विषय भ्रामक हो ? 
२८.  प्रतिष्ठानले प्राज्ञिक कार्यमा जिरो बजेट छुट्ट्याइएको भनिएको छ ? के यो साँचो हो ? तर माओवादी निकट कर्मचारी संगठनले एउटा तिज कार्यक्रमका निम्ति १ लाख २० हजार परिषद्बाट लिएको गलत हो ? प्राज्ञिक कार्यमा पैसा नहुने तर कर्मचारी युनियनका कार्यक्रमलाई सहयोग गर्न पैसा हुने कस्तो नियति हो प्रतिष्ठानको ?
२९.    प्रतिष्ठानका प्राज्ञ तथा पदाधिकारीले ३ महिनाको पारिश्रमिक अग्रीम पेस्की लिन ४० औँ सभाबाट गरेको भनिएको निर्णय के असत्य हो ? 

अब रह्यो नेपाल प्रज्ञा–प्रतिष्ठानका सचिव र आधिकारिक ट्रेड युनियनका सचिवको दस्तखतमा रहेका २०८० असोज १७ र २०८० असोज १८ गतेका दुई पत्र जुन लोकसंवाद डटकमले खण्डन पत्र भनी प्रकाशन गरेको छ । त्यसमा लेखिएअनुसार माथिका विषयहरु भ्रामक होउन् भन्ने मेरो अपेक्षा छ ? तर पनि व्यवस्थापन पक्षले गरेका अनैतिक काम कारबाहीका सम्बन्धमा ट्रेड युनियनले खबरदारी गर्ने दायित्व होइन र ? उल्टै व्यवस्थापनले जस्तै हुबहु अनुनय विनयको पत्र लेख्ने कार्य देख्दा प्रतिष्ठान अब भने कर्मचारी युनियन र व्यवस्थापन मिलेर ध्वस्त पार्न लागे भन्ने गम्भीर आशंका गर्ने अवस्था सिर्जन भएको महसुस गरेको छु । दुवै पत्रका भाषा एउटै छन् । के धनबहादुर कार्कीज्यू आफैँ सवारी चालक हुनु भएकाले ग्यालेन तेल भर्ने समाचारले लज्जित हुनुभएको हो कि ? २०७९ कार्तिक महिनामा उहाँ खराब ऋणी भनी कालो सूचीमा परेको र हतारहतार ऋण तिरी चोखिनुभएको भन्ने छ त्यसो होइन र ? त्यस्तै खण्डन पत्रमा दस्तखत गर्ने  युनियनका रामकुमार बोहोरा आफैँ नक्कली प्रमाणपत्र हातमा लिई असिनपसिन हुँदै व्यवस्थापनले लेखिदिएको पत्रमा दस्तखत मात्रै गर्नुभएको हो कि ? व्यवस्थापनले अप्ठ्यारो पार्ला भनेर दौडधुप गर्दै व्यवस्थापनको चाकडीमा रहनुभएको हो कि ? के हो ? बुझी नसक्नु पो देखिन्छ त ? यसरी हेर्दा प्रतिष्ठानमा माओवादी निकट व्यक्ति मात्रै प्राज्ञमा नियुक्त हुनु र आधिकारिक ट्रेड युनियन समेत उनीहरुकै पिछलग्गू हुने जस्तो देखिनु (यो त मेरो निष्कर्ष नै हो ? यसमा ट्रेड युनियनको पिछलग्गू परिषद् पनि हुनसक्छ, त्यसैले त सवारी चालकको सहजताका लागि अधिकांश निर्णय भएको भनी समाचार आइरहेको छ ?) गम्भीर विषय हो । 

माथि उल्लिखित प्रश्नहरूका सम्बन्धमा यथार्थ बुझिने किसिमले नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री भूपाल राई र सोही प्रतिष्ठानका आधिकारिक ट्रेड युनियनका अध्यक्ष श्री धनबहादुर कार्कीले दिनु हुने छ भन्ने अपेक्षा गर्दै यो खुला पत्र अन्त्य गर्दछु धन्यवाद !

–नरेन्द्रबहादुर राई, बुइपा, खोटाङ
हाल काठमाडौँ 

 

याे पनि 
भूपाल राईज्यू, ! प्रज्ञा परिषद्ले यी तथ्यलाई कसरी देख्नुभयो मानमर्दन र दुःख दिने नियत !?

प्रज्ञा–प्रतिष्ठान:ग्यालेनमा तेल भर्न पेट्रोल पम्प,पार्टपुर्जा र मर्मतको कमिसनका लागि वर्कसप नै परिवर्तन !

प्रज्ञा-प्रतिष्ठान र आधिकारिक ट्रेड युनियनको एउटै स्वर: तथ्यहीन खण्डन !?