जे जति जान्नु हो त्यो सबै वेद हो

जे जति जान्नु हो त्यो सबै वेद हो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  जेठ १८, २०७६

      त्रैगुण्यविषया वेदाः निस्त्रैगुण्यो भवार्जुन ।
    निद्र्वन्द्वो नित्यसत्वस्थो निर्योगक्षेम आत्मवान् ।। ४५ ।।

भावार्थ – हे अर्जुन ! सकल वेदहरू त्रैगुण्य (सकाम)  विषयक छन्, अतः तिमी राग–द्वेष आदि द्वन्द्व रहित, नित्यवस्तु परमात्मा स्थित, योग क्षेत्र (संग्रह तथा रक्षा) को चाहना रहित तथा आत्म परायण भएर त्रिगुण रहित (असंसारी) बन ।

विशिष्टार्थ – जे जति जान्नु हो त्यो सबै वेद हो । वेद – ऋग्, यज्ञु, साम अथर्व यी चार भागमा विभक्त छन् । त्रैगुण्य नै यी सबै वेदहरूको विषय हो । सत्व, रज, तम यी तीन गुणको समष्टिको नाम त्रैगुण्य हो । सत्वको धर्म – प्रकाश (निजवोध रूप) हो, यसको फल सुख हो । रजको धर्म – क्रिया (परिश्रम)  हो,  यसको  फल दुःख हो  भने तमको धर्म अस्थिरता (नाश) हो र यसको  फल मोह हो । यी तीनको मिश्र धर्म – सुख, दुःख, मोहको सामञ्जस्य हो र फल – आनन्द हो । वीउको अंकुरोत्पादिका शक्तिले जस्तो जल, वायु र उष्णको सहायता विना प्रकाश पाउन सक्दैन त्यस्तै  यी तीनै गुण परस्पर पृथक् रहेर आप्mनो क्रियालाई प्रकाशित गरेर देखाउन सक्दैनन् । तीनको परस्पर मिश्रणले नै प्रत्येकको क्रिया स्पष्ट हुन्छ – विकसित भएर बाहिर आउंछ ।  परन्तु त्यस मिश्रणमा प्रत्येकको अंश समान नै रह्यो भने कुनै क्रियाको प्रकाश हुँदैन, साम्यभाव आउंछ । असमान भागबाट नै क्रिया विकसित हुन्छ । मूलाधारमा  ”तम” शेष भएर सत्वको प्रारम्भ ”रज” को पूर्ण विकास हुन्छ । स्वाधिष्ठानमा रज ३÷४ भाग, सत्व १÷४ भाग हुन्छ । मणिपुरमा रज सत्व बराबर हुन्छन् । ऊध्र्व दिशामा मणिपुर पार भएपछि नै रजको परिमाण सत्वको तुलनामा घट्दै घट्दै जान्छ । अतः मूलाधारदेखि मणिपुरसम्म मात्र रज प्रबल हुन्छ । आसनमा वस्नुभन्दा पहिले नै कर्ममय रजको अबलम्वन गरेर अर्थात् स्थूल शरीरगत करण समूहमा बल प्रयोग गरेर, आसक्ति पूर्वक प्राण चालन गर्नु पर्दछ । जबसम्म प्राण सूक्ष्म बनेर मनलाई लिएर बज्रा भित्र प्रवेश गर्दैन तबसम्म प्राण कर्म अति प्रबल, मन चंचल, कूटस्थ मेघावृत्त जस्तो रहन्छ । दर्शन गर्न योग्य जे जति छन् ती सबै टाढा टाढा अलि अलि विजुली चम्केर प्रकाशित अस्पष्ट चंचल छाया जस्तो अस्पष्ट रूपले दर्शन दिइरहन्छन् । यसैलाई दुःख भनिन्छ । (दुः=टाढा, ख=शून्य) । पश्चात बज्राभित्र प्रवेश गरेर मणिपुर चक्रमा उपस्थित हुनाले । त्यहाँ रजः सत्व समान परिमित हुनाले पनि (दुःखबाट रक्त वर्णा द्विभुजा अक्षसूत्र कमण्डलुकरा कुमारी ब्राम्ही शक्ति प्रत्यक्ष हुन्छिन्, तब चारै दिशामा एक प्रकारको चमक देखिरहन्छ, त्यस चमक भित्र श्रवण शक्तिलाई प्रवेश गराउँदा पूर्व दिशामा केही छिटो छिटो उच्चारित  भएको ध्वनि सुनिन्छ तर राम्ररी बुझिदैन । मणिपुर पर्यन्त यो रजो बहुल कर्म प्रधान दुःखमय क्षेत्रमा जो जात हुन्छ त्यही ऋग्वेद ”अ” हो  त्यो जुन शब्दोच्चारण सुनिन्छ त्यही गायत्री मन्त्र हो र  ती देवी नै ऋग्वेदकी  अधिष्ठात्री देवी  ”गायत्री” को पहिलो मूर्ति हो ।

जबसम्म प्राण सूक्ष्म बनेर मनलाई लिएर बज्रा भित्र प्रवेश गर्दैन तबसम्म प्राण कर्म अति प्रबल, मन चंचल, कूटस्थ मेघावृत्त जस्तो रहन्छ । दर्शन गर्न योग्य जे जति छन् ती सबै टाढा टाढा अलि अलि विजुली चम्केर प्रकाशित अस्पष्ट चंचल छाया जस्तो अस्पष्ट रूपले दर्शन दिइरहन्छन् । यसैलाई दुःख भनिन्छ ।

मणिपुरलाई भेदन गरेर चित्रा भित्र प्रवेश गर्नाले चित्र विचित्रका अनेक प्रकारका रंगहरू देखिन्छन् ।”अष्टधा बलयाकारा” स्थान भेद गरेर (क्रिया गुरूपदेश गम्य) उठ्नाले नै अनाहत चक्र भेटिन्छ । त्यस अनाहतमा सत्व  ३/४ अंश, रज १/४ अंश र अनि विशुद्ध चक्रमा सत्व चौध अंश रज दुई अंश छ । अतः रजको वेग कम हुनाले दुःखको परिणाम क्षय भएर सुखको उदय हुन्छ, अन्तराकाश पनि ज्योतिको उज्ज्वलताले भरिन्छ, मनको चंचलता आवेग हटेर जान्छ । यस बेला उपासना (उप समीप, आसन= स्थिति) भइरहन्छ अर्थात् चित्राको विचित्र वर्णले भने आकृष्ट हुनाले प्राणक्रियाको आसक्ति मेटिन्छ, अतः दृश्य द्रष्टाको व्यवधान (फरक) पनि कम हुनाले चिद् समीपमा अवस्थान हुन्छ । अनि द्वादशदल भित्र दोस्रो एक अष्टदल कमल विकसित हुन्छ, त्यस माथि ज्योतिर्मण्डल मध्यस्था कृष्णवर्ण चतुर्भुजा त्रिनयना शंखचक्र गदा पद्य हस्ता यौवना युवति गरूडारूढा वैष्णवी शक्ति प्रत्यक्ष हुन्छिन्, त्यसका  साथसाथै  मृदुमधुर  सुस्पष्ट स्वरले  गायत्री मन्त्र निकटमा  दक्षिण दिशा (दाहिने कानको पछिल्तिर) मा उच्चारित भइरहन्छ । तत् पश्चात् अन्तर शाम्भवीबाट त्यो ज्योति भेद हुँदा निभेषभित्र विशुद्धमा षोड्शदल कमल विकसित हुन्छ, त्यसमा उनै देवी फेरि विद्युत् वर्णमा दर्शन दिएर अन्तर्हिता हुन्छिन् । यो सत्व बहुल उपासना प्रधान सुखमय अनाहत विशुद्ध क्षेत्रमा जे जानिन्छ त्यही यजुर्वेद  ”उ” हो । ती देवी नै यजुर्वेदकी अधिष्ठात्री देवी  'सावित्री' गायत्रीको दोस्रो मूर्ति हो । यी पहिले कृष्ण वर्ण पछि विद्युत् वर्णले प्रकाशित हुन्छिन्, अतः यजुर्वेद कृष्णयजुः र शुकलयजुः दुई अंशमा विभक्त छ ।

विशुद्ध भन्दा माथि रजः क्रमैले क्षीण हुँदै गएर आज्ञामा शेष हुन्छ । यस आज्ञामा सत्वको पूर्ण विकास र शुद्ध ”तम” को प्रारम्भ हुन्छ । तीन गुणका भित्र तमको नै प्राधान्य देखिन्छ । किन कि (अनुलोममा देखिन्छ) विशिुद्ध तमको ठीक माथि नै जगत् प्रसविनी महामाया–स्थिर आधारका माथि गै क्रिया, क्रियाको नै प्रकाश, फेरि स्थिरमा नै सबैको विराम । आज्ञामा त्यसको प्रारम्भ हुनाले पनि सर्वत्र यसको प्रभाव विभिन्न परिमाणमा विस्तृत छ, त्यो प्रभाव नै ऊध्र्व दिशामा क्रमानुसार घनीभूत हुँदै, आज्ञामा आफ्नो विशिुद्ध सत्वामा परिणत हुन्छ । यस स्थानमा एक अपूर्व व्यापार संगठनको दर्शन हुन्छ, पूर्ण सत्व प्रकाशका भित्र, तल माथिदेखि यथाक्रम गर्दै रज र तम अति सूक्ष्माकार भएर परस्पर मिल्नाले एकाधारमा स्थिरता–चंचलताको समावेश रज तमको मिलन, मुखबाट राग रागिनी युक्त विविध छन्द लहरी उत्थित झंकार, झंकारबाट सप्रणव गायत्री, वेद र ऋषि वाक्य समूह अतीव सुस्पष्ट र सुलक्षित स्वरका साथ पश्चिम दिशामा उच्चारित–देवता, गन्धर्व, ऋषि, यक्ष, रक्ष, किन्नर, ग्रह, विग्रह प्रभृति विश्व प्रपञ्च सुनियमले जस्तो नाट्यमञ्चमा अभिनीत हुन्छन् – सृष्टि स्थितिलयको उत्सा (संगम),  मन प्राण मोहित, चांचल्य विलुप्त, एक वचनमा भन्नुपर्दा – ”रहैकस्थं जगत् कृत्स्नं सचराचंर” प्रकटित (मूर्तिमान) छ । यो तम प्रभावयुक्त, गान प्रधान, मोह रहित अथच (अरू पनि) मोहमय आज्ञा क्षेत्रमा जे जानिन्छ त्यही सामवेद – 'म' हो । त्यस रज तमको संयोग विन्दुमा लक्ष्यस्थिर गर्नाले नै अतिस्निग्धोज्ज्वला शुक्लवर्णा द्विभुजा त्रिशूल डमरुकरा वृषभारूढा वृद्धा रौद्री शक्ति प्रत्यक्ष हुन्छिन्, यी महाशक्ति नै सामवेदकी अधिष्ठात्री देवी 'सरस्वती'  गायत्रीकी तृतीया मूर्ति हुन् ।

आज्ञास्थित सत्व भित्र रज स्तमोको संयोग स्थललाई कूट भन्दछन् । त्यस कूटका भित्र एक अनुपम सुवर्णोज्ज्वल विन्दु देखिन्छ, त्यो विन्दु नै अनादि विश्वनाथ महेश्वर हुन्, त्यसै स्थानबाट नै सरस्वती उत्पन्न भएकी हुन् । सोही महेश्वर मुखबाट निरन्तर नाद लहरी युक्त वेदादि मन्त्र उच्चारण हुन्छन्, वेदादि मन्त्रहरूबाट नै आज्ञा–मूलाधार व्यापिनी गायत्री सावित्री सरस्वती रूपिणी वेदमाता उत्पन्ना, रजोद्वारा सर्वत्र उच्चारिता, तथा प्रकाशमय विशाल सत्व भित्र अवस्थिता हुन् । अतः यिनै मही ”महेशवदनोत्पन्ना विष्णो र्हृदयसम्भवान, ब्रम्हणा समनुज्ञाता” हुन् । आज्ञादेखि मूलाधारसम्म क्रिया पद भित्र यिनै देवी तीन रूपले प्रकाशिता तथा सम्पुटित त्रिपद मन्त्रले उच्चारिता हुन्छिन्, त्यसकारण यिनलाई त्रिपदा भनिएको हो । यिनको एक अर्को पाउ पनि छ, त्यो चतुर्थ पादमा निष्क्रियपद सहस्रारमा अवस्थित छ । ब्राम्हणलाई उपनयन समयमा जुन गायत्री मन्त्रको शिक्षा दिइन्छ त्यो त्रिपदा हो, सन्यासकालमा जुन मन्त्र सिक्नु पर्छ त्यही गायत्रीको चौथो पाउ हो । चतुर्थपादमा सन्यासीहरूको मात्र अधिकार छ, कर्मीको छैन, किन कि कूटस्थ भेद गरेर सहस्रारमा नपुगिकम यिनलाई चिन्न सकिन्न ।

कूटस्थ भेद गरेर आज्ञा पार भएपछि मात्र रजः मेटिन्छ र रजको प्रभाव पनि विस्तारै विस्तारै मेटिन्छ । प्राण क्रिया जब शेष हुन्छ निष्क्रिय पद सहस्रार विकसित हुन्छ, अनि स्थिर प्रकाश ज्ञानज्योति प्रकट हुन्छ, त्यस ज्योतिको प्रभावले अतीत, अनागत, वर्तमान विषय व्यापार प्रत्यक्ष भइरहन्छ । यस अवस्थामा जगज्जननी त्रिनयना आद्याशक्ति प्रसन्न भएर कहिले पुरुष, कहिले प्रकृतिरूप धारण गरेर साधकको भ्रमात्मक द्वैतमय मायाजाललाई छिन्न भिन्न गर्दै भेदज्ञानलाई अपनयन गर्दछिन्, सचतुर्थपाद गायत्री उच्चारण हुन्छ यो सबै उत्तर दिशामा सुनिन्छ । त्यस चतुर्थपादद्वारा शब्द विन्यास एक प्रणवमा नै परिसमाप्ति भएर लहर विहीन (अकम्पन)  अनाहत नादको उत्थान हुन्छ । त्यस नादको भित्रबाट एक ज्योतिर्मय विन्दु प्रकट भएर बाहिर आउँछ, त्यही विन्दु नै तारक ब्रम्ह हो, यसको अरू परिणाम हुँदैन, मन त्यसैमा अड्किन्छ । यस अवस्थामा इन्द्रियवृत्ति क्रिया विहीन हुन्छ अर्थात् विषय छ, इन्द्रियहरू पनि छन् तथापि भोग हुँदैन यस्तो अवस्था हुन्छ । अनि स्वयं सम्पादित विश्व व्यापारको द्रष्टा मात्र साक्षी स्वरूप बनेर सदानन्दमय हुनु पर्दछ । यो आनन्दमय ज्ञानावस्था नै अथर्ववेद ॐ हो । त्यस विन्दुको भित्रबाट एक हिरण्मय मूर्तिको प्रकाश हुन्छ त्यसैलाई परमशिव नारायण क्षेत्रातीत निरञ्जन पुरुष भन्दछन् ।

जुन महापुरुषहरू ब्रम्हज्ञान प्राप्त गरेर ”विजानत” हुन्छन् अर्थात् ज्ञातव्यको चरम सीमा विष्णुपदमा अवस्थित छन् उनीहरूका लागि सबै एक हुन्छ, वेदहरू पनि त्यही प्राप्त हुन्छन् । वेदमा वर्णन गरिएको यज्ञ, दान, तप, व्रत आदिको कुनै प्रयोजन रहदैन, त्यसकारण उनीहरूका लागि वेदहरूको कुनै अलग प्रयोजन रहदैन ।

यी जुन मूलाधारदेखि सहस्रारसम्मको क्षेत्रमा जो जो प्रत्यक्ष हुन्छन्, त्यो समस्त शब्दरूपको विन्यास ज्ञिगुणको क्रिया बाहेक अरू कोही हैन । जबसम्म मन रहन्छ तबसम्म मात्र त्यो दृश्य द्रष्टा भाव रहन्छ । यो सबै मायाको क्रिया हो, अतः परिणामशील छ । त्यसैले भगवान् श्रीकृष्ण भन्नुहुन्छ – हे अर्जुन ! तिमी निस्त्रैगुण्य बन अर्थात् तीनै गुणको कार्यरूप संसारको इच्छा त्यागेर संसारभन्दा माथि उठ अर्थात् योग साधन गर्दा तारक ब्रम्ह, निरञ्जन पुरुषमा मन अड्किएर विलय प्राप्त हुँदा जे हुन्छ त्यही बन । त्यो विलय अवस्था नै निस्त्रैगुण्य अवस्था विष्णुको परमपद हो । यस त्रैगुण्यका उपाय स्वरूप क्रमिक लक्षणहरू हुन् – आत्मवान् – आत्म क्षेत्रमा अवस्थित । जब उपासकमा ”म” तथा उपास्य  ”म” वोहक अरू कुनैको ज्ञान रहदैन यो त्यो निष्क्रिय अवस्था हो । निर्योग क्षेम – तिमीले योग र क्षेमको इच्छा पनि नगर । त्यस्तो अवस्था आएपछि योग अर्थात् प्राप्त हुने विषय अरू केही पनि रहदैन, क्षेम अर्थात् प्राप्त विषयको रक्षा पनि रहदैन । अतीत, अनागत मेटिएर केवल वर्तमान बन्दछ । नित्य सत्वस्थ – जो नित्य, निरन्तर रहने वाला सर्वत्र परिपूर्ण परमात्मा छ, तिमी त्यसैमा निरन्तर स्थित होऊ । प्राप्त, प्राप्तव्यलाई एक गरेर यस स्थानमा आउनाले नै निरञ्जन पुरुषको दर्शन हुन्छ । निद्र्वन्द्वः– नित्य सत्वमा उपस्थित हुनाले नै शीत–उष्ण, सुख–दुःख म–मेरो अहं त्वं यी द्वैतभाव मेटिएर मनको विलय हुन्छ । यसैलाई नै त्रिगुणातीत विष्णुपद भन्दछन् ।

    यावानर्थ उदपाने सर्वतः सम्प्लुतोदके ।
    तावान् सर्वेषु वेदेषु ब्राम्हणस्य विजानतः ।। ४६ ।।

भावार्थ – जताततैबाट पानी भरिएर आएपछि साना साना पँधेरा, कुवाहरूको जति प्रयोजन हुन्छ, ब्रम्हज्ञान सम्पन्न चरम ज्ञानीहरूका लागि वेदहरूको पनि त्यति नै प्रयोजन हुन्छ ।

विशिष्टार्थ – पानी परेर जताततै जलमग्न भएपछि साना साना कुवा कुण्ड पँधेराहरू त्यसै जल राशिमा डुबेर एकाकार हुन्छन् । तिनीहरूको कुनै पृथक् अस्तित्व रहदैन । जीवहरूका लागि आवश्यक पानी त्यही जलराशिबाट प्राप्त हुन्छ । त्यस्तै जुन महापुरुषहरू ब्रम्हज्ञान प्राप्त गरेर ”विजानत” हुन्छन् अर्थात् ज्ञातव्यको चरम सीमा विष्णुपदमा अवस्थित छन् उनीहरूका लागि सबै एक हुन्छ, वेदहरू पनि त्यही प्राप्त हुन्छन् । वेदमा वर्णन गरिएको यज्ञ, दान, तप, व्रत आदिको कुनै प्रयोजन रहदैन, त्यसकारण उनीहरूका लागि वेदहरूको कुनै अलग प्रयोजन रहदैन ।

    कर्मण्येवाधिकार स्ते मा फलेषु कदाचन ।
    मा कर्मफलहेतुर्भु र्मा ते संगोस्त्वकर्मणि ।। ४७ ।।

क्रमशः

याे पनि

गीता योग रहस्यमा युधिष्ठिर आकाशतत्व हो, यो सँधै अपराजित रहन्छ, स्थिरता यसको गुण हो

गीता भित्रको योग रहस्य: शब्द शब्दको योगिक अर्थ

शब्द शब्द साधना रहस्यले भरिपूर्ण

असल खराब सबै प्रकारका कर्म नै संस्कार हुन

धर्मक्षेत्र कुरुक्षेत्र यही शरीर हो

गीता अनुसार साधना कालका तीन अवस्था

युद्धक्षेत्रमा अर्जुनलाई भएको मोहको योगिक अर्थ

साधना पनि मृत्यु नै हो

शरीर तथा समस्त इन्द्रिय नै स्त्री हुन्

कारण नै बीज हो

आत्मा अविनाशी हो

संगीतको ‘ताल’ कसरी बन्यो, ताण्डव र लास्यको संयोजन हो ताल

योगको मूल पनि सांख्य, फल पनि सांख्य